कागजी बादशाह खड्गप्रसाद ओली ढलिसकेः रामकुमारी झाँक्री


काठमाडौं- नेकपा प्रचण्ड-नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी ओली कागजी बादशाह भएको बताएकी छन् ।

बुधबार नेकपा प्रचण्ड-नेपाल समूहले काठमाडौंमा आयोजना गरेको विरोधसभामा बोल्दै झाँक्रीले यस्तो बताएकी हुन् ।

उनले भनिन्, ‘खड्गप्रसाद ओली कागजी बादशाह हुन् । ती अब ढलिसके ।’ अहिलेको यो लडाईं ओलीविरुद्धको मात्र नभई ओली प्रवृतिविरुद्ध भएको बताइन् ।

अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले अब ओली प्रवृत्ति नदोहोरिने सुनिश्चितता गर्नुपर्ने उनको भनाइ छ ।

नागरिकहरुको बलिदानबाट आएको व्यवस्थामा जनताको बोल्न पाउने अधिकार कसैले खोस्न नसक्ने झाँकी बताइन् ।

झाँक्रीले फेरि पनि राष्ट्रपति विद्यादेवी भण्डारीमाथि प्रहार गरिन् । उनले राष्ट्रपतिमाथि बोल्दा महिला अस्मिताको प्रश्न नआउने बताइन् ।

झाँक्रीले भनिन्, ‘बोल्न पाइन्छ । नागरिकको मुखमा टेप टाँसिएको छैन । हामी बोल्न जन्मेका हौं । खड्गप्रसाद ओली तानाशाह हुन् । उनको प्यादा बन्ने राष्ट्रपति माथि बोल्न पाइन्छ ।’

उनले थपिन्, ‘एउटा खलपात्रको विरुद्धमा बोल्दै गर्दा कसले भन्छ महिला अस्मिता मिचियो ? कुनै पदमा लिंग हुँदैन । मैले राष्ट्रपति संस्थाविरुद्ध होइन, व्यक्तिविरुद्ध बोलेको हुँ ।’


Loading comments...