बंगालमा बस्न नसकेको माया भाग २


मार्टिन नामगरेका एकजना क्याप्टेन जहाजी कुनै जमानामा त्यस आइल्याण्डमा पुगेका हुँदा हुन्, उनको नाममा त्यो टापुको नाम राखियो । कक्सेस नामक जहाजी कुनै जमानामा त्यस तटमा आएर बसे अनि बजारमा सामान किन्न गए अनि त्यस बजारको नाम नै कक्सेस बजार हुनगयो । मेरो नाममा नामाकरण हुने अब कुनै टापु या तटहरु शायद छैनन होला, म मेरा कथाहरुमा ज्यूँदो रहनेछु ।

तेरो लव परेको छ ? एउटा बंगाली साथीले सोधे । उनी चाइनिज कम्पनीमा ईन्जिनियर थिए ।

के हो लव भनेंको मैले सोधें,
अघिको केटि र बोटको केटाको जस्तो
लव गर्ने फुर्सद नै भएन , नो टाइम फर लव , लव पर्यो भनें तँलाई सबैभन्दा पहिले टेक्सट गर्नेछु
ईन्साहअल्लाह उस्ले जवाफ दियो
मलाई फुर्सद मिल्दा लव हैन बरु सानो बोट किनेर फिशरम्यान बन्ने रहर छ, मैले भनें ।
फिशरम्यानको बोट धेरै महँगो छ उस्ले भन्यो
लव भन्दा महँगो, मैले सोधें
सबैजना हाँसे
एउटा फिशर बोटलाई १० लाख टाका सम्म पर्ने रहेछ, लगभग नेपाली १३ लाख जति । त्यस्तो बोटहरुले राम्रै कमाउने र महिनौंसम्म समुन्द्रमा बिताउनुपर्ने हुनेरहेछ । केहि दिनदेखि उक्त क्षेत्रमा बर्षाका कारणले सरकारले फिशिगं कार्यमा प्रतिबन्ध लगाएको थियो ।
यो बोटको र माछा मार्ने सपनाको कुरा गर्दा मलाई रिनीको याद आँउछ ।

म केहिसमय ईण्डोनेशीया बस्दा न्यानगोल्यान भन्ने टापुमा मेरो चिनजान रिनी संग भएको थियो । उनी सरकारी अस्पतालमा स्वास्थ कर्मचारीका रुपमा इन्टर्न गर्दै थिइन भनें उत्तरी सुमात्राको हाकाबिपी एड्स परियोजनाको बाह्य मुल्याकंनकर्ताका रुपमा १५ दिने बसाँईका लागि म पुगेको थिँए । उनका हजुरवुवा डच थिए अनि उनी हेर्दा पनि गोरी र खैरी खैरी थिइन । भ्यालेन्टाइन डे मेरो वसाँईका क्रममा परेको उपलक्ष्यमा त्यस दिन रिनीको स्कुटरमा हामी तोवा तालको किनारमा लाइटहाउस सम्म घुम्न गयौं । मैले रिनीलाई पनि मेरो माछा मार्ने बोटको योजना बताएको थिँए, किनाराको काठले बनेको होटलमा मुनी ज्यूँदा माछाहरु थिए रिनी र मैले माछा छान्यौं अध्याँरोमा टर्च बालेर । त्यसदिन मैले निकै बियर खाएर रिनीको स्कुटर चलाँए र राती रिनीले मलाई मेरो होटलसम्म लगिदिइन । रिनी मेरो मिल्ने साथी हो । अहिले उ मलेसियामा डाक्टरी पढ्दै छ, अझै उनले कहिलेकाँही मलाई फिशिगं सपनाका बारे याद दिलाँउछे । रिनीकी आमा डाक्टर देबोरा उत्तरी सुमात्रामा निकै चर्चित नाम हो, उनी पनि मलाई आइज भनेंर निम्ता दिन्छिन, हामी फेसबुकमा छौं । एकदिन त म फेरि जान्छु त्यहाँ, शायद यसैवर्ष फेब्रुअरी महिनामा जान पर्ने हुनसक्छ । रिनीलाई उतिवेलाको मेरो सम्बन्धको बारे सबै बताएको थिँए, उन्ले मोबाइलबाट हटस्पट खोलि जस्मा मैले मेरो मोबाइल कनेक्ट गरेर नेट चलाँए । त्यो दिन मैले १३ पटक नेपालमा कसैलाई कल गरेको थिँए, उनले उठाउन पाइनन । यो तोडमा मैले त्यो दिन ३ बोतल बियर पिएको हुँ । मेरो रहर छ, एकदिन जिवनमा उमेर पुग्दैगएपछि कुनै समुन्द्रतटमा केहि वर्ष माछा मार्ने बोट किनेंर माछा मार्दै जिवन बिताउनेछु, मलाई माछा मार्न धेरै रमाईलो लाग्छ । महोत्तरीमा घर पछाडि एउटा पोखरी खनिएको छ, फुर्सतमा म बल्छी लिएर पोखरी छेउ टुक्रुक्क बस्छु, कहिल्यै छाक टार्ने गरि माछा मारिन्छ कहिले पट्यार लागेर आँउछ र बल्छीको लठिलाई घरको छतमा ल्याएर फाल्दिन्छु । फेरि मन लाग्दा झिक्न मिल्नेगरि ।

समुन्द्र ननकमर्सियल छ, यसले शर्तमा काम गर्दैन तसर्थ मलाई समुन्द्र मनपर्दछ । आजभोली विश्वमा सबैकुराहरु खल्लो भइसके तर समुन्द्रमा स्वाद छ । सबैकुरा खल्ला छन् आजभोली समबन्ध, माया, प्रेम अनि जिजिबिसा सबै । किनारमा जाल बुनिरहेका माझीदाईहरुबाट म प्रभावित थिँए, मैले पनि त्यसै गरि जिवनको टुप्पो र फेद समातेर एउटा समबन्धको बलियो धागो बुन्न त चाहेथेँ तर म यस्ता सिलाइबुनाइमा ति माझीहरु झैं बुन्न खप्पीस थिइन, मेरो समबन्धका त्यान्द्राहरु अम्रिसोको कुच्चोले माकुराका जालहरु भित्ताबाट सोहोरिए झैं साहोरिएका थिए ।
मैले आफ्नो समबन्धका धागाहरु सिएर एउटा सप्को बनाइदिन सकिन तर यस्मा मलाई बिस्मात थिएन । लाईफ ईज लगं

समुन्द्रले आफ्ना छालहरु मार्फत मलाई साउती मार्दै थियो, पुराना कुरालाई मेरो पोल्टामा हाल्दे भनेंर शायद । पश्चिमी हावा घरि घरि बेतोडले बहकिन्थ्यो, यो हुँइकाईले त यो हावा मेरो देशसम्म बादल लिएर पुग्नेछ, म पहिले देश पुग्छु कि यी बादलहरु पुग्नेछन् मेरो देशमा भन्ने सोच आयो ।
समुन्द्र किनारमा एक्कासी उठेका बादलका चिस्यानहरु म बगलीमा हालेर नेपाल ल्याउन चाहन्थेँ, शायद ति बादलहरुमा पनि नूनको अशं होला कि नहोला भन्ने पनि लागिदियो । नूनको आफ्नै बैगुन छ, यस्ले जिब्रो भन्दा धेरै घाउहरुमा आफ्नो प्रभाव देखाँउदछ, चहर्याउने बनाँउदछ ।
बालापन देखि नै हातका नगं टोक्ने मेरो बानी छ, बिशेषत एक्लोपना र तनावमा अनि फाइटवाला फिल्म हेर्दा स्वस्फूर्त नगं मुखसम्म पुगिदिन्छ, पछि औंलाबाट रगत निस्केपछि मात्र थाहा हुन्छ । मेरा नगंका घाउहरु र केहि मनका घाउहरु दुबै समुन्द्रका नुनहरुमा चहर्याए । म केहि थान कथालाई समुन्द्रमा बगाउन आएको मान्छे, भर्खरै जिवनमा एउटा कथाले अध्याय सकाएको थियो, म समुन्द्रमा त्यस कथालाई बगाउन चाहन्थें । यसरी बगाउन चाहन्थेँ कि कुनै छालले कहिल्यै पनि ति कथालाई किनारामा ल्याउने चेष्टा नगरोस् ।

उनको अन्तिम च्याटमा मलाई कन्ग्राचुलेसन लेखिएको थियो, मलाई रिस उठेको हो किनभनें कसैले गुडबाई भन्नका लागि किन कन्ग्राचुलेशन लेख्दछन् । नियालेर हेर्छु, आजभोलीका समन्धमा सोसीयल ईकोनोमीक फ्याक्टर यति मजाले गाँजिएको छ जस्तै चियामा बिस्कुट घुल्दछ अनि पछि ग्लासबाट बिस्कुट झिक्न नसकेर तनतनी पिउनै पर्दछ । खैर म चिया नपिउनेमध्य हुँ । म त जिन्दगीमा पिडाहरुको पनि उत्सव मनाइदिने फिलोशपीमा निस्केको मान्छे ।

उता ति बुर्कावाली छिन् जो बुर्का लगाएरै भएपनि आफ्ना प्रेमीसंग निर्धक्क छालहरुमा ढल्कीएको जहाजमा बसेर फोटो खिचेर आइन अनि उता ति बुर्का नभएकी जस्ले समथल बाटाहरुमा पनि समाएका हात छाडेर गइन । प्रेम भनेंकै युद्ध हो, यहाँ आफ्नो भरोसाका लागि युद्ध र संघर्ष गर्नुपर्दछ तर इस्ट्यान्ट फुड खाने चलनमा रमेका प्रेमीहरु एकैचोटी ताजमहलमा भित्रिन चाहन्छन् अनि सबैजना बादशाह शाहजहान जस्ता ताजमहल बनाउन सक्ने कहाँ हुन्छन र ?
सानैमा घर छाडेर बाहिर बसियो, बुवाआमासंग वर्षमा मुश्किलले एक वा दुईपटक भेट हुन्थ्यो । अहिलेजस्तो फोटो हुन्नथे त्यहि भएर कहिलेकाँही बुवाआमाको अनुहार नै भुलुँला भन्ने लाग्दथ्यो । आँखा अगाडि नदेखेपछि म अनुहारहरु बिर्सिन थाल्दछु । कहिलेकाँही पेरेन्टस डे या रिजल्ट लिन मेरामात्र बुवाआमा नहुँदा म रिसले कपीको पछिल्लो पानामा बुवा आमाको नाम बिगारेर लेख्दथेँ तर पेन्सीलले । मलाई त्यसबेलाबाट नै दुरी र सामीप्यताबिचको फरक खासै लाग्नछाड्यो, एक्लै उक्लने बानी परेको एकलकाँटे भइयो शायद ।

जो घरोंको छोड के है चलले उन्हेँ क्या डराएगें फासले

समुन्द्रमा साहस छ, मानौं यो समुन्द्र साहसपनाको एउटा बैंक हो र लोन लिए वापत समुन्द्रलाई ब्याज तिर्न पर्दैन । म साहस सोहोरेर आएको छु है नत्र ममा बुर्काभित्रको सुन्दरता हेर्ने आँट कहाँबाट आउने थियो, हैन र ?

तेरी आँखोके सिवा दुनिँया मै रखा क्या है ?
घरि घरि मलाई मजरुज सुल्तानपुरिको यो लेखनको अशं याद नआएको हैन, मनमनै गुनगुनाँए ।

पेशाले लेखक भएकाले होला मलाई शव्दसंग साह्रै गहिरो प्रेम छ । पहिले पहिले रेडियोमा साथीसंग मनका कुरा भन्ने कार्यक्रममा प्रस्तोताका रुपमा काम गर्दाको क्षण संझना आँउछ जुन लगभग एक दशक पुरानो कुरा हो । माईक्रोमा बस्दा या पसलमा आफु नै बोलेको कार्यक्रम बजिरहेको हुन्थ्यो, पहिले पहिले लाज लाग्थ्यो तर पछि हर्क लाग्न थाल्यो । त्यो हर्कको उन्माद आज पनि रत्तिभर कम भएको छैन, बिहान बिहानै चाडपर्व या बिशेष तिथिमा नेपालमा सर्वाधिक डाउनलोड भएको मोबाइल एप्स हाम्रो पात्रोले मैले लेखेका साम्रागीलाई सबै प्रयोगकर्ता समक्ष प्रेषित गर्दछ, लाखौं नेपालीले पढ्ने ति आलेखको अध्ययन, लेखन मैले गरेको भन्ने कुराले हरेक बिहान मलाई उर्जा दिन्छ । म हरेक बिहान ढिला उठ्छु तर उर्जावान भएर उठिदिन्छु । यो शव्दको अर्थशास्त्र नै हो, पत्रिकामा लेख्दछु र मुख्यतया शनिवार या शुक्रवार केहि राष्ट्रिय दैनिकहरुमा मध्यपेज लेख्दा म प्रकाशित हुने दिन सखारै पत्रिका पसल र चियापसल पुग्छु । अप्रत्यक्ष रुपमा पाठकको प्रतिक्रिया हेर्छु र बडो आनन्द लाग्छ । केहि वर्षअघि अन्नपूर्ण पोष्टमा केहि समय शनिवारका पानाहरुमा लेखेँ, बिहानै उठेर कालिमाटी जान्थें जहाँ पत्रिकालाई भित्तामा टाँसेर राखिएको हुन्थ्यो, उभिएका पाठककहरु एकटकले हेर्दथे, म पछिल्तीर बसेर नियाल्थे, कति मजा हुन्थ्यो ।

suyog dhakal
लेखकः सुयोग ढकाल

जहाजमा एउटा साथीले मलाई मेरो धर्म के हो भनेंर सोधेका थिए अनि मैले एउटा लेखकको धर्म हुँदैन, म सबै धर्मको हुँ तर कुनैको पनि हैन भन्दिँए । म पेशाले लेखक अनि कर्मले ब्यापारी, ब्यापारमा सपना छ अनि लेखनमा संभावना, दुबैलाई अञ्जुलीभरि समाएर बजारमा निस्केको मान्छे ।

राती सुत्न जाँदा अबेर भइसकेको थियो, म त्यो रात सुस्त सुस्त बितोस भन्ने चाहन्थें, आकाशमा अल्छीलाग्दो पारामा चन्द्रमा बगिरहेको देखिन्थ्यो । आकाश पनि शिर माथिको समुन्द्र झैं देखिन्थ्यो, यहाँ पानी बगेथ्यो अनि उता बादलहरु । म बादल र सागर दुबैलाई भोलीपटक शान्त रहन आग्रह गर्दैथिँए, मलाई भोली समुन्द्रबाट अलिक पर म्यानमारको सिमा छिचोलेर टेक्नाफमा गएर जमिन टेक्नु थियो । पर्सिपल्ट मेरो फर्कने टिकट अनि एकरातको बसयात्रा पनि बाँकी जो थियो ।

सौगात फोनमा ब्यस्त थियो, मैले त्यो रातलाई बिट मार्ने निधो गरें, आँखाले आराम खोजेथियो ।
कोठामा आँए अनि पल्टिएँ, मैले त्यस दिन राती सपनामा कन्ग्राचुलेशन भनेँर च्याटलाई बिट मार्नेमेरी एक्सलाई अचम्मसंग देखेँ । यो अचम्मको सपना थियो, याद नहोला भनेंर बिँउझना साथ एकफेर सरसर्ति सपना संझना गरेँ । मेरो सपनामा कुलेश्वर छेउ एउटा एलियनको जहाज ल्याण्ड गरेको थियो, सबैजना अन्य ग्रहका प्राणीहरु ओर्लिए, सबैजना प्रेडेटर भन्ने मुभीका जस्ता थिए, मर्करीले बनेँका अनि चिसा । उनीहरुले हेल्मेट लगाएका, म उनीहरुबाट बच्दै बच्दै खोला किनारै किनार कानाहरुको घर सुकेधारा पुगेँ, मसंग एलियनहरुबाट बच्ने एउटा कुनै बिशेष सुत्र थियो शायद । सपनामा म साहसी थिँए, त्यहाँबाट म उनको घर पुग्दा उनी छतमा थिइन, मैले उनलाई धेरै पटक तलबाट कराँए जुन उन्ले सुनिनन । म त्यहाँबाट निस्किएँ, पछि घरमा आएर समाचार हेर्दा उनी पनि एलियन रहिछिन, हेडलाइनमा उन्को अनुहार सहितको भिडियो थियो्, म अचम्ममै बिउझिएँ । म पनि कतै एलियन त हैन भन्ने डर लाग्यो, सपनामा हाहा । आँखा खोल्दा उज्यालो दिन थियो, सपनाले मलाई बिउझिँएपछि बोदर गरेन । मैले दाँत मोले अनि सोझै समुन्द्र किनार गएँ । लहरहरुमा लहरिन मन थियो, म लहरहरुसंग लहरिँदै परपरका बोटहरु छेउ जान लागें । घरिघरि छालहरुले मलाई धकेल्थ्यो, घरिघरि म

छालहरुलाई पन्छाउन खोज्थें । म परसम्म पुगेँ पानी घाँटी घाँटी आयो, म हेलिएर पौडँदै निकै अघि पुगें । पछि फर्केर हेर्दा किनारा निकै पर भइसकेको थियो, अलिक पर पुगें र गहिराई नाप्न भुईसम्म गोडाले टेक्न खोजें र भुईँ निकै तल पुगिसकेको पाँए । यसैक्रममा भुँईमा भएको सानो खाडल जस्तो ठाँउमा मेरो गोडाको बुढी औंला पर्न गयो, म औंलाका खातिर भएपनि फर्किएँ । फर्केर थचक्क किनारामा बसें, औंला सुम्सुम्याउन थालेको देखेर केहि साथीहरु नजिक आए । औंला केहि सुन्नीएको झैं भयो, तानतुन पारेर मिलाउन खोजें, मिल्यो मिलेन थाहा छैन तर दर्द केहि कम भयो । अस्तिका दिनसम्म पनि तातो नुनपानीमा म औंला सेक्दै थिँए । मलाई चोटसंग कहिल्यै डर लागेन, सानामा एकपटक गोडा भाँचेर केहि महिना प्लास्टर लगाएर बसेको छु, हात फ्याक्चर र ब्यान्डेज लगाउने क्रम दर्जनौं पटक सम्म चल्यो । एउटा हात फुटसलमा भाँचिएर अहिलेपनि स्टीलको पाता र पेचले कसिएको छ । घुँडामा अनगिन्ती घाउका दागहरु छन् अनि म अझै पनि धेरै चोटहरु सहन बिल्कुलै तयार छु ।

टेक्नाफ छाड्न अघि म किनारा किनारै बुर्कावाली बसेकी रिसोर्टमा पनि पुगें, त्यहाँ एक फन्को मारेर आँए तर उनी र उन्का साथीहरु देखिन्। राती अबेर सुतेकाले ढिला उठ्लान शायद तर म निस्किएपछि मलाई मिस गर्ने भए भन्ने तर्कना आयो । ९ बजे टेक्नाफ फर्कने बोटबाट टापु छाड्न थियो, मेरा केहि तस्वीरहरु सौगातले खिचिदियो । सौगात चाँही समुन्द्रमा हेलिन आएन तर मैले सबैको साटो समुन्द्रमा तैरिदिएँ ।

मैले नाफ खोला म्यानमारबाट सर्लक्क बंगालको खाडीमा मिसिएको देखें अनि मनमनै सोचे सायद मेरा देशका खोलाहरु पनि यस समुन्द्रमा बिलिन हुँदा हुन भनेंर । म मेरा हिमनदिहरुको गन्तव्यमा म पुगेको थिएँ । खोलाबाट  सागरसम्म तैरिएर माछाहरु पून फर्कने प्रयास गर्दछन् र यसैमा माछाहरुको इहलिला समापन हुन्छ । कति धेरै माछाहरु हाम्रा कोशी, रोशी, गण्डक लगायतका खोलाहरुबाट यहि समुन्द्रमा आँउदा हुन् शायद, घरि घरि सोचें । 

म पनि त माछा झैं हुँ, पानीमा आउन नसकेपनि पानीमाथि बाट त आँए । त्यो ठाँउमा मेरा दौंतरीहरु प्रकाशे, समीर कान्छा लगायत आएको भए कति रमाईलो हुनेथियो या ममी ड्याडीसंग आएको भए कस्तो हुनेथियो घरिघरि सोचीरहें । मेरो भाई सौरभ भएको पनि रमाइलो गरथ्यो होला भन्ने सोचेँ तर सौरभ बिमा कम्पनीका कार्यरत भएकाले जहाँ गए पनि बिमाकै कुरा गरेर हैरान पार्दछ । मलाई यात्राका दौरान आफ्नो कुरा गर्न मन लाग्दैन, अरुको सुन्न र बकवास कुरा गर्न मात्र रमाइलो हुन्छ ।

समुन्द्रको पानी वास्तवमा तस्वीरमा देखेको झैं निलो नहुने, घाम परेपछि मात्र निलो हुने रहेछ । फर्कदाँ मैले निख्खर निलो समुन्द्र देखें, अचाक्ली राम्रो कपक्कै निलिदिँउ जस्तो मिठो होला झैं ।

घडीले बिहान लगभग ८ः३० बजायो, रिसोर्टका मालिकले हाम्रा लागि रिक्शा मगाए जस्मा बसेर हामी केहि पर पोर्ट सम्म पुग्न थियो । रिक्शावाला भाई सानो फुच्चे थियो, म पनि सानोमा मण्डलसरको रिक्शा चलाँउथें घरिघरि रमाईलो गर्न । त्यो भाइसंग १० टाका फिर्ता लिनुथियो, मैले माँगिन । मौसमले स्वरुप बिगार्दै गयो, पानी बरर झर्न थाले । झोलालाई प्लाष्टिकको कवजमा बाँधियो । दुईवटा हिजोका झैं जहाजहरु किनारामा थिए, टिकट काटेर हामी त्यता गयौं । फर्कदाँ टन्न साथीहरु भइसकेका थिए, अब हामी एउटा कुनामा बस्यौं, पानी दर्किरहेथ्यो । जहाजमा लाइफ वोट भन्दा धेरै मान्छे भए भनेंर प्रहरी आए । अर्को बोटमा मान्छेहरु गए, हामीलाई केहि भनेंनन र हामी बसिरह्यौं । मलाई टेक्नाफ पुगेर उज्यालोमै कक्सेस गएर बसको टिकट लिएर ढाकाको यात्रा सुनिश्चित गर्न थियो ।
त्यो जहाज चल्न अघि नै बिग्रियो, त्यसको एकंर अड्याउने डोरी गएर पंखामा गुजुल्टियो, लगभग आधा घण्टा लगाएर बनाँए । अर्को जहाजमा अद्नान लगायत अरु साथीहरु बसेका थिए, उनीहरु जहाजमा निस्किए ।

हामी चढेको जहाज पुरानो रहेछ, त्यसका चालकको पैंतालामा कालो थियो । मैले ति मान्छेलाई पोर्ट मा नै देखेर बिचार गरेको थिँए । म चम्चाले नरिवल भित्रको गुदी झिकेर खाने कार्यमा थिँए जब ति मान्छे त्यसै पसलमा आएर एक कप चिया मगाएर खाए अनि एउटा चुरोट स्वादले चियासंगै उडाएर गए । तिनको गोडाको कालो दाग मैले बिचार गरेको थिँए र पछि मोबिल र ग्रिज लागेर कटकटिएको रहेछ भन्ने उनले जहाज चलाएको र बनाएको देखेपछि चाल पाँए । बाटोमा हामीले फेसबुक लाइभ गर्यौं, म केहि नेपाली गीत गुनगुनाँउदै थिँए अनि बंगाली केटाहरुले पनि आफ्ना भाका फेरि हाले ।
त्यो थोत्रे जहाजले हाम्रो ५ घण्टा खायो, फर्कदाँको यात्रा कष्टकर भयो, भोक निकै लाग्यो अनि पछि घामले पनि सतायो । आँउदा हिमालयन एयरलाइन्सको जहाजमा पिनट र आधा ग्लासले जुसले नथामेको मेरो ५ घण्टा लामो भोक यहाँ जहाज चढ्न अघि खाएको नरिवलले थामेन तर समुन्द्रमा भोकउनुको गुन्जायस थिएन् । मध्य सागरमा जहाज फेरि बिग्रियो, कसोकसो फेरि बनाँए र चलाए । बहुतै सुस्तरि, यति सुस्तरि म साइकल पनि कहिले चलाउन्न होला ।

टेक्नाफ आँउदा म थाकेर चुर चुर भइसकेको थिँए, बजार आएर पहिले कानालाई फोन गरें, ममीलाई कल गरेँ नेपालमा । अहिले इन्टरनेटले अनुहार देखाउन बोल्न मिल्ने बनाएको छ र यस्को फाइदा मेरा बाआमाले निकै लिनुभएको छ । हरेक साँझ सकसम्म खाने कुरा देखिने गरि या अनुहार देखिने गरि देखाउने आदेशका साथ ममीको फोन आँउछ । मलाई खान भनेंपछि धेरै अल्छि लाग्छ, ममीलाई देखाउन भएपछि केहि खानेकुरा घरमा ल्याएर राख्नुपर्नेभएको छ । मैले त्यसदिन टेक्नाफ बाट ममीलाई र ड्याडिलाई पनि अनुहार देखाँए । अनि खाना खान गयौं, होटलका हरेक टेबल बिचमा ठूलो भाँडोमा पानी राखिएका हुनेँ । ति भाँडा चाँही हात धुन र चुठ्नका लागि, म जस्तो अल्छीका लागि यो नियम राम्रो थियो ।
चिसो भात र माछाको झोल बजाइयो, भोकले होला जिब्रोमा खाना धेरै नराखि सोझै भूडिमा हालियो, स्वाद त्यसकारण पनि उति थाहाभएन ।


अब म ढाका पुग्ने पक्का थियो, मुखको घाउको चहर्याउने कुराको वास्ता भएन तसर्थ पान खाइयो तर चुना नहाली मिष्टि पान ।
एकछिन टेक्नाफ डुलेर, अदनान, म, सौगात, हसन टेम्पु रिजर्भ गरेर कक्सेस बजार आयौं । बाटो सुन्दर थियो, घाम अस्ताउने बिचारमा थियो, टेम्पु चालकले झनै झनै ठोकिने गरि चलाए, स्पीड चाँही गज्जब थियो । मलाई स्पीड मनपर्छ, म चालक भएको भए उनीभन्दा स्पीड चलाँउथे ।

बाटामा समुन्द्र किनारमा सैनिकहरुले त्यसैदिन समुन्द्र तट सुरक्षार्थ केहि ट्याकं र ड्रोन प्लेनहरुको परीक्षण गर्दै थिए । केहिबेर जाम भयो, म अलिक अगाडि पुगेर त्यो अभ्यास हेरेँ । ड्रोन चाँही ठ्याक्कै हामीले यहाँ उडाउने सामान्य ड्रोनलाई जीपीएस बाट मेनुभर गरेजस्तो अनि उनीहरुको कन्ट्रोल ड्याशमा धेरै बटनहरु थिए, उनीहरुको ड्रोन दुरुस्तै फाइटर प्लेन जस्तो ति कुराहरुको फोटो लिने आँट आएन । मैले पनि ड्रोन उडाएको छु, नेपालमा मेभिक प्रो र फ्यान्टम सिरिजका ड्रोनहरु खुबै पाइन्छ मैले अदनानलाई भनें ।

बाटोमा बंगाली सेनाहरुको चेक थियो, हामीलाई उनीहरुसमक्ष बिदेशी भनी अद्नानले चिनायो, उनीहरुले अस्लमवालेकम गरे अनि मैले सबै शव्दहरुलाई एकैफेर जोडेर एक्सेन्टका साथमा वालेकुमअस्सलाम भनें मानौं म पनि बंगाली नै हुँ ।

कक्सेस बजारमा मलाई पुराना हिन्दी चलचित्रमा गुरु दत्त ले ओढेको झैं बंगाली ओढ्ने पनि किन्ने बिचार थियो । अदनानले बार्गेन गर्यो, मैले किन्दै गएँ एउटा ओढ्ने, कुर्ता सलवार चाँही प्रज्ञा दिदिलाई, बच्चाहरुले खेल्ने लट्टु, काठका साना साना खलबच्चाहरु । यहाँनेर म अच्यूतलाई संझन्छु, एयरपोर्टमा हिमालयन एयरलाइन्सका कर्मचारीले पासपोर्टमा डलरको स्ट्याम्प नभएकाले मलाई बोर्डिगं पास दिन मानेनन । यो नियम राम्रो थियो तर परिस्थिती परक थिएन, उनलाई डलर हैन डलरको छाप चाहिएको रे । मलाई मान्छेलाई संझाउन र ढोगभेट गर्न बिरलै आँउछ त्यसमाथी उस्को एयरलाइन्सको डलर प्रेमलाई म किन खलल पूर्याउनु । अच्यूतलाई कल गरेर पैसो मगाएर डलर स्ट्याम्प लगाएर गरेको थिँए, एयरपोर्टको सरसफाईको यूगान्तकारी परिवर्तन पछाडिका एक नेतृत्व र कुशल ब्यबस्थापक रमेश दादालाई पनि फोन गरेँ । मलाई त्यहाँका कर्मचारी र अच्यूतको लिंकले मद्धत गर्यो । मलाई पूर्याउन रुद्र अकंल एयरपोर्टसम्म आइसेको थियो, रुद्र अकंलले बाहिरबाट ल्याएर पैसो दिएपछि मात्र एयरपोर्टमा डलर साटियो । एयरपोर्टको सटहि काउन्टरमा अनलाईन पेमेन्ट नलिने रे, अनि एटिएम नि थिएन । हाम्रो देशका केहि संयन्त्रहरु अझै पनि मल्लकालिन अवस्थामा नै छन् ।

अच्यूतलाई भनेंर काठको हस्तकलाका रुपमा बेच्न राखिएको सानो खलबच्चा लिइयो, झोला भरिँदै गयो । यो कुरा अच्यूतलाई दिन अझै पाएको छैन । भरिएको झोला लिएर हामी समुन्द्र किनार गयौं, भिजेको जुत्ताले मेरो गोडा पूरै फुलेको, चाउरी परेको र सुन्नीएको थियो । समुन्द्र किनारमा म थचक्क बसेँ, कक्सेसको चर्चित समुन्द्र किनारमा एउटा सुगन्दा बीच र अर्को जोडिएको कालाताली बीच हुन् । कालातालीमा टेक्नाफ जान अघि बसिएको थियो र यस्पाला भिँडभाडका बिचमा सुगन्धा छेउमा थुचुक्कै बसेँ । म बस्नका लागि बालुवामाथि अदनानले चप्पल राखिदियो र आफू खालिगोडा समुन्द्र तर्फ गयो । धन्यवाद भनें कि भनीन याद आएन तर पछि एकमुष्ट सबै कुराका लागि धन्यवाद भनें ।

त्यस रात ११ बजेको बसको टिकट थियो, यो बस आँउदाको जस्तो एसी वाला बस थिएन, अत्यन्त सामान्य यस बसमा एकातर्फ अद्नान र उस्को साथी र अर्कोतर्फ म र सौगात बस्ने सिटको बन्दोबस्त थियो ।
त्यसदिन रातीको डिनर हामीले आयोजना गर्यौं, कक्सेस बजारको बस टर्मिनल छेउको सबैभन्दा राम्रो खाना खाने ठाँउ खोज्ने सल्लाह गरेर एउटा कबाब सेन्टर गइयो । मैले ल्याबस्टरको झोल र भात मगाँए, सौगातले रोटी अनि अद्नान र उस्को साथीले बिरयानी मगाए ।
बसले बिहान ढाका पुर्यायो, सौगात मलाई उबरमा छाड्न आयो । त्यस दिन साँझ फ्लाइट थियो, चीनका राष्ट्रपति र म एकैदिन नेपालमा अवतरण गर्दै थियौं तसर्थ फ्लाइट डिले भयो ।

साँझको फ्लाइट राती ११ बजे उड्यो, म निन्द्राले चुरचुर थिँए । हिमालयन एयरलाइन्सको पिनटको भरमा म थिइन, कानाले मलाई मनपर्छ भनेंर चिज र अम्बा हालिदिसेको थियो । काना, भाई, अकंल र अप्पुलाई बिदा गर्दा अलिक भारी भयो मेरो मन । नेपाल झरेपछिको चिसो हावाले मेरो भारी मन सेलाँउदै गयो, हरेक पटक काठमाण्डौ छिर्दा म फोक्सो भरेर चिसो हावा कन्जुम गर्छु, काठमाण्डुमा नशा छ । रात्रि वसमा गाँउवाट काठमाण्डौं छिर्दा थानकोट सखारै आँउदा झिसमिसे काठमाण्डौको चिसो हावा बसको झ्यालबाट महसुस गर्थेँ, छेउमा बस्नेले बन्द नगर नभनुन्जेल ।

ट्याक्शीलाई ३ गुणा बढि तिरेर मामाघर पुगियो, त्यसपछि म २० घण्टा जति त यसरी सुतेँ कि के भन्नु र ?

ए साच्चै मैले ३ वटा कुराहरु भन्न भुलेछु, जाँदा जाँदै त्यो पनि भनेंर जान्छु है ।

भाग १ पढ्नको लागि

पहिलो कुरा बगंलादेशको भाग १ प्रकाशित गरेपछि मेरा फेसबुकमा भएका बगांली साथीहरुले पनि त्यसलाई शेयर गरे, ति बुर्कावालीले पनि मलाई फेसबुकमा एड गरिन् । एकफेर ५००० फ्रेन्ड भइसकेको मेरो अकाउण्टमा केहि अकाउण्ट हटाएर ठाँउ खाली गरेको थिँए, उनले टुप्लुक्क एड गरिन् । उनले हामी साथी भएको आधा घण्टासम्म त मलाई प्रश्नहरुको बर्षात नै गरिन्, नेपाल आउ भन्याछु उन्ले एउटा ईमोजीमा रिप्लाई गरि, म अझै त्यस ईमोजीमा उत्तर खोजिरहेछु । तिनी नेपाल आँउदा म एयरपोर्ट जान्छु, त्यसवखत पनि के तिनी बुर्कामा मै आँउछिन त ?
हाहा शायद उनी आँउदिन ।
कन्ग्राचुलेसन लेख्नेसंग पनि गोल्डेन ह्याण्डशेक गरियो, समुन्द्रमा बगाएको कथाको म फेरि मलामी जान चाहन्न । मलाई उनीसंग केहि गुनासो छैन त्यहि हो अब कुनै दोबाटोमा कहिँ कतै भेट नहोस् भन्ने मात्र हो, अनुहार नदेखेपछि भुल्ने बाँनी छ, भूलिहाल्छु एकदिन ।
समुन्द्र तटमा हुँदा नै म लहरहरुको आवाजलाई मोबाइलमा रकेर्ड गर्दै कसैलाई पठाइरहेको थिँए । अंग्रेजीमा एउटा शव्द छ, क्रिप्टोनाइट भन्ने, उनका लागि म क्रिप्टोनाइट थिँए रे । नेपाल फर्केपछि तिनीसंग भेट भयो, बंगालबाट ल्याएको मिठाई उनलाई पनि दिँए । आजभोली मलाई उनी मनपर्न थालकी छिन्, म तिनलाई एउटा मैलेमात्र भन्न सक्ने नाम उपहार दिन चाहन्छु, सोच्नै सकेको छैन । यता फर्केर फेरि काममा व्यस्त भएँ, एउटा बेव सिरिज लेख्न मलाई हायर गरिएको छ, १३ वटा तालिम निर्देशिकाहरु भर्खरै मेरो टिमले अनुवाद गरेर भ्याएको छ, त्यसको अन्तिम सम्पादनमा पनि म छु । जनवरी पछि एउटा रेडियो परियोजना गर्न छ । जनवरी अगाडि कसैकसैकी हजुरआमा अमेरिकावाट आँउदै हुनुहुन्छ, वहाँसंग भेटेर कुरा गर्ने र ठम्याउने कुरा छ, बल्ल महसुस गर्दै छु कि एउटा लेखकका लागि समबन्ध गाँस्न कति गाह्रो रहेछ भनेंर । यो कथालाई चाँही बगाउन म फेरि समुन्द्र जान नपरोस् , मैले बंगालवाट ल्याएका यादहरु सदैव ताजा रहुन् । खुब भालो ।
आजभोली मेरो नगं टोकाई निकै कम भएको छ, घाउहरुमा खाटा बस्दै छ । भ्लगको इडिटिँग हुँदै छ, तिहार पछि लगत्तै भ्लग पनि आउनेछ ।


Loading comments...