Lifestyle Portal
  •   २७ बैशाख २०७८, सोमबार

कोरोनालाई जितेकी बेलायती नेपाली नर्स अजिता सिम्खडाको अनुभव

२१ बैशाख २०७७, आईतवार १९:१२

आजको यो शुभ बिहानी मेरो आफ्नो कोरोनाले छाडेका अनुभवहरु हजुरहरु सामु साट्न चाहन्छु । सुन्दर चरीहरुको मधुर अनि सुन्दर चिरबिर आवाज सुन्दै, पंक्षीहरुको महफिल भन्न चाहन्छु । साथै मेरो आफ्नो त्यो अवस्थमा गुज्रेका अनुभवहरु बाँड्न मेरा अक्षरहरु आतुर छन्, यो उषामा आज ।

जीवन जिउँदै जाँदा हरेक उकाली ओराली पार गर्नु सृष्टिको देन हो । मेरो जन्मअघि म कहाँ थिए र मृत्युपश्चात म कहाँ पुग्छु मलाई थाहा छैन । हामी आआफ्नै विश्वासमा चलेका छौं ।

मलाई राति गार्हो बनाऊथ्यो, जरो पछि शरीर पूरै पसिनाले भिज्थ्यो । मुखमा स्वाद भने पटक्कै थिएन, ज्वरो करिब ७ दिन आयो । अनि हल्का ज्वरो र खोकी १२ दिनसम्म रह्यो । खाना छिनछिन्मा खान्थें, फ्रिजम़ा नराखेको जुस प्रसस्त पिउथें, पानी मन तातो पिउथें । शरीरमा सङ्क्रमण छ, त्यसैले पहिलेको भन्दा धेरै खानु पर्छ भन्ने ज्ञान थियो ।

हामीले स्वर्ग र नरकको निर्माण गरेका छौ, त्यो हाम्रो विश्वास हो । केही हदसम्म विश्वासले काम गरिरहेको हुन्छ । तर सबैलाई नगर्न सक्छ । त्यसैले सिद्धार्थ गौतम ‘बुद्ध’मा रुपान्तरित हुनुभयो । आफैँले सत्यको खोजी गर्नु भो । एउटा अकाट्य सत्य के हो भने जन्मेको क्षणमा जुन हामीले पहिलो श्वास लिन्छौं त्यसै दिनदेखि अन्तिम श्वासको गिन्ती सुरु भएको हुन्छ । यो साक्षात विधिको विधानलाई सम्झन सक्यौं भने हामी बाँचेर मात्र मर्ने छौं । मर्न अघि नै मर्ने छैनौं, प्रत्येक पल उत्सवको रुपमा लिंदै आनन्दले जीवन जिउने छौं ।

प्रेमको अनुभव, मृत्युको भय :
जुन अवस्थाले यो पृथ्वी गुज्रिरहेको छ, म किन अछुतो हुन्थें र ? विश्वका ठूला भनिने देश, ठूला भनिने हरेक व्यक्ति त्रासमा जिइरहेका छन् । यो अदृश्य शक्ति कोरोना भाइरसले न दरबार छोड्यो, न सडकका पेटीमा कटौरामा आएका सुका र मोहरमा जीवन धानी रहेकालाई छोड्यो । हामी सबैलाई चेतना भयो होला आज कि धन- दौलत, मान- सम्मान घटीबढी होला तर मृत्यु समान हो । हरेक हृदयले अनुभव गर्ने प्रेमको भाव, दुक्ख र सुक्खको भाव हरेक प्राणीमा उही हो । मानिस हुन् या जङ्गलका जीवजन्तु ईश्वरले प्रेमको अनुभव, मृत्युको भय बराबर दिनु भएको छ । हाम्रो बुझ्ने चेतनाले बुझ्न र अनुभव गर्न नसकेको हो भन्दा सायद दुई मत नहोला ।

म एक नर्स हुँ भन्नु पर्दा जन्म र मृत्युको साक्षी, मृत्युको क्षणको पीडा पनि देखेको छु । बच्चा जन्मदाको हर्षोल्लास पनि देखेको छु । कहिलेकाहीं लाग्छ कि अस्पताल जन्म र मृत्युको जङ्क्सन हो, जहाँ एन्ट्री र एक्जिटद्वार छ ।

मलाई कोरोनाको लक्षण देखिंदा म काममै थिएँ । काममा सबै जनामा अन्योल, अनिश्चिय, भय, त्रास थियो नै थियो । तर पनि आफ्नो काम गरिरहेका थियौं । एक जना साथीले आआफ्नो ज्वरो नापौं भन्नु भयो । कसैको ३५ आयो, कसैको ३६ आयो तर मेरो करिब ३८ थियो । मेरो शरीर दुख्न सुरु भैसकेको थियो । मैले मलाई त ज्वरो छ, कोरोना हो कि के हो ? भन्दा सबै जनाले जिस्काए । मेरो शरीर धेरै असजिलो भए जस्तो भयो, अलि अलि खोकी पनि थियो, अनि सिटामोल खाएँ ।

घर आएँ अनि खाना खाएर सुतें । करिब मध्यराततिर शरीर काँपी रहेको रहेछ । जिउमा असह्य पीडा अनि काम ज्वरो सुरु भयो । ज्वरो नाप्दा ३९ रहेछ, तुरुन्त ज्वरोको औषधि खाएँ । बिहान करिब ५ बजे १११ मा फोन गरेँ, जवाफ आयो तपाईं तुरुन्त आइसोलेसनमा बस्नोस्, श्वास फेर्न गारो भो भने तुरुन्त हामीलाई फोन गर्नोस् ।

मैले बुझिहालें यो भाइरसको असर बढ्न नदिने घरेलु उपचार नै हो । छोराछोरीलाई जीरा, अदुवा, बेसार, दालचिनी पानी पकाउन भनें । अनि अलिकति नुन हालेर तातोतातो पानी दिनको तीन पटक पिउन थालें ।

हजुरमुमाको खुब याद आयो, उहाँ धेरै अघि स्वर्गवास भै सक्नु भयो । सानोमा रुघाखोकी लाग्दा त्यसरी नै पानी खुवाउनु हुन्थ्यो, तात्तातो खाऊ आत्था-आत्था गर्दै भाग्छ भन्नु हुन्थ्यो । तर के भाग्थ्यो भन्नु हुन्थेन । उहाँको प्रेम अनि उहाँलाई सम्झँदै तात्तातो पानी पिउन थालेँ । मनतातो नुन पानीले मुख कुल्ला गर्न थालेँ । टूथ ब्रशले जिब्रोको तल भागलाई बिस्तारै कोतरेर सफा गर्थें हरेक बिहान । बेलुका तातो दूध, मह र बेसार पिएर सुत्थें जसले मीठो निन्द्रा दिन्छ र बेसारले एन्टी सेप्टिकको काम गर्छ ।

मलाई राति गार्हो बनाऊथ्यो, जरो पछि शरीर पूरै पसिनाले भिज्थ्यो । मुखमा स्वाद भने पटक्कै थिएन, ज्वरो करिब ७ दिन आयो । अनि हल्का ज्वरो र खोकी १२ दिनसम्म रह्यो । खाना छिनछिन्मा खान्थें, फ्रिजम़ा नराखेको जुस प्रसस्त पिउथें, पानी मन तातो पिउथें । शरीरमा सङ्क्रमण छ, त्यसैले पहिलेको भन्दा धेरै खानु पर्छ भन्ने ज्ञान थियो । अर्को मलाई के पनि ज्ञान थियो भने शरीरले मलाई बचाउन सक्दो प्रयास गर्नेछ ।

मैले शरीरलाई प्रेम गर्नु पर्छ र शरीरले मलाई प्रेम गर्छ भन्ने मलाई पूर्ण विश्वास थियो ।

खोकी लागि रहेको थियो । छाती, घाँटी, नाक, कन्चटतिर लगातार सन्चो लगाऊंथें तर त्यति गन्ध आउँदैन थियो । पानीको बाफ लिन्थें । पेटमा गडबडी पनि भयो, उल्टी पनि गरेँ ,पखाला पनि लाग्यो तर एक दिन मात्र । तर पनि खाना खान छाडिन, मुख सार्है तीतो हुन्थ्यो, तीन हप्ता पूरा भई सक्यो तर पनि स्वाद फर्किसकेको छैन । शरीर यति दुख्योकी १०/१२ जना मान्छेले पिटेर फालिदिएको जस्तो अनुभव हुन्थ्यो । नुहाउँदा पानीको फोहोराले पनि दुखाऊँथ्यो ।

एउटै घरमा बसेपछि परिवार किन अछुतो हुन्थ्यो र ! मेरो छोरोलाई पनि सङ्क्रमण भयो । अहिले हामी सपरिवार ठिक छौं ।

जीवनमा रुपान्तरण :
मलाई मृत्युको कुनै भय थिएन । जब ओशो सन्यास लिएँ । त्यही दिनदेखि उहाँको प्रवचन र ध्यानले जीवनमा ठूलो रुपान्तरण भएको थियो । मेरो हृदयमा भय हराएर गयो । प्रत्येक ६ घण्टामा सिटामोल खान्थें १ ग्राम । सिटामोल खाएपछि हल्का हुन्थ्यो, गुरुको प्रवचन सुन्थें, मन पर्ने गीत सुन्थें र धेरै निदाउथें जसले गर्दा धेरै मनले अनेक शङ्का उपशङ्का गर्न पाउँदैन थियो ।

शरीरमा आरामको जरुरत हुन्छ । जब हामी मिठो निदाउँछौं, शरीरले पूर्ण आराम पाउँछ, अनि प्रत्येक सेलहरुले आरामको महसुस गर्छन् र सङ्क्रमण बिरुद्ध उर्जा पैदा गर्छन् । जब अलि सक्ने भएँ पछि ध्यान गर्न थालें ।

जब हामीलाई मनमा त्रास आउँछ त्यही समय शरीरका सेलहरुमा, कोशीकाहरुमा परिवर्तन आउँछ । हामी शुभ सोच्छौं शरीरमा सकारात्मक उर्जाको निर्माण हुन्छ, अशुभ सोच्छौं त नकारात्मक उर्जाको निर्माण हुन्छ । अनि त्यसबाट शरीरमा हिलिङ्गमा असर गर्न सक्छ । हामीलाई आज बनको बाघले खाओस्, नखाओस् मनको बाघले खाइरहेको छ, त्यसैले नकारात्मक नसोचौं, शुभ सोचौं ।

भागवत गीतामा श्री कृष्ण भन्नुहुन्छ, ‘न शस्त्रले काट्छ यसलाई, न आगोले जलाउँछ, न हुरीले उडाउँछ, न पानीले गलाउँछ’ यो अकाट्य छ, अविनासी यो चेतना, यो आत्मालाई बुझ्ने तिर लागौं ।

जीवन एक युद्धभूमि हो । दुक्ख र सुक्ख बीचको, रोग र स्वस्थता बीचको, जन्म र मृत्यु बीचको, ज्ञान र अज्ञान बीचको । यो द्वन्द्वात्मक अवस्थाबाट माथि उठ्नु जीवन विजय हो । न दुक्खले उसलाई रुवाउँछ, न सुक्खले ऊ मातिन्छ, हरेक क्षणमा ऊ शान्त रहन्छ र आनन्दित रहन्छ ।

म सेल्फ आइसोलेसनमा बस्दा मेरी भाउजु सीता भण्डारीसँग कुरा भयो जो वेम्ब्लीमा बस्नु हुन्छ र नर्थविक पार्क हस्पिटलमा काम गर्नु हुन्छ । उहाँले भन्नु भयो उहाँलाई पनि जिउ दुखेर, शरीर जिरिङ्ग भएको छ र हल्का ज्वरो हो कि जस्तो छ । उहाँले विश्वास गर्नु भएको थिएन, उहाँले अर्को दिन भन्नु भयो मेरो काम छ । उहाँको म्यानेजर राम्रो रहेछ आफैँले टेस्ट गर्ने व्यवस्था गरिदियो र अर्को दिन पोजिटिभ रिजल्ट आयो । बिस्तारै जरो बढ्न थाल्यो, खोकी पनि सुरु भयो अनि रमाइलो पक्ष हाम्रो लक्षण साटासाट गर्दै हाँस्थ्यौं हामी ।

धेरैको लक्षण फरक थियो तर हाम्रो सबै उस्तैउस्तै थियो । सबै भन्दा तीतो अनुभव शारीरिक अवस्था सार्है कमजोर हुँदो रहेछ, तर मानसिक अवस्था भने पूर्ण आनन्दित थियो । यो सङ्क्रमण पछि यति धेरै खाना खाने भएको छु, सायद किटाणुले हाम्रो सबै उर्जा लिंदो रहेछ ।

म ठीक छु अहिले र काममा फर्की सकेकी छु । एक हप्ता भयो; गार्हो छ अस्पतालमा तर हामीले हिम्मत हारेका छैनौं । यो अवधिमा संक्रमणको कारण सेल्फ आइसोलेसनमा बस्ने धेरै हुनुहुन्थ्यो, एक अर्कालाई सान्त्वना दिन्थ्यौं ।

त्यसैले मेरो अनुरोध छ हजुरहरु सबैले सावधानी अपनाउनु होला । सरकारको अनुरोधको पालना गर्नुहोला । योग, ध्यान गर्नु होला, राम्रो मुभी हेर्नुहोस्, बुद्ध टेलीसिरियल हेर्नोस्, नाच्नोस्, गाउनोस्, गार्डेनमा काम गर्नोस्, प्रकृतिसंग नजिक हुनुहोस्, भलो सुन्नोस्, आनन्दित रहनोस् ।

शुभ समय होस् या अशुभ समय होस्, आखिर त्यो सकिनेछ । फेरि नयाँ बिहानी, नयाँ उत्साह, नयाँ आशा बोकेर उदाउनेछ । ‘धीर भै रहनु, बिपत्ति सहनु जस्तै परोस्’ तापनि यो मलाई हजुरमुमा ले दिनु भएको दीब्य उपदेश थियो ।

सद्गुरु ओशो भन्नु हुन्छ, ‘जब भयको अन्त्य हुन्छ अनि सही जीवनको सुरुवात हुन्छ । जीवन नृत्यमय हुन्छ, सङ्गीतमय हुन्छ, जीवन उत्सव बन्छ । सूर्य उदाएकै छ, चन्द्रमा झुल्केकै छिन्, फूल फूलिरहेकै छन्, अनन्त आकाश शान्त छन्, पङ्क्षी सङ्गीतमय छन्, पालुवा पलाउंदै छन् । जीवन सार्है सुन्दर लाग्छ र यो अवसर प्रदान गर्ने परमात्मालाई धन्यवाद दिन चाहन्छु ।’

सेल्फ आइसोलेसनमा बस्दा आवश्यक सामान किनेर ल्याइदिनु भई सहयोग गर्नु हुने मञ्जु श्रेष्ठ दिदी, बागेश्वरी शाक्यजी, आयेल्स्बरीका सम्पूर्ण नेपाली समुदाय, इष्टमित्र ,साथीभाइ, आफन्तजन सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु । नेपलिज नर्सिङ्ग असोसिअसन यूके परिवारलाई विशेष धन्यबाद छ । आदरणीय महामहिम नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीज्यू जसले फोन र मेसेज गरेर स्वास्थ्य लाभको कामना गर्नुभयो उहाँलाई अनन्त धन्यवाद दिन चाहन्छु ।

अन्त्यमा सद्गुरू ओशोलाई सप्रेम धन्यवाद दिन चाहन्छु, जसले प्रदान गर्नु भएको ज्ञान र प्रकाशले जीवन ज्योतिर्मय र उर्जामय भएको छ ।

अन्तमा यो भन्न चाहन्छु कि सुक्खमा धन दौलत काम लाग्छ, दुक्खमा ज्ञान काम लाग्छ, ध्यान काम लाग्छ । हामीलाई न जन्मको अधिकार छ, न मृत्युको अधिकार छ । हामीलाई जीवन कसरी जिउने भनेर चुनाव गर्ने अधिकार छ त्यो अशान्तिले तनावले जिउने कि, शान्ति र आनन्दले जिउने ? अवश्य सकारात्मक डोरी समाउनु उत्तम रोजाइ हो ।

त्यसैले जे आउँछ सर्व स्वीकार गरौँ, घाम लागे तापौं, झरी परे भिजौं, मिलेसम्म छाताको व्यवस्था गरौं । यो धर्तीमा केही पनि स्थायी छैन, हामी अस्थाई जीवनमा स्थाई जागिर खोज्छौं । हामी यो धर्तिका यात्री हौँ केही समयको भिसा लिएर आएका छौं । यो जीवन केवल लिला हो, कति समयको करारनामामा हस्ताक्षर गरेर आएका छौं, अनभिज्ञ छौं । यो शास्वत सत्यम़ा आत्तिने काम नगरौं ।

भागवत गीतामा श्री कृष्ण भन्नुहुन्छ, ‘न शस्त्रले काट्छ यसलाई, न आगोले जलाउँछ, न हुरीले उडाउँछ, न पानीले गलाउँछ’ यो अकाट्य छ, अविनासी यो चेतना, यो आत्मालाई बुझ्ने तिर लागौं ।

यो समय आत्मविचारको समय हो । हामी कहिले शान्तसँग दिनभरी बस्न पाएका थिएनौं । बिदाको दिनमा पनि विभिन्न कार्यक्रम, पार्टी, भोजभतेर, भेटघाटम़ा ब्यस्त हुन्थ्यौं । लकडाउनको यो अमूल्य अवसर हो । आत्म विचारमा आफ्नो उर्जा एकत्रित गरौँ, संयमित हौं, अनि सावधानी अपनाउँदै आफू बाँचौं र अरुलाई पनि बचाऔं ।

हजुरहरु सबैको समय शुभ रहोस्, मेरो परमात्मासँग यही प्रार्थना छ ।

(अजिता सिम्खडा ऐल्सबरीस्थित स्टकम्यान्डभिल अस्पतालमा वरिष्ठ नर्सको रुपमा कार्यरत छिन् । उनी महाराजगञ्ज शिक्षण अस्पतालबाट नर्सिङ पढेर संयुक्त अधिराज्यमा पुगेकी युवती हुन् । उनी बेलायतमा नेपाली नर्सिङ एशोसिएसनको गरिमामय संस्थापक अध्यक्ष हुन् । नेपाली साहित्यमा पनि बलियो पकड भएकी उनी साहस र शौर्यले भरिपूर्ण मानवतावादी नारी हुन् । )


साहित्यकार इन्दिरा प्रसाईद्वारा प्रस्तुत अजिता सिम्खडाको कोरोनाको अनुभवबारेको बहुमूल्य लेख

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौँ । नइ प्रकाशनको रजत महोत्सवका उपलक्ष्यमा नेपाली भाषासाहित्यका विशिष्ट साधकका नाउँमा विद्यावारिधि शोध गर्ने एक जना विशिष्ट शोधार्थीलाई एक

गएको एक वर्ष हामी विश्वभरिकै मनुवाहरूले कोरोनासँग डराउँदै वितायौँ । हामी सबैलाई भ्याक्सिन निस्केपछि त जनजीवन सामान्य हुन्छ भन्ने ठूलो

डा. प्रदीप ढकालद्वारा लिखित उपन्यास ‘एन्टोनिया’(आध्यात्मिक प्रेमकथा) चाडैं नै प्रकाशित हुने भएको छ । प्रेमलाई आध्यात्मिक दृष्टिबाट प्रस्तुत गरिएको उक्त

‘वासु शशी’ नेपाली भाषासाहित्यका अमर प्राज्ञको नाउँ हो । उनको जन्म १९९३ साल चैत १३ गते काठमाडौँको पशुपतिमा भएको थियो