पापी मंसीर


subash Bhandari
Subash Bhandari

 मंसिर ४, काठमाण्डौ । जिन्दगीमा केही अभावहरु, समय अवस्थाका कयौ दबाबहरु अनि उनले सधै खोज्ने भरोसाका जवाफ हरु । अभाव, दबाब र जवाफ को बिचमा रुमोलिएको मेरो जिन्दगी । सपनाको सहरमा रहरको खाली डोको बोकेर हिडिरहेको म आज फेरी झस्किए, बारम्बार म झस्कि रहन्छु जब जब कार्तिक अन्तिम दिनहरु आउँछन अनि मलाई पात्रो पल्टाउनु पर्छ । मैले बनाएर हुने भए सायद अबको एक, दुई बर्षको क्यालेन्डरबाट पापी मंसीर हटाउने थिए । तर यो मंसीर नै लागि परेको छ मेरो सपना लाई मेरो जिन्दगीबाट हटाउन ।

समय निरन्तर आफनो गतिमा हिडिरहेको होला, जब मंसीर शुरु हुन्छ आजकल निकै सूस्त चल्दैछ जस्तो लाग्छ समय । लामो यात्रा पश्चात एउटा चौतारीमा थकाई मार्न बसेको बटुवा झै आरामसँग पल्टिएको जस्तो । केही वर्ष पहिले यहि मंसीर महिना निकै रमाइलो लाग्थ्यो, घर, गाँउमा विहेको माहोल पन्चेबाजा, बसको छतमा बसेर बेहुलीको घरमा जाने जोस, सानै थियौ अनि निधारमा टिका पश्चात पाउने त्यो खाम अनि खाम भित्रको दाम निकै चासोको बिषय हुन्थ्यो । भतेरमा केही चोक्टा मासुको स्वादले मंशिर वर्ष भरिकै उत्कृष्ट महिना जस्तो लाग्थ्यो ।

तर अहिले समय केही फरक र विपरित बन्न पुगेको छ । ति पन्चे बाजाको धुनमा नाच्ने मेरा खुटटाहरु आजकल नाच्ने छाडिसके, जब पन्चे बाजाको धुन सुन्छु आजभोलि मेरो मुटु काप्छ, बैबाहिक कार्यक्रममा लुकी लुकी भएपनि जाने म आजकल त्यस्ता कार्यक्रमसँग लुक्न मात्र मन लाग्छ । अघिल्लो मंसीरमा उनिसँग गरेको प्रेमिक सम्झौदा म सम्झदै छु । अर्को मंसीर सम्म म अवश्यक म तिम्रो हात माग्न आउँछु । सोंचे जस्तो सधै कहाँ हुन्छ र एउटा जागिरको खोज्दै दौडिएको पनि निकै भैसक्यो तर जागिर पाउने कुनै टुङगो छैन । सर्टिफिकेट बोकेर अन्तवार्ता र परिक्षा दिने दिनचर्या नै भएको छ तथापि कतैबाट खबर आएको छैन ।

हिजो पनि उनलाई दिने जवाफ मसँग केही भएन । घरमा विहेको कुरा चलेको छ, भन्दै उनि आफनो रुन्चे बोलीले मेरो जवाफको प्रतिक्षामा रहिन, तर उनलाई दिने जवाफ मसँग थिएन । पोहोर सालको मंसिरमा बाढि आयो, अनि मेरो सर्वस्व बगायो भन्दै गुनासो गर्ने मनोज पनि यो मंसीर महिना रुचाउदैन । असार, साउनको बाढिले मात्र घर, खेत बगाउछ तर जब मंसीरमा लगनको बाढि आउछ सम्पुर्ण सपना बगाँउछ अनि मात्र हेरिरहनु सिवाय सकिदैन केही गर्नलाई ।

साच्ची केटा हो यो मंसिरमा पिआर र भिहारवाला देखेर पनि डर लाग्छ, छोटो समयमै सपना उडाएर लान्छन जनक गुनासो सुनाउछ । मेरो बस चल्दो होस त म केही समयको लागि एउटा क्यालेन्डर बनाउने थिए, जसमा यो पापी मंशिर महिना नै नहोस, अनि नहुन लगनका दिन जुन दिन मेरी सपनाको लगन जुरोस कोहि अरुसँग । त्यो पात्रो हेरेर नतोकियोस त्यो दिन, जुनदिन अरु कसैले उनको सिउँदो भरोस । नआओस यो पापी मंशिर केही समयको लागि, जबसम्म म आफनो खुटटामा उभिएको महसुस नगरु ।


Loading comments...