Lifestyle Portal
  •   ५ आश्विन २०७८, मंगलवार

देवकोटालाई महाकवि बनाउने प्रा. डा. ईश्वर बराल

२८ कार्तिक २०७६, बिहीबार १६:०८

१९८० सालको कात्तिक ९ गते सिराहा जिल्लाको बस्तीपुर गाउँमा जन्मेका ईश्वर बरालको वास्तविक नाउँ लीलानटेश्वर बराल हो । पिता पं. देवीरञ्जन बराल तथा माता भुवनेश्वरीदेवी बरालका सुपुत्र ईश्वर बरालका एक छोरा किरण र दुई छोरी ज्योति र द्युति छन् ।

२०५४ सालको आरम्भमा बराल बिरामी परे । उपचारार्थ उनी भारतको नयाँ दिल्ली पुगे । त्यहाँको अस्पतालमा भर्ना भएपछि निष्कर्ष निक्ल्यो- उनलाई ‘ब्रेन ट्युमर’ भएको रहेछ । मीठो बोलीचाली भएका बरालले अनायासै आफ्नो वाणी दैवलाई दान दिनुपर्यो । त्यति राम्रो वाक्शक्ति भएका बरालले त्यसपछि मौनतामा जीवन अर्पण गर्नुपर्यो । त्यति मात्र होइन, नेपाली साहित्यफाँटमा अत्यन्तै सुन्दर हस्ताक्षर हुनेहरूमध्ये एक बरालका ती सुन्दर अक्षर पनि २०५४ सालको वैशाखदेखि कहीँकतै नआउने भए । सरस्वतीका वरद पुत्र ईश्वर बराल लेख्न र बोल्नबाट वञ्चित हुन पुगे । हुँदाहुँदै २०५४ सालको कात्तिक २७ गते बुधबार एकाबिहानै काठमाडौंमा उनले देहत्याग गरे ।

बरालका कृतिहरूमा प्रौढ दृष्टिकोण, पाण्डित्यपूर्ण शैली र ओजस्वी अभिव्यक्ति पाइन्छ । नेपाली समालोचनाफाँटका अमर व्यक्तित्व प्राध्यापक ईश्वर बरालको ख्याति नेपाली वाङ्मयसंसारकै एउटा सम्पत्ति मानिन्छ । उनी आधुनिक नेपाली साहित्यको समालोचना र सम्पादनका जगद्गुरु मानिन्छन् । त्यति मात्र होइन, नेपाली भाषासाहित्यका महत्त्वपूर्ण स्रष्टाहरूलाई खोज्ने, गोड्ने र चिनाउने पनि ईश्वर बराल हुन् । विभिन्न भाषाका ज्ञाता मानिने बराल नेपाली साहित्यकाशका अमर तारा हुन्, अमर प्राज्ञ हुन् र अमर स्रष्टा हुन् । उनैले पहिलो पल्ट लक्ष्मीप्रसाद देवकोटालाई महाकवि लेखे । २००४ सालमा उनले देवकोटालाई महाकवि लेखेपछि उनका नाउँमा त्यही सम्मान चलेर गयो र देवकोटालाई लेखिने गरेको युगकवि २०१० सालको हाराहारिमा सिद्धिचरण श्रेष्ठमा सारिएको थियो ।

लेखकः नरेन्द्रराज प्रसाई

त्यस बेला उनका सहपाठी थिए विजय मल्ल । साथै त्यस समय नै लक्ष्मीप्रसाद देवकोटा, हृदयचन्द्रसिंह प्रधान आदिसँग बरालको घनिष्ठता भइसकेको थियो । त्यस बेला उनले नेपाली साहित्यका बारेमा केही जान्ने र सुन्ने मौका पनि पाए । त्यसैको परिणामले उनले २००० सालमा शारदामा एउटा लेख छापे । ‘कथाको परिभाषा’ शिर्षकको सो समालोचना समीक्षाजगत्को उनको प्रथम प्रस्तुति थियो ।

बरालले चार वर्षा अमरकोश पढेका थिए । आफ्नी आमा भुवनेश्वरीदेवीले मौखिक वाचनद्वारा उनलाई सो ग्रन्थ कण्ठाग्र गराएकी थिइन् । पाँच वर्षपुग्दा अमरकोशका तीनै काण्ड कण्ठस्थ पार्ने व्यक्ति ईश्वर बराल थिए । त्यसपछि उनले क्रमशः हितोपदेश, रघुवंश, लघुसिद्धान्त-कौमुदी, शुक्लयजुर्वेदका केही अध्याय र रुद्री आदिको ज्ञान अन्य गुरुजनहरूबाट ग्रहण गरे । उनले एघार वर्षलाग्दा अङ्ग्रेजी अर्थात् ए, बी, सी, डी पढ्न थालेका थिए । त्यसपछि हिन्दी, उर्दू, बङ्गाली भाषामा पनि उनी क्रमशः भिज्दै गए ।

संस्कृत, नेपाली, अङ्ग्रेजी, हिन्दी, मैथिली, उर्दू, बङ्गाली, भोजपुरी आदि भाषामा केही पोख्त हुँदाहुँदै उनले भारतको जयनगरबाट म्याट्रिक पास गरे । त्यसपछि संवत् १९९८ सालमा उनले दरभङ्गामा आई.एस्सी. मा आफ्नो नाउँ लेखाए ।

१९९९ सालमा ‘भारत छोड’ आन्दोलनमा सक्रिय भएकाले बराल पनि दरभङ्गामा समातिए । परिणामस्वरूप त्यहाँ उनको आई.एस्सी.को पढाइ अवरुद्ध भयो । त्यसपछि २००० साल वैशाखमा उनी काठमाडौँस्थित त्रिचन्द्र कलेजमा भर्ना भए । त्यस बेला उनका सहपाठी थिए विजय मल्ल । साथै त्यस समय नै लक्ष्मीप्रसाद देवकोटा, हृदयचन्द्रसिंह प्रधान आदिसँग बरालको घनिष्ठता भइसकेको थियो । त्यस बेला उनले नेपाली साहित्यका बारेमा केही जान्ने र सुन्ने मौका पनि पाए । त्यसैको परिणामले उनले २००० सालमा शारदामा एउटा लेख छापे । ‘कथाको परिभाषा’ शिर्षकको सो समालोचना समीक्षाजगत्को उनको प्रथम प्रस्तुति थियो । नितान्त सिकारुको लेख हुनाले त्यस बेलाको सो लेखबाट पछिपछि बरालाई लाज पनि लागेको थियो ।

साहित्यमा दिनानुदिन रुचि बढ्दै गएपछि बरालले आई.एस्सी. समुत्तिर्ण गरे र २००२ सालमा काशी हिन्दू विश्वविद्यालयमा बी.ए. मा नाउँ लेखाए । त्यसपछि अर्थात् २००३ सालमा उनी नेपाली (राष्ट्रिय) काङ्ग्रेसका संस्थापक सदस्य भए । २००५ साल वैशाखमा ईश्वर बरालको विवाह सुश्री रानू ढुङ्गानासँग सुसम्पन्न भएको थियो ।

बरालले बी.ए. को अन्तिम वर्षअध्ययन गर्दागर्दै झयालबाट र हिमालचुलीको सम्पादन गरेका थिए । तर परिस्थितिले गर्दा उनको झयालबाट २००६ सालमा र हिमालचुली २०१२ सालमा मात्र प्रकाशित भएका थिए ।

एम्.ए. अध्ययनका लागि पनि बराल काशी हिन्दू विश्वविद्यालयमा भर्ना भए । त्यस बेला उनी समीक्षात्मक कलामा झन् उर्त्सर्ग भए । उनले समीक्षाका लागि मम्मट र टी.एस. इलियटलाई गुरु थापे । नेपाली भाषाप्रतिको न्यानो माया, मोह र भावना बोकेर उनी २०१८ सालमा संयुक्त अधिराज्य पुगे ।

बरालले भारतको काशी हिन्दू विश्वविद्यालयबाट २००६ सालमा अङ्ग्रेजी साहित्यमा एम्.ए. तथा २०२१ सालमा बेलायतको लन्डन विश्वविद्यालयबाट पृथ्वीनारायण शाहका दिव्य उपदेशमा पीएच्.डी. गरे । नेपाली साहित्यमा प्रवेश गर्दा कविता लेखेर उनले आफ्नो साहित्यिक यात्रा अघि बढाएका भए पनि उनका कविताहरूले प्रकाशित हुने मौका त्यति पाएनन् ।

देशमा बहुदलीय प्रणाली भित्रिएपछि पहिलोपल्ट प्रज्ञाप्रतिष्ठानको उपकुलपति हुने पनि ईश्वर बराल नै भए । २०५० सालसम्म उनी उपकुलपतिपदमा विराजमान थिए । नेपाली साहित्यमा उल्लेखनीय सेवा गरेबापत उनले महाकवि देवकोटा महासम्मान, बालचन्द्र पुरस्कार, झपट पुरस्कार र सीताराम पुरस्कार प्राप्त गरे ।

बरालले साहित्यका अतिरिक्त सुरुदेखि नै शिक्षापेसालाई अपनाए । उनले २००६ सालदेखि २००८ सालसम्म दार्जिलिङ सरकारी कलेजमा नेपाली पढाए भने २००८ सालदेखि २०१३ सालसम्म त्रिचन्द्र कलेज र पद्मकन्या कलेजमा प्राध्यापन गरी आफ्नो उत्कृष्ट प्राध्यापकीय सीपको पनि प्रदर्शन गरेका थिए । विभिन्न राजनीतिक खिचातानीले गर्दा उनी नेपालमा अटाउन सकेनन् । परिणामस्वरूप उनी भारतको नयाँदिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालय फर्के ।

२०४७ सालमा बराल नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका उपकुलपति मनोनीत भए । देशमा बहुदलीय प्रणाली भित्रिएपछि पहिलोपल्ट प्रज्ञाप्रतिष्ठानको उपकुलपति हुने पनि ईश्वर बराल नै भए । २०५० सालसम्म उनी उपकुलपतिपदमा विराजमान थिए । नेपाली साहित्यमा उल्लेखनीय सेवा गरेबापत उनले महाकवि देवकोटा महासम्मान, बालचन्द्र पुरस्कार, झपट पुरस्कार र सीताराम पुरस्कार प्राप्त गरे । श्रीमती रानु बराल तथा प्रा.डा.शशि शर्मा र प्रा.डा.ज्योति शर्माको आर्थिक सौजन्यमा नइ प्रकाशनबाट बरालक‍ो सम्मानमा नइ ईश्वर बराल पुरस्कारको समेत स्थापना भएको छ ।

बरालका पन्ध्रवटा प्रकाशित कृतिहरूमध्ये उनको जीवनकालमा आठवटा र निधनपछि शरद्चन्द्र शर्मा भट्टराईको सङ्कलन र सम्पादनमा छवटा कृति प्रकाशित भए । उनले पारिजातका कविता सम्पादनदेखि रवीन्द्रनाथ ठाकुरका कथा अनुवादसम्मको काम गरे ।

बराललले नेपाल सांस्कृतिक परिषद् पत्रिका , धरती इन्द्रेणीको पनि सम्पादन गरे । साथै उनी नेपाली लेखक सङ्घ र नेपाली सांस्कृतिक परिषद्का सचिव पनि भएका थिए । उनले पाँच दशकभन्दा बढी समय नेपाली भाषा, साहित्य संस्कृति, इतिहास, राजनीतिजस्ता विषयमा शताधिक लेख नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा लेखिरहे ।

नेपाली साहित्यकाशमा महत्त्वपूर्ण योगदान पुर्याउने बराल थुप्रै समयसम्म भारतमा बसे पनि उनले निरन्तर रूपमा नेपाली भाषासाहित्यका बारेमा लेखिरहे । समीक्षामा आफूलाई कठोर बनाए पनि डा. बराल नरम, सादा र सीधा थिए । गुलाफका बिरुवा हुर्काउने र मलजल गर्ने इच्छामा आबद्ध बराल गुलाफ फुलेको हर्नमा त्यति नै रमाइलो मान्थे । उनको घर सिफलमा उनी बिहानबेलुका प्रायः फूल गोडमेल गर्नमा नै व्यस्त रहन्थे ।

नेपाली साहित्यका अमर समीक्षक ईश्वर बराल समालोचनाजगत्का एक होनहार प्रतिभा थिए ।बरालको समालोचकीय प्रणाली वैज्ञानिक र र्सवमान्य थियो । कुनै पनि व्यक्तिले उनको समालोचनालाई खोट लाउन सकेका थिएनन् । बरु उनका लेखनीमा स्थापित शब्दहरूबारे गुनासाहरूचाहिँ आइरहने गर्थे । बरालले नेपाली समाजलाई जति दिए थुप्रै दिए । उनको एक्लो प्रयासले उनले नेपाली प्रज्ञाप्रतिष्ठानलाई पनि उछिने र साझा प्रकाशनलाई पनि जिते । वास्तवमा २००० सालदेखि बाँचुञ्जेल निरन्तर नेपाली समालोचनाका लागि समर्पित हुने व्यक्ति पनि बराल एउटै थिए । उनले यस आधा शताब्दीमा नेपाली भाषाको मन्दिरनिर्माणमा अत्यधिक लगानी गरे । उनी आधुनिक नेपाली समालोचनाका सगरमाथा बने । उनी नेपाली भाषाको समीक्षाविधाका एक आधिकारिक महापुरुष बने । उनी नेपाली वाङ्मयसंसारका एक श्रद्धेय, आदरणीय र अमर विभूति बने ।

—-
लेखक ‘नइ प्रकाशनʼ तथा ‘त्रिमूर्ति निकेतनʼका संस्थापक नरेन्द्रराज प्रसाई गीतकार, निबन्धकार तथा जीवनीकार हुनुहुन्छ ।

लाईभमाण्डूमा राखिएका ‘नइ प्रकाशनʼका सामाग्रीहरू कपीराइट © अन्तर्गत राखिएका छन् । तसर्थ स्रष्टाको अनुमतिविना कहिंकतै प्रयोग गर्न पाइनेछैन । धन्यवाद !

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाण्डौ । मुलुक बजेटविहीन हुने निश्चित भएको छ । सरकारले ल्याएको प्रतिस्थापन विधेयक संसदमा विचाराधीन रहेको र र अघिल्लो सरकारले

भूमिका तिमल्सिना/काठमाण्डौ । दशैं नजिकिँदै गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका लागि खसीबोका तथा च्यांग्रा ल्याउने तयारी थालेको छ

हर्षबहादुर बैंकभित्र प्रवेश गर्ने बित्तिकै यन्त्र झै चल्ने गर्दछ। बैंकका कर्मचारीहरुका लागि चुरोट ल्याइदिने मात्रै होइन मुख नजीकै सलाई बालिदिने

नेपालका ललितपुर, नुवाकोट, रसुवा र धादिङ्ग जिल्लामा १४ वटा सांस्कृतिक सम्पदा परियोजना तथा ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, गुल्मी,