कलाकारहरु तथा ‘को बन्छ हाम्रो सेल्फि किङ’का विजेताका साथ ‘सेल्फि किङको’ प्रिमियर


भर्सटायल अभिनेताको रुपमा परिचित विपिन कार्की स्टारर फिल्म ‘सेल्फी किङ’ को प्रिमियर राजधानीमा गरिएको छ । नयाँ बसपार्क स्थित लोत्से मलमा रहेको आइएनआइ सिनेमाजमा गरिएको प्रिमियरमा फिल्म युनिटसँगै कलाकार्मी र मिडियाकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।

क्यारेक्टरलाई जीवन्त बनाउन कुनै कसर बाँकी नराख्ने विपिनले फिल्ममा शिर्ष भूमिका निर्वाह गरेकै कारण फिल्म हेर्न आइपुग्ने धेरै थिए । फिल्ममा विपिनले ‘सेल्फी किङ्ग’ भूमिका निर्वाह गरेका छन् । उनि टेलिभिजनमा कार्यरत एक प्रसिद्ध हास्यकलाकारको भूमिकामा छन् । फिल्ममा उनैको तीन दिनको कथा उतारिएको छ । कमेडियनको भित्री पिडा र बाहिरी कर्तव्यलाई यसमा समेटिएको छ । फिल्म हेर्न भुवन केसी, सन्तोष पन्त, निर्मल शर्मा, जितु नेपाल , केदार घिमिरे , निशा अधिकारी, केकी अधिकारी, आँचल शर्मा, नम्रता श्रेष्ठ, कर्मा, विनय श्रेष्ठ , आर्यन सिग्देल , प्रमोद अग्रहरी , कामेश्वर चौरसिया , दिपेन्द्र के खनाल , सुनिलकुमार थापा , भोलाराज सापकोटा, शोभित बस्नेत , रीमा विश्वकर्मा , सुवास गिरी , सुरेन्द्र पौडेल लगायतका फिल्मकर्मीको उपस्थिति रहेको थियो ।

फिल्म हेरेका कलाकर्मीले प्रसंसा गरेका छन् । सबैले उठान गरेको विषयसँगै कलाकारको भावनालाई यसमा प्रस्तुत गरिएको मिडियासामु प्रतिक्रिया दिए । फिल्मको निर्देशन विशाल सापकोटाले गरेका हुन् । कथा पनि उनकै हो । उनि यसै फिल्म मार्फत निर्देशनमा डेब्यु गर्दैछन् । दिनेश राउत र शुभाष थापाले फिल्मलाई संयुक्त रुपमा निर्माण गरेका हुन् । यसअघि दिनेश र सुवासबीच फिल्म ‘प्रसाद’ मा सहकार्य भएको थियो । फिल्ममा विपिनसंगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले ‘जाली रूमाल’ बोलको गीतमा अभिनय गरेकी छिन् । फिल्ममा बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी, कृति जोशीको श्रृगार, आशिष पौडेलको कस्ट्युम डिजाइन, उत्तम न्यौपानेको साउण्ड डिजाइन, बिनोद पोखरेलको स्टील फोटोग्राफी र किशोर नेपालको कला निर्देशन रहेको छ । यसमा सह निर्माता राजेश बिसुराल र प्रवल कोइराला रहेका छन् ।

आर्यन सिग्देलः यो फिल्मले सबैलाई छुन्छ जस्तो लाग्छ । फिल्म हेर्दा निकै भावुक पनि भए । फिल्म हाँसो र रोदनको मिश्रण छ । हामीलाइ कहिँ त्यो पात्रले हसाउछ त कहिँ रुन बाध्य बनाउछ । नेपाली फिल्म हेर्ने दर्शकले एक पटक हेर्नुपर्छ भन्छु म फिल्मलाइ ।

नम्रता श्रेष्ठः फिल्म मन पर्यो । यहाँ देखाइएका केहि नकेहि कुरा कलाकारसँग मेल खान्छ नै । एउटा कलाकारलाई सबैले बाहिरबाट त चिन्छ तर भित्र उसको के छ ? त्यो कसैले महसुस गर्दैन । फिल्ममा यस्तै देखाइएको छ । मैले धेरै पटक काम गरेको निर्देशक दिनेश राउतले यसलाई निर्माण गर्नु भएको छ । सधै केहि नयाँ गरौँ भन्ने सोच राख्ने दिनेशले निर्माताको रुपमा डेब्यु नै यस फिल्मबाट गर्नु भएको छ । म निकै खुसि छु ।

कर्माः फिल्म हेर्दा धेरैपछी नै रोए म । आर्टिस्टलाई हेर्ने दृष्टिकोण र बेहुर्नु पर्ने कुरालाई यसमा राम्रोसँग देखाइएको छ ।

केकी अधिकारीः यो फिल्मसँग जोडिन पाउँदा लक्की नै ठानेकी छुँ । यो फिल्म कलाकारलाई मात्र छुने कथा हैन , यसले जुनै प्रोफेसनको मान्छेलाई छुन्छ । म कलाकार भएकोले यसले अझै बढी छोएको छ । यसमा कलाकारको भावना र व्यस्थालाई छर्लंग पारेको छ । स्टेज अगाडीको कलाकारलाई त सबैले देख्छ तर स्टेज आउनु अगाडी उसले के कस्तो कुरा भोग्छ त्यसलाई निकै सुन्दर तरिकाले प्रस्तुत गरिएको छ ।

निशा अधिकारीः फिल्मले हामीलाइ एक पटक झस्काएको पनि छ । हामीले भोलि भनेर सोच्ने गरेका छौ तर के समय हाम्रो अनुसार चल्छ त ? यी सम्पूर्ण कुरा फिल्मले प्रस्तुत गर्छ । सरल ढंगले जीवनको सार फिल्ममा देखाइएको छ । यतिको फिल्म बन्नु हाम्रो लागि खुसिको कुरा हो । धेरैपछी राम्रो फिल्म हेर्न पाए ।

प्रदीप भट्टराईः फिल्मले हामीलाई त निकै छुन्छ । मलाइ आश छ दर्शकलाई पनि यतिकै छुन्छ । फिल्मले निराश बनाउदैन भन्नेमा विश्वस्त छु । विपिनले फिल्म मार्फत पुनः आफ्नो क्षमतालाई प्रस्ट्याएका छन् । उनि अब्बल कलाकार हुन् भन्ने तथ्यलाइ उनले प्रुफनै गरे ।

निर्मल शर्माः यस्तो किसिमको फिल्म मलाइ निकै मन पर्छ । किनकी यहाँ व्यर्थका केहि छैनन् । चाहिने कन्टेन भन्दा फिल्म बाहिर गएको छैन । फिल्मले हामी कलाकारलाई जसरि छोएको दर्शकलाइ पनि छुन्छ । र , यो फिल्म हेर्ने दर्शकले कलाकार हेर्ने नजरमा पक्कै परिवर्तन गर्छ भन्नेमा विश्वस्त छु ।

नवल नेपालः छोरा जब कर्तव्यबाट बिमुख हुन्छ त्यसपछि आउने परिणामलाइ यसमा देखाइएको छ । फिल्मले मन छुन्छ र हाम्रो कर्तव्य प्रति पनि झस्काउछ । फिल्मले हामीले खर्चिने समय र पैसाको सदुपयोग गर्छ ।

दीपेन्द्र के खनालः एउटा नयाँ निर्देशकले बनाएको फिल्म जस्तो लागेन । फिल्म यस्तै किसिमको म रुचाउछु त्यसैले गर्दा मेरो मन छोयो । एउटा राम्रो र सरल नेपाली फिल्म हेर्न चाहनुहुछ भने फिल्म हेर्न आउनुस । यो हाम्रो मौलिक कथाको मन छुने फिल्म हो ।


Loading comments...