Dr.Kalyan Subedi

विदेश जानेले अचानक ज्यान नजावोस भनेर के के सतर्क अपनाउनु पर्छ ? – डा. कल्याणको उपाय


१. बिदेशमा युवाहरुको अचानक मृत्यु हुने कारण के हो ?
– घटना अनुसार कारण फरक फरक हुन्छन l कतिपय समयमा कारण पत्ता नलाग्न पनि सक्छ l युवा अवस्थामा अचानक ज्यान जानुका मुख्य कारणहरु यस प्रकार हुन्छन: अचानक मुटु चल्न छोड्नु वा मुटुको धड्कन बन्द हुनु (cardiac arrest), हृदयघात वा heart attack (myocardial infarction), रक्सीले श्वास प्रश्वासमा बाधा पुर्याउनु (alcohol poisoning), अत्यधिक तातो बायु/बाताबरण र शरीरमा पानीको कमि एकै पटक हुनु (heat stroke), पक्षघात (stroke), आत्महत्या (suicide), रगत जमेर धेरै टुक्राहरु बनेर फोक्सोमा गएर बाधा पुर्याउनु (pulmonary embolisim), carbon monoxide gas poisoning, (severe) sleep apnea (with heavy alcohol) आदि l यहाँ भनिएका सबै रोग र अवस्थाहरु बिदेशमा हुने युवालाई बढी हुने कारण हुन: अस्वस्थकर खानपिन, शरीरले धान्न सक्ने भन्दा धेरै काम, निन्द्रा कम, शरीरमा पानीको मात्रा कम, रक्सि चुरोटको अत्याधिक सेवन, शारीरिक तथा मानसिक तनाब, नियमित स्वास्थ मुल्यांकनको अभाब आदि l माथि भनिएका रोगहरु बारे मुनि व्याख्या गर्ने प्रयत्न गर्नेछु l

– हाम्रो मुटुले रगत पम्प गरेर शरीरभर पुर्याउछ जसले गर्दा शरीरका खरबौं कोषहरु बाँच्न सकेका हुन्छन l मुटुले एक दिनमा लगभग एक लाख पटक रगत पम्प गरेको हुन्छ अर्थात् एक लाख पटक धड्कन हुने गर्छ l यो प्रक्रियालाई सघाउनको लागि power source को लागि मुटुमै विधुतीय झट्का उत्पन्न हुन्छ, दिनको एक लाख पटक l यदि यो विधुतीय झट्का हुनु पर्ने समयमा भएन, गुणस्तरीय भएन, हुनु पर्ने भन्दा धेरै पटक भो वा निकै कमजोरले भो भने मुटु चल्न छोड्छ जसलाई Cardiac arrest भनिन्छ l यस्तो भयो भने मानिसको ज्यान केहि मिनेट मै जान्छ l मानौं विधुतीय झट्का गुणस्तरीय खालको छ तर मुटुको कोषलाई जिवितै राख्न मुटुको मांशपेशीमा भएका रक्तनलीमा कलेस्त्रल (cholesterol), घ्रिताम्स (fats) आदि जमेर रगत संचार भएको छैन भने मुटुकाकोष मर्न थाल्छन जसलाई हृदयघात वा heart attack (myocardial infarction) भनिन्छ l यस्तो अवस्थामा धेरैको ज्यान केहि मिनेटमै जान सक्छ l हृदयघात वा heart attack भन्ने बित्तिकै हामीलाई सिनेमामा देखाएको जस्तो निकै छट्पटाएको, रोइ-कराई गरेकॊ कुराहरु दिमागमा आउछ तर सबै हृदयघात त्यस्तै हुँदैनन् l कोहि त्यतिकै सुतिरहेको समय मै पनि बेहोस भएर नजिकै बसेकोले पनि थाह नपाउने गरी मृत्यु हुन सक्छ l अझ धेरै रक्सि खाएर सुतेको रहेछ भनेत संगै सुतेकोले पनि थाह नपाउन सक्छ l गलत खानपानको कारणले गर्दा यस्तो समस्या धेरै देखिन्छl हृदयघात वा heart attack कसरी हुन्छ र रोकथाम को लागि के गर्नु पर्छ भन्ने बारेमा जान्न चाहनुहुन्छ भने यो लिंकमा जानुहोस
 Heart Attack का लक्षणहरु के हो र यसको उपचार कसरी गरिन्छ ?

– यदि कसैले शरीरले धान्न सक्ने भन्दा निकै धेरै रक्सि पिएको छ भने रक्सीको कारणले हाम्रो दिमागमा भएको स्वास-प्रश्वास केन्द्र (जहाँबाट शास लिने र फाल्ने प्रक्रिया सहज पार्न फोक्सो मुनि र माथिका (छातीका) मांशपेशीमा संकेत पुर्याइन्छ त्यो संकेत प्रणाली) मा बाधा पुर्याउँछ l यो प्रक्रिया अत्याधिक रक्सि सेवन गरेको ३० मिनेट देखि २ घण्टा भित्र सुरु भएर व्यक्ति coma मा गएर ज्यान पनि जान सक्छ l यस्तो समस्या प्राय रक्सि पिउन शुरु गरेको केहि महिना वा केहि साल भएको युवालाई धेरै हुने गर्छ l रक्सिबाट मृत्यु हुने अर्को कारण पनि हुन्छ l हामीले खाना निलेपछि पेटमा जाने pipe र सास फेरेपछि फोक्सोमा जाने pipe को मुख एउटै हुन्छl खाएको चिज वा घोप्टि पर्दा पेटबाट फर्किएर आएको चिज फोक्सोमा जाने pipe तिर नजाओस भनेर हाम्रो शरीरले रोक्ने माध्यम बनाएको हुन्छ जसलाई gag reflex भनिन्छ l उक्त gag reflex प्रक्रिया पनि दिमागको संकेतबाटै चलेको हुन्छ l कसै कसैलाई नियमित पिउने मात्रा भन्दा केहि धेरै मात्रामा रक्सी पिउँदा घांटीको gag reflex मा असर गर्छ र राती सुतेको बेलामा पेटको खाना, acid, र अन्य धेरै तत्व फोक्सोमा गएर श्वास प्रश्वासमा बाधा पुर्याउन सक्छ र ज्यानै पनि जान सक्छ l

– घर बाहिर काम गर्ने, चर्को घाममा काम गर्नेको शरीरमा पानीको मात्रा कम भयो भने शरीर यति तात्छ र शरीरलाई यति असर गर्छ कि शरीरका कोषहरू leak हुन, टुक्रन थाल्छन l यो प्रक्रिया केहि समय रह्यो भने १-२ घण्टा मै जान जान्छ l
– दिमागमा जाने रक्तनलीमा बाधा पुगेर रगत दिमागमा समयमा नपुग्ने वा दिमागमा भएको रक्तनली फुटेर पक्षघात (stroke) हुन सक्छ l यसको कारण कसै कसैको ३-४ घण्टामै ज्यान जान सक्छ l यो प्राय मुटुको समस्या भएका, रगत सम्बधि रोग भएका, उच्चरक्तचापको समस्या भएकाहरुहरुमा बढी हुने सम्भावना रहन्छ l यस बारेमा थप जान्न चाहनु हुन्छ भने मैले लेखेको लेख को लिंक यहाँ छ——>

पक्षघात (stroke = brain attack) भनेको के हो?
– बिदेशमा धेरै नेपालीले आत्महत्या गरेको पनि सुन्नु भएको होला l कोहि कोहि लामो समय depressed हुँदा पनि औषधि उपचार नगरी बस्छन वा औषधि उपचार गर्ने मौका नपाएर त्यतिकै बस्छन, मनको कुरो अरुलाई भन्न सक्दैनन् l हाम्रो समाजमा depression लाई त्यति seriously लिने चलन छैन l अझ अर्को समस्या के हुन्छ भने depressed mood र major depression (जसले आत्महत्या गर्ने सम्म बनाउछ) बिचको फरक धेरैलाई थाह छैन त्यसैले major depression भएको ले आफ्नो कुरो भन्न खोज्दा “त्यस्तो depressed जो पनि हुन्छ l यति सानो कुराले पनि चिन्तित हुने हो?” भन्ने खालको कुरा गरिदिन्छन जसले गर्दा major depression भएकाहरुले आफ्नो कुरा भन्नु भन्दा नभन्नु नै बेस भनेर गुम्सिएरै बस्ने गर्छन् र एकदिन आत्महत्या गर्छन l Major depression भएकाको सजिलै उपचार हुन्छ l यस बारे थप जान्न चाहे तलको  पोष्टको लिंक यहाँ छ

डिप्रेसन के हो र यसबाट कसरि बच्ने ?

– यदि तपाईं सुतेको घरमा carbon monoxide gas छ भने तपाईंको ज्यान १ घण्टा भित्र जान सक्छ l पेट्रोल वा ग्याँस प्रयोग गरेर generator चलाउने गरेको छ, कपडा सुकाउने dryer वा अन्य कुनै ठुला मेसिनरी आँफु सुतेको घरमा वा घरको छेउमा छ र ventilation राम्रो छैन भने carbon monoxide gas तपाईं नजिक आउन सक्छ l यो gas को रंग हुँदैन, गन्ध हुँदैन, पोल्दैन र देख्न पनि सकिदैन l आफ्नो कोठामा यो gas को मात्रा कती छ भनेर पत्ता लगाउने मासिन बिदेशमा सजिलै किन्न पाइन्छ l

– तपाईंलाई sleep apnea छ (सुत्दा घुर्ने बनाउछ यो रोगले) र साथमा टन्न रक्सि खाएर सुत्ने गर्नु हुन्छ भने तपाईंको शास फेर्न धेरै मिनेट बन्द भएर ज्यान पनि जान सक्छ l सबै घुर्ने समस्याले ज्यान लिंदैन तर राती शासनै रोकिने गरी असर गरेको छ र रक्सि, चुरोट प्रचुर मात्रामा खाने बनी छ भने बेलुकी सुतेर भोलि नउठ्ने सम्भावना धेरै रहन्छ l

२. यसरी अचानक मृत्यु हुने कारण बारेका भ्रमहरु के के हुन?
– सबै भन्दा धेरै फैलिएको भ्रम हो “Air Conditioning (AC) को चिसोले ज्यान जान्छ”l AC ले कसैको पनि अचानक ज्यान लिंदैन l मुटुको समस्या भएर मुटुले शरीरको कोषहरुको demand धान्न नसकेको बेलामा AC को चिसोले बरु शरीरको कोषलाई कम सक्रिय बनाईदिएर मुटुलाई एकछिन भए पनि धेरै काम गर्नु नपर्ने बनाएर ज्यान जोगाइ दिन सक्छ l AC को चिसोले टाउको दुख्ला, रुघा लागे जस्तो होला तर यसको कारण मात्र अचानक मृत्यु हुँदैन l यदि central cooling system छ भने AC को filters समयमा परिबर्तन नगर्दा वा कोठा-कोठामा हुने individual AC unit मा जम्मा भएको थोपा थोपा पानी राम्रोसंग नियन्त्रण नहुँदा आँखाले देखिन नसकिने ढुसी र अन्य जिबाणुहरु हुर्किनाले pneumonia हुने वा allergy हुने वा खोकी लाग्ने ज्वरो आउने आदि हुन सक्छ जसको सजिलै उपचार हुन्छ l यस्ता ढुसी/जिबाणुहरुबाट रोग लाग्न निकै समय लाग्छ र अचानक मृत्यु हुँदैन l
– अर्को भ्रम हो “बाहिर काममा गर्मि र घर भित्र चिसो भएका कारण ज्यान जान्छ”l यदि यसरी ज्यान जाने हो भने व्यक्ति कोठा भित्र छिरेको केहि मिनेट मै रिंगटा लागेर ढलेर coma मा जानु पर्छ पहिले l घरमा आएर खाना खाएर रमाइलो गरेर राती तीर मात्र यो कारणले ज्यान जाँदैन l
– कसैले “छाति माथि हात राखेर सुतेको कारणले ज्यान जान्छ” भनेको पनि सुनेl ढुक्क हुनुहोस यसरी तपाईंको ज्यान जाँदैन l

३. विदेश जानेले अचानक ज्यान नजावोस भनेर के के सतर्क अपनाउनु पर्छ ?
– विदेश जानु अघि राम्रोसंग स्वास्थ जांच गर्नुहोस् l पैसा दिएर कागज मात्र बनाउन तर्फ नलाग्नुहोस l

– प्रत्येक साल रगत जांच गर्नुहोस l यदि cholesterol, triglycerides, रक्तचाप लगाएतका समस्या छन् भने ६-६ महिनामा रगत जांच र EKG चेक गर्नुहोस l रगत जांच गर्दा कम्तिमा CBC, CMP, lipid level, HbA1c चेक गर्नुहोस् l धेरै cholesterol, triglycerides हुनेले के के गर्नुपर्छ भनेर जान्न चाहनुहुन्छ भने यो लिंकमा जानुहोस

-धेरै रोगहरु बन्शाणुगत हुने गर्छन जसले गर्दा जति नै स्वास्थ जिबनयापन गरेपनि र कहिल्यै रक्सि चुरोट नखाने, दिनहु स्वास्थमा ध्यान दिए पनि बंशाणुगत रोग (defective genes) को कारण अस्वस्थकर जिबन जिउनेलाई भन्दा धेरै वा छिटो रोग लाग्न सक्छ l बाबु आमा दुवै तर्फका रगतका नातेदार हजुर बुवा हजुर आमा, काका, फुपु, मामा आदिलाई ६५ बर्ष भन्दा कम उमेर हुँदा जे जे रोग लागेको थियो वा अहिले लागेको छ त्यो सबै तपाईंमा पनि लाग्न सक्ने सम्भावना धेरै रहन्छ l त्यसैले कम्तिमा पनि घरमा भएका आफ्नो बाबु आमाको प्रत्येक साल रगत जांच गर्न लगाउनुहोस र केहि गडबढ देखियो भने आफ्नो डाक्टरसंग family history यस्तो छ अब मैले के साबधानी अपनाउनु पर्छ भनेर सोध्नुहोसl

– यदि कहिले काहीं मुटुको धड्कन अलि फरक भएको जस्तो, एक्कासी मुटु छिटो चलेको जस्तो, देब्रे छाती, घांटी र देब्रे हाततर्फ पनि दुखेको महसुस हुन्छ भने तुरुन्त EKG गर्नुहोस l

-आजैबाट चुरोट छोड़नुहोस; रक्सि कम गर्नुहोस वा पुरै छाड़नुहोस; एकै पटक कोचेर धेरै खाना नखानुहोस; रक्सि, मासु, खाना आदि एकै पटक खाएर शरीरलाई धेरै बोझमा नराख्नुहोस l
– पेट बढेको छ वा शरीरको तौल बढेको छ भने खानामा बिशेष ध्यान दिनुहोस, ब्यायाम गर्नुहोस l यस बारेमा थप जान्न मन भए यो लिंकमा जानुहोस

– पानी प्रसस्त पिउनुहोस, खानामा नुन सकेसम्म कम राख्नुहोस र बजारका नुनिला कुराहरु खान कम गर्नुहोस l

– शारीरिक काम गर्नेले दिनको कम्तिमा ८ घण्टा सुत्नुहोस l

– हल्का छाती पोल्ने, रिंगटा लाग्ने, शरीर अचनाक थकित र गलेको जस्तो एकै पटक जसो हुने गर्छ भने तुरुन्त डाक्टरकोमा जानुहोस l एकछिन थकाई मारेर बस्दा कम वा सन्चो भएपनि सोहि दिन वा भोलि पल्ट डाक्टरकोमा जानुहोस l

– कुनै रोग वा अवस्थाको लागि औषधि खानु हुन्छ भने आँफु खुसी बन्द नगर्नुहोसl कहिले खाने कहिले नखाने पनि नगर्नुहोस l रक्सि त झनै नपिउनुहोस l

– यदि कामले निकै थकाउँछ, बिना कारण मन छट्पट्टीएको छ, लामो समय सुत्दा पनि थकान नपुगेको जस्तो लाग्छ भने प्रसस्त फलफुलका रस वा फलफुल खाने गर्नुस १ हप्ता जति l यसो गर्दा पनि भएन भने डाक्टरकोमा जानुहोस l

– तपाईंलाई केहि कुराले चिन्तित बनाएको छ र त्यो चिन्ता दिनहु बढ़दो छ; कुनै कारण बिना धरधरी रुन मन लाग्छ; सानो कुरामा पनि झर्को लाग्छ; केहि गर्ने जाँगर आउदैन; नुहाउने, धुने, सफा गर्ने आदि नियमित गर्ने काम गर्न पटक्कै मन हुँदैन; आँफु वरिपरीका मानिसहरु संग बोल्न मन लाग्दैन; खाना खान मन लाग्दैन, निन्द्रा अतिनै धेरै लाग्छ वा सुत्नै सकिदैन आदि हुने गर्छ भने तुरुन्त डाक्टरकोमा जानुहोस l

अंग्रेजीमा पढ्नुहोस्: What are the reasons behind sudden death of young people in abroad?

डा. कल्याण सुवेदीलेखहरु 


Loading comments...