पृथ्वी जयन्तीको अवसरमा विवेकशील साझाले एकता यात्रा गर्ने


काठमाडौं । रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले पृथ्वी जयन्तीका अवसरमा महाकाली–मेची राष्ट्रिय एकता यात्रा गर्ने भएको छ ।

साझा पार्टीको कार्य सम्पादन समितिको मंगलबार बसेको बैठकले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा एकता यात्रा गर्ने निर्णय गरेको हो ।

“विचारभन्दा माथि देश”को भावना प्रवर्द्धनसँगै पार्टीले बोकेको एजेन्डा जनतासमक्ष पुर्याउन एकता यात्रा गर्ने तय भएको सो पार्टीका प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।

‘देशको स्वार्थ गौण र राजनीतिकर्मीको स्वार्थ प्रधान हुँदै जाँदा एकतर्फ नेपालको स्वाभिमान अत्यधिक रूपमा क्षयीकृत हुँदै गएको र राजनीतिकर्मीहरूले देशलाई शीरमा नराख्दा सुशासनको अपेक्षा नै गर्न नसक्ने स्थितिमा हामी पुगेका छौँ। त्यसैले सबैभन्दा माथि देश नै हो भन्ने भावना हामी सबैमा जागृत हुनुपर्‍यो। सो भावना प्रवर्द्धनको शुभारम्भ गर्ने दिन राष्ट्रिय एकता दिवस बाहेक अर्को हुन सक्दैनथ्यो,’ अध्यक्ष मिश्रले भने ।

एकता यात्रा पुस २७ गते कञ्चनपुरबाट शुभारम्भ गर्ने तयारी छ । माघ १६ गतेसम्म चल्ने एकता यात्रा माघ १६ गते झापा पुगेर टुंगिने प्रवक्ता पाठकले बताए ।

नेपाल एकीकरणका अगुवा मानिने पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ लाई गणतन्त्र स्थापनापूर्व एकता दिवसका रूपमा मनाउने गरिएको थियो । तर त्यसपछिका वर्षमा सरकारी तबरबाट दिवस मनाउन छाडिएको छ । राप्रपालगायत दलले स्वतःस्फूत पृथ्वी जयन्ती मनाइरहेका बेला विवेकशीलले एकता यात्रा गर्ने भएको हो ।


Loading comments...