किर्ते गरी रकम ठगी गरेको अभियोगमा कार्यालय सचिव पक्राउ


काठमाडौं, १६ माघ । किर्ते गरी रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित ताहाचल सामुदायिक आवास व्यवस्थापन समाजमा कार्यरत कार्यालय सचिव भोजपुर खडानन्द गाउँपालिका-११ घर भएका ५६ वर्षीय सन्तोष घिमिरेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कार्यालय प्रयोजनका लागि सिद्धार्थ बैंक शाखा कार्यालय कुलेश्वरबाट २०७६ पुस ९ गते जारी भएको चेकमा ६७ हजार ९ सय १६ रुपैयाँलाई घिमिरेले अंक र अक्षर दुवैमा किर्ते गरी २० लाख ६७ हजार ९ सय १६ रुपैयाँ बनाई उक्त रकम निकाली ठगी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई बल्खुबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनको कोठा खानतलासी गर्दा लुकाईछिपाई राखेको नगद १८ लाख रुपैयाँ समेत फेला पारी बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Loading comments...