Grandfather

हजुरबाबा अनि फेमेनिजम


Anita Adhikari
अनिता अधिकारी

शिरमा ढाकाको टोपी, फुलेको कपाल, काटिएको दारी, लामो जुगाँ अनि बेला बेला त्यो जुँगामा गइरहने चाउरीएका हातहरु । मेरो हजुरबाबा आँगनमा बसेर कहिलेकाही घुरररर घुररररर गर्दौ हुक्का तान्नु हुन्थ्यो अनि मुखभरीका धुँवा त्यो निलो आकाश तिर । चर्को स्वरमा बोल्ने मेरो हजुरबाबा संसारमा हिटलरलाई जित्ने उहाँ नै हुनु हुन्छ कि जस्तो लाग्थ्यो ।

हजुरबाबा जतिबेला पनि हजुरआमालाई कराई रहनु हुन्थ्यो, बोलाई रहनु हुन्थ्यो । “आईमाई कता होस, चिया खै , गोठमा गाई भैसी कराए” । मलाई हजुरबासँग निकै रिस उठथ्यो अनि उहाँको यो शब्द आइमाई जुन मलाई कति मन पर्दैन थ्यो । आइमाई शब्द निकै असम्मान भरिएको शब्द जस्तो लाग्थ्यो । पत्र पत्रिकामा पनि महिलाको हक हितमा बोलिरहने विभिन्न ब्यक्तिहरुले यो शब्दको बारेमा पनि विभिन्न प्रसङ्ग उठाएको पढेको थिए ।

हजुरआमाको कति सुन्दर नाम छ सरस्वती हजुरबाबाले कहिले पनि भन्न जान्नु भएन । मैले जान्दा बुझे देखिनै हजुरबाबाले भान्छामा अरुले बनाएको खाएको थाहा पाएको छैन । त्यसैले हजुरआमाले घर छाडेर कतै जान पनि पाउनु भएन अनि आफु पनि अन्त कतै जानु भएन । कतै गएपनि बस्ने गरी कहिल्यै गएको पनि थाहा पाईन । कति दुख दिने हजुरबाबाको बानी तर हजुरआमा शान्तसँग आफनो काम गरिरहनु हन्थ्यो ।

हर बखत आफनो बाल्यकालका दुख अनि संर्घषका कथाहरुले बारम्बार तनाब दिनु हुन्थ्यो । मैले कति दुख गरे, खाना पनि राम्रोसँग पाइन , जति बेला पनि काम मात्रै ग¥यो । अहिले तिमीहरुलाई केही कामै छैन तैपनि पढ्नु नपरोस जस्तो गर्छौ । भन्दै बारम्बार कराईमात्र रहनु हुन्थ्यो । भाईलाई भने निकै माया गर्नु हुन्थ्यो शहर गएर आँउदा प्रत्येक पटक भाईलाई चकलेट ल्याइदिनु हुन्थ्यो तर मलाई तिमी त ठुली भयौ भाई पो सानो छ भन्नु हुन्थ्यो । म हजुरबाबाको व्यवहारमा असमानता छर्लङ्ग देख्दथे तर म के नै गर्न सक्थे र ? न त मेरो बिद्रोहले कुनै ठुलो रुप लिन्थ्यो । हजुरबाबा अगाडि बाबा त बोल्न डराउनु हुन्थ्यो म के नै भन्न सक्थे र ।

बुबा , अंकलले पढनु भएको छ , तर विद्या फुपु दिदिले पढनु भएन छोरालाई शिक्षा दिने मेरा हजुरबाले दिदिलाई १० कक्षा पनि राम्रोसँग पढाउनु भएन । हाम्रो घरमा महिनावारी को समयमा निकै कडा नियम लाग्छ, भुइँबाट खाट सम्म धेरै दुख पश्चात प्रवेश पाएको छौ । यही उपल्बधीलाई पनि ठुलो मान्नै पर्छ । कहिलेकाही त लाग्थ्यो हजुरबाबा रहुनजेल सम्म यो घर मलाई जेल जस्तै हुन्छ ।

आज हजुरबाबा सधैको लागि हामीलाई छाडेर जानु भयो । जाँदा जाँदै गर्दा सबैलाई रुवाएर जानु भयो । हस्पिटलमा हजुरबाबालाई अक्सिजन लगाईको थियो । उहाँको ओठबाट शब्दहरु आउन रोकिएका थिए , जिन्दगीका अन्तिम क्षणमा केही पर उभिएकी मलाई ईशारा गरेर बोलाउनु भयो । उहाँको चलन अनि संस्कार नै यस्तै थियो कि म यस्तो समयमा समेत हजुरबाबा भन्दा पर बस्नु परेको थियो । हजुरबाबालाई पनि म पर उभिनुको अर्थ थाहा थियो तर पनि उहाँको इशाराले म उहाँ नजिकै गए । मेरो हिटरल हजुरबाको आँखाभरी आशुँ देख्दैथिए । त्यस दिन खै आज के कुराले हजुरबाबाको आँखा रसाए थाहा भएन तर जाँदा जाँदै हजुरबाबाले मैले सानो स्वरमा गरेको बिद्रोहलाई सहजताका साथ लिनु भएको थियो । मैले जितेको थिए, तर पनि कता कता खुसी लागिरहेको थिएन ।

आज जाँदा जादै हजुरबाबाले आफनो उदार मन देखाएर जानु भयो । अब हजुरआमालाई आईमाई भनेर बोलाउने कोही छैन, भाई पनि चक्लेट कुरेर बसिरहन्छ जसरी म सानो छँदा बस्ने गर्थे रे । पितृ कार्य सकेर जाँदै गर्दा फुपु दिदिले भन्नु भएको कुरा निकै बिझिरहेको छ , “हजुरबाबा मलाई पढेर नर्स भएको हेर्न खोज्नु हुन्थ्यो , दिन रात पढ पढ भन्दा पनि मैले पढ्ने मन गरिन तिम्रो हजुरबाबाको यो इच्छा तिमीले पुरा गर्नु ल”। म सधै हजुरबाबाको चर्को बोली र उहाँले बोल्ने गरेका शब्दहरुको बारेमा मात्र सोचि रहे तर उहाँको त्यो चर्को बोली र शब्दको बास्तविकता र माया लाई चिन्न सकिन । म उहाँको माया कुनै वाद सँग जोडन पुगे तर बुझन सकिन उहाँको सोच,माया अनि समानता ती बादहरु भन्दा निकै उच्च थिए ।


Loading comments...