Lifestyle Portal
  •   १३ मंसिर २०७८, सोमबार

तीजको व्रत र पोइटिङ्ग्रे: इन्दिरा प्रसाई

१४ भाद्र २०७६, शनिबार २१:२८

म सानैदेखि ‘कागले कान जता लग्यो त्यतै दौड्ने’ खालकी थिइन् । त्यसैले कतिपय धर्मसंस्कृतिका कुरामा मेरा आमाबुबाका निर्देशनको म पालना गर्दिन पनि थिएँ । फलस्वरूप उहाँहरूको खप्की र कहिले काहीँ थप्पडै पनि मेरा भागमा पर्ने गर्थ्यो ।

हुनत जबसम्म मभित्र चेतनाले जरो हालेको थिएन त्यस बेलासम्म त तीजको रमझम, व्रत बस्ने प्रक्रिया र रातैभरि पनि नाचगान गरेर बस्ता समेत म खुब रमाउथेँ । जब बिस्तारै मेरो चेत खुल्दै गएपछि भने अरू रमाइलो कुरा त रमाइलै लाग्थ्यो । त्यस बेलाको मेरो रमाइलोमा पनि आमा र उहाँका दौँतरीहरूका खुसीले चम्केका चेहरासमेत खामिन जान्थ्यो । उहाँहरूको त्यसबेलाको उत्साह हेर्न लायकको हुन्थ्यो ।

मेरी आमा र हजुरआमाहरूको जमानामा भनौ अझ मेरै वाल्यकालमा समेत नाच गान गर्ने कामलाई त्यति इज्जतिलो मानिँदैन थियो ।

लेखकः इन्दिरा प्रसाई

मेरी आमा दुर्गादेवी नेपालको १० वर्षको उमेरमा बिहे भएको थियो । तर बिहे हुनु अघिदेखि नै मेरी आमाले हुनेवाला पतिको दीर्घ जीवनका लागि व्रत बस्नुहुन्थ्यो भन्ने कुरा मैले आमाबाटै सुनेकी हुँ। निष्ठा र समर्पण पूर्वक उहाँद्वारा लिइने गरिएको व्रत र देउताको प्रभाव चाहिं उल्टो परेको थियो । अर्थात् मेरा बुबा गणेशप्रसाद नेपाललाई आमाले पुजेका र विश्वास गरेका देउताले ५० वर्षीय मेरी आमालाई एकल बनाउँदै ५६ वर्षका मेरा बुबालाई चाहिँ स्वर्गवासी बनाई दिएका थिए ।

आईमाईहरूलाई त्यस बेलाको समाजले मेलापात जाँदा बन घन्क्याउने, ढिकीजाँतो गर्दा वह थन्क्याउने अनि लोग्ने मानिसलाई जन्ति पठाएपछि आईमाईहरूको मात्र भेलामा कहिलेदेखि पोको पारेर राखेको सबै विक्रिति घोप्ट्याउने छुट थियो ।

अहिले त ‘जो नाच्छ उही धेरै बाँच्छ’ को अवधारणा आइसकेको छ । गाउँदा पनि गाउनेको मानसिक निकास र स्रोताका कतिपय रोग व्याधी पनि निको हुने र मस्तिष्क शान्त गर्ने खास उपायका रूपमा विज्ञानले नै प्रतिष्ठित गरिसकेको अवस्था छ ।

तीजको दर खानुको मनोविज्ञान पनि त्यस बेलाको आर्थिक समाजिक दरिद्रीसँग गाँसिएको म पाउँछु । बिहे गरेर पठाइएको घरमा वर्षदिनसम्म मधेसका गोरूलाई दिएजस्तै सास्ती दिँदै ढिँढो फ्याप्लो मात्र खान दिइएका चेलीलाई माइत झिकाइन्थ्यो । अनि ती माइत आएकी चेलीलाई एक छाक मीठो खान दिएर, एक धरो नयाँ लाउन दिने चलन त चलाइएको थियो । त्यसरी वर्षमा एक पटक माइत जान पाइन्छ र माइत गएपछि राम्रो नाना र मीठो खान पाइन्छ भन्ने लोभ र मोहमा ती निरीह नारी घर भन्ने दारूण शासन गरिने ठाउँमा बँधुवा मजदुर सरह भोकै प्यासै खट्ने गर्थे । त्यस्ता निरीह आईमाईको प्राण धारण गर्न र मानस बचाउन त्यस बेलाको सामाजिक जुक्ति थियो तीजको दर ।

त्यसबेलाको सामाजिक परिपाटीमा तीजको दरको महत्वका बारे अझै थपेर धेरै कुरा लेख्न सकिन्छ । अहिलेलाई यो विषय म यहीँ थाँती राख्छु ।

तर यत्ति कुरा चाहिँ मैले भन्नै पर्छ, हिँजोआज आफ्नै हातमा डाडुपन्यू भएका, बाह्रै महिना मुखबाट नभए नाकबाट भए नि खाँदा खाँदा अति पोषणको रोग लागेका र रोग लाग्ने तरखरमा भएका आईमाईहरूले एक दिनको दर संस्कृति वा दर संस्कारको रमाइलो मनाउनुको साटो महिना दिन भन्दा लामो तीजको दर क्याटरिङमा चलाउनु भनेको चाहिँ ‘विरालो बाँधेर श्राद्ध गर्नु’ जस्तै भएको छ । जुन बेला मन लाग्यो त्यही बेला आफूलाई मनपरेका कपडा खरिद गर्न सक्ने र आलमारीमा राखिनसक्नु कपडा र आँटिनसक्नु सामाग्री भएकाहरूबाट आफ्नो देशमा निर्माण हुन नसक्ने चुरा र पोतेहरू, लत्ता कपडाजन्य विविध सामाग्रीको अनिवार्य क्रयका कारण देशको आयात वृद्धिको अप्रत्यक्ष अपराध गरिएको छ । अर्कातिर महङ्गिएको बजारमा अनर्गल खरिद प्रक्रियाले अनावश्यक खर्च बढाएर आर्थिक अपराधिकरण तर्फ समाजलाई धकेल्ने काम पनि भइरहेको छ । यस बढ्दो विलासितापूर्णको तीजको प्रचलनले समाजको विकास होइन विनास पक्कै गर्ने छ । त्यसैले तीजको दरलाई उच्छ्रिँखलता र विलासितापूर्ण नबनाएर सृजनात्मक रूपले स्वस्थ्य मनोरञ्जन तथा शान्त र शालिन आचरणमा मनाउने बेला बित्नै लागेको महसुस गर्दैछु ।

यस बेला यहाँ मैले लेख्न खोजेको मूल सन्दर्भ चाहिँ ‘हरितालिका तीजको निराहर उपवास’ तर्फ अब म लाग्दैछु ।

वाल्यकालदेखि मैले देखेको आफू भोकै बसेर लोग्नेको दीर्घ जीवन माग्दै व्रत बस्ने कुरा भने मलाई जच्नै सकेन र पचेको पनि थिएन ।

‘लोग्नेको दीर्घ जीवनका लागि स्वास्नीले व्रत बस्ने’ यो कसरी सम्भव हुनसक्छ ? अनि त्यसरी व्रत बस्ने आईमाईका लोग्नेले खोई त दीर्घ जीवन पाएका ? यस्ता प्रश्नले मेरो मस्तिष्क रन्थनाउने गर्थ्यो । समाजको अन्धो दौडमा म लागि पर्न सक्तिनथेँ र विद्रोहै गर्ने हिम्मत पनि मसँग थिएन । म पनि धर्मभिरूताले नै ग्रस्त नै थिएँ र अहिलेसम्म पनि त्यसबाट पूर्णतया उम्कन सकेकी छैन् ।

यसरी बाहिर विद्रोही भएर देखा पर्न नसके पनि म मौन विद्रोहमा भने रहिरहेँ । तर मेरो विद्रोह भनेको पनि तर्कका साथ औचित्यको खोजी गर्नु थियो ।

त्यसैले यस विषयमा म मानसिक रूपले खोजी र अनुसन्धानमा लागिरहेँ र लागिरहेकै पनि छु ।

मेरी आमा दुर्गादेवी नेपालको १० वर्षको उमेरमा बिहे भएको थियो । तर बिहे हुनु अघिदेखि नै मेरी आमाले हुनेवाला पतिको दीर्घ जीवनका लागि व्रत बस्नुहुन्थ्यो भन्ने कुरा मैले आमाबाटै सुनेकी हुँ। निष्ठा र समर्पण पूर्वक उहाँद्वारा लिइने गरिएको व्रत र देउताको प्रभाव चाहिं उल्टो परेको थियो । अर्थात् मेरा बुबा गणेशप्रसाद नेपाललाई आमाले पुजेका र विश्वास गरेका देउताले ५० वर्षीय मेरी आमालाई एकल बनाउँदै ५६ वर्षका मेरा बुबालाई चाहिँ स्वर्गवासी बनाई दिएका थिए । दस किसिमका शल्य चिकित्सा खेपिसकेकी ८२ वर्षीय मेरी आमालाई भने परमात्माले हाम्रा लागि यसै धरामा राखेकै छन् ।

त्यसै गरेर ७ वर्षकै उमेरमा ७ वर्षकै वरसँग बिहे भएर १३ वर्षको उमेरदेखि दाम्पत्य सम्बन्ध सँगाल्न पुगेकी मेरी सासूले पनि हरितालिका तीजको व्रत बस्ने क्रममा आफ्नो सम्पूर्ण समर्पण र निष्ठा महादेवलाई सुम्पेर पतिको दीर्घ जीवन माग्नु भएको थियो । यहाँ पनि व्रतको प्रभाव उल्टै भएको थियो । अर्थात् मेरी सासू भागीरथा प्रसाईलाई पनि ४० वर्षकै उमेरमा एकल महिला बनाएर मेरा ससुरा जयप्रसाद प्रसाई पनि स्वर्गतिरै प्रस्थान गर्नु भएको थियो । मेरी सासू स्वयमले चाहीँ ९३ वर्षको दीर्घ जीवन बाँच्न पाउनु भएको थियो ।

मैले देखेका साक्षत् उदाहरण बाहेक पनि मसँग मेरा नाता कुटुम्ब, इष्ट मित्र लगायतका महिलाहरूको लामै नामावली छ । जसले अत्यन्त निष्ठापूर्वक हरितालिका तीजको व्रत पनि बसे र असमय मै पतिलाई चाहीँ स्वर्ग तिर पठाएका थिए तर आफूहरूले भने दीर्घ जीवन पाएका थिए र छन् पनि ।
•••
यी दृष्टान्त थाहा पाइसकेपछि हरितालिका तीज भन्ने व्रत लोग्नेको दीर्घ जीवन पार्ने व्रत हुँदै होइन भन्ने टुङ्गोमा म पुगेकी हुँ । तर युगौँदेखि हिन्दू धर्म संस्कृतिगत् परम्पराका रूपमा मानी आएको हरितालिका तीजको व्रत बस्नु हुन्न भन्ने धृष्टता पनि म गर्दिन । परम्परालाई अन्धभक्त भएरै पालना गर्नु पर्छ पनि म भन्दिन । समय सापेक्षता र औचित्य बुझेर गरेको कुनै पनि कार्य विशेषरूपले बढी प्रभावकारी पनि हुन्छ भन्ने मेरो मान्यता हो । त्यसैले हरितालिका तीजका बारेमा अनुसन्धानात्मक तरिकाले पुनर्मूल्याङ्कन गरिनु पर्छ भन्ने मान्यता म राख्छु ।

हाम्रो सनातन हिन्दू धर्मले प्राचीन समयदेखि नै निराहर व्रत प्रावधानबाट निकै ठूलो फल प्राप्तिको बाटो देखाएको हो । अहिले जापानका Yoshimori Oshumi ले Autophagi अवधारणा अर्थात् निराहर रहनाले शरीरमा रहेका क्यान्सरजन्य जघन्य रोगका किटाणुहरू नासिने प्रमाण पेश गरे । उनको यसै विचारलाई सन् २०१६ मा Physiology (Medicine) अन्तर्गत नोबल पुरस्कारद्वारा सम्मानित गरियो । त्यसपछि संसारभरि समय मिलाएर निराहर रहने गोरा काला छालाहरूको संख्यामा उल्लेख्य वृद्धि भइरहेको छ ।

वैज्ञानिक योशिमोरीले प्रस्तुत गरेको तथ्यले पनि निराहार बस्नु स्वस्थ्यकर जीवनका लागि कारक हुनसक्छ भनेकै छ ।

हामीलाई संस्कृत नपढाइएको कारण पनि र हाम्रा विद्वानहरूले हाम्रो वेदादी शास्त्रमा लेखिएका हाम्रो जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने कुराहरू उजागार नगरी दिनाले पनि योसिमोरीजस्ता परदेशी विद्वानले हामीलाई हाम्रै शास्त्रका कुरा बुझाई दिनु पर्छ अनि मात्र हामीले बुझ्ने गर्छौँ । हाम्रा जडीबुटी विदेशीले सित्तैँमा लगेर हामीलाई महङ्गोमा औषधी बेचे झैँ । मैले पनि यी जापानी वैज्ञानिक योसिमोरीले प्रमाणीकरण गरेपछिमात्र निराहर रहेर व्रत बस्नुको अर्थ बुझेँ ।

योसिमोरीको अनुसन्धानबारे जानकारी पाइसकेपछि मलाई लाग्यो हरितालिका तीज मातृसत्ताको अवशेष रहेछ कि क्या हो? किनकी पितृसत्ताले आईमाईलाई लोग्ने बँचाउने कुरा नसिकाएर आईमाई स्वस्थ्य र दीर्घ जीवन हुने कुरा कसरी र किन सिकायो होला ? अहिले यी प्रश्न पनि थाँती नै राखौँ । कुनै बेला पर्गेलौँला!

योसिमोरीका अनुरूप शारीरिक अवस्था बलियो भएको खण्डमा हप्तामा एकदिन निराहर व्रत बस्नु स्वास्थ्यमा सहयोगी हुन सक्ने छ । निराहार बस्न नसक्नेले फलाहार गरेर भए पनि वा हरियो सागपात वा तरकारीमात्र खाएर नरनारी दुवै जातले व्रत बस्ने अभ्यास प्रारम्भ गरौ। यदि यसरी सप्ताहमा व्रत बस्न नसके महिनामा एक पटक र त्यसरी पनि गर्न नसके छ महिनामा अथवा वर्षमै भए पनि एकपटक निराहर व्रत बस्न सक्नुको महत्ता अहिले विश्वभरि नै चुलिँदै गएको छ ।

यसै प्रसङ्गलाई मैले यसबेला हाम्रो हरितालिका तीजको निराहर व्रतसँग गाँसेर कुरा गर्दैछु ।

हाम्रामा पनि निराहर व्रत बस्नेहरू (महिला) नै दीर्घजिवी देखिएको प्रसङ्ग त प्रस्तुत गरी नै सकेकी छु।

त्यसैले यसपालीको हरितालिका तीजमा सबै पुरूषहरूले समेत जोइटिङ्ग्रे भनिन्छु कि भन्ने लाज, डर र घिन त्यागेर सक्ने जतिले तीजको निराहर व्रत बसौँ (नसक्नेले ) फलाहारी व्रत भए पनि लिऔँ र स्वस्थ्य र दीर्घ जीवन पाउने प्रयत्न गरौँ भन्ने म विनम्रआग्रह गर्दछु । नत्र स्वास्नीले मात्र पोइटिङ्ग्रे हुनुले लोग्नेको दीर्घायुको बहानाका लागि लिइएको वर्त र स्वयमको स्वस्थ्य जीवनका लागि लिइएको वास्तविक अर्थको व्रत हुनेछ ।

एकै छिन् यसरी पनि सोच्न सकिन्छ : हरेक पत्नीले पतिको दीर्घायुका लागि व्रत बसिआएकै छन् । यस पटकदेखि हरेक पतिले पनि पत्नीको दीर्घायुका लागि नै भनेर भए पनि अनिवार्य रूपले हरितालिका तीजको व्रत बसेर नयाँ परम्पराको थालनी गरौँ । यस नवीनतम थालनीकाे कारण एकातिर निराहर व्रत बस्ने स्वयमको स्वास्थ्य राम्रो हुनेछ भने अर्कातिर व्रतालु पतिपत्नीको दाम्पत्य जीवन समेत सुमधुर हुने पक्का छ ।

© इन्दिरा प्रसाई

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

भारत सरकारको नेरु. १ करोड २७ लाख आर्थिक सहयोगमा दार्चुला जिल्लाको खलंगा, तिंकरमा अवस्थित श्री मोती महिला संघ प्राथमिक विद्यालयको

वीरगञ्ज । वीरगञ्जस्थित क्लार्क्स रिसोर्ट्समा “आजादी का अमृत महोत्सव” (भारत @ 75) को अवसरमा, भारतीय महावाणिज्य दूतावास, विरगञ्जद्वारा “लोकतन्त्रको विशेष

टुंडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजना गरिएको एक समारोहबीच भारतीय सेनाले नेपाली सेनालाई आज टाटा एलपिटिए १६२८ वर्कशप ट्रकहरु उपहारस्वरुप प्रदान

कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि भारत सरकार स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालय र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच