इतिहासकै शुद्ध र मानक स्वस्थानी


नेपाली वाङ्मयको प्रसिद्ध धार्मिक ग्रन्थका रूपमा ‘श्रीस्वस्थानी व्रतकथा’लाई पनि मानिने गरिन्छ । ‘श्रीस्वस्थानी व्रतकथा’को आगमनपछि नेपाली समाजमा यो धर्मग्रन्थ अत्यन्तै लोकप्रिय भयो । हिन्दूधर्मको यस पवित्र धार्मिक ग्रन्थ नेपाली भाषामा छापिन थालेपछि यसको महिमा हर घरमा हुन थाल्यो । त्यसपछि घरघरैमा ‘श्रीस्वस्थानी व्रतकथा’ राखिन थालियो । शायदै नेपालमा श्रीस्वस्थानीको पुस्तक नभएको घर छैन पनि होला ।

‘श्रीस्वस्थानी व्रतकथा’ नेपाली भाषामा झन्नै १०० प्रकारले भन्दा धेरै संख्यामा प्रकाशनमा आएको हुनुपर्छ । यसको प्रमुख कारण ‘श्रीस्वस्थानी’को लोकप्रियता मान्न सकिन्छ । त्यसरी बजारमा आएका ग्रन्थहरू आआफ्नै प्रकारका देखिए । तर शिष्ट, शुद्ध, मर्यादित, परिमार्जित र मानक ‘श्रीस्वस्थानी व्रतकथा’ बजारमा उपलब्ध हुन सकेको थिएन । धेरै वर्षको प्रतीक्षापछि २०७५ सालमा डा. कञ्चनजंघा प्रसाई र विदुषी प्रसाईले अथक मिहेनत गरेर यस पवित्र धार्मिक ग्रन्थलाई नइ प्रकाशन मार्फत प्रकाशनमा ल्याउनु भएको छ । श्रीस्वस्थानीका विद्वानहरूले यस ग्रन्थलाई नै शुद्ध र मानक ठहर्याएको पाइयो ।

नेपालीभाषामा श्रीस्वस्थानी व्रतकथा छापिन थालेपछि यसभित्रका कथालाई आआफ्नै पारा र ढङ्गबाट धेरैले प्रकाशित गर्दै आएको देखियो । नइ प्रकाशनमार्फत डा. कञ्चनजङ्घा प्रसाई र विदुषी प्रसाईले शक्तिमाता ‘श्रीस्वस्थानी व्रतकथा’मा प्रविष्ट अप्ठेरा प्रसङ्गलाई समेत सहज रूपमा गोडमेल गरेर त्यसभित्रका पाठभेदलाई मर्यादित ढङ्गले सम्पादन गरेको हुँदा यो कृति अझै पठनीय र सङ्ग्रहणीय भएको मैले महसुस गरेको छु ।

प्रसाईद्वयबाट सम्पादन गरी प्रकाशनमा आएको ‘श्रीस्वस्थानी व्रतकथा’लाई त्यस सम्बन्धीका विशेषज्ञहरूले मुक्तकण्ठले प्रशंसा गर्नु भएको छ । यो नयाँ ग्रन्थको महत्त्वबारे विद्वानहरूको राय यस प्रकार रहेको पाइन्छ ।

‘श्रीस्वस्थानी व्रतकथा’का सम्बन्धमा काशीनाथ तमोटको भनाइ रहेको छ- “इस्वीको सोह्रौं शताब्दीको अन्त्यतिर ई.१५७३ देखि संस्कृतभाषामा स्वस्थानी व्रतकथाको थालनी भएको हो । सुरुमा स्वस्थानी व्रतकथा ब्राह्मण पण्डितहरूबाट मात्र वाचन गराउने परम्परा थियो । सत्रौं शताब्दीको सुुरु ई.१६०३ मा नेवारीभाषामा अनुवाद भएर स्वस्थानी बनेपछि यो कथावाचन पण्डितस्तरबाट जनस्तरमा ओर्लियो । नेपालीभाषामा स्वस्थानी व्रतकथा आएपछि यसले झनै लोकप्रियता हासिल गर्दै जान थाल्यो र साथसाथै स्वस्थानीका कितापहरूमा पनि कथाहरू थपिँदैै आएका देखिन्छन् । त्यसैले पनि स्वस्थानी व्रतकथामा त्रुटिहरूको समेत हार लाग्दै जान थाल्यो । डा. कञ्चनजङ्घा प्रसाई तथा विदुषी प्रसाईबाट ‘श्रीस्वस्थानी व्रतकथा’ जस्तो मूल्यवान् कृति शुद्ध रूपमा सम्पादन भएकामा सम्पादकद्वयलाई श्रीस्वस्थानी माताको कृपा रहिरहोस् ।”

यसै गरेर प्रा. डा. जगदीशचन्द्र रेग्मीको भनाइ देखियो- “संस्कृतभाषापछाडि नेवारीभाषामा ‘श्रीस्वस्थानी व्रतकथा’ आएको देख्दा यो कथाको परम्परा काठमाडौं उपत्यकाको मल्ल संस्कृतिको देन हो भन्ने तथ्य बुझ्न सकिन्छ । नेवारीभाषामा प्रकाशित स्वस्थानी व्रतकथालाई नेपालीभाषीले उदार हृदयबाट अङ्गीकार गरेको परम्परा उल्लेखनीय लाग्दछ । नेपालीभाषामा श्रीस्वस्थानी व्रतकथा छापिन थालेपछि यसभित्रका कथालाई आआफ्नै पारा र ढङ्गबाट धेरैले प्रकाशित गर्दै आएको देखियो । नइ प्रकाशनमार्फत डा. कञ्चनजङ्घा प्रसाई र विदुषी प्रसाईले शक्तिमाता ‘श्रीस्वस्थानी व्रतकथा’मा प्रविष्ट अप्ठेरा प्रसङ्गलाई समेत सहज रूपमा गोडमेल गरेर त्यसभित्रका पाठभेदलाई मर्यादित ढङ्गले सम्पादन गरेको हुँदा यो कृति अझै पठनीय र सङ्ग्रहणीय भएको मैले महसुस गरेको छु । युवा पुस्ताले सांस्कृतिक क्षेत्रमा देखाएको यो अभिरुचि सम्माननीय छ; शुभमङ्गलमस्तु द्वयोः ।”

“डा. कञ्चनजङ्घा प्रसाई र विदुषी प्रसाई दुवै जना विज्ञान क्षेत्रका अध्येता भएर पनि उहाँहरूले आफ्नो धर्म र संस्कृतिप्रति बफादारी देखाई ‘श्रीस्वस्थानी व्रतकथा’ सम्पादन गरेर मूल्यवान् कृत्य गर्नुभएको छ । सनातन हिन्दुधर्म र संस्कृतिमाथि चारैतिरबाट प्रहार भइरहेको अहिलेको कालखण्डमा उहाँहरूको ज्ञानचक्षु, निष्ठा र भक्तिभावना अत्यन्तै प्रेरक छ” भन्ने कुरा प्रा. डा. माधव भट्टराईले बताउनु भएको छ ।

डा. वासुदेवकृष्ण शास्त्रीका अनुसार- “नेपाल हिमवत्खण्ड, मानसखण्ड र केदारखण्डको एकीकृत संस्कृति र सभ्यताको सङ्गमभूमि हो । यसै देशमा यजुर्वेद र धनुर्वेद साक्षात्कार भएको हो । त्यसैगरी श्रीस्वस्थानी नेपालको आफ्नै मौलिक धर्मग्रन्थ हो । डा. कञ्चनजङ्घा प्रसाई र विदुषी प्रसाईबाट प्रस्तुत युगयुगसम्म रहने माघमाहात्म्य ‘श्रीस्वस्थानी व्रतकथा’ हामी नेपालीका लागि ठूलो प्राप्ति हो ।”

ने.स. ६९३ मा संस्कृतभाषामा लेखिएको हस्तलिखित स्वस्थानी ने.स. ७२३ मा नेवारीभाषामा अनुवाद भयो । त्यसपछि उपत्यकाका घरघरमा परिवारका सबै सदस्य एकै ठाउँ बसेर एक महिनासम्म पूजापाठ गर्ने अति लोकप्रिय पारिवारिक ग्रन्थका रूपमा ‘श्रीस्वस्थानी व्रतकथा’ देखा पर्यो । सोह्रौं शताब्दीदेखि नेपाली जनमानसमा यस ग्रन्थको ठूलो प्रभाव परेको पाइन्छ । प्राचीन जनविश्वास तथा विभिन्न संस्कार र कुसंस्कारबारेको जानकारी लिन यस पुस्तकले मद्दत गरेको छ । यस पुस्तकको माध्यमबाट कुरीति, कुसंस्कार र घमण्डलाई त्यागेर शिक्षाप्रद र व्यावहारिक ज्ञान लिनका निम्ति नवपुस्तालाई चुनौती आएको छ । डा.कञ्चनजङ्घा प्रसाई र विदुषी प्रसाईले यसरी अघि सरेर आँटिलो र पुण्य काम गरेकामा म दुवै जनालाई बधाईज्ञापन गर्दछु” भन्ने वाणी प्रा. डा. वीणा पौडेलले प्रकट गर्नु भएको छ ।

राष्ट्रियताको भावनाले ओतप्रोत ‘श्रीस्वस्थानी व्रतकथा’ सम्पादनका साथ प्रस्तुत भएको देख्ता मलाई ज्यादै खुसी लागेको छ र प्रस्तुतकर्ता डा. कञ्चनजङ्घा प्रसाई र विदुषी प्रसाईलाई स्वस्थानी माताको आशीर्वाद प्राप्त होस् भनी शुभकामना प्रकट गर्दछु ।

त्यसै गरेर ‘श्रीस्वस्थानी व्रतकथा’बारे संस्कृत विद्याशिरोमणि प्रा.डा. वेणीमाधव ढकलको विचार मननीय छ- “नेपालेश्वरी स्वस्थानी परमेश्वरीका हृदयरसायन दिव्यकथाले ओतप्रोत ‘श्रीस्वस्थानी व्रतकथा’ नेपाल आमाका सन्तानहरू डा. कञ्चनजङ्घा प्रसाई तथा विदुषी प्रसाईद्वारा सरल, सरस, सुमधुर तथा साराञ्चित भाषाशैलीमा सम्पादित भएकोमा मेरो मानसहंस हर्षविभोर भएको छ । यस्तो लोकपावन कर्मद्वारा राष्ट्रकल्याण गर्ने प्रस्तुतकर्तामाथि स्वस्थानी परमेश्वरीको करुणावर्षा होस् भनी बिन्तीका साथ राष्ट्र, राष्ट्रियता, राष्ट्रधर्म र राष्ट्रिय संस्कृतिको गौरववृद्धिका लागि परमेश्वरीका चरणारविन्दमा ढोग गर्दछु ।”

डा. कञ्चनजंघा प्रसाई र विदुषी प्रसाईबाट सम्पादित तथा नइ प्रकाशनबाट प्रकाशित ‘श्रीस्वस्थानी व्रतकथा’का विषयमा धेरैले धेरै कुरा भनेका छन् । तीमध्ये यसै विषयका अर्का विज्ञ ज्ञानमणि नेपाल भन्नुहुन्छ- “संस्कृतभाषामा मात्र पुराण लेख्ने पुरानो परम्परालाई छाडेर कुनै व्युत्पन्न नेपाली पौराणिकले आफ्नै मातृभाषामा पनि पुराणको प्रादुर्भाव गराए । स्वस्थानी व्रतकथालाई यसको उदाहरणका रूपमा हामी प्रस्तुत गर्न सक्छौं । संस्कृतका पुराणका आधारमा मल्ल शासनको समयमा स्वस्थानी कथाको प्रादुर्भाव भएको थियो । त्यसैले यसको कथा मूल नेवारीभाषामा नै आयो । पछि नेपालीभाषामा यसको प्रतिसंस्करण भयो र यो झनै लोकप्रिय पनि भयो । राष्ट्रियताको भावनाले ओतप्रोत ‘श्रीस्वस्थानी व्रतकथा’ सम्पादनका साथ प्रस्तुत भएको देख्ता मलाई ज्यादै खुसी लागेको छ र प्रस्तुतकर्ता डा.कञ्चनजङ्घा प्रसाई र विदुषी प्रसाईलाई स्वस्थानी माताको आशीर्वाद प्राप्त होस् भनी शुभकामना प्रकट गर्दछु ।”

डा.कञ्चनजङ्घा प्रसाई र विदुषी प्रसाईबाट सम्पादित र नइ प्रकाशनबाट प्रकाशित प्रस्तुत ‘श्रीस्वस्थानी व्रतकथा’लाई अहिलेसम्मको इतिहासमा नै उत्कृष्ट र शुद्धका साथै मानक श्रीस्वस्थानीका रूपमा ग्रहण गर्न उपयुक्त देखिएको छ ।

कृतिको नाउँ:
‘श्रीस्वस्थानी व्रतकथा’

सम्पादक:
डा.कञ्चनजङ्घा प्रसाई, विदुषी प्रसाई

प्रकाशक:
नइ प्रकाशन

संस्करण: दोस्रो (२०७६)

विक्रेता:
विद्यार्थी पुस्तक भण्डार
भोटाहिटी, काठमाडौँ

प्रस्तुति:
ज्यो. पं. डा. देवीप्रसाद खनाल


Loading comments...