अक्षरशिरोमणि : मदनमणि दीक्षित


मदनमणि दीक्षितको पृष्ठभूमि
लक्ष्मणमणि आचार्य दीक्षितले जियोलजीमा बीए अनर्स गरेका थिए । त्यस बेला त्यसरी पढ्ने नेपाली बिरलै भेटिन्थे । तिनै लक्ष्मणमणि र विष्णुकुमारीदेवीका जेठा छोराका रूपमा १९७९ साल फागुन ६ गते मदनमणि दीक्षितको जन्म भएको थियो । अनि यिनको जन्म काठमाडौँको गैह्रीधारामा भएको थियो । यिनका बुबा त्यस बेला जागिरे थिए र यी दीक्षितहरू भूमिपतिमा गणना हुने गर्थे ।

लेखकः नरेन्द्रराज प्रसाई

बुबा लक्ष्मणमणिबाट तीन छोरा र चार छोरी जन्मेका थिए । यिनका बुबाका परिवारमध्ये उनी र उनका भाइ महेशमणि दीक्षितबाहेक कसैले पनि समाज र राष्ट्रमा ख्याति कमाउन सकेनन् । वास्तवमा आमाबाबुको सपनालाई साकार रूप दिन मदनमणि दीक्षितचाहिँ नेपाली धर्तीमा योग्य र ख्यातिप्राप्त नेपाली नागरिकका रूपमा उभिन सफल भए ।

जहानियाँ राणा शासन कालको कालो युगमा दीक्षितले प्राथमिक शिक्षा पाए । त्यस बेला यिनको पढाइ निकै सङ्घर्षपूर्ण तरिकाले सञ्चालित भएको थियो । दीक्षितको माध्यमिक पढाइ नेपालको तराईको गाउँ र भारतको बनारसमा सम्पन्न भएको थियो । त्यस बेला नेपालका तराई भागहरूमा भारतीय स्वाधीनता सङ्ग्रामको प्रभाव क्रमशः अघि बढिरहेको थियो । अनि त्यस प्रभावबाट दीक्षित परिवारमा पनि निकै प्रभाव परिरहेको थियो ।

दीक्षितको उच्च शिक्षा बनारसमा सम्पन्न भएको थियो । उक्त समयमा भारतीय स्वाधीनता सङ्ग्राम अन्तिम चरणतर्फ प्रवेश हुँदै थियो । त्यस बखत हिन्दू र मुसलमानको साम्प्रदायिकताको बिगबिगीले त्यस क्षेत्रमा भूकम्प उर्लिरहेको देखिन्थ्यो । यिनको पढाइ सकिँदानसकिँदै भारतमा जनताले प्रजातान्त्रिक अभ्यासको प्रत्यक्ष र सक्रिय अनुभव लिन खोजिरहेका थिए ।

दीक्षितलाई मणि खलकको गतिलो छहारी थियो । मणि खलकले यिनको व्यक्तित्व चम्काउने प्रबल उद्देश्य राखेको थियो । अथवा यिनलाई खुबै शिक्षित बनाउने अभिप्रायले सम्पूर्ण मणि खलक एक भएका देखिन्थे । वास्तवमा उनी पनि मणिहरूका मणि मात्र भएर निस्केनन् बरु संसारभरिका नेपाली बोल्नेहरूका गौरवी भएर नै प्रकाशित भए । वास्तवमा उनी नेपाली वाङ्मयका तपस्वी नै थिए ।

वास्तवमा उनी नेपाली साहित्यका गौरवी स्रष्टा थिए । तर गणतन्त्र आएपछिको सरकारले उनको उचाइप्रति ख्याल गर्ने चेष्टा नै गरेन । यति हुँदाहुँदै पनि उनको निधनको समाचार सुनेर प्रधानमन्त्रीले पनि आफ्नो ट्विट्मा लेख्न भ्याएका थिए— ‘दीक्षितको निधनको खबरले मर्माहत भएको छु । नेपाली वाङ्मय क्षेत्रले उहाँको योगदानलाई सदा स्मरण गर्नेछ ।’ साथै दल र सरकारमा बसेका केही अरूहरू पनि आर्यघाटसम्मै पुगेर कसैले दीक्षितलाई झन्डै ओडाइदिए र कसैले रालो रोदन पनि देखाइदिए । अथवा भनौँ उनीहरूले दुनियाँका अगाडि उभिएर आआफ्नो औपचारिक कृत्य चहिं गतिलैसँग सम्पादन गरिदिए ।

राणाकालीन राज्यव्यवस्थामा मणि खलकहरूको गतिलै राष्ट्रिय पहिचान थियो । आफ्ना बाबुबाजेले पाएको सम्मान आफूले पनि पाउनुपर्छ भन्ने मदनमणि दीक्षितको चाहना स्वाभाविकै पनि थियो । त्यति मात्र होइन दीक्षितलाई नेपाल पुर्याएर धर्मकर्ममा सरिक गराउने यिनका बुबाको विचार थियो । तर त्यतिखेर यिनकी आमाको विचारचाहिँ नेपालतिर ढल्केको थिएन । त्यस बेला यिनकी आमाको आफ्नो छोराप्रतिको विचार थियो, ‘मेरो छोरो भारतको ठूलो नेताजस्तो भएर जनकल्याणका लागि लागोस् ।’

दीक्षितले अनेक उतरचढावका बीच उच्च शिक्षा पनि हासिल गरे । यिनले काशी हिन्दू विश्वविद्यालयबाट एमए उत्तीर्ण गरे । एमए पास भएपछि उनी राजनीति, साहित्य र पत्रकारितामा सँगसँगै हिँड्न थाले । तर यिनको राजनीतिक परिवेश क्रमशः साँघुरिन थाल्यो । अर्कातिर यिनको पत्रकारिता र साहित्यले भने नेपालको माटोलाई चुम्न थाल्यो । यिनको साहित्य र पत्रकारितामा पोखिन थालेका अक्षरहरूले नेपाली बौद्धिक जनमानसलाई एकोर्याएर पनि राख्न थाल्यो ।

दीक्षितले नेपालका केही सुगम–दुर्गम स्थलको भ्रमण गरे । त्यसै परिवेशका कारण यिनले जनजीवनको अवस्था पनि सङ्ग्रह गरे । यसका साथै यिनले एसिया, युरोप, अमेरिका र अफ्रिकाका ३५ मुलुकको भ्रमण गरेर व्यापक अनुभव पनि सँगालेका थिए ।
दीक्षितले सार्वजनिक जीवनको पहिलो २७ महिना वीरगन्जको एउटा स्कुलमा प्रधानाध्यापकका रूपमा बिताएका थिए । उनी सात वर्षसम्म सक्रिय कम्युनिस्ट कार्यकर्ताका रूपमा पनि कार्यरत रहे । त्यसपछि यी तीस वर्ष पत्रकारितामा लागिपरे । त्यसको पछिल्लो चरणमा भने उनी पूर्ण रूपमा साहित्य लेखनमा नै ढल्केका थिए ।

दीक्षितको पारिवारिक जीवन
मदनमणि दीक्षितका बुबा लक्ष्मणमणि आचार्य दीक्षितका परिवारले प्रधानमन्त्री भीमशमशेर राणाको पारिवारिक कलहका कारणले गर्दा भयङ्कर यातना, त्रास र क्षति भोग्नु परेको थियो । समग्रमा राणाका चाकरीदारका रूपमा वितेको दीक्षितको पुर्ख्यौली आर्थिक अवस्था भीमशमशेरको अवसानपछि क्रमशः ओरालो नै लागेको थियो । औसत नेपालीले भोग्ने आर्थिक सङ्कट यिनीहरूले पनि भोगेका थिए । छोराहरू र खासमा अमोदमणि दीक्षितले बलियो खुट्टा टेकेपछि आर्थिक रूपले यिनलाई सहज भएको थियो ।

दीक्षितको विवाह सत्र वर्षको उमेरमा कलैयाको पिपराका अति चेतनशील, सम्पन्न र प्रतिष्ठत योगेन्द्रराज गौतम र खोमकुमारीकी छोरी रीता गौतमसँग भएको थियो । बिहे गरेपछि यिनले आफ्नी आमाको पारामा लागेर श्रीमतीलाई शारीरिक यातना पनि दिइरहे । वास्तवमा उनी आमाका अन्धभक्त थिए । त्यसैले आमाले बुहारीको बिरुद्धमा कुरा लगाएको भरमा उनी आफ्नी पत्नीलाई कुटिरहने गर्थे । श्रीमतीलाई दुक्ख दिएको पछुतोमा उनी प्रायश्चितका लागि जोगी हुन पनि तम्से । तर श्रीमती रीता दीक्षितको रोइकराइले उनी जोगी भएनन् । अनि त्यसपछि उनले श्रीमती कुट्न-पिट्न पनि छोडिदिए । त्यतिन्जेलमा उनको जेठो छोरो विनोद दीक्षित पनि जन्मिसकेका थिए । त्यसपछि यिनले सकेसम्म शान्तिपूर्वक पारिवारिक जीवन बिताइरहे ।

दीक्षित दम्पतीका चार छोरा एक छोरी जन्मे । उनका छोराहरूमध्ये विनोदले साहित्य र पत्रकारितामा प्रसिद्धि कमाए, माइला प्रमोदले मेकानिकल इन्जिनियरमा रहेर आफ्नो पेसालाई मर्यादित बनाए, साइला अमोदमणिले भूकम्पविद्का रूपमा ख्याति कमाए र कान्छो कामोद इलेक्ट्रिकल इन्जिनियर थिए । साथै एउटी छोरी इल्या भट्टराईले पनि साहित्य सिर्जनामा ख्याति कमाइन् ।

दीक्षित सोभियत रूसको विश्वासपात्र थिए । त्यसैले उनका छोराहरूले पनि रूसमा निःशुल्क पढ्न पाएका थिए । उचित शिक्षा पाउनाले उनका सन्तान एकभन्दा अर्को योग्य हुँदै गए । अनि त्यस योग्यताको रीतले उनका नातिनातिनासम्ममा पनि जरा गाडिरहेको छ ।

दीक्षितको साहित्यिक मोड
२०१४ सालको सुरुतिर दीक्षितको ‘सम्पादकलाई पत्र’ भनेर दस पङ्क्तिको लेख दैनिक नयाँ समाजमा छापिएको थियो । त्यो पत्र यिनका नाउँमा छापिएकोमा यिनलाई आश्चर्यजनक खुसी लागेको थियो । हुन त २००७ सालको माघ महिनामा वीरगन्जको रेल्वेमा मजदुर हडताल हुँदा सो हडतालमा मजदुरलाई समर्थन गरी पहिलोपल्ट लेखेको हस्तलिखित पर्चा वितरण हुँदा पनि यिनलाई खुबै रमाइलो लागेको थिए ।

दीक्षितको पहिलो विधिवत् लेखन २०१५ सालमा दैनिक ‘हालखबर’ को सम्पादकीय ‘सुठोको समस्या’ शीर्षकमा प्रकाशित भएको थियो । अनि यिनको पहिलो प्रकाशित पुस्तक कथामा आधारित थियो । ‘कसले जित्यो, कसले हार्यो’ यिनको प्रथम साहित्यिक पुस्तक थियो । दीक्षित आफ्ना प्रत्येक कृतिलाई उत्तिकै माया गर्थे । यस विषयमा यी आफैं भन्थे, ‘मेरा प्रत्येक पुस्तक मेरा मायालु र सम्मानित सहयात्री हुन् ।’

दीक्षितले सात दशकजति नेपाली अक्षर खेलाए । यिनको अक्षर खेतीको उच्चस्तरीय गरिमा थियो । उनी जहिले, जता र जहाँ पनि लेखिरहन्थे । मानौँ उनी लेख्नका लागि जन्मेका थिए । नेपाली साहित्यमा सबैभन्दा धेरै अक्षर खेलाउने नै यिनै थिए । लेख्तालेख्तै मदनमणि दीक्षित नेपाली अक्षरका शिरोमणिमा नै दरिए । उनको त्यही महिमा गाएर नइ प्रकाशनले उनलाई २०६९ सालमा ‘अक्षर शिरोमणि’ को उपाधि कपेर ‘सुकीर्ति पुरस्कार’ अर्पण गरेको थियो । वास्तवमा उनी नेपाली साहित्यका गौरवी स्रष्टा थिए । तर गणतन्त्र आएपछिको सरकारले उनको उचाइप्रति ख्याल गर्ने चेष्टा नै गरेन । यति हुँदाहुँदै पनि उनको निधनको समाचार सुनेर प्रधानमन्त्रीले पनि आफ्नो ट्विट्मा लेख्न भ्याएका थिए— ‘दीक्षितको निधनको खबरले मर्माहत भएको छु । नेपाली वाङ्मय क्षेत्रले उहाँको योगदानलाई सदा स्मरण गर्नेछ ।’ साथै दल र सरकारमा बसेका केही अरूहरू पनि आर्यघाटसम्मै पुगेर कसैले दीक्षितलाई झन्डै ओडाइदिए र कसैले रालो रोदन पनि देखाइदिए । अथवा भनौँ उनीहरूले दुनियाँका अगाडि उभिएर आआफ्नो औपचारिक कृत्य चहिं गतिलैसँग सम्पादन गरिदिए । मानौं जसले गर्दा दल र सरकारले पनि दीक्षितको खुबै कदर गरेको थियो । तरै पनि यसबाट जनसाधरण माझ भने स्पष्ट नै भयो— ‘मदनमणि दीक्षित लर्तरो मान्छे नै थिएनन् । उनी नेपाली साहित्यका एउटा महारथी थिए ।’

दीक्षितको लेखकीय जीवनको सात दशकजतिको कमाइमा अधुरा छोडिएका र पूरा गरेर पनि प्रकाशन नगरिएका लेखहरू अनिगिन्ती नै छन् । हुन त उनी आफ्ना कृति छाप्ने काममा अग्रसर भइ नै रहन्थे । यसबारे उनी बराबर भन्थे— ‘मेरा रचनाहरू कुनैकुनै प्रकाशन योग्य देखिँदैनन् र प्रकाशन गर्न उचित सबै कृतिहरू प्रकाशनमा ल्याउन सकिएको पनि छैन ।’ तर उनी पुरस्कारसँगै खामिएको राशिले चाहिँ आफ्ना कृतिहरू नै छाप्ने गर्थे ।

दीक्षितको आलोचना र सम्मान
दीक्षित भन्थे— ‘मेरा कृतिको सही आलोचना कमै भए तर मेराबारे अनगिन्ती लिखित र मौखिक आलोचना मैले खेपेको छु । यति हुँदाहुँदै पनि बौद्धिक मान्छेहरूबाट यिनले प्रशस्तै सम्मान पाएका थिए । यिनले जति अपमान पाए पनि र जति मान पाए पनि यी कहिले आत्तिएनन् र कहिले मात्तिएनन् ।

दीक्षितले जति काम गरे त्यति नै उनी समाज र राष्ट्रबाट पनि सम्मानित भइरहे । उनी सुप्रसिद्ध गोरखादक्षिणबाहु प्रथम श्रेणीबाट विभूषित भए । साथै उनी आदिकवि भानुभक्त पुरस्कार, भानुभक्त पुरस्कार, मदन पुरस्कार, सर्वश्रेष्ठ पाण्डुलिपि पुरस्कार, प्रेस काउन्सिल नेपाल गोपालदास पत्रकारिता पुरस्कार, बसुन्धरा मान सम्मान, भूपालमानसिंह कार्की पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, उत्तम कुँवर पुरस्कार, भद्रघले पुरस्कार, महाकवि देवकोटा शताब्दी सम्मान, राष्ट्रिय कलाश्री सम्मान, दण्डपाणि स्मृति पुरस्कार, शङ्कर कोइराला पुरस्कार, दौलतविक्रम विष्ट आख्यान सम्मान, पद्मश्री साधना सम्मान, विश्वशान्ति पदक, अफ्रो एसियाली जनऐक्यबद्धता पदक, नइ खरा सुकीर्ति पुरस्कार आदिबाट सम्मानित भए ।

दीक्षितको साहित्यको लक्ष्यबारे धारणा
‘समाजको उत्थान नै साहित्यको लक्ष्य हुनुपर्छ’ भन्ने दीक्षितको मूल मन्त्र थियो । उनी साहित्यमा सङ्गठन अनावश्यक ठान्थे । उनी लेखकहरूको सुविधा र विकासका निम्ति राज्यस्तरको एउटा संस्था हुनुपर्छ भन्थे । नेपाल प्रज्ञाप्रतिष्ठान दलको भात्रृसङ्गठन भइरहेको बेहोराले उनी चिन्तित थिए ।

दीक्षितको जीवनको उतारचढाव
दीक्षितलाई मानवीय गरिमाको प्रतिष्ठापन, संरक्षण, सम्बर्धनमा सक्दो सहयोग गर्ने प्रबल इच्छा थियो । पुस्तक, सौन्दर्यलेखन र फोटोग्राफी यिनको मन पर्ने विषय थियो । उनले केही वर्ष फोटोग्राफीको पेसा पनि गरे । अनि उनलाई मन नपर्ने कुराहरू थिए— कपट व्यवहार, असत्य कुरा र अनुशासनहीन मान्छे ।

दीक्षितका जीवनयात्रामा अत्यन्तै नमीठो वा दुक्खका क्षण पनि घटेका थिए । खास गरी तीस वर्षभन्दा धेरै काम गरेको संस्था नेपाल कम्युनिस्ट पार्टीको सदस्यतालाई आफ्नै निर्णयद्वारा यिनले छोड्नुपरेको थियो । यो बेहोरा नै यिनका लागि चिरस्मरणीय दुःखद घटना बन्यो ।
२०१७ साल वैशाखको कुरा हो— दीक्षितको सम्पादनमा ‘समीक्षा’ प्रकाशित भएको थियो । यसको पहिलो अङ्क यिनले काठमाडौँ, न्युरोडको पीपलबोटमा उभिएर आफैं बिक्री गरेका थिए । त्यो दिन दीक्षित अत्यन्तै खुसी थिए । त्यसै गरी २०३९ चैतमा पनि यी त्यसै गरी खुसीमा लडीबुडी गरेका थिए । किनभने त्यो दिन ‘माधवी’ उपन्यासको मुद्रण सकिएको थियो । भनौँ ‘माधवी’ उपन्यास मुद्रण गरी पहिलो प्रति लिएर प्रेसबाट बाहिर आएको दिन यी बेजोडले रमाएका थिए ।

दीक्षित बौद्धिक चिन्तामा घरीघरी रुमल्लिइरहने गर्थे । यिनले लेखनका माध्यमबाट विश्वशान्तिका साथै मुलुकमा प्रजातन्त्र प्राप्तिका निम्ति सङ्घर्ष गरेका थिए । यसै मामलामा नै यिनले आफ्नो जीवनको महत्त्वपूर्ण अंश खर्च गरेका थिए । त्यस बेला यिनले गरेका काममा सफलता प्राप्त नभए तापनि यिनलाई आत्मसन्तुष्टिचाहिँ प्राप्त भएको थियो । सङ्घर्षमा असफलता प्राप्त हुनुको विषयमा यी आफैं भन्थे— ‘परिणाम आफ्नो वशभित्रको कुरा भएन तथापि म आफ्नो प्रयासमा अडिग रहेँ । यसैमा मलाई आनन्दको अनुभव छ ।’

दीक्षितको व्यक्तित्व र विशेषता
साहित्य, संस्कृति र पत्रकारिताका प्रकाण्ड विद्वान्का रूपमा दीक्षितको व्यक्तित्वलाई लिइने गरिन्छ । यीसँग परिचित नहुने र थोरैथोरै मात्र परिचय बोकेका व्यक्तिहरू मदनमणि दीक्षित घमन्डी, अहङ्कारी र एकोहोरो थिए भन्थे । वास्तवमा यी विद्वान् थिए र केही अव्यावहारिक पनि थिए । मनमा कुरा नलुकाई भन्नुपर्दा यी घमन्डी नै पनि थिए । तर घमन्डमा यी आफूभन्दा माथिकाहरूसँग प्रायः जोरी खोज्दैन थिए । तर पनि आफ्नो अहमताका कारणले जनकलाल शर्माकृत ‘हाम्रो समाज : एक अध्ययन’ र दीक्षितकृत ‘माधवी’सँग संयुक्त घोषणा भएको ‘साझा पुरस्कार’ दीक्षितले बहिष्कारै गरे । यति हुँदाहुँदै पनि उनको शर्मासँगको घनिष्ट सम्बन्धमा कहिले बिर्को लागेको थिएन । साथै उनले सत्यमोहन जोशीसँग पाउने भनिएको ‘डिल्लीरमण रेग्मी पुरस्कार’ पनि थापेनन । त्यसो त आफूभन्दा निकै पछिल्लो पुस्ताका प्रतिभाशाली मान्छेको समेत आदर गर्न यी चुक्तैन थिए । अर्थात् अक्षर र प्रतिभाप्रति यी आफ्नो शिर निहुराउँने गर्थे । यीसँग नजिकबाट सङ्गत गर्नेका लागि यी जे विषयमा पनि प्रायः सम्झौता गरिदिने व्यक्तित्वमा पर्थे । त्यसैले पनि उनका प्रियजनहरूका लागि उनी नम्र, साधु र मिलनसारजस्ता पनि थिए ।

दीक्षितको अनुभव
दीक्षित शिक्षासेवी थिए । उनले २००४ सालदेखि २००६ सालसम्म त्रिजुद्ध हाईस्कुल (त्रिजुद्ध महावीरप्रसाद रघुवीरराम माध्यमिक विद्यालय) वीरगन्जमा प्रधानाध्यापक भएर काम गरे । त्यसै बेलादेखि उनी माड्साबको नाउँले समेत चिनिँदै आए । उनी २००६ सालदेखि २०४० सालसम्म नेपाल कम्युनिस्ट पार्टीमा संलग्न भए । उनी २००८ सालदेखि साहित्यिक लेखन र विदेशी कथाहरूको अनुवादमा सक्रिय भए । साथै उनी २०१४ सालदेखि २०१६ सालसम्म दैनिक ‘हालखबर’ को प्रधान सम्पादक भएर रहे । २०१७ साल वैशाखदेखि २०४९ सालसम्म चाहिँ दीक्षित साप्ताहिक ‘समीक्षा’ को सम्पादक र प्रकाशक भएर सुप्रसिद्धिको शिखरमा पुगे । उनी नेपाल पत्रकार सङ्घ, नेपाल विश्वशान्ति समिति र नेपाल अफ्रो एसियाली जनऐक्यबद्धता समितिको केन्द्रिय सदस्य पनि भए । साथै उनी २०५१ सालदेखि २०५५ सालसम्म नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको उपकुलपति भए ।

दीक्षितको स्वर्गारोहण
दीक्षित आफ्नो जीवनको उत्तरार्धमा घरीघरी अस्वस्थ्य भइरहे । खास गरेर २०५८ सालदेखि २०६० सालसम्म ‘माधव घिमिरे अभिनन्दन समिति’ को अध्यक्ष पदमा रहेर उनले ज्यानै फाल्नेसम्मको दौडधुप गरेका थिए । त्यसैताक एक पटक उनलाई हृदयघात पनि भएको थियो । त्यति बेला उनी पाँच दिनसम्म बेहोस नै भएका थिए । त्यस मुल्काबाट बाँचे तापनि क्रमशः उनको शरीर सिथिल हुँदै जान थाल्यो । त्यसपछि घरीघरी यिनलाई मुटुमा समस्या आई नै रह्यो । अनि उनलाई बराबर अस्पतालहरू धाउनुपर्ने अवस्था पनि आइरह्यो । त्यति मात्र होइन उनी राम्ररी कान पनि सुन्दैन थिए । स्वास्थ्य कमजोर हुँदै गएकाले उनी मान्छेसँग पनि प्रायः जसो झर्कोफर्को गर्थे । उनका बाबुबाजे पनि रिसाहा थिए । बाबुबाजेबाट उनीसम्म सर्दै आएको त्यो रिस उनी थाम्न सक्तैन थिए । नेपाली भाषामा भन्नुपर्दा उनी धेरै कडा मिजासका पनि थिए ।

दीक्षित जीवनको अन्तिम घडीमा निमोनियासँग युद्ध गर्दै थिए । उनकी जीवनसङ्गिनी रीता दीक्षितको अविरल सेवासुसार र छोराहरूको बुबाप्रतिको माया, त्याग र समर्पणका कारण उनको जीवन सुरक्षित रूपमा अगाडि जाँदै पनि थियो । तर स्वास्थ्य र उमेरका कारण उनको भौतिक चोलाले थेग्न सकेन ।

दीक्षितको स्वास्थ्य प्रतिकूल हुँदा पनि उनी लेख्न, पढ्नबाट पर सरेनन् । लेखनमा उनको समर्पण भएकै कारणले उनी आफैँ लेख्न असमर्थ हुँदा पनि पारिश्रमिक दिएर उनले घरैमा लेखनदास राखेका थिए । उनले जीवनको अन्तिम समयसम्म पनि आफ्ना वाणी पोखिरहे र उनका लेखनदासले ती वाणीहरू अक्षरहरूमा रूपान्तरण गरिरहे ।

अक्षरशिरोमणि मदनमणि दीक्षितले आफ्नो जीवनको ९८ वर्षसम्म पृथ्वीको अवलोकन गर्ने अवसर पाए । अन्ततः हिन्दूहरूले पवित्र दिन मानेको जनै पूर्णिमाको तिथिमा उनी स्वर्गीय भए । अनि त्यो दिन २०७६ साल साउन ३० गते थियो ।

दीक्षितका कृतिहरूः
१. कस्ले जित्यो, कस्ले हार्यो (कथासङ्ग्रह : २०२१)
२. हाम्रा ती दिन (बाल्यकालको यात्रा संस्मरण : २०२७)
३. मेरी आमाको प्रश्नलाई जबाफ चाहिएको छ (स्वकीय निबन्धसङ्ग्रह : २०२९)
४. लाखौँ शिशु लिफ्ट मागिरहेका छन् (स्वकीय निबन्धसङ्ग्रह : २०३१)
५. माधवी (वैदिककालीन उपन्यास : २०३९)
६. Towards Mega-Hiroshima (नाभिकीय शस्त्रास्त्रविरुद्ध : २०४०)
७. दस लाख हिरोसिमातिर (Towards Mega Hiroshima को नेपाली अनुवाद : २०४०),
८. वर्लिन डायरीका पाना (पूर्वीया वर्लिनको संस्मरण : २०४१)
९. ग्याँस च्याम्बरको मृत्यु (कथासङ्ग्रह : २०४२)
१०. चरैवेति (निबन्धसङ्ग्रह : २०४४)
११. आनन्दमय आकाश (बाल्यकालीन जीवनी : २०४४)
१२. स्वर्ण विहारको मन्दिर (जापानी उपन्यासको नेपालीमा अनुवाद : २०४५)
१३. त्यो युग (वैदिक समाजबारे लेखसङ्ग्रह : २०४७)
१४. द्रौपदी र सीता (ती दुई नारीको तुलनात्मक अध्ययन र विवेचना : २०४९)
१५. विदुषी गार्गी (ती नारीको परिचय : २०४९)
१६. जेन्डा (कथासङ्ग्रह : २०५१)
१७. त्रिदेवी (आधुनिक उपन्यास : २०५१)
१८. मेरी नीलिमा (उपन्यास : २०५२)
१९. अमृतत्त्व र कारुणिकता (दार्शनिक चिन्तन : २०५३)
२०. नेपालको सांस्कृतिक परिचय (२०५३)
२१. विश्वका प्रथम वैज्ञानिक उद्दालक आरुणी (औपनिषदिक चिन्तक : २०५३)
२२. भूमिसूक्त (उपन्यास : २०५५)
२३. हाम्रा प्राचीन नारी (वैदिक र पौराणिक कालका नारी परिचय : २०५७)
२४. हिन्दू संस्कृतिको परिशीलन (२०५९)
२५. श्वेतकाली (कथासङ्ग्रह : २०५९)
२६. सयौँ हिरोसिमातिर (२०६३)
२७. ऋग्वेदका केही प्रमुख सूक्त (२०६५)
२८. जीवन : महाभियान (२०१७ पछिको स्वजीवनी : २०६६)
२९. श्री : शाश्वत नारी (२०६६)
३०. महर्षि याज्ञवल्क्य (यजुर्वेदका प्रणेता मिथिलाका वैज्ञानिक दार्शनिक : २०६८)
३१. आनन्दमय जीवन (२०६९)
३२. ऋग्वैदिक नारीचरित्र (२०६९)
३३. ऋग्वेदमा समावेद पर्यावरण (२०७०)
३४. अनन्त चैतन्य (२०७१)
३५. जीवन दर्शन (२०७१)
३६. जय पराजय (२०७२)
३७. देशभक्त महापुरूष (२०७४)
३८. मेरी माता (२०७४)
३९. देशभक्त राष्ट्रपिता श्री ५ महेन्द्र (२०७५)

••
फोटोकवि: कुमार आले
साजसज्जा: एस.के. देवकोटा

लेखक ‘नइ प्रकाशनʼ तथा ‘त्रिमूर्ति निकेतनʼका संस्थापक नरेन्द्रराज प्रसाई गीतकार, निबन्धकार तथा जीवनीकार हुनुहुन्छ ।

लाईभमाण्डूमा राखिएका ‘नइ प्रकाशनʼका सामाग्रीहरू कपीराइट © अन्तर्गत राखिएका छन् । तसर्थ स्रष्टाको अनुमतिविना कहिंकतै प्रयोग गर्न पाइनेछैन । धन्यवाद !


Loading comments...