१ लाख ७५ हजार केजी रक्तचन्दन नेपालबाट भारत लैजान दिइने


यो निर्णय गत पुस २८ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक गरेको निर्णयअनुसार जम्मा एक लाख ७३ हजार ७१ केजी रक्तचन्दन काठ जेजस्तो अवस्था र स्थानमा छ। सोही अवस्था र स्थानबाट आफ्नै खर्चमा ९० दिनभित्र उत्पत्ति मुलुक भारत फिर्ता लैजान स्वीकृति दिइएको बताइएको छ। सो रक्तचन्दन विभिन्न समयमा अवैधरुपमा चीन लैजान खोज्दा बरामद भएको हो। बरामद रक्तचन्दन १२ वर्षदेखि बबरमहलस्थित वन विभाग, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, सप्तरी, सर्लाही, झापा, नवलपरासी, कपिलवस्तु, रुपन्देहीलगायत २० जिल्लामा कडा सुरक्षाका साथ राखिएको छ। सबैभन्दा बढी परिमाण वन विभाग परिसरमा रहेको छ।

वन तथा भू–संरक्षण विभागका अनुसार उक्त काठ भारतका आन्ध्र प्रदेश, कर्नाटक र तामिलनाडु राज्यबाट नेपालका विभिन्न सीमा नाका हुँदै चीनतर्फ तस्करी हुने क्रममा बरामद गरिएको हो। नेपाल सन् १९७५ जुन १८ मा साइटिसको पक्ष राष्ट्र बनेको हो।

सरकारले परराष्ट्र मन्त्रालयमार्फत भारतको सम्बन्धित अधिकारीलाई ‘दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तरराष्ट्रिय व्यापार महासन्धि’ (साइटिस) र सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तरराष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ बमोजिम सो स्वीकृति दिएको जनाएको छ।

नेपालबाट निर्णय भएको मितिले ९० दिनभित्र सम्बन्धित मुलुकले त्यस्तो वनस्पति वा सोको नमूना फिर्ता लैजानुपर्ने कानूनी व्यवस्था छ।

कुनैबेला चीनतिर अवैधरुपमा लैजाँदै गरेको अवस्थामा दिनहुँ जस्तै रक्तचन्दन बरामद हुने गथ्र्यो। सरकारले तस्करीमा कडाइ गरेपछि हाल भने रक्तचन्दनको तस्करी बन्द भएको छ। विसं २०६२ देखि २०७१ को अवधिमा मुलुकका विभिन्न स्थानबाट दुई लाख केजीभन्दा बढी रक्तचन्दन काठ बरामद गरिएको थियो।

विभागका अनुसार नेपालमा पहिलोपटक २०६२ फागुन २ गते सिन्धुपाल्चोकमा रक्तचन्दन काठ बरामद गरिएको थियो। यसैगरी पछिल्लोपटक २०७१ साल भदौ २१ गते रसुवामा ६४ किलोग्राम रक्तचन्दन बरामद भएको विभागको अभिलेखमा उल्लेख छ।


Loading comments...