राजा, गणतन्त्र र कमल थापा


राजसंस्था नेपालको एकताको प्रतीक हो, नेपाल बचाउने सूत्र हो र नेपालको साँस्कृतिक धरोहर हो ।

राजनेता कमल थापाले भनेका थिए- `संवैधानिक राजसंस्था हाम्रो भूराजनैतिक अवस्था एवम् धार्मिक, सामाजिक र सांस्कृतिक परिवेशको पृष्ठभूमिमा छ । सबैले सम्मान र विश्वास गर्ने एउटा साझा संस्थाको रुपमा नेपालमा राजसंस्था आवश्यक छ।´

राजा नपालीको आड, भरोशा र ओत ह‍ो । राजाविहीन मुलुक नेपालको दुर्दशा हो । त्यो बिम्ब सबैका सामु छर्लङ्ग पनि हुँदै आएक‍ो छ । नेताहरूले जतिसुकै चिच्याएर माइक घन्काए पनि खास गरेर भारतीय आयोजनामा आएको राजनैतिक व्यवस्था नेपालका लागि असफल प्राय: भैसकेको छ । आखिर लहराको जरा नै कुहिएको छ भने थाङ्ग्रोको के काम र ?

गल्ती सबैको हुन्छ । राजाका पनि केही गल्ती थिए । अहिले आएर नेताहरूको समेत गल्तीको मूल्याङ्कन गर्ने हो भने राजाले गरेको गल्ती कमिलाको पाइला जत्रो मात्र देखिन थालेको छ । तर हात्ती पाइलेहरूको आगमनले सूक्ष्म पाइलाका डामहरू नै छोपिएका छन् । नेताहरूकै कारण गणतन्त्रको आगमनपछि देश ओह्रालो, ओह्रालो र ओह्रालो मात्र लागिरह्यो । देशलाई कङ्गाल पार्ने खेल नै गणतन्त्रको एक मात्र गुरू मन्त्र रहेछ भन्ने बेहोरा पनि टट्कार‍ो देखिँदो छ ।

नेपालमा मौलिक राजनैतिक सिद्धान्तको अर्थै पनि रहेन । पराईले जे सिकाउँछ नेपालमा रातोरात त्यही नै कृत्य हुन्छ । टाउकेले अह्राएपछि सिद्धान्तका कट्टरपतिहरू पनि सैद्धान्तिक शत्रु मानिएका दलको पाउ मोल्न पनि तयार हुन्छन् । नेपालमा यो कस्तो राजनीतिक संस्कृति पलाएको हो ? फेदविना टुप्पिएको राजनीति व्यवस्थाले मुलुकलाई कता पुर्याइरहेको छ ?

केही समयपूर्व नेपालमा एउटा चमत्कारी दृश्यको ह्वात्तै पर्दा खोलिएको छ । भनौँ, एकै रातमा माओवादी र एमालेले विश्व राजनीतिक रङ्गमञ्चमा चमत्कार देखाई दिएका थिए । न उनीहरूको सिद्धान्त मिल्थ्यो, न व्यवहार मिल्थ्यो । त्यतिमात्र पनि होइन, अघिल्लो दिनसम्म पनि उनीहरू एकले अर्कालाई थुक्तै हिंड्ने गर्थे । उनीहरू माझ एकका लागि अर्को भयङ्कर ठूलो शत्रु थियो । तर अचानक भोलिपल्टै उनीहरूको जिब्रो एउटै भएको बेहोराको सूचना जनमाझ पुग्यो । यस्तो नाच देखाउँदा उनीहरूमा पछुतो, लाज र घिन पनि देखिएन । परिवर्तनका नाउँमा त्यो कत्रो ठूलो जादु थियो ? त्यो प्रायोजित राजनीतिक तिक्डम थियो या मिलनको राष्ट्रिय मेलमिलापको बुटी थियो ? यिनीहरूको दलबल कच्चा छ भनौं भने नेपाल सरकार समेत यिनैले हाँके । एकअर्कामा सारै ठूला शत्रु भएर हिंडेका नेताहरू कहिल्यै नछुट्ने वाचामा एकसँग अर्को गाँठो पर्दा देख्ने र सुन्नेलाई काउकुती लाग्दैन र ? वास्तवमा यो चमत्कारको सेतु के हो ? पानी बाराबार गर्ने शत्रुशत्रु पनि रातभरिमा नै त्यसरी एकअर्कामा मोहित हुन पनि सक्ता रहेछन् ? के नेपालको भविष्य निर्माणका लागि नै त्यो नै आश्चर्यको गाँठो कसिएको थियो त ?

हामी नेपालीका लागि प्राण जस्तै प्यारो नेपाल नै हो । एमाले र माओवादीको मिलनले पनि नेपाल बनाउने राष्ट्रिय सोच, सङ्कल्प र धर्म राखिदिए हुन्थ्यो । यिनीहरू आआफ्नै विवेकबाट नै चलिदिएको भए हुन्थ्यो । यी दुई दल मात्र होइन, सकेसम्म अरू सबै दल पनि स्वविवेकले एकै भए शायद राष्ट्रको चौतर्फी विकास र जनताको सुक्ख समृद्धि हुने थियो । तर यो गरिव देशका लागि त्यो सम्भव भएन । वास्तवमा नेपालमा निर्दलीय प्रजातन्त्र नै चाहिन्छ भन्ने तथ्य दलहरूको सहकार्य, एकीकरण र नेताहरूको छिनछिनको दल बदलले पनि प्रमाणीकरण गरिदिएको छ ।

साँचो बोल्नु पर्दा “म गैरगणतान्त्रिक नेपाली हुँ ।” मैले एक दशकअघि यसोभन्दा नरहरि आचार्यले मलाई भनेका थिए- “जर्मनहरू मध्ये १०-१५ जना त्यहाँ अझै पनि राजावादी छन् । तिमी पनि त्यस्तै राजावादी हौ ।” त्यसै बेला मैले उनलाई उत्तर फर्काएको थिएँ- “नेपालमा राजाको गैर उपस्थितमा देश खरानी हुन्छ । देशको प्राण भनेकै राजा मात्र हो भन्ने दिनको अब प्रतीक्षा गरौँ न त !”

म ठाडो राजनीतिमा छैन । म राष्ट्रिय प्रजातन्त्र पार्टीसँग पनि सम्बन्धित छैन । २०४६ सालदेखि नै म कुनै दलमा लागिन । दलीयताको म समर्थक पनि बनिन । तर अहिलेको परिवेशमा राप्रपा नै मात्र आशाको एउटा सग्लो दियो बनेर अघि बढिदियो । राप्रपाले शिरमा राखेको त्यो बिम्ब हो- “राजसंस्था ।”

आजको राजनीतिक दृश्य हेर्दा राष्ट्रवादी जनताहरू राजा फर्काउने अभियानमा दौडिरहेका छन् । त्यसमा समस्त स्वाभिमानी नेपाली जनता र राप्रपाको समेत आड, भरोसा र राप छ भन्ने तथ्य पनि बुझ्नु पर्छ । साथै नेपालमा हिन्दू अधिराज्यको आगमन हुन्छ भने जनता र राप्रपाकै होस्टेबाट नै हुन सक्छ । यस राष्ट्रिय गौरवी अभियानमा कमल थापा अहोरात्र लागि परेका छन् । साँच्चै भन्ने हो भने थापाले राप्रपा हाँक्न थालेपछि नै देशभक्तहरू उपर आशाको ज्योति पलाउन थालेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका कमान्डर कमल थापा भन्नु अहिलेको नेपालका शिखर हिन्दूवादी राजनेता मानिन्छन् । साथै धेरै राष्ट्रभक्तहरूको विचार, सोच र परिकल्पनाको ढाँचा अन्तर्गत थापाको जोडा अर्को कुनै राजनेता भेटिदैनन् । त्यसैले हाम्रो वैदिक सनातन हिन्दुत्वको संवैधानिक रक्षार्थ र श्री ५ को पुनर्स्थापनाका निम्ति हामीले पनि आफ्नो सम्पूर्ण दक्षता कमल थापा कै समर्थनमा समाहित गर्नु पर्ने बेला आएको छ ।

हिन्दू अधिराज्यका लागि आफ्नो मन, वचन र कर्म जोड्न सकेनौ भने अब हामीले शरणार्थी बन्ने टिकट काटे पनि हुन्छ । सत्य हो- गणतन्त्रले खोसेको सग्लो नेपाल फिर्ता लिएर यसलाई जोगाउन राजाकै आगमन जरूरी छ । राजाकै छहारीमा नै मात्र नेपालको भविष्य छ, त्यसैमा यी सबै दलका मान्छे पनि अटाउन सक्छन्; अनि त्यसैबाट मात्र नेपालको राष्ट्रिय एकता, स्वाभिमान र अखण्डताको सुरक्षा पनि हुन सक्छ । नत्र हाम्रो छिमेकीले जनजन भत्काउनेदेखि सिमाना मिच्नेसम्मको कृत्य गरिहन पनि छोड्दैन ।

विश्वमा एउटै हिन्दू अधिराज्य थियो । त्यही नै नेपालको चिनारी र पहिचान पनि थियो । तर त्यही वैदिक सनातन धर्म र त्यही प्राचीन संस्कृति नै मास्न थालेपछि अरू विषयको के अर्थ रह्यो र ! नेपालमा गणतन्त्र भन्नु एउटा गौरवशाली जुलुसका लागि पकाएको भोजनमा कुकुरले पिसाव गरे जस्तै भएन र ? विश्वमा नै उत्कृष्ठ मानिएक‍ो गणतान्त्रिक व्यवस्थालाई यसरी यस अवस्थामा ल्याउने काम कसले, किन र कहाँबाट गर्यो त ?

नेपालको हिन्दुत्व विश्वकै सहिष्णुताको नुमना थियो । आत्मा र परमात्मामा पूर्ण भएको धर्म नै हिन्दू धर्म हो । अरू धर्मप्रति पनि द्वेश, घृणा र अपमान नगर्ने धर्म पनि हिन्दू धर्म नै हो । अनि यस धर्मको रक्षा गर्ने पनि राजसंस्था नै हो । राजाको नेतृत्वबाट मात्र हाम्रो धर्म र संस्कृतिको समेत रक्षा हुन सक्छ भन्ने बेहोरा पनि यसै गणतन्त्रले नै छर्लङ्ग पारिदिएको छ ।

मुलुकको स्थायित्वका लागि हिन्दू अधिराज्य नै चाहिन्छ भन्ने सजिलो नेपाली पाठ गणतन्त्रले पढाई दिएकै छ । अब यसबारे कसैले कतै गएर फेरि पनि ट्युशन पढिरहनु पर्ने जरूरी छैन । धुकधुकी मात्र रहेको राष्ट्रको प्राण बचाउने नेतृत्व लिइरहेका कमल थापाको कदमलाई देशभक्तहरूले आँखा चिम्लेर समर्थन गर्न समयले दैलो उघारी दिएको छ । अब पनि नेपालले श्री ५ को नेतृत्व पाएन भने हाम्रा हातमा पछुतो सिवाय अरू केही आउँदैन । त्यसपछि पराईसँग ओत लाग्न हामीले झिटीगुन्टा कसे हुन्छ ।

© नरेन्द्रराज प्रसाई


Loading comments...