‘हृदयघात’को जोखिम यसरी पत्ता लगाउनुहोस्


हृदयघातका धेरै कारणहरु हुन्छन । ती मध्ये प्रमुख १० कारणहरु तल तस्वीरमा देखाइएका हुन् । त्यसमध्ये धुम्रपानको सेवन र उच्च कोलेस्ट्रोल सबभन्दा प्रमुख २ कारणहरु हुन् ।

नेपाल लगायत संसारका ५० भन्दा बढी देशहरुमा गरिएको एउटा रोचक अध्ययन (INTERHEART) को अनुसार यी दुई कारणहरु सबभन्दा बढी खतरनाक भएको पाइएको छ ।

५५ वर्ष भन्दा बढीका पुरुष र ६५ वर्ष भन्दा बढीका महिलालाई हृदयघातको खतरा बढी हुन्छ । त्यसैगरी पुरुषलाई हृदयघातको खतरा महिलामा भन्दा बढी भएको पाइन्छ । त्यसमा पनि ५० वर्ष भन्दा मुनिका महिलामा हृदयघात कम हुने गरेको पाइन्छ ।

डा. ओम मुर्ति अनिल
मुटुरोग विशेषज्ञ

वंशानुगत (Genetic) वा मानसिक तनावलाई पनि हिजोआज ह्दयाघातको महत्वपूर्ण कारणको रुपमा मानिन थालिएको छ । धेरैजसो अवस्थामा हृदयघातको निश्चित कारण भेटाउन सकिन्छ । तर कहिलेकाँही हृदयघातको कारण पत्ता नलाग्न पनि सक्छ ।

लगभग ९० प्रतिशत भन्दा बढी बिरामीमा हृदयघातको कारण पत्तालगाउन सकिन्छ । धेरैजसो अवस्थामा १ भन्दा बढी कारणहरुसँगै भएका पाइन्छन् ।

हृदयघातका अनेक कारणहरुमध्ये चुरोटको सेवन, उच्च कोलेस्ट्रोल, मधुमेह र उच्च रक्तचाप नै प्रमुख हुन् ।

निम्नलिखित प्रश्नहरुको उत्तरमा “गर्छु वा छ” भने, हृदयघातको सम्भावना बढी भएको बुझिन्छ । कसैलाई एक भन्दा बढी कारणहरु (रिस्क फैक्टर्स) छन् भने, हृदयघातको खतरा झन बढी हुन्छ ।

    • के तपाई धुम्रपान गर्नुहुन्छ ?
    • के तपाईलाई मधुमेह छ ?
    • के तपाईलाई उच्च रक्तचाप छ ?
    • के तपाईको रगतमा कोलेस्ट्रोलको स्तर बढी छ ?
    • के तपाईलाई मोटोपना छ वा कम्मर वरिपरि धेरै बोसो छ ?
    • के तपाईको आमाबुबा, दिदीबहिनी वा दाजुभाईलाई ह्दयाघात भएको छ ?
    • के तपाई अत्यधिक मदिराको सेवन गर्नुहुन्छ ?
    • के तपाईलाई डिप्रेसन वा मानसिक तनाव छ ?

धुम्रपानले हृदयघातको खतरा २ देखि ४ गुणा बढाउँछ । जति धेरै धुम्रपान गर्नुहुन्छ, हृदयघातको खतरा त्यति नै धेरै हुन्छ । सानै उमेरदेखि धुम्रपान गरेमा खतरा झन् बढी हुन्छ । मधुमेह, उच्च रक्तचाप र उच्च कोलेस्ट्रोल भएका व्यक्तिले चुरोट/बिडीको सेवन गरेमा हृदयघातको खतरा अत्यन्तै धेरै हुन्छ ।

उच्च कोलेस्ट्रोलः उच्च कोलेस्ट्रोलले हृदयघातको खतरा लगभग ३ गुणा बढाउछ । कोलेस्ट्रोलको मात्रा रगतमा जति धेरैहुन्छ, हृदयघातको खतरा पनि त्यति नै बढी हुन्छ । युवा अवस्थामा देखिने हृदयघातका दुई प्रमुख कारणहरु मध्ये एउटा उच्च कोलेस्ट्रोल र अर्को धुम्रपान नै हो ।

मधूमेहः मधुमेहले हृदयघातको खतरा २ देखि ३ गुणा बढाउँछ । लामो समयदेखि मधूमेह भएको व्यक्तिलाई यसको खतरा झन् बढी हुन्छ । मधूमेह रोगीमा रक्तचाप र कोलेस्ट्रोलको राम्रो नियन्त्रण नभएमा हृदयघातको खतरा झन बढी हुन्छ ।

उच्च रक्तचापः रक्तचापको नियन्त्रण नगरेमा हृदयघातको खतरा २ गुणा बढी हुन्छ ।

मोटोपनाः मोटोपना वा कम्मर वरिपरि धेरै बोसो भएमा हृदयघातको खतरा बढी हुन्छ ।

परिवारमा कसैलाई हृदयघात भएकोः आमाबुबा, दिदीबहिनी वा दाजुभाई कसैलाई कम उमेरमा (पुरुषलाई ४५ वर्ष वा महिलालाई ५५ वर्षभित्र) हृदयघात भएको छ भने, अन्य सदस्यालाई पनि हृदयघात हुने खतरा बढी हुन्छ ।

अत्यधिक मदिराको सेवनः नियमित रुपमा अत्यधिक मदिराको सेवन गर्नु वा एक दिनमै धेरै मदिराको सेवन गर्नु (Binge Drinking) ले पनि हृदयघात निम्त्याउन सक्छ ।

डिप्रेसन वा मानसिक तनावः परिवार, कार्यालय वा अर्थ ब्यवस्थासग सम्बन्धित तनावले पनि हृदयघात निम्त्याउन सक्छ । डिप्रेसनले पनि हृदयघात खतरा बढाउँछ । तपाईलार्ईं पनि डिप्रेसन वा अत्यधिक मानसिक तनाव छ कि छैन बिचार गर्नुहोस् ।

यदि तपाईलाई माथि उल्लेखित १ भन्दा बढी (Risk Factors) कारणहरु छन् भने, हृदयघातको खतरा धेरै गुणा बढी हुन्छ ।

यदी तपाईंसँग यस्ता केही जोखिमहरु छन र तपाईंले त्यस्लाई राम्रो नियन्त्रणमा राख्नु भएको छ भन्ने हार्ट अटेकको जोखिम अत्यन्त न्यून हुन्छ। खानपिन, जीवनशैली र वा औषधी जुनसुकै माध्यमले भएपनी यि जोखिमहरुलाई राम्ररी नियन्त्रणमा सधैं राख्नु हार्ट अटेक रोक्ने सर्वोत्तम उपाय मानिन्छ ।


Loading comments...