चोरीएका नेपाली देवताहरु


नेपाली देवदेवीका मुर्तिहरु बिदेशी बजारमा करोडौंमा बिक्रि हुन्छ, नेपालका अति दुर्गम अनि हिमाल पारीका गाँउ अनि शहरबाट मुर्तिहरु चोरिएर बिदेशमा लगेर बिक्रि भएका र हुनथालेका प्रशस्त उदहारण अनि इतिहासहरु छन् । विश्वका लागि ति पत्थर या धातुहरु एउटा पुरातात्वीक गहना होलान् तर नेपालीका लागि ति ज्यूँदा देवताहरु हुन्, हाम्रा देवताहरु शदियौं देखि चोरी भइरहेका छन् अनि हामी मौन छौं, हैन र ?

सन् १९८० बाटै नेपालबाट लाखौं मूर्तिहरु अरबौं डलरमा बिक्रि भएका छन् अनि बहुप्रतिक्षित लोकतन्त्र आएको केहि वर्षभित्रै पृथ्वी नारायण शाहका पालाका कैयन हतियारहरु नेपाली बिमानस्थल प्रयोग गरेरै लगेर विश्वबजारमा पूरयाइएको यहाँलाई थाहा छ ?
यो लींक हेर्नुस
https://www.youtube.com/watch?v=lqvI3j2wmh0

नेपालबाट मात्र लगिएका पुरातात्वीक सामानहरु अनि हाम्रो इतिहासका साक्षी कुराहरु विश्ववजारमा कालो धन्दाका रुपमा हरेक वर्ष ८ बिलियन डलरमा एउटा तस्करको हातबाट अर्को तस्करको हातमा परिरहेको छ । कति कुराहरु त नेपाली सरकारको संरचनाबाटै बिक्रि भएको बिदेशी ब्यापारीहरुको तर्क छ ।

मुस्तागंको नाम्गेल गुम्बा देखि काठमाण्डौंकै उमामहेश्वरको मुर्तिसम्म विश्वबजारमा बिक्रि भएको छ, चोरिएको छ अनि चोराइएको छ । यो सबै काम सरकारका उच्चपदस्त अधिकारी अनि नेतृत्वको साथ नभइकन हुनै सक्दैन, तथ्य स्पष्ट छ हामीले हाम्रा अधिकांश द्ेवता अनि इतिहासका सगौरव प्रतिमुर्तिहरु बेचीसकेका छौं ।

साम्दालिगंका बुद्धका मुर्तिहरु देखि लोमान्थागंका स्तुपाका प्रतिबिम्बहरु सम्म चोरिएका छन् । कतिपय पुरातन सम्पदा बिद्धहरुका अनुसार त कैयन नेपाली मूर्तिहरु पुराना चोरी गरेर नयाँ अनि प्रतिबिम्बहरु मात्र स्थापित गरिएका हुनसक्दछन् । कतिपय पुराना मुर्तिहरु त भुकम्प पछि झनै तिब्र रुपमा काठमाण्डौकै नेपाली कलाकौशल र मूर्ति पसलहरुमा मुल्य कोट गरेर राखिएका हुन्छन्, आखिर किन ? भगवान लाई रक्षागर्न नसक्ने अनि बेच्ने यो घिनलाग्दो खेल नेपालमा किन र कहिलेसम्म ?

हिमालयन टाइम्सको सन् २०१७ को जुन १९ मा अमेरिकाबाट नेपाल फिर्ता पठाइएका मुर्ति पूर्नस्थापनाको खबर थियो तर त्यसपछि त्यस्ता खबरहरुको पैरवी खासै भएका पाइन्नन्, त्यस्तै २२ फेब्रुअरी सन् २०१७ मा नेपाल प्रहरी दत्तात्रयको चोरीएको मुर्तिबारे खोज गरिरहेको छापिएको थियो तर त्यसपछि यी खबरहरुको पैरवी हुन सकेन । हाम्रा सामाजिक सञ्जालमा हामीले बिभिन्न भाइरल काण्ड र बाबाहरुका भिडियोका मात्र ध्यान नदिई आफ्ना सम्पदाको तस्करीबारे पनि चासो देखाउने दिन आएको र ढिला भइसकेको छ ।
अप्रिल ६ सन् २०१८ को नेपाल टाइम्समा सहिना तुलाधरले चोरीएका मुर्तिका बिवरणहरु नेपाल टाइम्समा लेखेकी थिइन, सन् १९८६ मा काठमाण्डौको याख्ता टोलबाट हराएको उभिएको बुद्धको पावन मुर्तिका बारे त्स आलेखमा उल्लेख गरिएको छ । पछि त्यस मुर्तिलाई न्यूयोर्कको नगरपालिकाले नेपाल फिर्ता गर्यो, के यसरी फिर्ता भएका केहि मुर्तिहरुलाई फेरि प्राणप्रतिष्ठा गरेर रक्षागर्न नेपाल सक्षम छ त ?
अनि हराएर अनेकन लाखौं मुर्तिहरु नेपाल ल्याउन पैरवीगर्न हामी सक्ने अवस्थामा छौं त ?

सन् १९५० मा राणाशाषनको अवसान पछि नै नेपाली सांस्कृतिक धरोहरमाथिको श्रृखलावद्ध आक्रमण शुरु भएको पाइन्छ, हामी दिनानुदिन हाम्रा भगवानहरु गुमाँउदै अनि संस्कृति छाड्दै त छैनौं ? सन् १९९६ बाटै बेलायतबाट १९ भन्दा बढि मूर्तिहरु नेपाल फिर्ता आएका छन् तर ति मुर्तिहरु मन्दिरमा नपुगेर संग्राहलयमा थन्काएर राखिएका पाइन्छन्, मूर्तिहरु मन्दिरका लागि हुन भन्ने कुरा पनि सरोकारवालाहरुले बुझ्न जरुरी छ । मन्दिरै मन्दिरको शहर भनेंर चिनिएको काठमाण्डौं अनि प्राचिन देश नेपालका मन्दिरका भित्ताहरु अनि देवालयहरु अब खालि हुन थालेका छन् । धरहरा लगायतका ठाँउमा प्राचिन ईटाँहरु घरघर अनि रेष्टुरेन्टमा राखिन थालिनु को संकेत के होला ?

प्राचिन सम्पदा संरक्षण ऐन १९५६ अनुरुप समुदायले आफ्ना सम्पदाको अवस्था र भेटिएका सम्पदाहरुको पूर्नप्रतिष्ठाका लागि पुरातत्व बिभागमा निवेदन दिनुपर्दछ, समुदायस्तरमा नै अब मूर्ति र सम्पदा संरक्षणका जागरण फैलाउन जरुरी छ । नत्र नेपाली मूर्ति अनि सम्पदाका धरोहरहरु फोटामा मात्र हेर्ने या भगवानको दर्शनका लागि बिदेशी संग्राहलय जानुपर्ने दिन पर छैन ।

सुयोग ढकाल


Loading comments...