Lifestyle Portal
  •   १६ चैत्र २०७९, बिहीबार

धनमान श्रेष्ठको ‘सम्बन्ध विच्छेद’

१४ कार्तिक २०७६, बिहीबार २२:२३


किताबी बजार र धनमान
कुनै वेला अर्थात् हिजो अस्तिजस्तो लाग्छ विश्वविद्यालयमा नेपाली भाषासाहित्य पठनपाठन गराउने क्रममा पुस्तकै हुदैनथ्यो । त्यस्तो अभावपूर्ति खातिर महाकवि लक्ष्मीप्रसाद देवकोटालाई महाकाव्य लेख्न अनुरोध गरिएको थियो । नेपाली भाषासाहित्यको भण्डार भर्नका लागि लेखकलाई अनुरोध गरिएर साहित्य लेखाइने समय बितेको एक शताब्दी पनि पुगेको छैन । तर अहिले नेपाली साहित्यको भण्डारमा ठेलमठेल पुस्तक पुगिसकेको अवस्था छ । हिजो पाठकले पुस्तक खोजिखोजि पढ्ने समय थियो । अहिले त लेखकले ‘मेरा कृति पढिदिनोस् न हजुर’ भनेर पाठकसँग अनुरोध गर्नु पर्ने समय आइसकेको छ । अथवा ठूलो हल्लाखल्ला गरेर मुखमा मात्र चामल हालिएका र भित्र भूसमात्र भरिएका चामलको बोरा झैँ भएका किताब बिक्रीका लागि प्रकाशकले बजारमा पाठकका लागि ‘झुक्याई खेती’ पनि गर्न थालिएको यस युगमा हामी आइपुगेका छौँ । लेखिरहने र स्वप्रचार पनि गर्न संकोच मान्ने धनमान श्रेष्ठ प्रवृत्ति लेखकहरू चाहिँ ओझलमा पर्ने यो युग हो ।

धनमान श्रेष्ठको पृष्ठभूमि
म बाल्यावस्थामै हुँदा गतिला कथाहरूले नेपाली भाषासाहित्य सिँगारिसकेका धनमान श्रेष्ठको नाउँ मैले सुनेकी थिइन भन्नु पर्दा र आफू पनि यसै क्षेत्रको हुनु पर्दा मलाई हुनसम्मको लज्जाबोध भएको छ ।

लेखकः इन्दिरा प्रसाई

यसै वर्ष ‘लघुकथा समाज’ मार्फत मैले `धनमान पुरस्कार´ ग्रहण गरेँ । धनमान श्रेष्ठद्वारा स्थापित उक्त पुरस्कार मैले प्राप्त नगरेकी भए शायद म धनमान विषयक थप अन्धकारमै रहन्थेँ हुँला । त्यसै समयमा स्वयम् धनमान श्रेष्ठबाट मैले उनका दुई वटा कथासङ्ग्रह ‘यौटा उस्तै कथा’ र ‘सम्बन्ध विच्छेद’ प्राप्त गरेकी थिएँ । उनका दुई थान पुस्तक हातमा परेपछि ‘स्रष्टाका नाउँको सम्मान पो पाएकी रहेँछु’ भनेर मलाई तत्क्षण गर्ववोध भएको थियो ।

धनमान हराए
‘कुनै लामो निद्राबाट ब्यूँझे झैँ, आफ्नो दीर्घकालीन मौनता भंग गरेर … फेरि नवयौवनको उत्साह उमङ्ग सहित लेखन र प्रकाशनमा जुट्नु भएको छ ।’ नेपाली भाषासाहित्यका वरिष्ठतम समालोचक एवम् दार्शनिक प्रातः स्मरणीय गोविन्द भट्टद्वारा धनमान श्रेष्ठकृत ‘यौटा उस्तै कथा’ को भूमिकामा लेखिएको उल्लेखित कुराले मेरो अन्तरमनलाई छोयो र घच्घच्यायो पनि !

नीद्वारा साहित्यकार बनिहालौँ न त भनेर किताप छापेर कागजको नास र पाठकको समय सर्वनास गरिएको पनि छैन । उनका कथामा उनले भोगेको परिवार र समाजका कथा छन् । उनका कथामा नेपाली माटोले भोग्नु परेका राजनैतिक विषमभोगका कथा छन् । पाठकले उनका कथा पढ्दा आफ्नो र आफ्नो देशको अनुहार त्यहाँ सर्लक्कै देख्न सक्छ । त्यसैले पनि धनमान सम्मान योग्य कथाकार हुन् ।

२०२० सालदेखि नै कथा लेखनमा लागेका धनमान श्रेष्ठ आफ्नो अद्यव्यवसायमा अल्झेर साहित्य संसारबाट अलप भएका रहेछन् । साहित्य लेखेरमात्र पेट पाल्न सक्ने अवस्था हामी कहाँ बनिसकेको छैन । गतिला लेखकलाई सरकारले नै विद्वतवृत्तिको व्यवस्था गरेर राष्ट्रका लागि साहित्यको संरक्षण गरिनु पर्ने हो । तर हाम्रो देश सधैँ राजनैतिक संक्रमणको अवस्थामा भएको र सरकारी हिसाबले साहित्यलाई अनौपचारिक तरिकाले दलको भातृसंस्थामा गाभिदिनाले वास्तविक र स्वाभिमानी साहित्यकारहरू पलायन वा गुमनाम हुन वाध्य छन् ।

अर्को कुरा हाम्रो देशमा प्रजातन्त्र पनि कहिल्यै किशोर भएन अझ गणतन्त्र त झन् वामे पनि सर्न सकेन । त्यसैले कठै गणतन्त्र आमाको काखमा लडिबुडी गर्दै अझै दूधै चुसिरहेको नै छ । अब त आहार विनाकी आमाका स्तनबाट रगतमात्रै आउन थालेको छ । तर सधैँको बालख गणतन्त्रले भने जिर्णशिर्ण आमाका लाम्टा चुसेको चुसेकै छ र आमालाई मरणान्त पारिसकेको छ ।

मुलुकको यस्तो कारूणिक अवस्था हुँदा धनमान श्रेष्ठहरूले पेटपाल्नका लागि जागिर खाएर ४० जिल्ला धाउन कि घाम नआउने छिँडीको कोठामा पटुका कसेर साहित्य लेखुन् ? यो कथा त धनमान हराएको जानकारी हो । यहाँ कैयन धनमानहरू यसरी नै हराएका छन् । वर्तमान नेपाली साहित्यबारेको यो एउटा सङ्क्षिप्त सूचना मात्र पनि हो ।

धनमान श्रेष्ठ भेट्टिए
अब म धनमान श्रेष्ठ फेला परेको कुरा गर्छु । हो अब धनमान श्रेष्ठ सग्लै भेटिए । उनी साहित्यको चौतरीमा भेटिए । अबको विशेष कुरा यही नै हो । यस सन्दर्भमा गोविन्द भट्टले भनेका कुराबाट यस लेखको प्रारम्भ गर्नुको औचित्य पनि हराएका धनमान भेटिँदा मैले पनि गरेको हर्षबढाईँ नै हो ।

प्रारम्भिक अवस्था अर्थात् कुर्कुरे वैँस लागेपछि र गृहस्थीको बोझले नथिचुञ्जेलसम्म प्रत्येक मानिस कवि हुन्छ । अक्षर जान्ने र लेख्ने सीप हुनेले उक्त कविता कागजमा लेखेर व्यक्त गर्छ । अक्षर नजान्ने अथवा लेख्ने सीप नहुनेले र स्वरले साथ नदिएकाले मनमनै गीत गुन्गुनाउलान् अनि स्वर पनि हुनेले आफैँ गीत कथेर गुन्गुनाउलान् । प्रत्यक्ष संलग्न हुन नसक्नेले अर्कैको रचनामा आफू साधारणीकृत भएर साहित्य पढेर वा गीतसङ्गीत सुनेर आफ्नो मनमा उठेका तरङ्गहरूको व्यवस्थापन गर्ला । अनि लेख्ने क्षमता भएकाले चाहिँ अविरल लेखिरहन सके कालान्तरमा भए पनि साहित्यकारको दर्जा पाउला । गीत पनि अविरल गाए ऊ गायकको तहमा पुग्ला । लेख्न गाउन नसके ऊ पाठक वा स्रोता नै भए पनि बन्ला । यस प्रकृयामा त्यसरी प्रारम्भिक अवस्थामा लेख्ने मानिस लेखी नै रहन्छ भन्ने छैन । गृहस्थ आश्रममा हेलिँदा हेलिँदै र जीविकोपार्जनमा जेलिँदा जेलिँदै अधिकांश प्रारम्भिक साहित्यकारहरू साहित्यबाट अस्ताउने गर्छन् । विरलैमात्र अस्ताएपछि पनि झुल्किने गर्छन् । धनमान श्रेष्ठ ती विरालाकोटीका साहित्यकार भएका छन् । मेरो विचारमा यस प्रवृत्तिका साहित्यकार असली साहित्यकार हुन् । किनभने समयको चटारोले चौपट पार्दा र जिम्मेवारीको बोझले थिचिमिचि र किचिमिचि पार्दा पनि धनमानको साहित्यिक प्रतिभा मर्न सकेन । त्यो त अजम्बरी भएर समय पाउनासाथ जाग्यो । उनको साहित्य जुरूक्क उठ्यो र कर्मभूमिमा फेरि दौडन थाल्यो । यही कुरा नेपाली भाषा साहित्यका लागि विशेष प्राप्ति बन्यो र प्रेरक गाथा पनि बन्यो ।

अधिकांश जागिरेहरू जागिरबाट अवकाश पाएपछि टाउको निहुराएर ‘अवकाश पाएँ’ भनेर निन्याउरो अनुहार लाउँछन् । उक्त निन्याउरोपन उनीहरूको अनुहारसम्ममात्र रहँदैन । त्यसले क्रमशःक्रमशः उनीहरूका मस्तिष्कका स्नायुहरूलाई निन्याउरो पार्न थाल्छ र व्यक्ति डिप्रेशन, अल्जाइमर वा विविध रोगहरूका चपेटामा पनि पर्न थाल्छ । तर धनमानप्रवृत्ति व्यक्तिले चाहिँ कहिल्यै अवकाश लिँदैनन् ।

नेपाली भाषासाहित्यले धनमान श्रेष्ठमा गर्व गर्नु पर्ने अर्को कुरा पनि छ । त्यो हो उनको मातृभाषा नेपाली नहुनु । भक्तपुरका नेवार समूदायमा जन्मेर पनि उनमा भएको नेपाली साहित्यप्रतिको प्रेम अति स्तुत्य छ ।

धनमान श्रेष्ठका कथा
धनमान श्रेष्ठको लेखनबारेको कुरा पनि विशेष नै छ । त्यो के हो भने धनमानले लेखेका तीन ओटा कथासङ्ग्रहमा सङ्ग्रहित कथाहरू लेख्नका लागि मात्र लेखिएका छैनन् । उनीद्वारा साहित्यकार बनिहालौँ न त भनेर किताप छापेर कागजको नास र पाठकको समय सर्वनास गरिएको पनि छैन । उनका कथामा उनले भोगेको परिवार र समाजका कथा छन् । उनका कथामा नेपाली माटोले भोग्नु परेका राजनैतिक विषमभोगका कथा छन् । पाठकले उनका कथा पढ्दा आफ्नो र आफ्नो देशको अनुहार त्यहाँ सर्लक्कै देख्न सक्छ । त्यसैले पनि धनमान सम्मान योग्य कथाकार हुन् ।

धनमानले उनको मातृभाषामा के कति योगदान पुर्याएका छन् सोबारे म अनविज्ञ छु । तर धनमानले मेरो मातृभाषामा पुर्याएको योगदानका कारण म उनीप्रति श्रद्धावान भएकी छु ।

धनमानका `स्वास्थ्य कथा`
कथाकार धनमान श्रेष्ठले कथाहरूमध्ये स्वास्थ्य सम्बन्धी र अझ क्यान्सर सम्बन्धी कथा लेखेका छन् । क्यान्सरजस्तो जटिल र असाध्य रोगबाट पनि बच्न सकिने कुरा जनसाधारणले बुझ्ने गरी र यति रोचक पाराले पनि लेख्न सकिँदोरहेछ भन्नका लागि पनि यी कथाहरू उदाहरण भएका छन् । यी कथाहरू लाई कथाको अर्को एउटा `स्वास्थ्य कथा´ को बेग्लै फाँट खोलेर छुट्टै सङ्ग्रहका रूपमा प्रस्तुत गर्न सक्दा यी कथाहरूको मूल्य थप चुलिन्थ्यो भन्ने मेरो धारणा हो । हाम्रोजस्तो शून्य स्वास्थ्यचेतना भएको समग्र समाजमा `स्वास्थ्य कथा´ को ठूलो खाँचो छ भन्ने मलाई लाग्दछ । जनधनको लुट नगरेर जनधनको सुरक्षा गर्ने किसिमको यदि हाम्रो सरकार हुँदो हो त धनमानका `स्वास्थ्य कथा´ सरकारले नै प्रकाशन गरेर प्रत्येक गाउँ गाउँका स्वास्थ्य चौकीबाट घरघरमा प्रचारप्रसार गर्न सके जनताको स्वास्थ्य र कथाकार धनमानको लेखन उद्धेश्य पनि पुरा हुने थियो भन्ने लोभ पनि मलाई लागेको छ ।

धनमानको `सम्बन्ध विच्छेद´
८३ वर्षीय धनमान श्रेष्ठ आफ्नो नवीनतम कृति `सम्बन्ध विच्छेद` लिएर आएका छन् । यस सङ्ग्रहका कथाका माध्यमले पनि कथाकार धनमान श्रेष्ठ राजनैतिक व्यङ्ग्यको प्रस्तुति, जनस्वास्थ्य चेतना जागरणको प्रयत्न र समाजिक विकृतिप्रतिको क्रान्तिका लागि प्रतिबद्ध छन् । वयप्रौढ स्रष्टाका यी कथाहरू नवयौवनले झकिझकाउ छन् ।

धनमान : प्रज्ञावान
अधिकांश जागिरेहरू जागिरबाट अवकाश पाएपछि टाउको निहुराएर ‘अवकाश पाएँ’ भनेर निन्याउरो अनुहार लाउँछन् । उक्त निन्याउरोपन उनीहरूको अनुहारसम्ममात्र रहँदैन । त्यसले क्रमशःक्रमशः उनीहरूका मस्तिष्कका स्नायुहरूलाई निन्याउरो पार्न थाल्छ र व्यक्ति डिप्रेशन, अल्जाइमर वा विविध रोगहरूका चपेटामा पनि पर्न थाल्छ । तर धनमानप्रवृत्ति व्यक्तिले चाहिँ कहिल्यै अवकाश लिँदैनन् । सरकारले दिएको अवकाशपत्रलाई सेफभित्र राखेर भोटे ताल्चा ठोकेपछि धनमानहरू आफ्नो वक्यौता लक्ष्यका लागि कर्मशील हुन्छन् ।

शान्त रहेर आफ्नो विशाल काम गरिरहनु, गहिरो चेतना राखेर अक्षरहरूद्वारा राष्ट्रप्रतिको जिम्मेवारी निर्वाह गर्नु र अविश्रान्त साधकका रूपमा आफ्नो कर्मभूमिमा एकनास जुट्नसक्नु जस्ता विशेषताहरूले चुलिएका धनमान श्रेष्ठ वयले मात्र जेष्ठ होइन प्राज्ञतत्वले समेत जेष्ठ भएकाले म उनीप्रति हार्दिक नमन गर्दछु । साथै धनमान श्रेष्ठले शताब्दी टेक्न अझै १७ वर्ष बाँकी रहेकाले उनीबाट थप अब्बल कथाहरूको सृजना भएर नेपाली कथा साहित्य घनिभूत हुने विश्वास समेत मैले सँगालेकी छु ।

© इन्दिरा प्रसाई

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,