अख्तियारद्वारा अध्यागमन विभागका तत्कालीन अध्यागमन अधिकृत सुरेश सुवेदीउपर आरोप-पत्र दायर


काठ्माण्डौ २३ भाद्र २०७६ । भ्रष्‍टाचार विरुद्धको सहकार्य: सुशासनका लागि अपरिहार्य सहितको नारा बोकेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आफ्नो आधिकारीक वेबसाईट मार्फत अध्यागमन विभागमा कार्यरत तत्कालीन अध्यागमन अधिकृत सुरेश सुवेदीउपर आरोप-पत्र दायर गरिएको बारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले भर्खरै प्रेस विज्ञप्ति जारी गर्नुभएको छ ।

प्रेस विज्ञप्तिको पूरा पाठः
साउदी अरेवियन नागरिक Alzahrani Mohammed Hussain A लाई साउदी अरेवियन दूतावास र नेपालको अद्यागमन विभागका केही कर्मचारीहरूले मिलेमतोमा रेकर्डसमेत नराखी गैर-पर्यटकीय भिसाबापतको रकम सरकारको राजस्व खातामा दाखिला नगरी गैर-पर्यकटीय भिसा दिई प्रस्थान अनुमतिसमेत दिइसके पछि लेनदेनमा कुरा नमिली पुन: पक्राउ गरेको भन्ने व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा गैर-पर्यटकीय भिसा शाखामा कार्यरत तत्कालीन अध्यागमन अधिकृत सुरेश सुवेदीले निजको जिम्मामा रहेका नं. ००१९५५ को सक्कलै गैर-पर्यटकीय भिसा दुरुपयोग गरी प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) को कसुर गरेको संलग्न कागज प्रमाणबाट पुष्टि हुन आएको हुँदा प्रचलित अध्यागमन ऐन, २०४९ र अध्यागमन नियमावली बमोजिमको प्रक्रिया पूरा नगरी निज साउदी अरेबियन नागरिक Alzaharani Mohammed Hussain A को नं. P७५८५६७ को राहदानीमा टाँस गरी जारी गरेको भिसा स्टिकरबापत नेपाल सरकारलाई हानीनोक्सानी भएको भिसाबापतको ७२८ (सातसय अठ्ठाईस) अमेरिकन डलर, बिलम्ब शुल्कबापत १०९२ (एक हजार बयानब्बे) अमेरिकी डलरसहित जम्मा १८२० अमेरिकी डलरको तत्कालीन मितिमा कायम रहेको विदेशी मुद्रा बिनिमय दर १(एक) अमेरिकी डलरको ने.रू. १०६।०५ ले हुन आउने नेपाली रुपैयाँ रू.१,९३,०११।-(अक्षरेपी एक लाख त्रियानब्बे हजार एघार रुपैयाँ) र अध्यागमन ऐन, २०४९ को दफा १०(४) को कसुरबमोजिम हुने जरिवाना रू.५०,०००।-(अक्षरेपी पचास हजार रुपैयाँ) समेत कुल रकम रू.२,४३,०११।- (अक्षरेपी दुई लाख त्रिचालीस हजार एघार रुपैयाँ) बिगो कायम गरी निज सुरेश सुवेदीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले निर्देश गरेबमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद सजायँ गर्न ऐ. ऐनको दफा ७ बमोजिम उक्त विगो रू.२,४३,०११।- को दोब्बर रू. ४,८६,०२२।–(अक्षरेपी चार लाख छयासी हजार बाईस रुपैयाँ) जरिवानाको मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


प्रदीपकुमार कोइराला
प्रवक्ता


Loading comments...