Lifestyle Portal
  •   ८ श्रावण २०७८, शुक्रबार

नेपाली आकाशका तारा : लक्खीदेवी सुन्दास

१ भाद्र २०७६, आईतवार ०८:२९

नयाँ र पुराना जुनसुकै मान्छेका अगाडि लक्खीदेवी सुन्दास एउटी खुल्ला किताब थिइन् । उनका लागि साहित्यकारहरू नयाँ र पुराना हुँदैन थिए । त्यसैले स्रष्टाहरू पनि भन्ने गर्थे “बोलिरहूँजस्ती र सँगै बसेर कुरा सुनिरहूँजस्ती अथवा फरस्याउली स्रष्टाको नाउँ लक्खीदेवी सुन्दास हो ।” दार्जिलिङमा इन्द्रबहादुर राईदेखि राजनारायण प्रधानसम्मले हृदय खोलेर उनको प्रशंसा गर्थे । काठमाडौंमा पनि ईश्वरवल्लभदेखि बैरागी काइँलासम्मले उनको योगदानको चर्चा गर्थे । वास्तवमा नेपाली भाषाका जुनसुकै भक्तहरूले पनि उनको कुरा गरेकै हुन्थे । उनको वैयक्तिक स्वभावले गर्दा उनी धेरैकी मनपर्ने स्रष्टा बनिन् । उनी सौम्य रूपमा बोल्थिन् । बोल्दाबोल्दै उनले धेरै साहित्यिक विषयमा बिटमारिसकेकी हुन्थिन् । उनलाई हेरेपछि उनको जीवनको आनीबानीको अनुमान लगाउन सकिन्थ्यो । वास्तवमा उनी जस्तो सरल देखिन्थिन् त्यस्तै स्पष्ट व्यवहार गर्थिन् र लेख्न पनि त्यस्तै सहज र सरल लेख्थिन् । उनी सौम्यता, ज्ञान र सीपकी अनुकरण थिइन् ।

लेखकः नरेन्द्रराज प्रसाई

लक्खीदेवी संवत् १९९१ जेठ २५ गते बिहीबार जन्मेकी थिइन् । उनका बुबा चन्द्रबहादुर सिंह परियार र आमा धनमाया कोलकातामा बसेताका यिनको जन्म भएको थियो । यिनका बुबा त्यस बेला कोलकातास्थित वर्धमान राजाकी कान्छी छोरीका घरमा काम गर्थे । परियारलाई त्यस दरबारको कारबारी पनि भनिन्थ्यो । परियार त्यस दरबारका शक्तिशाली मान्छेका रूपमा गणना हुन्थे ।

लक्खीदेवी कोलकातामा जन्मे तापनि यिनको जीवनको अधिकांश समय दार्जिलिङमा नै बित्यो । यिनले दार्जिलिङको नेपाली बालिका गर्ल्स हाईस्कुलमा पढिन् । साथै म्याट्रिक परीक्षा दिन यी त्यहीँको शारदेश्वरी स्कुलमा भर्ना भइन् । यिनले दार्जिलिङको गभर्मेन्ट कलेजबाट आई.ए., बी.ए. पास गरिन् । कलकत्ता विश्वविद्यालयबाट यिनले दर्शनशास्त्रमा एम.ए. गरिन् । यिनले हिन्दी साहित्यरत्नको शैक्षिक उपाधि पनि हासिल गरिन् ।

लक्खीदेवीको बिहे २०१७ सालमा भयो । दार्जिलिङमा नै स्वास्थ्यक्षेत्रमा समर्पित डा.बलबहादुर सुन्दाससँग यिनले आफ्नो लगन गाँठो कसिन् । अनि त्यसपछि पनि यी पढाइमा निरन्तर लागिरहिन् । परिणामस्वरूप यिनले त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा पनि एम.ए. गरिन् । साथै यिनले त्रिभुवन विश्वविद्यालयबाटै ‘नेपाली कवितामा दार्जिलिङको योगदान’ विषयमा २०४६ सालमा विद्यावारिधि गरिन् ।

लक्खीदेवीको न्वारनको नाउँ पनि लक्खीदेवी नै थियो । बङ्गला भाषाको प्रभावबाट यिनको नाउँ लक्खी भएको मानिन्छ । लक्ष्मीलाई बङ्गला भाषामा लक्खी भनिन्छ । हुन पनि जतिजति यिनको उमेर छिप्पिँदै गयो त्यतित्यति यिनी लच्छिनकी देखापर्दै गइन् ।

लक्खीदेवी बाल्यकालदेखि नै साहित्यसृजनामा लागिपरेकी थिइन् । खास गरेर भानुभक्तीय ‘रामायण’को प्रभावले यी सुरुसुरुमा छन्दमा कविता लेख्थिन् । यिनले आफू तेह्र वर्षकी भएपछि आफ्ना कविताहरू जनसमक्ष सार्वजनिक गर्न थालेकी थिइन् । त्यति बेला यिनलाई प्रोत्साहन दिनेहरूको पनि अनिकाल थिएन । त्यसै बेला यिनका समकालीन साथीहरू अगमसिंह गिरी, अच्छा राई रसिकको होस्टेमा यिनका शब्दहरूले हैँसे गर्ने मौका पाएका थिए ।

लक्खीदेवीले आफ्नो बाल्यकाल कोलकातामा नै बिताइन् । त्यस बेलाका दिनहरू यिनका हृदयमा सधैँ ताजा भए । त्यस ताका चाडबाडका बेला त्यहाँ नेपालीहरूको समूह क्रियाशील देखिन्थ्यो । त्यस वातावरणमा लक्खीदेवी पनि गीत गाउने र नाच्ने गर्थिन् । वास्तवमा सानामा उनी नाच्न र गाउन पनि निपुण थिइन् । बङ्गलागीत कविता लक्खीदेवीका बालहृदयमा टाँसिएका विषयवस्तु थिए । किशोरावस्थामा टेक्न थालेपछि उनी हिन्दी पत्रपत्रिका पढ्नमा चाख दिन थालिन् । त्यति बेला ‘माया’ र ‘मनोहर कहानियाँ’ नामक पत्रिकाले उनको मन जितिसकेका थिए । तिनै पत्रिकाहरू पढेर उनी हिन्दी कथा र उपन्यास पढ्न पनि पल्केकी थिइन् । त्यसैले उनी प्रेमचन्दका कथाकी एउटी गतिली पाठक बन्न सकिन् । पत्रपत्रिकाका विविध विषयसँग अङ्कमाल गर्दागर्दै र प्रेमचन्दका कथा पढ्दापढ्दै उनी पनि कथा, कविता र निबन्ध लेख्ने भइन् । उनका कविता सूधपाले पनि मन पराउन थाले । त्यसै ताका सूधपाका आग्रहमा ‘दीपक’, ‘चन्द्रमा’ र ‘कमल’ नामक हस्तलिखित पत्रिकामा यिनका कविताहरू छापिन पनि थाले । यिनको पहिलो प्रकाशित कविता ‘दीपक’ हो र कथाचाहिँ ‘मतलबी संसार’ हो ।

लक्खीदेवीले दर्शनशास्त्रमा एम.ए. गरेपछि दार्जिलिङको लरेटो कलेजमा पढाइन् । त्यस बेला विद्यमान जातीय छुवाछूतको, सामाजिक कुसंस्कारको उनी पनि शिकार थिइन् । तर पनि शिक्षण संस्थामा भने त्यो रोग भाग्ने क्रममा थियो । छरछिमेकमा चाहिँ त्यो रोग हटेको थिएन । यति हुँदाहुँदै पनि सुन्दासले आफ्नो काम, कर्तव्य र अधिकारमा नै आफ्ना बलिया पाइला टेकिन् । त्यहाँ पढाउँदा पढाउँदै यिनले नौ वर्ष बिताइन् । प्राध्यापन र साहित्यलाई सँगसँगै बाटेर यिनले आफ्नो नाउँ नेपाली भाषासाहित्यको मन्दिरमा स्थापित गराइन् । लरेटो कलेजमा पढाउँदा पढाउँदै यिनी दार्जिलिङ गभर्मेन्ट कलेजमा सरुवा भइन् । त्यहाँ पनि एक वर्ष पढाएपछि यी पश्चिम बङ्गालको मुख्यमन्त्रीको पार्वत्य सचिवमा सरुवा भइन् । तिनै ताका उनी ‘पश्चिम बङ्गाल’ नामक पत्रिकाको प्रधानसम्पादक पनि भइन् । त्यसै बेला उनले ‘पश्चिम बङ्गाल’ नामक पत्रिकामा लेख्नेमध्ये उत्कृष्ट लेखकलाई बर्सेनि ‘भानु पुरस्कार’ दिने प्रथा पनि चलाइन् । उनी त्यस पदमा रहे पनि र नरहे पनि ‘भानु पुरस्कार’ नियमित चलिरह्यो । वास्तवमा उनले त्यस ठाउँमा काम गर्दा धेरै अनुभवहरूको पनि सङ्ग्रह गरिन् । साथै उनले पार्वत्य सचिवमा रही काम गर्दा भारत सरकारका शासनको प्रत्यक्ष विवरण बुझिन् । त्यस बेला यिनले आफूले सकेको नेपाली भाषाको सेवा पनि गरिन् ।

लक्खीदेवी साहित्यसृजना र सङ्गठनमा बराबरी सक्रिय थिइन् । उनी साहित्यिक व्यक्ति भनेपछि चाँडो सम्पर्कमा पुग्थिन् । त्यही मेलोमेसोमा यिनले नेपाली साहित्य सम्मेलनमा अध्यक्ष पद सम्हालिन् । त्यसकै माध्यमबाट यिनले नेपालबाट जगदम्बाश्री पुरस्कारको माला पनि लाइन् । सम्मेलनमा रहेर यिनले डेढ दर्जनजति कृतिहरूको सम्पादन पनि गरिन् । साथै यिनले आफ्ना अनगिन्ती मौलिक फुटकर रचना पनि निर्माण गरिन् । समालोचनामा समर्पित भएर केही कृतिहरूलाई यिनले आफ्नो समालोचकीय सामर्थ्यले नुहाइधुहाइ पनि गरिदिइन् ।

लक्खीदेवी कथा, कविता, निबन्ध जेजे विधामा समर्पित भए तापनि यिनको साहित्यिक व्यक्तित्वको पक्का परिचयचाहिँ समालोचना नै मानियो । यिनका मौलिक कृतिचाहिँ ‘आहत अनुभूति’ (कथासङ्ग्रह : सन् १९९८) र ‘सम्भावित अर्थ समर्पित एकान्त’ (कवितासङ्ग्रह : सन् २०००) र ‘समय र समीक्षणा’ (प्रबन्ध र समालोचनाङ्ग्रह : सन् २००८) हुन् ।

लक्खीदेवीले प्राध्यापन गरिन्, साहित्य रचिन् र समाजसेवामा पनि आफूलाई अग्रसर गराइन् । उनले २०१७ सालतिर कलकत्ता विश्वविद्यालयबाटै एल.एल.बी. पनि गरिन् । अनि यिनले केही समय कोलकाताको हाईकोर्टमा वकालतको प्रशिक्षण लिइन् । त्यसपछि उनका मनमा विचार फुर्यो “म दार्जिलिङमा नै जान्छु र वकालत गर्छु । त्यस ठाउँकी म प्रथम महिला वकिल पनि हुन्छु ।”

लक्खीदेवी दार्जिलिङमा पुगेपछि लरेटो कलेजमा नेपाली पढाउने प्राध्यापकको खाँचो भएको कुरा उनले आफ्नो घरिपरिवारबाट थाहा पाइन् । त्यसपछि उनले स्थानीय गण्यमान्यहरूको अनुरोधमा कलेजको प्राध्यापनमा नै आफूलाई दर्ता गराउन पुगिन् । त्यसपछि उनी अदालतको सेवामा हाजिर हुने हिसाबमा लागिनन् । प्राध्यापन पेसामा यिनले आफूलाई प्रवेश गराए तापनि यिनको हृदयान्तरको रुचि भने वकालत गर्ने नै थियो ।

लक्खीदेवीका जेठाजु इन्द्र सुन्दास त्यस बेला दार्जिलिङको कचहरीका मजिस्ट्रेट थिए । त्यसैले लक्खीदेवीले आफ्ना जेठाजुलाई आफूले वकालत गर्नेबारे उत्साहपूर्वक बिन्ती गरिन् । तर उनको त्यो भावनालाई इन्द्र सुन्दासले लत्याउँदै भनेका थिए “कलेजमा काम पाएकै छ, फेरि किन कचहरीमा काम गर्ने ? कचहरीमा लागेपछि कलेजमा काम गर्न भ्याइन्छ र ?” जेठाजुको यो प्रश्न लक्खीदेवीका निम्ति त्यस घडीको ऐनझैँ बन्न पुग्यो । उनले आफ्ना जेठाजुलाई तुरुन्तै यसको प्रत्युत्तर दिन हिम्मत गरिनन् ।

लक्खीदेवी सुन्दासको वकालत गर्ने भावनामा ठेस लाग्यो । त्यसपछि उनी प्राध्यापन र साहित्यको सेवामा मात्र लागिरहिन् । तर पनि यिनको भित्री मनबाट वकालत गर्ने इच्छाचाहिँ मरेकै थिएन । त्यस बेला सुन्दासका लागि ‘के खोज्छस् काना ? आँखो’ भएर अधिवक्ता मदन गुप्ता झुल्के । उनलाई एक जना सहयोगी वकिल चाहिएको रहेछ । त्यो बेहोरा सुन्दासका कानमा आएर ठोक्कियो । कलेजको पढाइ मिलाएर मदन गुप्तासँगै सुन्दासले पनि आफूलाई वकालती पेसामा संलग्न गराइन् । उनी यस काममा सहभागी भएपछि खूबै रमाइन् । तर दुर्भाग्य ! केही दिनपछि मदन गुप्ता मरे । त्यसपछि सुन्दासले पनि वकालत पेसाबाट सदाका लागि हात धोइन् ।

लक्खीदेवी सुन्दासले नेपाललगायत औपचारिक रूपमा चीन, सोभियत रुस, अफगानिस्तान र हङकङको भ्रमण गरिन् । उनको मन पर्ने विषयवस्तु भ्रमण गर्नु पनि हो । त्यसैले उनी आफ्ना रचनाहरूमा आफूले घुमेका ठाउँको वर्णन पनि गर्थिन् ।

लक्खीदेवी दार्जिलिङले जन्माएका साहित्यकार रूपनारायण सिंह, शिवकुमार राई, इन्द्रबहादुर राईको निक्कै वर्णन गर्थिन् । त्यसै गरी उनी सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधानको साहित्यिक जीवनबाट अति नै प्रेरित रहेको बेहोरा वर्णन गर्न थाक्तिन थिइन् ।

लक्खीदेवीले साहित्यमा समर्पित भएर भारतबाट भानुभक्त पुरस्कार, मिखाएल मधुसूदनदत्त अन्तर्राष्ट्रिय पुरस्कार, मोहनलाल पुरस्कार, भारतीय साहित्य अकादेमी पुरस्कार, सिक्किम साहित्य पुरस्कार, साहित्य महारथी, दुलीचन्द्र अग्रवाल सम्मानका साथै केही संस्थाबाट पदक, कदरपत्र, अभिनन्दनपत्रहरू पनि पाएकी थिइन् ।

लक्खीदेवीले नेपालबाट पनि पुरस्कार ग्रहण गरिन् । उनले रत्नश्री स्वर्णपदक, सैनध्वज नन्ददेवी पुरस्कार, गोमा पुरस्कार, लोकप्रियादेवी पुरस्कार पाएकी थिइन् । उनी नेपाल सरकारबाट प्रदत्त भानुभक्त स्वर्णपदकले पनि विभूषित भइन् । साथै उनलाई विश्वनारी नेपाली साहित्य पदक, विश्वनारी नेपाली साहित्य सम्मान, महाकवि देवकोटा शताब्दी सम्मान र नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार समर्पण गरिएको थियो ।

लक्खीदेवीका दुई छोरा योगेन्द्रराज सुन्दास र राजेन्द्रराज सुन्दासमध्ये योगेन्द्र खरसाङ रेडियोमा अधिकृत थिए भने राजेन्द्र पश्चिम बङ्गाल सरकारी कार्यालयमा अधिकृतका रूपमा कार्यरत थिए । तर उनी जीवनको उत्तरार्धमा एउटी परिचारिकासँग सिलिगुडीमा बस्तै आएकी थिइन् ।

नेपाली भाषासाहित्यमा बलियो पहुँच भएकी लक्खीदेवी निबन्ध, समालोचना, कथा, कवितालेखनमा बराबरी सक्रिय रहेकी थिइन् । उनको टाउको भन्दा मुटु ठूलो थियो । त्यही मुटुले साथ नदिएपछि उनी २०७६ साल साउन ३० गते भारतको सिलिगुडीमा स्वर्गीय भइन् ।

लक्खीदेवीको लेखन विविध विधामा फैलिए पनि यिनी संवेदनशील कवयित्रीका रूपमा चाहिँ परिचित र प्रतिष्ठित थिइन् । उनी आफू दलित भएकामा बैशमा धेरैकी हेला पनि भइन् । त्यसैले उनले आनो पीडामा घोलेर कविता लेखिन् :

हरे ! कसले आज ठड्यायो
तिम्रा र मेरा माझ पर्खाल ?
कसले सुनायो यो तिमीलाई
हामी बेग्लाबेग्लै हौँ भनी
किन यो भावले पिरोल्छ
किन हे ! भेदभावको पर्खाल ?


© नरेन्द्रराज प्रसाई
चित्रकार : Indra Khatri

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

विवेकशील साझा युवा संगठनका सचिव तथा पार्टीका केन्द्रीय समिति सदस्य अमित पाठकले सर्वोच्च अदालतको फैसलाले प्रतिगमनलाई परास्त गरेको बताएका छन्।

काठमाडौं। नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्न गठन गरिएको सँयुक्त कार्यदलले आइतबार राति सहमति जुटाएको छ। कार्यदलले १० बुँदे सहमति

काठमाडौं । वर्षासँगै बाढी–पहिरोले देशका विभिन्न ठाउँमा सडकखण्ड अवरुद्ध भएको छ । सडक विभागका अनुसार शुक्रबार बिहान सवा ७ बजेसम्म