
जनरल भूपालमानसिंह कार्की
६ जेष्ठ २०७६, सोमबार १२:१२
जनरल भूपालमानसिंह कार्की पौरखी पुरुष थिए । जनरल मातृकाप्रसाद कोइरालाको भनाइमा ‘जनरल कार्कीको मिहिनेत, त्याग र तपस्याले उनी एउटा सामान्य खरदारबाट क्रमशः उठ्तै लप्टन, बडाहाकिम, काठमाडौं उपत्याञ्चलको कमिश्नर, मन्त्री र राजसभा स्थायी समितिको सभापतिसम्मको आसनमा पुगे ।’ त्यस बेलाको राजसभामा प्रधानमन्त्री र प्रधानन्यायाधीश पनि पदेन सदस्य हुन्थे । उनी आठ वर्षसम्म राजसभाको सम्माननीय सभापति भए । राजनीति उनको पेसा थिएन तर राजनीतिले पनि उनलाई छाडेन । किनभने उनी इमान्दार थिए, शिष्ट थिए र नैतिक थिए ।
जनरल कार्की मन्त्री पनि भए । २०१४ सालमा डा. केआई सिंहको प्रधानमन्त्रीत्वमा गठित मन्त्रिपरिषद्मा उनी मन्त्री भएका थिए । त्यसबेला उनले नै पश्चिम नेपालतिर राजा महेन्द्रको सवारी चलाएका थिए । त्यसै बेलाको घटना हो– राजाले टेकेको भूइँ छाम्दै जनताले राजाले कुल्चेको धुलोको टीका लगाएका थिए । नेपाली परिवेशमा यो बेहोरा अचम्मैले फैलियो । राणाकालीन युग र त्यसपछि प्राप्त प्रजातन्त्रबाट दुखित भएका नेपाली जनताले त्यस बेला राजाको महत्व राम्ररी बुझेका थिए ।

जनरल कार्की मन्त्री भएकै समयको कुरा हो; त्यसै फेरोमा महाकवि लक्ष्मीप्रसाद देवकोटा पनि शिक्षा मन्त्री भएका थिए । त्यसैघडी देवकोटा र कार्की मिलेर कीर्तिपुरमा त्रिभुवन विश्वविद्यालय रहनु पर्छ भन्ने माग राखेका थिए । अनि त्यस ठाउँमा कार्कीकै नेतृत्वमा झन्नै पाँच हजार रोपनी जग्गा जग्गा अधिकरण भयो । त्यसपछि कार्कीलाई राजा महेन्द्रले झनै काखी च्याप्न थाले । त्यसैल २०१५ सालमा पनि सुवर्णशमशेरको अध्यक्षताको मन्त्रीपरिषदमा उनी फेरि मन्त्री भए । त्यसबेला पनि उनले राष्ट्रनिर्माणको महायज्ञमा आफूलाई मन, वचन र कर्मले समाहित गरे ।
भूपालमानसिंह कार्की ९५ वर्ष बाँचे । उनले नेपाली पृष्ठभूमिमा झन्डै ८५ वर्ष अटुट सेवा गरे । उनले नेपालको राजनैतिक, प्रशासनिक र सामाजिसेवामा बराबरी ख्याति आर्जन गरे । खासगरेर पूर्वाञ्चलका दर्जनौ बाटो, पुल, मठमन्दिर र स्कुलमा यिनको तन, मन र धनले जरा गाडेको थियो ।
कार्कीसँग सधैं नजिक हुनेमध्ये मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला र कीर्तिनिधि विष्ट थिए । वीपी कोइरालाले आफू प्रधानमन्त्री भएका बेला कार्कीलाई काम गर्न सजिलो पारे । कतिसम्म भने केही पर्यो भने लेखेर काम चलाउनु भनेर बीपीले आफ्नो प्याडमा हस्ताक्षर गरेका खाली पाना पनि कार्कीलाई दिन्थे । त्यसैगरेर गिरिजाप्रसाद कोइरालाले पनि कार्कीलाई ‘भरिएको घडा’ भन्थे । साथै मातृकाप्रसाद कोइराला भन्थे ‘भूपालमानभन्दा इमान्दार, हिम्मतिलो र ठूलो भावना भएको नेपाली मैले भेटेकै थिएन ।’ त्यसैगरेर उनीबारे कीर्तिनिधि विष्टले ‘कार्की देशभक्त, इमान्दार र विकासवादी इतिहास पुरुष’ भनिरहन्थे ।
कार्की नेपाली परिवेशमा एउटा श्रद्धेय थिए । त्यसैले राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रले पनि उनलाई धेरै नजिक राखे । नेपालमा प्रजातन्त्र आउने वितिक्कै मानार्थ सैनिक मानपदवी पाउने पनि उनी नै प्रथम नेपाली थिए । उनी वृगेडियर जनरलसम्म भए ।
बडाकप्तान हस्तवीरसिंह कार्कीका नाति, कप्तान केशरसिंह कार्की तथा खड्ककुमारी कार्कीका सुपुत्रका रूपमा जनरल भूपालमानसिंह कार्कीको जन्म १९६६ असोज ८ गते काठमाडौंमा भएको थियो । केशरसिंह, खड्ककुमारीका २२ जना सन्तानमध्ये २१ जना नै अल्पायु भए । उनी १४ वर्ष हुँदासम्म यी बाहेक यिनका सबै दिदीबहिनी र दाजुभाइहरूको निधन भैसकेको थियो । त्यसपछि यिनको संरक्षण यिनकी कान्छी काकी भक्तकुमारी कार्कीबाट भएको थियो ।
कार्की सानैदेखि समाजसेवामा समर्पित थिए । १९८० सालमा घोपा फुस्रेमा हैंजाबाट धेरै मान्छे मरे । हैंजाका लास उठाउनेलाई पनि हैंजाले लाने गथ्र्या । त्यस बेला यी १५ बर्षका थिए । त्यतिखेरै यिनका अगुवा समाजसेवी जगतबहादुर कटुवाललाई पनि हैंजाले लग्यो । तर कार्की मृत्युदेखि डराएनन् । वास्तवमा त्यो भयाभय स्थितिलाई उनले छाडेर जान सकेनन् । नडराई यिनले धेरै लास खाडलमा पुरे । साथै १९९० सालको महाभूकम्पमा पनि यिनले जनधनको सुरक्षामा आपूmलाई समाहित गरे ।
कार्कीको जीवनमा टाँस्सिएको प्रिय नाउँ थियोे– कर्णेल शिवप्रतापशमशेर थापा । यिनले थापाकै अनेक गुण सिके । यिनै थापाले यिनलाई जागिरमा पनि खुट्टा टेकाए । कार्कीले पनि थापालाई पितृतुल्य माने । थापाकै निर्देशनले कार्की भीमशमशेरको प्रधानमन्त्रीत्व कालमा भारत गएर नेपाली फर्काएर ल्याउने काममा जुटे । फर्केर आउने ती नेपालीलाई जङ्गल फाँडेर बसोवास गर्न भीमशमशेरले हुकुम दिएका थिए ।
जनरल कार्कीले हिरण्य, हेमकुमारी, दुर्गाकुमारी, भूमासमेत चार जनासँग बिहे गरे । पत्नीहरूको क्रमशः निधन भएपछि उनी लगन गाँठो कस्तै जान्थे । साथै यिनका ४ छोरी र ४ जना छोरा जन्मे । यिनका जेठा छोरा जगतबन्धु कार्की समाजसेवामा लागे । जनरल कार्कीले स्थापना गरेको मेची क्याम्पसमा यिनले संस्थापनाकालमा प्रिन्सिपल हुनुका साथै निशुल्क चार वर्ष पढाएर छाडे । जनरल कार्कीले स्थापना गरेको झापाको पद्म पब्लिक हाईस्कुलमा पनि जगतबन्धुले अवैतनिक सेवा गरे । माइला लोकबन्धु कार्की झापा जिल्ला पञ्चायतको सभापति भए । लोकबन्धुले चित्रकारितामा पनि आफूलाई डो¥याए । साइँला लोकमानसिंह कार्की नेपाल सरकारको सचिव, मुख्य सचिव र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त भए । उनी अख्तियार प्रमुख भएका बेला भ्रष्टाचारका विरुद्ध एउटा ठूलै जागरण आएको थियो । नेपालको राजनीति र प्रशासनको इतिहासमा त्यस प्रकारको कम्पन त्यसअघि कहिले पनि थिएन । जनरल कार्कीका कान्छा छोरा डा.बालमानसिंह कार्की वीपी कोइराला क्यान्सर अस्पतालका अध्यक्ष भए । साथै उनी किस्ट मेडिकल कलेजका पनि प्रिन्सिपल भए ।
कार्की राणाकालीन युगमा झापामा लप्टन भए । उनले त्यहाँ गाउँगाउँमा बाटो बनाए, पुलहरू पनि बनाए । एक वर्ष बस्ता उनले त्यहाँ ४४ वटा पुल बनाएका थिए । त्यसबेला स्थानीय राजवंशी नारीहरूका कम्मर माथि कपडाले छोप्ने यिनैले चलन बसाए । यिनले मेची र कोसीमा प्राथमिक, मिडिल र हाइस्कुलहरूको स्थापना गरे ।
राणाका लप्टन भए तापनि कार्की झापामा भित्रभित्रै प्रजातन्त्र ल्याउने काममा सरिक थिए । कृष्णप्रसाद कोइरालाको प्रेरणाले उनी यस बाटोमा हिंडे । नेपालमा प्रजातन्त्र आएपछि नेपाली काङ्ग्रेस केन्द्रीय समितिले उनलाई झापा जिल्लाको काङ्ग्रेस सभापतिमा मनोनीत गरेको थियो । त्यसैबेला नेपाल सरकारले उनलाई पूर्वाञ्चल हेर्ने मोरङको बडाहाकिम पनि नियुक्त गरेको थियो ।
जनरल कार्कीले आगलागीबाट ध्वस्त भएको दुहवीबजारको पुनः निर्माण गरे । यिनले मातृकाप्रसाद कोइराला र तोलाराम दुगडसँग मिलेर विराटनगरमा वीरेन्द्र सभागृह बनाए । विराटनगरको आदर्श विद्यालय स्थापना गर्न पनि उनकै पाश्र्व भूमिका थियो ।
जनरल कार्की आर्थिक रुपमा पनि अति सम्पन्न थिए । मेची र कोशी अञ्चलमा उनको पैत्रिक सम्पत्ति मात्र ४२१ विघा जग्गा थियो । साथै उनले पनि झन्नै त्यति नै जग्गा जोडेर उनी ८ सय बिघाका भूमालिक भए । उनले पूर्वाञ्चलका शिक्षण संस्थाहरूलाई जग्गा, पैसा दिएर अडिलो बनाए ।
कार्कीलाई मठ मन्दिर, स्कुल, बाटोपुल बनाउने सारै सौख थियो । त्यसैले उनी यसैमा दत्तचित्त भएर लाग्थे । उनी उपत्यकाञ्चलको कमिश्नर भएका बेला ललितपुर जिल्लाका मेजिस्टेट बद्रीप्रसाद थपलियासँगको मद्दतमा टीकाभैरवबाट हेटौंडा जाने बाटो उनैले खनाए ।
कार्की पशुपति सुधार विकास समितिको सभापति पनि भए । त्यहाँ उनले तिरुपतिको शैलीमा पशुपतिनाथ सञ्चालन गर्नुपर्छ भन्ने नीति ल्याउने अठोट गरे । तर उनको त्यस कामको विपरित मूलभट्ट लागे । त्यसपछि उनले राजीनामा दिए ।
कार्कीले भारतका विभिन्न मठमन्दिर र धर्मशालाहरूमा पनि आर्थिक सहयोग गरे । यिनैले करडौं रुपियाँ राशि खर्चेर विराटनगरमा अतिरुद्र याग नाउँको पुराण लगाए । त्यसभन्दाअघि पनि उनैले महारुद्र यज्ञ समेत गरे ।
जनरल कार्कीले एक करोड रूपियाँ राशिको भूपालमानसिंह कार्की प्रज्ञापरिषदको स्थापना गरे । नइ प्रकाशनको स्थापनामा पनि यिनैको पाश्र्व भूमिका थियो । साथै त्रिमूर्ति निकेतनको निर्माणमा समेत उनको पनि आर्थिक सहयोग थियो । नइ प्रकाशनले आफ्ना संस्थापक कार्की र उनकी साइँली पत्नी दुर्गाकुमारीको स्मृतिमा ‘नइ भूपालदुर्गा पुरस्कार’को स्थापना गरेको छ । ताम्रपत्र सहित एक लाख रूपियाँ राशिको यो पुरस्कार हरेक वर्ष राष्ट्रका एक जना सुप्रसिद्ध व्यक्तित्वलाई समर्पण गरिन्छ ।
कार्कीले नेपालका १४ अञ्चल अनि एशिया, युरोप र अमेरिकाका विभिन्न भूभाग घुमे ।
जनरल कार्कीले दुई कृति लेखे, ‘सवाल जवाफ’ र ‘मेरो जीवनयात्रा’ । साथै उनको सम्मानमा नइले ‘पौरखी पुरुष’ र नेपाली भाषाका ५२ जना कविद्वारा रचित शास्त्रीय छन्दमा ‘भूपाल अर्चना’ प्रकाशनमा ल्यायो । उनको जीवनभरिको योगदानको कदरस्वरुप नेपाल राष्ट्रका विभिन्न साहित्यिक, सामाजिक, धार्मिक, शैक्षिक संस्थाहरूबाट उनलाई छुट्टाछुट्टै गरेर झन्नै पाँच सय ओटा अभिनन्दनपत्र प्रदान गरिएको थियो । उनी ओमराम पट्ट, ज्योर्तिमय सुविख्यात त्रिशक्तिपट्ट, सुप्रसिद्ध गोरखादक्षिण्बाहु लगायत देशविदेशका थुप्रै अलङ्कारबाट विभूषित थिए ।
नेपाली धरामा आफुलाई समाहित गरिरहेका अवस्थामा देशभक्त जनरल कार्की २०६० साल माघ १ गते काठमाडौंमा स्वर्गीय भए ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नइ कीर्ति र आकृति र नइ कृतिलयको लोकार्पण नइ प्रकाशनले राजधानी काठमाडौँमा देशदेशान्तरका २०१ जना स्रष्टालाई ‘नइ कृति रत्न’ अलङ्कारले
हो- इन्जिनियर शङ्कर गिरीले जीवनभरी साहित्यको ‘स’ पनि लेखेनन्, तर साहित्यमा उनी पिएच्डीका पात्र भइसकेका छन् । कारण के हो
काठमाडौं । ‘प्रेमिल कवि’को छवि बनाएका चर्चित कवि तथा गीतकार बसन्त चौधरीले आफ्नी नातिनी आहाना शाक्य(चौधरी)को जन्मदिनको दिन पारेर बाल
नेपाल हाइकु केन्द्रले एकैसाथ आठ जना हाइजिनका आठ पुस्तक बिमोचन गरेको छ। शुक्रबार आयोजित बिशेष हाइकु गोष्ठी तथा पुस्तक बिमोचन