देवकोटा हाम फालेर मर्न चाहन्थे


महाकवि लक्ष्मीप्रसाद देवकोटाका असामान्य चरित्रका कुरा धेरै थिए । तीमध्ये कोलकाताको एउटा घटना पनि निकै डरलाग्दै थियो ।

२००५ सालको कुरा हो, रामहरि जोशी (पछि मन्त्री) को निमन्त्रणामा देवकोटा कोलकाता गएका थिए । त्यति बेला जोशी नेपाली विद्यार्थीको सङ्गठन हिमाञ्चल छात्र सङ्घका साहित्यमन्त्री थिए ।

त्यतिखेर देवकोटा भारत पुगेपछि उनको व्यवहारमा धेरै असन्तुलन प्रकट भएको थियो । त्यस बेला उनलाई बचाउन उनका प्रियजनलाई हम्मेहम्मे परेको थियो ।

रामहरि जोशी र डा.जयनारायण गिरी कोलकातामा सँगै बस्थे । त्यस बेला देवकोटा पनि जोशी र गिरीको डेरामा बस्ने गर्थे । देवकोटालाई आफ्ना डेरामा राख्न पाउदा उनीहरू ज्यादै खुसी थिए । उनीहरूले देवकोटालाई आफ्नो गच्छे अनुसारको सेवा पनि गरेका थिए । त्यतिखेर जोशी आफ्नो बेतको खाटमा देवकोटालाई सुताएर आफू भुइँमा ओछ्यान लगाएर सुत्थे । त्यहाँ जोशीसँग भुइँमा सुत्नेहरूमा प्रा. डा. ईश्वर बराल, डा.जयनारायण गिरी र नारायणप्रसाद भट्टराई पनि थिए ।

सुरूकै दिन त्यस डेरामा देवकोटाले एउटा घटना घटाएका थिए । कुरा के हो भने- सबै जना सुतिरहेको बेला राति अकस्मात् देवकोटा जुरुक्कै उठे र कराउँदै झ्यालतिर लागेका थिए । अनि तीन तला माथिको त्यो झ्यालबाट उनले हामफाल्न खोजेका थिए । त्यस घडी बराल र भट्टराईले समाएर देवकोटालाई ओछ्यानमा राखेका थिए । त्यति बेला देवकोटाले लामो सुस्केरामा भने, ‘म ईश्वरलाई हेर्न चाहन्छु । म मर्न चाहन्छु । आई वान्ट टु डाई ।’ त्यसपछि उनले दुवै हातले टाउकोमा छिट्टोछिट्टो मुड्की हान्न थाले र केही बेरमा उनी ओछ्यानमै लडे । भोलिपल्ट उनी सधैंझैं सामान्य अवस्थामा देखिएका थिए ।

‘हामीले देवकोटालाई उहाँले खानेजति चुरोटबिँडी खुवाउन सक्तैनथ्यौं; किनभने उहाँ एकै घन्टामा एक बन्डल बिँडी सल्काउनु हुन्थ्यो । हामीले उहाँको माग अनुसारको चुरोटबिँडी दिन नसकेपछि देवकोटा गणेशमान सिंहसँग भन्नुहुन्थ्यो, ‘हजुर ! बिँडी खान पाऊँ न !’ देवकोटाको त्यो रीत पलपलमा दोहोरिन्थ्यो । त्यति बेला गणेशमान सिंह पनि कोलकातामा हामीसँगै बस्नु हुन्थ्यो ।”

देवकोटाको कोलकाता बसाइका क्रममा उनलाई जोगाउन रामहरि जोशी र देवेन्द्रराज उपाध्यायले साह्रै सङ्घर्ष गर्नु परेको थियो । उनी भाग्ने, हराउने र लड्ने डरले प्राय: जोशीहरू थर्कमान रहन्थे । त्यसैले उनलाई एउटा रजिस्टर छाडेर यस कापीमा ‘कविता लेख्नु है गुरु’ भनेर उनीहरू बाहिर जान्थे । त्यति बेला उनीहरू देवकोटालाई कोठामा एक्लै थुनेर दैलोमा साँचो लगाउँथे र अनि मात्र आआफ्नो काममा जाने गर्थे ।

देवकोटा मिलनसार थिए । उनी जस्तो परिकारका मान्छेसँग पनि घनिष्ठ हुन सक्थे । त्यही क्रममा उनको घनिष्ठता रामहरि जोशीसँगै भएको थियो । उनीहरू माझ त्यो सम्बन्ध देवकोटाको कोलकाता भ्रमणबाट स्थापित भएको थियो ।

देवकोटालाई हिमाञ्चल छात्र सङ्घले २००५ साल माघ ३ गते ६ सय रुपियाँ पुरस्कार खामेर भव्य अभिनन्दन गरेको थियो । त्यति बेला महाबोधी सोसाइटी हलमा खचाखच दर्शक भरिएका थिए; देवकोटा मञ्चमा नेपाली भाषामा भाषण गरिरहेका थिए । उनी जति नेपाली बोल्थे त्यति नै कविताको तुक लगाएर अङ्ग्रेजी भाषामा कविता समेत भनिदिन्थे । उनको त्यही भाषणको रस त्यहाँका बङ्गाली भाषा तथा हिन्दी भाषाका साहित्यकार र विद्यार्थीले पनि ग्रहण गरेका थिए । त्यहाँ उनीसँग मोहित हुने धेरै थिए । त्यसैले पर्सिपल्ट ‘बङ्गीय हिन्दी परिषद्’ले पनि त्यही हलमा उनको अर्को भव्य अभिनन्दन गरेको थियो ।

हिमाञ्चल छात्र सङ्घको आयोजनामा भएको देवकोटा अभिनन्दन समारोहमा देवकोटाले सेतो धोती र कोगिटा रङ्गको कुर्ता लगाएका थिए । त्यसै परिवेशको सन्दर्भमा आयोजक रामहरि जोशीले नरेन्द्रराज प्रसाईलाई भनेका थिए, ‘देवकोटाको शारीरिक बनावट नै आकर्षक थियो; अनि उनी नौलो पोसाकमा ठाँटिएर आउँदा समारोहको रौनक नै आकर्षक देखिन्थ्यो ।’

देवकोटाले नेपाली भाषालाई अझै विस्तृत पार्ने योजना बनाएको पनि रामहरि जोशीलाई थाहा थियो । देवकोटा जोशीलाई भन्थे, ‘कोटिएर आएको ? ‘ त्यसको अर्थ ‘कोट लगाएर आएको’ हुन्थ्यो । यस विषयमा जोशीको भनाइ थियो, ‘देवकोटाले यस किसिमको संक्षिप्त भाषालाई पनि लोकप्रिय बनाउन चाहेका थिए ।’

एक दिन महाकवि देवकोटा र रामहरि जोशी कोलकातामा ट्राम पर्खेर बसिरहेका थिए । त्यसै बेला त्यहाँ गोली हानाहान भएको दृश्य उनीहरूका अगाडि देखा पर्‍यो । त्यस घडी मान्छेको हूल दौडादौड गर्न थाल्यो । त्यतिखेर गोली लागेर लड्ने र मर्ने मान्छे पनि सडकमा देखिएका थिए । त्यही हूलमा जोशीचाहिँ देवकोटाको खोजीमा रहे । अनि उनी देवकोटालाई नभेटेर निराश हुँदै आफ्नो छात्रावासमा पुगेका थिए । जोशी छात्रावासको आफ्नो कोठामा पुग्दा देवकोटा त्यहीँ बसिरहेका थिए । त्यसपछि जोशीले देवकोटालाई भनेका थिए, ‘गुरु ! तपाईं म मर्न चाहन्छु (आई वान्ट डु डाई) भन्नुहुन्थ्यो तर बाँच्ने त तपाईंको ठूलो इच्छा रहेछ नि !’ देवकोटाले जोशीलाई हाँसीहाँसी उत्तर फर्काएका थिए- ‘यस्तो रङ्गीन दुनियाँलाई चटक्क छाड्नु पनि त भएन नि !’

कोलकाताका विभिन्न ठाउँमा देवकोटालाई डुलाउने काम पनि प्राय: रामहरि जोशी, देवेन्द्रराज उपाध्याय र जयनारायण गिरीको हुन्थ्यो । जोशीका अनुसार बाहिर जाने बेलामा तोरीको तेल हातमा माडेर देवकोटाले आफ्ना टाउकोमा लगाउँथे र मुखमा पनि दल्ने गर्थे । उनी बेलाबेला मुखमा क्रिम पनि लगाएर भन्थे, ‘म दुब्लो त देखिइन्नँ होला नि ! अब म पठ्ठो हुन चाहन्छु ।’

देवकोटालाई कोलकाता बसाइको सिलसिलामा रामहरि जोशी र देवेन्द्रराज उपाध्यायले महात्मा गान्धीका विषयमा कविता लेख्न अनुरोध गरे । देवकोटाले त्यति बेलै ‘बापू’ शीर्षकमा एक लामो कविता ‘सोनेट्स’ लेखे ।

रामहरि जोशीले कोलकातामा देवकोटाको खूबै सेवा गरे । देवकोटालाई मीठो लाग्ने मासु खुवाउन पनि जोशी त्यहाँ कहिल्यै चुकेनन् । त्यस बेलाको प्रसङ्ग जोशीले प्रसाईलाई भनेका थिए, ‘दाल, तरकारी र मासु भयो भने देवकोटा एकोहोरो मासुमासु मात्रै खानुहुन्थ्यो । अनि म सम्झाउँथे, ‘गुरु ! दाल तरकारी पनि खानुहोस् न !’ उहाँ अत्यन्तै एकोहोरो हुनुहुन्थ्यो । मैले अनुभव गरेअनुसार उहाँको शरीर एकातिर र मन अर्कोतिर हुन्थ्यो । उहाँ बेलाबेला झोक्राउने गर्नुहुन्थ्यो; कहिले रुने गर्नुहुन्थ्यो र कहिले आफ्नो कपाल तानेर बसिरहनुहुन्थ्यो । वास्तवमा मैले देवकोटालाई प्रथमपल्ट तिनै अवस्थामा नै देखेको थिएँ । सुरुमा मलाई देवकोटाको आनीबानी अचम्मको लाग्थ्यो र उहाँसँग डर पनि लाग्ने गर्थ्यो ।’

कोलकाता बसेताका महाकवि देवकोटालाई रामहरि जोशी घरिघरि बिँडी खुवाउने गर्थे । तर विद्यार्थीको सीमित गच्छे भएकाले उनी देवकोटाको त्यो अटुट अम्मल धान्न सक्तैन थिए । त्यस बेलाको घटना सुनाउँदै जोशीले भनेका थिए, ‘हामीले देवकोटालाई उहाँले खानेजति चुरोटबिँडी खुवाउन सक्तैनथ्यौं; किनभने उहाँ एकै घन्टामा एक बन्डल बिँडी सल्काउनु हुन्थ्यो । हामीले उहाँको माग अनुसारको चुरोटबिँडी दिन नसकेपछि देवकोटा गणेशमान सिंहसँग भन्नुहुन्थ्यो, ‘हजुर ! बिँडी खान पाऊँ न !’ देवकोटाको त्यो रीत पलपलमा दोहोरिन्थ्यो । त्यति बेला गणेशमान सिंह पनि कोलकातामा हामीसँगै बस्नु हुन्थ्यो ।”

देवकोटा कोलकातामा एक महिना बसेर पुन: बनारस फर्के । उनी बनारसमा मर्ने स्थितिमा पुगेपछि मातृभूमि फर्के । त्यसपछि रामहरि जोशी नेपाल आएपछि उनी देवकोटासँग भेट गर्न बराबर मैतीदेवीफाँट जान्थे । सुरुमा जोशीलाई देखेर देवकोटा हर्षले नाचेका पनि थिए । जोशी देवकोटालाई भेट्न जहिलेजहिले जान्थे देवकोटाका लागि हातमा चुरोट लिएर नै जान्थे ।

२००९ सालमा रामहरि जोशीकै सक्रियतामा काठमाडौंमा नेपाली छात्र सङ्घ र हिमाञ्चल छात्र सङ्घको संयुक्त आयोजनामा एउटा विशाल कार्यक्रम भएको थियो । त्यस कार्यक्रमलाई सफल पार्न जोशीहरूले राजा त्रिभुवनलाई पनि आग्रह गरेका थिए । सो माग बमोजिम राजा त्रिभुवनले पाँच हजार रुपियाँ र विद्यार्थीहरूलाई पटनाबाट काठमाडौं दस पटक ओसार्न आफ्नो हवाईजहाज दिएका थिए । त्यो जहाजको नाउँ भीटी-सीभीसी थियो । जोशीका अनुसार नेपालमा प्रजातन्त्र आएपछि राजालाई सो जहाज भारतले उपहार दिएको थियो ।

कार्यक्रमको तर्जुमा अनुसार काठमाडौंको टुँडिखेलको खरीको बोटमुनि विशाल छात्र सम्मेलन भएको थियो । रामहरि जोशीको इच्छाबमोजिम त्यस समारोहमा पनि अध्यक्ष देवकोटा नै रहेका थिए । त्यस सम्मेलनमा नेपाल, भारत, मलाया र बर्माका विद्यार्थीले पनि भाग लिएका थिए ।

रामहरि जोशीले काठमाडौंमा देवकोटासँग बराबर सम्पर्क गरे । एकपटक जोशी देवकोटाका घरमा जाँदा उनी खाना खाइरहेका थिए । त्यति खेर जोशी पनि सुरुसुरु भान्सामा नै गए । जोशीलाई देख्ने बित्तिकै देवकोटाले उनलाई यहीँ खाना खाऊँ भने र जोशी पनि त्यसका लागि तयार भए । तर, त्यहाँ खाना खाँदै उनीहरू माझ कुरा हुँदा जोशीको हातले देवकोटालाई छोएछ । अनि देवकोटाले आँखा झिम्क्याएर जोशीलाई आफूलाई नछुन इसारा गरे । तर, त्यो दृश्य देवकोटाकी पत्नी मनदेवीले देखिरहेकी थिइन् । त्यस घटनाले मनदेवी आक्रोशित भइन् । उनले नेवारले भान्सा छोएको भन्ने हिसाबले त्यस दिन खाना नै खाइनछिन् । त्यो प्रसङ्ग देवकोटाले भोलिपल्ट जोशीलाई सुनाएका थिए।

उनी मान्छेका माझमा हुँदा पनि हराएका जस्ता देखिन्थे । त्यति बेलै नेपालबाट उनका जेठा ज्वाइँ कोलकाता पुगेका थिए । त्यस घडी देवकोटाले आफ्ना ज्वाइँ कल्याणनाथ रेग्मीका खुट्टा ढोगे र ग्वाँग्वाँ रुन थाले । त्यति बेला उनले आफ्ना छोरा कृष्णप्रसादलाई सम्झेर भनेका थिए, ‘मेरो कृष्ण मर्‍यो । म ठूलो अपराधी हुँ, मैले मेरा छोराको औषधि गर्न पनि पाइनँ ।’

देवकोटाले रामहरि जोशी कवि पनि भएको कोलकातामा नै थाहा पाएका थिए । त्यसैले उनी जोशीसँग झन् नजिक पनि भए । साथै जोशीको ‘झङ्कार’ नामक कवितासङ्ग्रहमा उनले सन् १९४९ जनवरी २० मा एउटा भूमिका पनि लेखेका थिए । तर, त्यस भूमिका मध्येबाट ६ हार जतिका अंश मात्र लिएर जोशीको ‘झङ्कार’ २०१४ मा प्रकाशनमा आयो ।

गणेशमान सिंह मन्त्री भएका बेला रामहरि जोशीले सिंहलाई भनेका थिए, ‘जनरल महावीरशमशेर धनी हुनुहुन्छ । उहाँको भारतमा नै निजी हवाई जहाज छ र त्यहाँको यात्री सेवा सञ्चालनमा पनि उहाँको कम्पनीले खुबै नाउँ कमाएको छ । उहाँका लागि एकदुई लाख रुपियाँ धेरै पनि होइन । उहाँले तपाईंलाई मान्नु पनि हुन्छ र तपाईंका कुरा पनि खानुहुन्छ । त्यसैले उहाँलाई भनेर देवकोटाका लागि एउटा राम्रो प्रेस खोलिदिऊँ । त्यसो भएमा पार्टीका सामग्रीहरू प्रकाशित गर्न पनि सजिलो पर्छ र देवकोटाको इलम र जीविका पनि हुन्छ । उहाँका सबै किताब पनि त्यहीँ छापिन्छन् ।’ तर त्यस बेला जोशीको त्यस आग्रहको कार्यान्वयन हुन सकेन । अनि जोशीले सधैं भनिरहे, ‘महाकवि देवकोटा जस्तो मान्छेलाई बाँचुन्जेल हामीले चिन्नै सकेनौं र उहाँको खूबी अनुसारको काम पनि लिन सकेनौं ।’

देवकोटा कोलकाता बस्ता उनलाई रामहरि जोशी र देवेन्द्रराज उपाध्यायले कविता लेख्न अनुरोध गरे । त्यस बेला देवकोटाले डीके शाहीको डेरामा बसेर जोशी र उपाध्यायलाई श्रुति कविता लेखाएका थिए । देवकोटाले ९३ श्लोकको सो ‘आँशु’ कविता लेखाएका बेला गणेशमान सिंह पनि देवकोटासँगै थिए ।

देवकोटालाई कोलकाता बसाइको सिलसिलामा रामहरि जोशी र देवेन्द्रराज उपाध्यायले महात्मा गान्धीका विषयमा कविता लेख्न अनुरोध गरे । देवकोटाले त्यति बेलै ‘बापू’ शीर्षकमा एक लामो कविता ‘सोनेट्स’ लेखे ।

देवकोटाको कोलकाता बसाइमा उनी प्राय: एकान्त खोजेर बस्न पुग्थे र झोक्राइरहन्थे । उनी समारोहस्थलमा होस् या ट्राममा बसेको बेला होस् आँखा झिमझिम गरेर अङ्ग्रेजीमा बर्बराइरहन्थे । उनी मान्छेका माझमा हुँदा पनि हराएका जस्ता देखिन्थे । त्यति बेलै नेपालबाट उनका जेठा ज्वाइँ कोलकाता पुगेका थिए । त्यस घडी देवकोटाले आफ्ना ज्वाइँ कल्याणनाथ रेग्मीका खुट्टा ढोगे र ग्वाँग्वाँ रुन थाले । त्यति बेला उनले आफ्ना छोरा कृष्णप्रसादलाई सम्झेर भनेका थिए, ‘मेरो कृष्ण मर्‍यो । म ठूलो अपराधी हुँ, मैले मेरा छोराको औषधि गर्न पनि पाइनँ ।’

देवकोटाका भाइ मधुसूदनका अनुसार `देवकोटा रुन थाल्दा रोएको रोयै गर्थे र चारपाँच घन्टासम्म पनि रोइरहन्थे ।`वास्तवमा देवकोटा एकसुरे, एकलकाँटे र एकहोरा थिए । उनी कति एकोहोरा थिए भने अति एकोहोरो थिए ।

—-
लेखक ‘नइ प्रकाशनʼ तथा ‘त्रिमूर्ति निकेतनʼका संस्थापक नरेन्द्रराज प्रसाई गीतकार, निबन्धकार तथा जीवनीकार हुनुहुन्छ ।

लाईभमाण्डूमा राखिएका ‘नइ प्रकाशनʼका सामाग्रीहरू कपीराइट © अन्तर्गत राखिएका छन् । तसर्थ स्रष्टाको अनुमतिविना कहिंकतै प्रयोग गर्न पाइनेछैन । धन्यवाद !
~
चित्रकार: अमर चित्रकार


Loading comments...