दशैं विदामा बालबालिकाहरुका लागि तपाईंले ध्यानदिनुपर्ने कुराहरु
अबको ३० दिन अर्थात एक महिना हजुरका नानीबाबुहरुको पुरै समय हजुरसँग बित्नेछ । अहिलेका नानीबाबुको अधिकांश समय विद्यालय अथवा बाल स्यहार केन्द्रले दिने वातावरणमा बितिरहेका छन् । यस बिचमा उनीहरुले आमा बाबु, हजूरबुवा हजूरआमा, काका काकी, दिदी बहिनीसँग पाउनुपर्ने वात्सल्यको आनन्द र शिक्षाको वातावरण भने गुमाईरहेका छन् । परिवारको व्यस्त जीवनशैली तथा बिहान र राती मात्र देखिने केटकेटीसंगको सामिप्यताले उनीहरुको बाल मस्तिष्कमा यही नै जीवनशैली हो, यो भन्दा फरक दिनचर्या हुन्न भन्ने छाप केटकेटीमा बस्न नदिनुहोस् । यस पर्वीय उल्लासको यो मनग्य फुर्सदिलो समय केटाकेटीका लागि छुट्याउनुहोस् र सकेसम्म यस बीचमा यी कामहरु गर्न नभुल्नु होलाः
१) दशैंमा हुने काटमार र बलि पूजाबाट तपाईंका नानिबाबुलाई टाढै राख्नुहोस् । उनिहरुलाई सक्दो प्राणीहरुको काटमार विषयमा हुने गफबाट टाढै राख्नुहोस्, उनीहरुको तिब्र विकसित मस्तिष्क विचलित हुनसक्छ ।
२) तपाईंका नानीहरुलाई उनिहरुले गर्नसक्ने कामहरु जस्तो तरकारी केलाउने, धुने र पकाउने अथवा चिया बनाउन सघाउने, घरको सरसफाइ गर्ने, लुगा धुने जस्ता घरायसी कामहरु र खेतबारीमा गरिने कामहरुमा पनि संलग्न गराउनुहोस् जसका कारण श्रमको मूल्य र मिहिनेत बुझ्न सकुन् ।
३) घरमा आउनु हुने पाहुनाहरुको सत्कार गर्न र आफू भन्दा सानालाई माया गर्न प्रेरित गर्नुहोस् ।
४) खाना खाँदा नानिहरुसँगै बसेर खानुहोस् र सङ्गै बसेर खानुको महत्त्व तथा विभिन्न परिकारको विविधता बारे पनि जानकारी दिनुहोस् ।
५) आफ्नो परम्परा, संस्कार र संस्कृति अनुसारकै खाना खान र लत्ताकपडा लगाउन दिनुहोस् जसले गर्दा नानिहरुलाई भविष्यमा हाम्रो परम्परा र संस्कार बुझ्न आत्मसाथ गर्न लाज लाग्ने, अप्ठेरो मान्ने नहोस् ।
६) तपाईंका नानिहरुले ढकमक्क फूल फुलेको ठाउँमा लैजानु होस् र बताई दिनुस् कि मानिसको जीवन पनि फूल जस्तै हो जसरी फूलहरु घाम पानीको पर्वाह नगरी फूली रहेका हुन्छन् त्यसरी नै हामीले पनि सकारात्मक, नकारात्मक प्रभावहरुको सामना जीवनमा गर्नुपर्ने हुन्छ तर अलिकति पनि विचलित नभई भोलिको चिन्ताले आज मुस्कुराउन छोड्नु हुँदैन भन्ने पाठ सिकाउनुहोस् ।
७) तपाईंका नानिहरुलाई आफ्नो टोल, समाजको विभिन्न सामाजिक काममा संलग्न गराउनुहोस्, सहयोग लिन र दिन उत्प्रेरित गर्नुहोस् जसले गर्दा समाजमा मिलेर बस्न सिक्नेछन् ।
८) पाठ्यक्रमको निश्चित घेरामा रहि पाठ्यपुस्तकमा राखिएका विषयवस्तुको अध्ययनले प्राप्त हुने अंक नै नानिबाबुको उच्च उपलब्धि होइन ।तपाईंका नानिबाबुलाई गुणवान्, निस्वार्थी, सहयोगी र मिलनसार मानिस बनाउन तपाईंको अहम् भूमिका रहने कुरा नभुल्नु होला है ।
९) मेला हेर्न लानूहोस, भीडमा हुने रमाईला गतिविधिले केट्केटीलाई जिज्ञासु बनाउँछ र उनीहरुले केही प्रश्नपनि तारन्तार सोध्नसक्छन् । ति प्रश्नहरुको सरल जवाफ दिनुहोस् । भीडले भरीएको जमातमा देखिने फरक अनुहार, रङ, पहिरन तथा यस्तै अनेक विविधताहरु देखेर अपनत्व मिल्नेछ ।
१०) मन्दिर तथा देवस्थलहरुको भ्रमण गराउनुहोस् र धर्म आस्था तथा समर्पण मानिसलाई किन चाहिन्छ र यसले हाम्रो जीवनमा कस्तो महत्व राख्छ भन्ने कुराको वोध गराउनुहोस् । हामी शीर किन निहूराउँछौ? हामी आँखा चिम्म गरेर दुवै हात जोडी किन देवी देउतालाई श्रद्धा अर्पण गर्छौं भन्ने कुराहरु उनीहले करले हैन बुझेर अभिव्यक्त गर्ने वातावरण बनाउन सहयोग गर्नुहोस् ।