NIFF सम्पन्नः ‘बुलबुल’बाट स्वस्तिमा र ‘गोपी’बाट विपिन उत्कृष्ट


प्रदिप कार्की, काठमाण्डौ । विनोद पौडेल निर्देशित चलचित्र ‘बुलबुल’ले सोमबार सम्पन्न भएको नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा डबल हयाट्रिक गरेको छ । राष्ट्रिय सभागृह, पर्यटन बोर्ड र सर्वनाम थिएटरमा ५ दिनसम्म चलेको फेस्टिभलमा बुलबुलले नेपाल पनोरमाको फिचर तर्फ उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट पटकथा, उकृष्ट अभिनेत्री जुरी अवार्ड पुरुष र महिला गरी ६ वटा अवार्ड जितेको हो । फिल्मबाट विनोद पौडेलले पटकथा र निर्देशकको अवार्ड जितेका थिए भने स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्री तर्फको अवार्ड जितेकी थिइन् । त्यसैगरि जुरी अवार्ड अवार्ड पुरुष र महिलातर्फको अवार्ड मुकुन भुषाल र लक्ष्मी बर्देवाले जितेका थिए ।

बुलबुललाई पछ्याउँदै ‘गोपी’ले तीन अवार्ड हात पारेको थियो । समारोहमा ‘गोपी’ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधातर्फ जुरी अवार्ड पायो भने फिल्मबाट बिपिन कार्कीले उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका थिए । त्यसैगरि छायाँकार शेलेन्द्र डि कार्कीको छायांकनलाई पनि प्रकाश झा मुख्य निर्णायक रहेको जुरीले उत्कृष्ट ठानेको थियो ।

कार्यक्रममा नेपाली सर्ट फिल्म तर्फको जुरी अवार्ड केदार श्रेष्ठ निर्देशित ‘जुनुको जुत्ता’ले पाएको थियो भने इन्टरनेसनल सर्ट फिल्म तर्फको जुरी मेन्सन अवार्ड युक्रेनको ‘अन्ना’ले पाएको थियो । नेपाली सर्ट फिल्मतर्फको अवार्ड प्रविन कुमार राउत निर्देशित ‘कलम’ले जितेको थियो । प्रविन स्वयं पनि जुरीको नजरमा उत्कृष्ट ठहरिएका थिए । सर्ट फिल्म तर्फको जुरी मेन्सन अवार्ड श्रीलंकाको ‘दि अदर हाफ’ले पाएको थियो ।

बहुपति प्रथाको कथा समेटिएको गणेश पाण्डे निर्देशित ‘को हस्बेन्ड’ डकुमेन्ट्री विधातर्फ उत्कृष्ठ ठहरिएको थियो । माउन्ट एभरेस्ट अवार्ड नाम दिएको यो पुरस्कारको राशि १ हजार अमेरिकी डलर रहेको थियो ।

यही वर्षबाट थपिएको एनिमेटेड विधाको अवार्ड भने चीनको ‘स्प्रिट अफ दि ड्रइङ गर्ल’ले पायो । मञ्जुश्री अवार्ड नाम दिएको यो पुरस्कारको राशि ७ सय अमेरिकी डलर रहेको छ । अन्तर्राष्ट्रिय सर्ट फिल्मको विधातर्फ भारतीय फिल्म ‘नुरी’ उत्कृष्ट मानिएको थियो । फिल्ममा भारत पाकिस्तान बोर्डरमा चेपिएकी एक युवतीको कथा पेश गरिएको थियो । बाग्मति अवार्ड नाम दिइएको यो पुरस्कारको राशि ५ सय अमेरिकी डलर रहेको छ ।

समारोहको सबैभन्दा ठूलो पुरस्कार गौतम बुद्ध अवार्ड टर्कीको ‘ट्रयाप’ले पायो । जितसँगै फिल्मले १५ सय अमेरिकी डलर हात पार्यो ।

फिचर फिल्म तर्फका मुख्य जुरी प्रकाश झाले नेपालका फिल्मसँगको यो पहिलो साक्षात्कार भए पनि नेपाली फिल्मको न्यारेटिभ प्रतिस्पर्धात्मक बनिरहेको अनुभव गरेको बताएका थिए । उनले नेपालसँग फिल्मका जुनसुकै विधामा सहकार्य गर्न तयार रहेको पनि बताएका थिए ।

‘काठमाडौं यो मेरो पहिलो खेप थियो तर अब आउने जाने गरिरहन्छु । सँगै सिनेमा सम्बन्धी जे कामका लागि पनि सहकार्यका लागि तयार छु,’ उनले भनेका थिए ।

अवार्डमा विजेता छान्ने काम फिचर र डकुमेन्ट्रीमा छुट्याएर गरिएको थियो । फिचर फिल्म तर्फको निर्णायकको नेतृत्व प्रकाश झाले गरेका थिए भने उनलाई मन्जुकुमार श्रेष्ठ, गौरी मल्ल, जाओ पाउलो मकाइदो र थिबाउट ब्राकले गरेका थिए । श्रीलंकाका डकुमेन्ट्री फिल्ममेकर अनोमा राजाकरुणाले नेतृत्व गरेको डकुमेन्ट्री विधातर्फको जुरी सदस्यमा करुण थापा, युनी हाडी सदस्य थिए । फेस्टिभलको आयोजना नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले गरेको थियो ।

तस्वीरः आर्यन बिमली


Loading comments...