चीनका सिनेमाघरलाई सत्तारुढ पार्टीको आदेश, ‘ हप्तामा दुई दिन प्रोपोगान्डा फिल्म अनिवार्य चलाऊनू’


चीन : चीनका हरेक सिनेमा हलले हरेक हप्ता कम्तीमा दुइटा पर्दा ‘प्रोपोगान्डा’ फिल्मका लागि छुट्याउनु पर्ने भएको छ । चिनिया अधिकारीले आउँदो शुक्रबारदेखि लागु हुने गरी यस्तो नियम ल्याएका हुन् । आउँदो हप्तादेखि सुरु हुने यो नियम वर्षको अन्त्यसम्म जारी रहने त्यहाँका अधिकारीले बताएका छन् ।

चीनमा आर्ट हाउस फिल्म चलाउने हल र सबै खाले फिल्म लगाउने गरी दुई खाले हल सञ्चालनमा छन् । यी दुवै खाले हलमा यो नियम लागु हुनेछ । चिनिया अधिकारीले यस्ता हलमा हप्ताको पाँच दिनसम्म पनि ‘प्रोपोगान्डा’ फिल्म चलाउन सक्ने आदेश दिएको छ ।

चीनमा कम्युनिस्ट पार्टी स्थापनाको १ सय वर्ष पुगेको उपलक्ष्यमा त्यहाँको नेसनल फिल्म एडमिनिस्ट्रेसन र प्रोपोगान्डा विभागले सिनेमालाई पनि यसमा सहभागी गराउन यस्तो उर्दी जारी गरेको हो । जुलाई १ मा चीनमा सत्तारुढ पार्टी स्थापनाको सय वर्ष पूरा हुँदैछ ।

नेसनल फिल्म एडमिनिस्ट्रेसनले हरेक प्रान्त, नगर तथा महानगरलाई कम्युनिस्ट पार्टीको गुणगान गाइएका, देशप्रेम तथा देशप्रेमीको बारेमा बनाइएका फिल्म प्रदर्शन गर्न आग्रह गरेको छ ।

पहिलो हप्ताका लागि यस्तो गुण बोकेका १२ फिल्म प्रदर्शनका लागि छानेको छ । यी फिल्मको प्रदर्शनमार्फत् त्यहाँका अधिकारीले सि जिन पिङको अवधारणालाई जनतामाझ स्थापित गर्ने लक्ष्य लिएको बताइएको छ । तर, नेसनल फिल्म एडमिनिस्ट्रेसनका अधिकारीले हलवालालाई हल छुट्याएर मात्र धर नहुने र यस्ता फिल्म लागेको बखत हल खचाखच हुनुपर्ने पनि उर्दी जारी गरेको छ ।

सिधा सिधा पार्टीको अवधारणालाई प्रोत्साहन गर्ने बाहेक सेनाको विषयमा बनेका फिल्मलाई पनि चिनिया अधिकारीले प्रोपोगान्डा फिल्मको रुपमा सूचीकृत गरेका छन् । सेनामाथि बनाएका फिल्म देखाउँदा यिनले ‘चेन अफ कमान्ड’को भावनालाई बलियो बनाउने र राष्ट्रप्रेमको भावना जागृत गर्ने भएकाले यस्ता फिल्म पनि देखाउनु पर्ने सूचीमा राखेको बताएका छन् ।


Loading comments...