तस्करीको कपडा छुटाईदिन २८ हजार घुस रकम दिन खोज्ने पक्राउ


जिल्ला बारा, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ स्थित ईलाका प्रहरी कार्यालय, जीतपुर, बाराको कार्यालय भवन अगाडी चेकजाँचका क्रममा वीरगन्जबाट हेटौडातर्फ जाँदै गरेको भाडाको बसमा भन्सार छलेर आयात गरेको लत्ता कपडा नियन्त्रणमा लिए पश्चात सो सामानहरू छुटाइदिनका साथै आगामी दिनमा सहजीकरण गरिदिने भनी जिल्ला पर्सा, बीरगन्ज महानगरपालिका वडा नं. २ छपकैयाकी अम्बेया खातुनले ईलाका प्रहरी कार्यालय, जीतपुर, बाराका प्रहरी कर्मचारीलाई घुस/रिसवत बापत रु. २८,०००/-(अठ्ठाइस हजार) दिन खोज्दा तत्काल निज अम्बेया खातुनलाई नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा आरोपी अम्बेया खातुनले भन्सार छलि ल्याएको सामानहरु छुटाइदिने कामको लागि राष्ट्रसेवक प्रहरी कर्मचारीलाई प्रभाव पार्न रु. २८,०००।-(अठ्ठाइस हजार) घुस/रिसवत दिएको तथ्य पुष्टि हुन आएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिम कसुर भएको हुँदा सोही दफा ३ को उपदफा (३) ले निर्देश गरेबमोजिम निज अम्बेया खातुनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय गरी सोही दफा ३ को उपदफा (१) बमोजिम बरामद बिगो रु. २८,०००।- जफत हुनसमेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको बारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा अदुअआको आधिकारीक वेबसाइटमा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।


Loading comments...