Lifestyle Portal
  •   ५ आश्विन २०७८, मंगलवार

वी.पी. कोइरालाकी मित्रपत्नी : पुण्यरश्मिको कारूणिक कथा

१० पुष २०७६, बिहीबार १७:४८

पुण्यरश्मि सानैदेखि नरम, सरल र सहज थिइन् । उनको लगनशीलताबाट उनका बुबाआमा पनि प्रसन्न हुन्थे ।

नेपालका पहिला एम.बी.बी.एस. डा.सिद्धिमणि आचार्य दीक्षित र हेमप्रभा आचार्य दीक्षितकी छोरी पुण्यरश्मिको जन्म संवत् १९८० जेठ ५ गते शुक्रबार काठमाडौंको डिल्लीबजारमा भएको थियो ।

आमाबुबाले दिएको सुखसयलमा पुण्यरश्मिको बाल्यकाल बितेको थियो । त्यति बेला यिनका बुबा श्री ३ राणाका पनि चिकित्सक भएकाले राणाहरू औषधी उपचार गर्न भारतको दिल्ली, कोलकाता जाँदा दीक्षित पनि सँगसँगै जाने गर्थे । त्यसैले त्यहाँबाट ल्याएका खानेकुरा र लाउने कुराबाट सानैदेखि पुण्यरश्मि परिचित थिइन् ।

लेखकः नरेन्द्रराज प्रसाई

पुण्यरश्मिको घर काशीमा पनि थियो, कोलकातामा पनि थियो र बिहारको सहरसामा पनि थियो । आफ्ना पतिका साथ यिनी बारम्बार ती ठाउँ पुग्ने गर्थिन् । ती ठाउँहरूमा यिनका हितैषी कम्पनी नामक किताब दोकानहरू थिए । त्यति बेला ती दोकानहरू तीती ठाउँका पुस्तक पसलहरूमध्ये नाम चलेका थिए । उनीहरूले त्यो रमाइलो जीवन भोग्दाभोग्दै पुण्यरश्मिका ससुरा र दुवैजना जेठाजुको निधन भयो ।

पुण्यरश्मिलाई आफ्ना बुबाद्वारा अरू दाजुभाइसरह पढाइ र खेलकुदमा समान रूपमा सहभागी गराइएको थियो । व्यायाममा पनि उनलाई अरू छोरासरह कट्टु र बाहुले चोलीमा सक्रिय बनाइएको थियो । त्यतिमात्र होइन; त्यस जमानामा नारीहरू शिक्षाबाट वञ्चित हुने परिस्थिति भए तापनि पुण्यरश्मिलाई घरैमा शिक्षक राखी प्राथमिक शिक्षा प्रदान गरिएको थियो ।

त्यस कालमा ब्राह्मणकुलमा रजस्वला हुनुभन्दा पूर्वनै छोरीको बिहे गर्नु पर्ने अनिवार्य परम्परा थियो । त्यसैले पुण्यरश्मिको पनि बाह्र वर्षको उमेरमा कोलकाता निवासी अठार वर्षीय गोपीनाथ खतिवडासँग विवाह गरिएको थियो ।

पुण्यरश्मिसँग गोपीनाथ खतिवडाको बिहेका लागि पहल गर्ने व्यक्ति थिए तोयराज जोशी । जोशी डा. सिद्धिमणि दीक्षितका घनिष्ठ मित्र थिए । राणाको विरोध गरेकाले सोही अभियोगमा खतिवडा परिवारलाई चारपाटे मुडेर जनै चुँडाली देशनिकाला गरिएको थियो । त्यसैले तिनीहरूलाई नेपाल छिर्न अनुमति थिएन । तर बिहेको कारण खुलाई निश्चित पन्ध्र दिनसम्मका लागि भनेर उनीहरू नेपाल आएका थिए ।

पुण्यरश्मिले बिहे गरेको ३ वर्षमा छोरा पाइन् । राजेन्द्र खतिवडा जन्मँदा उनी पन्ध्र वर्षकी थिइन् । पहिलो छोरो जन्मेको दुई वर्षपछि उनले फेरि देवेन्द्र पाइन् ।

पुण्यरश्मिको घर काशीमा पनि थियो, कोलकातामा पनि थियो र बिहारको सहरसामा पनि थियो । आफ्ना पतिका साथ यिनी बारम्बार ती ठाउँ पुग्ने गर्थिन् । ती ठाउँहरूमा यिनका हितैषी कम्पनी नामक किताब दोकानहरू थिए । त्यति बेला ती दोकानहरू तीती ठाउँका पुस्तक पसलहरूमध्ये नाम चलेका थिए । उनीहरूले त्यो रमाइलो जीवन भोग्दाभोग्दै पुण्यरश्मिका ससुरा र दुवैजना जेठाजुको निधन भयो । त्यसपछि कोलकाताको हितैषी कम्पनीचाहिँ तुरुन्तै बन्द भयो । ससुरा र दुई जेठाजुको निधनपछि पुण्यरश्मिहरू काशीमा बस्न थाले ।

पुण्यरश्मि पढ्न भनेपछि मरिमेट्थिन् । त्यसैले यिनले आफ्ना पतिको प्रेरणा र आफ्नै इच्छा मिसाएर इलाहाबाद बोर्डबाट प्राइवेट परीक्षा दिई म्याट्रिक पास गरिन् । त्यति बेला यिनले स्कुलकलेज नगई आफ्ना पतिले ल्याइदिएका किताब पढेर म्याट्रिक, आईए र बीए प्राइवेट परीक्षार्थीकै रूपमा पास गरेकी थिइन् । त्यसपछि उनलाई पढ्ने रुचि झनै जाग्यो । परिणामस्वरूप उनले बनारस हिन्दू विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा एमए उत्तीर्ण गरिन् ।

नेपालमा २००७ सालको प्रजातन्त्र आएपछि पुण्यरश्मिको परिवार गदगद थियो । खास गरेर यिनीहरूको सम्बन्ध श्री ५ त्रिभुवनसँग पनि गाँसिएको थियो । साथै विश्वेश्वरप्रसाद कोइरालासँग पनि यिनीहरूको घनिष्ठ सम्बन्ध थियो । वास्तवमा कोलकातामा बस्ता कोइराला र गोपीनाथ खतिवडाको खुबै मिल्ती थियो ।

२०१५ सालपछि विश्वेश्वरप्रसाद कोइराला नेपालका प्रधानमन्त्री भए । त्यस घटनापछि गोपीनाथ खतिवडाले आफ्नी धर्मपत्नी पुण्यरश्मिलाई भने “अब म नेपाल गएर विश्वेश्वर बाबूलाई भेट्छु र स्कुलका पाठ्यपुस्तक छाप्ने सम्बन्धी कुरा गर्छु” त्यसैअनुरूप खतिवडा नेपाल आए र त्यसपछि उनले कोइरालालाई सबै कुरा भने । कोइरालालाई खतिवडाको कुरा चित्त बुझ्यो । कोइरालाकै निर्देशनमा उनले काठमाडौं आएर सर्वप्रथम पाठयपुस्तक प्रकाशन संस्था खोले र नाउँ राखे ‘नयाँ नेपाल प्रकाशन’ । अनि उनले आफ्नो घरको सम्पूर्ण धन प्रकाशनगृहमा लगाए । साथै त्यस गृहमा खतिवडाले बनारसको कृष्णचन्द्र बेदीको हिन्दी प्रचारक प्रकाशनसँग साझेदारी पनि गरे । त्यसपछि ‘नयाँ नेपाल प्रकाशन’ आर्थिक कारणले झनै ठूलो भयो । त्यसपछि यिनीहरूले नेपाल राष्ट्रका कक्षा एकदेखि आठसम्मका पाठ्य पुस्तक छाप्न थाले ।

पुण्यरश्मिले रत्नराज्यलक्ष्मी कलेज पढाउन थालेपछि मदन स्मारक स्कुलमा पनि पढाउने मौका पाइन् । त्यति बेला उनी बासी रोटी खाएर बिहान पाँच बजे डेराबाट निस्की भृकुटीमण्डपको रत्नराज्यलक्ष्मी कलेज पुग्थिन् र त्यहाँ बिहान पढाएर दिउँसो पाटनको मदन स्मारक स्कुल पुग्थिन् । अनि उनी गलेर साँझ पाँचछ बजे डेरामा पुग्थिन् ।

पुण्यरश्मिका पतिले नेपालमा सशक्त रूपमा प्रकाशन सम्बन्धी काम गर्न थाले । देशभरि ‘नयाँ नेपाल प्रकाशन’का सम्पूर्ण पाठ्यपुस्तक लागू भए । किताबहरू धमाधम विद्यार्थीमाझ बिक्न थाले ।

पुण्यरश्मिको सपना बिपना हुन थाल्यो । अकल्पनीय ढङ्गबाट प्रकाशन गृहले ठाउँ ढाक्न थाल्यो । त्यस बेला यिनीहरूको आर्थिक हैसियत दिन दुई गुना र रात चार गुनाले फैलिएको थियो ।

२०१७ सालमा विश्वेश्वरप्रसाद कोइराला पक्राउ परे । त्यो घटना घट्नासाथ खतिवडाका साझेदार कृष्णचन्द्र बेदीले अब आफ्नो प्रकाशन संस्था नोक्सानमा पर्ने सम्भावना भएको बुझे । अनि उनले ‘नयाँ नेपाल प्रकाशन’ बाट आफ्नो हात झिके । राजनैतिक परिवर्तनका साथै ‘नयाँ नेपाल प्रकाशन’ का सम्पूर्ण पाठ्य पुस्तक पनि स्कुलका पाठयक्रमबाट झिकिन थालियो । त्यसैले उक्त संस्था एक्कासि डुब्न थाल्यो । वास्तवमा त्यसपछि पञ्चायती व्यवस्थाअन्तर्गतका किताबहरू प्रकाशन हुन थाले । त्यसैले त्यति बेला ‘नयाँ नेपाल प्रकाशन’का जम्मा एक सय सोह्र प्रकारका करिब एक करोड प्रति किताब खेर गए । त्यस काण्डले त्यति बेला पुण्यरश्मिको सर्वस्व हरण भएझैँ भएको थियो । फलस्वरूप यिनीहरू ऋणमा चुर्लुम्मै डुबे ।

त्यति ठूलो सङ्कट आएपछि गोपीनाथ खतिवडा आर्थिक, सामाजिक, शारीरिक र मानसिक रूपमा थला परे । ऋणमा चुर्लुम्मै डुबेको चिन्ताले उनी शारीरिक रूपमा पनि अस्वस्थ भए । चिन्ताका कारण मानसिक रूपमा पनि उनी अत्यन्तै पीडित भए । परिणामस्वरूप उनलाई पक्षाघात भयो । आफ्ना पतिलाई औषधी उपचार गर्न पुण्यरश्मिले ट्रकका ट्रक किताब पुरानो कागजका भाउमा जोखेर पनि बेचिन् ।

त्यति बेला पुण्यरश्मिलाई अत्यन्तै ठूलो विपत्तिले घेरेको थियो । त्यस आपतमा आफ्ना इष्टमित्रहरू समेत पनि खतिवडा दम्पतीसँग विपरीत भएका थिए । त्यति बेला यस भूगोलभरिमा पुण्यरश्मिका लागि एउटै नारी जीवित थिइन् । अथवा भनूँ पुण्यरश्मिलाई आइपरेको आपत उनकी सम्धिनी सुलोचना घिमिरेले देखेकी थिइन् । त्यसैले उनले सकेको मद्दत पनि गरिन् । तर त्यो सहयोग पनि आमाको लाम्टो चुसेको बालकलाई बाबुको घुँडा चुसेझैँ मात्र भएको थियो ।

पुण्यरश्मि आफ्ना पतिलाई डोर्‍याउँदै काठमाडौं आइन् । बाजे बराजुका पालादेखि बसेको बनारस छाडेर खतिवडा पनि बाँकी जीवन बाँच्न आफ्नी पत्नीका पछि लागे । त्यति बेला तिनीहरूसँग काठमाडौंसम्मको यातायात र रेलको भाडासमेत थिएन । आफ्नी सम्धिनीको सहयोगमा यिनीहरू काठमाडौं बसाइँ सरे । त्यति बेलासम्ममा यिनीहरूका दुवै छोरा पनि पेट पाल्न लाखापाखा लागिसकेका थिए ।

मानसिक र भौतिक रूपमा पनि सबैभन्दा धेरै दुक्ख पाउने नारी स्रष्टा पनि उनी एक मात्रै थिइँन् । उनी काठमाडौंको चाबेलस्थित बुलबुलेमा आफ्नो नाति शाश्वत खतिवडासँग बसेर साहित्य सृजनामा नै समर्पित थिइन् । साथै शाश्वत, उनकी पत्नी सम्झना र छोरो श्रीवत्स पनि आफ्नी हजुर आमा, सासू हजुर आमा र हजुर बजैको भक्तिभावनामा रातोदिन समर्पित थिए ।

काठमाडौंमा आएपछि पनि पुण्यरश्मिहरूलाई खानेलाउने समस्याले गाँजेको थियो । घरको दयनीय आर्थिक अवस्थाका कारण पुण्यरश्मिले जागिर खोजिन् । करिब आठ वर्षको बेरोजगार भएपछि यिनको प्रा.कृष्णराज अर्यालसँग भेट भयो । अर्याल त्यस बेला रत्नराज्यलक्ष्मी कलेजका प्रिन्सिपल थिए । पुण्यरश्मिले अर्यालको सौहार्दका कारण त्यही कलेजमा अङ्ग्रेजी पढाउने जागिर पाइन् । त्यसबाट उनलाई खान लाउन केही सहयोग पुग्न थाल्यो । प्राध्यापन पेसामा प्रवेश गर्दा उनी पैँतालीस वर्षकी थिइन् ।

पुण्यरश्मिले रत्नराज्यलक्ष्मी कलेज पढाउन थालेपछि मदन स्मारक स्कुलमा पनि पढाउने मौका पाइन् । त्यति बेला उनी बासी रोटी खाएर बिहान पाँच बजे डेराबाट निस्की भृकुटीमण्डपको रत्नराज्यलक्ष्मी कलेज पुग्थिन् र त्यहाँ बिहान पढाएर दिउँसो पाटनको मदन स्मारक स्कुल पुग्थिन् । अनि उनी गलेर साँझ पाँचछ बजे डेरामा पुग्थिन् ।

२०३० सालमा पुण्यरश्मिका पतिको स्वर्गारोहण भयो, अनि उनले मदन मेमोरियल स्कुलमा पढाउन छोडिन् । नयाँ शिक्षा लागेपछि रत्नराज्य कलेज त्रिभुवन विश्वविद्यालयमा गाभियो र उनको सेवा पनि स्थायी भयो । उनले यी ठाउँमा पढाएको केही वर्षपछि यिनले डिल्लीबजारको कन्या क्याम्पसमा पनि पढाइन् ।

पुण्यरश्मि सङ्घर्षकी एउटी विम्ब बनिन् । सङ्घर्ष नै उनको एउटा गतिलो साथी बन्यो । उनी आफ्नो सङ्घर्षमा चेप्टिरहेकै बेला उनका पति स्वर्गीय भए । त्यसपछि २०४८ सालमा उनका कान्छा छोरा देवेन्द्र र २०५१ सालमा जेठा छोरा राजेन्द्र स्वर्गीय भए । दुवै छोराको मस्तिष्क रक्तस्रावका कारणले अकस्मात् स्वर्गारोहण भएको थियो ।

पुण्यरश्मि २०२६ सालदेखि मात्र लेखरचनामा झुल्केको नाउँ हो । त्यस बखत उनका भाइ डा.हेमाङ्ग दीक्षित ‘यति डाइजेष्ट’ का सम्पादक थिए । आफ्नो भाइको आग्रहमा उनले ‘यति’का लागि लघुकथा लेख्न थालिन् । उनले सो पत्रिकामा छसातवटा कथा लेखिन् । त्यसपछि सो पत्रिका बन्द भयो; अनि उनको कलम पनि बन्द भयो ।

पुण्यरश्मिले कन्या क्याम्पस पढाएताका त्यहाँ ‘रत्नश्री’ द्वैमासिकका सम्पादक मदनदेव भट्टराई पनि पढाउँथे । तिनै भट्टराईको जोडले उनले फेरि साहित्यरचना गर्न थालिन् । भट्टराईको सौहार्दले ‘रत्नश्री’ मा यिनका धेरै लेखरचना र कथाहरू छापिए । त्यसपछि यिनले साझा प्रकाशनका शङ्कर कोइरालालाई भेटिन् । अनि कोइरालाका आग्रहमा यिनले लघुनाटक लेखेर साझा प्रकाशनलाई दिइन्; त्यो साझाले नै छाप्यो । त्यसपछि पुण्यरश्मिलाई लेखनमा झनै जोस चल्यो र उनी सुपारी चपाउँदै थप लेख्ने काममा पनि व्यस्त हुन थालिन् ।

पुण्यरश्मि सुपारीको अम्मली थिइन् । उनी सानैदेखि सदैव सुपारीप्रेमी भइरहिन् । जतिसुकै कष्ट आइपरे तापनि यिनले मुखबाट चाहिँ कहिल्यै सुपारी निकालिनन् ।

पुण्यरश्मिका कृतिहरू प्रकाशनमा आइरहन थाले । त्यसैबीच यिनले साढे चार वर्ष लगाएर वसन्त शर्मा नेपालद्वारा लिखित ‘शब्दसागर’ नामक शब्दकोशको अङ्ग्रेजीमा अनुवाद पनि गरिन् ।

पुण्यरश्मिले नेपाली साहित्यमा जति गरिन् धेरै गरिन् । यिनले अङ्ग्रेजी पढे तापनि सार्वजनिक नेपाली भाषासाहित्यको नै सेवा गरिरहिन् । यिनले फुटकर लेखरचना र कथाबाहेक जम्मा छवटा पुस्तकहरू लेखिन् । उनका कृतिहरू हुन्; केही लघुनाटक (२०४५), जयन्तजुनू (उपन्यासः२०५१), अक्लान्त (उपन्यासः२०५२), मेरो परिचय (आत्मकथाः२०५७), अपूरो अभिलाषा (उपन्यासः२०५९), अप्रचलित सत्य (कथासङ्ग्रहः२०६०), बीपी बाबुको उपन्यास (समालोचना), मेरी वृन्दा यस्तै भई (कथासंङ्ग्रह), धर्मान्ध (कथासंङ्ग्रह : २०७१) ।

पुण्यरश्मिको पहिलो कृति ‘केही लघु नाटक’ नेपाली समाजको सिङ्गो ऐनाझैं देखिन्छ । यस नाटकले उनको लेखनको चित्रणलाई स्पष्ट ढङ्गबाट नाप्न सकिन्छ ।

पुण्यरश्मि शिक्षासेवाको एउटा ज्वलन्त नाउँ बन्यो । यिनले बत्तीस वर्ष रत्नराज्यलक्ष्मी क्याम्पसमा मात्र पढाइन् । साथै यिनी नेपाली भाषासाहित्यकी एउटी प्रेरक व्यक्तित्व बनिन् ।

पुण्यरश्मि जसरी साहित्य सृजना गर्छिन् त्यस्तै साधारण रूपमा उनले जीवन भुक्तान गरिन् । कुनैबेला उनको सपना बिपना थियो भने पछिपछि उनको बिपना सपनामा रूपान्तर भयो । आर्थिक रूपमा जति नै थेचारिए तापनि उनी कहिल्यै आत्तिइनन् । उनी कहीँ गएर रोइनन् र माइती मामलीको शरणमा पनि पुगिनन् । बाँचुञ्जेल उनी आत्मस्वाभिमान बोकेरै सङ्घर्षमा नै बाँचिन् । उनको परिभाषामा बाँच्नुको अर्थ नै सङ्घर्ष बन्यो । ङ्घर्ष‌ै सङ्घर्षमा पनि उनले साहित्य रचिरहिन् । जीवनको परिभाषा यिनले उपन्यासमा लेखिन्, कथामा लेखिन् र निबन्धमा पनि लेखिन् । त्यसैले यिनी नेपाली भाषासाहित्यमा नअस्ताउने तारा बनिन् । यिनी गुणकी धनी र धैर्यकी देवी बनिन् ।

नेपाली भाषा साहित्य क्षेत्रमा सबैभन्दा धेरै उमेर बाँच्ने नारी स्रष्टा नै पुण्यरश्मि थिइँन् । साथै मानसिक र भौतिक रूपमा पनि सबैभन्दा धेरै दुक्ख पाउने नारी स्रष्टा पनि उनी एक मात्रै थिइँन् । उनी काठमाडौंको चाबेलस्थित बुलबुलेमा आफ्नो नाति शाश्वत खतिवडासँग बसेर साहित्य सृजनामा नै समर्पित थिइन् । साथै शाश्वत, उनकी पत्नी सम्झना र छोरो श्रीवत्स पनि आफ्नी हजुर आमा, सासू हजुर आमा र हजुर बजैको भक्तिभावनामा रातोदिन समर्पित थिए ।

पुण्यरश्मि बाँचुञ्जेल शाश्वत दम्पती नै यिनका टेक्ने र समाउने बलिया आड थिए । आफ्नी हजुर आमाको भौतिक खुसीलाई शाश्वत दम्पतीले सधैं शिरमा राखिरहे । उनको असहज जीवनलाई पनि शाश्वत, सम्झना र श्रीवत्सको प्रेम, श्रद्धा र सेवाले सहज बनाएको थियो । त्यसैले जीवनको उत्तरार्धसम्म पनि पुण्यरश्मिले साहित्यमा आफ्नो योगदान अर्पण गरिरहिन् । अन्तत: मस्तिष्क घातले उनी थला परिन् । नेपाली साहित्यकी नारीचुली पुण्यरश्मि २०७४ साल मङ्सिर १६ गते काठमाडौंमा स्वर्गीय भइन् ।

पुण्यरश्मि मानवीय रचनाकी एउटी नमुना थिइन् । कसैसँग जोरी खोज्ने, कसैलाई होच्याउने र कसैप्रति घृणा गर्नेहरूले पुण्यरश्मिसँग सङ्गत गर्‍थ्यो भने उसले आफू भीरबाट चिप्लेको अनुभूति ग्रहण गर्थ्यो; किनभने पुण्यरश्मिसँग जो कोही डुक्य्रो भने पनि उनी लत्रेर नै हिँड्ने गर्थिन् । सानी भएर नै उनले आफ्नो सम्पूर्ण जीवन रित्याएकी थिइन् ।

पुण्यरश्मिले आफ्नो सृजनात्मक कला अर्पित गरेर नेपाल सरकारबाट भानुभक्त पुरस्कार, महाकवि देवकोटा सम्मान, सीताराम पुरस्कार, विश्वनारी नेपाली साहित्य पदक आदि सम्मान पाइन् । यी पुरस्कारहरू पाएर उनी थप प्रत्साहित भइन् । यस प्रकारका पुरस्कार पाएरै पनि २०१५ सालपछि उनी मन फुकाएर आफ्नो काममा समर्पित भइरहिन् ।

—-
लेखक ‘नइ प्रकाशनʼ तथा ‘त्रिमूर्ति निकेतनʼका संस्थापक नरेन्द्रराज प्रसाई गीतकार, निबन्धकार तथा जीवनीकार हुनुहुन्छ ।

लाईभमाण्डूमा राखिएका ‘नइ प्रकाशनʼका सामाग्रीहरू कपीराइट © अन्तर्गत राखिएका छन् । तसर्थ स्रष्टाको अनुमतिविना कहिंकतै प्रयोग गर्न पाइनेछैन । धन्यवाद !

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाण्डौ । मुलुक बजेटविहीन हुने निश्चित भएको छ । सरकारले ल्याएको प्रतिस्थापन विधेयक संसदमा विचाराधीन रहेको र र अघिल्लो सरकारले

भूमिका तिमल्सिना/काठमाण्डौ । दशैं नजिकिँदै गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका लागि खसीबोका तथा च्यांग्रा ल्याउने तयारी थालेको छ

हर्षबहादुर बैंकभित्र प्रवेश गर्ने बित्तिकै यन्त्र झै चल्ने गर्दछ। बैंकका कर्मचारीहरुका लागि चुरोट ल्याइदिने मात्रै होइन मुख नजीकै सलाई बालिदिने

नेपालका ललितपुर, नुवाकोट, रसुवा र धादिङ्ग जिल्लामा १४ वटा सांस्कृतिक सम्पदा परियोजना तथा ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, गुल्मी,