एउटा स्वास्नी मान्छेको अन्तरवार्ता : पारिजात कविता


ज्यू,
काम गरेको मात्र थाहा छ
दुःख पाएको मात्र थाहा छ
फाटेको चोलो र जडाउरी गुनिउँ
लगाएको मात्र थाहा छ
जोवन सोध्नुभएको?
त्यो त हजुर आएको, गएकै थाहा छैन ।
खै, जान्ने सुन्नेले भनेको
मेरो जोवन त जिम्मुवालको ऊ त्यो
गहुँबारीमा सप्रियसक्यो रे !
उसैको करेसाबारीको सयपत्रीमा फुलिसक्यो रे !
खै, कुन्नि कस्तो अनौठो
मेरो आँखा र ओठमा नफुलेर मेरो जोवन
अर्काको सम्पत्तिमा फुल्ने रे !
के भन्नुभयो, निकै हिस्सी परेकी छु रे ?
ज्यू, त्यो दहको पानीमा हेर्दा
त्यस्तै त्यस्तै लागेको थियो
तर के भरपर्दो हुन्छ र
पानीमुनिको छायाँ ।
ढाँटेकी भए हजुरको मासु खाने
मेरी बास्सै !
लोग्नेलाई त मैले जग्गेमा मात्र देखेकी
टोपीमा लालुपातेको फूल घुसारेर
निधारमा तीनवटा सितारा टाँसेर
गालामा अलि अलि लाली घसेर
आएको मेरो अधबैंसे दुल्हा
आरन जस्तै अँध्यारो र
खलाँती जस्तै धुस्त्रो थियो
ए, हाँस्नुभएको हजुर त !
यसको गोडा पखालको पानी खानु साँझ बिहान
यो तेरो देउता हो भनी
बुढी बज्यैले भन्दा
घुम्टोभित्र म रोएकी
खै, कसरी देखाउँ
गालामा आँसुको डोब बस्दैन हजूर
पहरामा खहरेको डोब बसेजस्तो।
ज्यू, माइत त सात खोला सात डाँडा उता छ
मैले बालखकालमा देखेकी सपना जस्तै
मेरो मुटुभित्रै भएर पनि कति कति टाढा ।
जै–जन्म सोध्नुभएको ?
ज्यू इनै दुई छोरा
च्याँसे र पुन्टे, डेढ वर्षको फरक छ
ढाँटेको भए यो आगो हातैमा छ हजूर ।
यो च्याँसे
मुखियाको घर बनाउने ढुंगा बोक्दा–बोक्दै पाएकी
नाम्लो त थाप्लोमै थियो गाँठे
फरियामा पोको पारेर ल्याएँ
छाप्रोमा साल–नाल काटेँ
फेरि मुखियाको धान गोड्दा गोड्दै हिलोमै जन्मियो यो पुन्टे
हिलोमा जन्मिनेहरुलाई
कहाँ लेखेको हुँदोरहेछ र सिमलको भुवा ?
ज्यू, हुर्काउँदैछु हजूर हुर्काउँदैछु
नाङ्गै–भुतुङ्गै
जनावरहरु जस्तै
कुकुर र सुँगुरका बच्चाहरु जस्तै।
ज्यू, माया लाग्छ यै बूढा कामीको
गरिबीभन्दा अर्को छनौट नै के छ र जीवनमा ?
म पनि त चायाँ र कलेटीले
तर्साउने जस्तै भइसकेँ
के म स्वास्नीमान्छे जस्ती छु र ?
ल फेरि हाँस्नुभयो हजुर त !
जीवनको अर्थ
ज्यू, केही बुझ्या छैन
मेरो कामीको रङ र फलामको रङ
एउटै छ हजुर !
च्याँसे–पुन्टेको छालाको रङ र बाटोको धुलोको रङ
एउटा छ,
म पनि त हजूर फोहोर, मैला, ध्वाँसो जस्तै छु
कामी रुने होइन कहिल्यै
उसका पसिनाको रङ
र मेरो आँसुको रङ
एउटै छ हजुर !
ज्यू, ज्यू काम गर्नेहरुले खान पाउनुपर्छ
भन्ने कुरा
भर्खर–भर्खर पो थाहा पाउन लागेकी छु हजुर !
————–
बलात्कृतको बयान
जंगली फूलहरु फुलेको भिरालोमा
पैतालाको काँडा झिक्तैथेँ, हजुर  !
बाघ चितुवाको शिकार
खेले जस्तो होइन
मान्छेहरु जस्तै
मान्छेहरुले जस्तै
सुसेल्दै, गीत भन्दै
छिल्लिँदै र जिस्किँदै
बनपाले र उनका मतियारहरुले
मेरो ज्यानसँग
जथाभावी गरे
मेरो इज्जत सबै लुटे
मलाई रक्ताम्मे पारे
काल नआएकी म
मर्न सकिनँ, हजुर।
माइती एकादेशमा
लोग्ने निम्छरो
ठूला–बडाको मुख हेरी
गाउँलेहरुले मलाई यहाँ ल्याइदिए, हजुर।
बाहिर मेरो रक्षे गर्ने कोही छैन
मलाई ऊ ।।। त्यो झ्यालखानाभित्र
राखिदिनुहोस्, हजुर !
झ्यालखानाभित्र।


Loading comments...