‘श्रीस्वस्थानी व्रतकथा’ नेपालको मौलिक धर्मग्रन्थ


विगत केही समयदेखि ‘स्वस्थानी व्रतकथा’बारे नचाहिँदा कुराहरु सञ्चार माध्यमहरुमा प्रसारित र प्रचारित हुँदै आएको देखिन्छ । यसबारे उठेका कुराउपर आफ्ना धारणा प्रस्तुत गर्न आवाश्यक भएको मैले ठहर गरेँ । ‘श्रीस्वस्थानी व्रतकथा’मा देखिएका राम्रा र नराम्रा पक्षमाथि मैले आफ्नो विचार यसरी प्रस्तुत गरेकी छु-

मैले केटाकेटी बेलादेखि नै ढोग्दै र सुन्दै आएको कथा हो ‘श्रीस्वस्थानी व्रतकथा ।’ वाल्यकालदेखि नै अर्थात् भरखर भरखर अक्षर छिचोल्ने भएपछि परिवारमाझ ‘म पनि वाचन गर्न सक्छु’को भावले गम्किँदै र गल्ती पढिएर खप्की पो खानुपर्ला कि भनेर केही डराउँदै पढिएको मेरो पहिलो पुस्तक पनि ‘श्रीस्वस्थानी व्रतकथा’ नै हो । पढिसकेपछि पुस्तकलाई वाचक र श्रोताले समेत ढोगेपछि रातो वा पहेँलो रूमालले राम्ररी पोको पारेर सुरक्षितसँग पूजा कोठामा उक्त पुस्तक राखिने गर्थ्यो ।

लेखकः इन्दिरा प्रसाई

साहित्यिक मापदण्डमा पनि पद्य साहित्यमा भानुभक्तीय रामायणले नेपाली भाषालाई राष्ट्रियकरण गर्ने महारथ प्राप्त गरे झैँ रामायणभन्दा प्राचीनरूपले नेवारी भाषा र नेपाली भाषामा आख्यान परम्परालाई स्थापित र अग्रगामी गराउने श्रेय पनि ‘श्रीस्वस्थानी व्रतकथा’लाई रहेछ ।

प्रेम गर्न सिकाउने पहिलो प्रेमी झैँ मलाई पुस्तकसँग प्रेम गर्न सिकाउने प्रथम पुस्तक पनि ‘श्रीस्वस्थानी व्रतकथा’ नै हो । त्यसैले नै हुनुपर्छ अहिले पनि ‘श्रीस्वस्थानी व्रतकथा’लाई म अनन्य प्रेम गर्छु ।

त्यसो त मैले नै पनि किशोर वयमा पुगेपछि स्वस्थानी भित्रका कतिपय पितृसत्तात्मक कथाका प्रसङ्ग र देवताका अनर्गल प्रसङ्गप्रति धर्मभिरूतामा परेरै पनि घरपरिवारमाझ स्वस्थानी भित्रका ती अनाहक कथाकुथुङ्ग्रीप्रति मेरो विरोध थियो र छ नै पनि । त्यस प्रतिको विमती र तीव्रै असहमती पनि मैले त्यसै बखतदेखि व्यक्त गर्दै आएँ । तर आफूले वैचारिक र वयात्मक प्रौढताप्राप्ति गरे सँगसँगै स्वस्थानीको मर्मात्मक अर्थ पनि मेरा अघि साक्षात्कार हुँदै जान थालेका थिए ।

कुनै पनि मुलुकले आफ्नो मौलिक संस्कृति विना विश्वपरिवेशमा आफ्नो अस्तित्व रक्षा गर्न नसक्ने सत्य पनि मेरा सामू क्रमशः खुल्दै गयो । त्यसैले स्वस्थानीमा समाविष्ट समय विरोधी लिङ्गभेदी कथाहरुको प्रतिपालन गर्नु बाहेक यसमा समाविष्ठ कतिपय कालजयी सुन्दरताप्रति म आकृष्ठ हुँदै आएँ ।

हाम्रो मुलुकको ‘स्व’ समाविष्ट भएका कारण नै ‘स्व’ स्थानकी देवीका रूपमा ‘श्रीस्वस्थानीदेवी’को आराधना गरिएको रहेछ ।

समयसन्दर्भका अहिलेकाले मात्र नभएर मैले समेत पचाउन नसकेका कतिपय महिला विरोधी कुराहरु यस कथामा सामेल नगरिएका होइनन् । तर ती कथालाई तत्कालीन गैर महिला मैत्री इतिहासका रूपमा मनन गर्नु उपयुक्त हुने रहेछ ।

विश्व सामू नै हाम्रो नेपालको लोभलाग्दो हिन्दूधर्म, संस्कार, संस्कृति र समाजलाई भाँडभैलो र तहसनहस पार्न उद्यत विधर्मीहरूले अहिलेको हाम्रो सङ्क्रमणकाल भोगिरहेका मुलुकमा खेलिरहेको समाचार पटकपटक प्रसारित नै छ । हामी संसारैभरिका विवेकी र राष्ट्रवादी नेपालीका अगाडि हाम्रो राष्ट्रघात हुँदै धर्म संस्कृतिको दैनानुदिन क्षयीकरण हुँदै गएको कुरा पनि छर्लङ्गै छ ।

यस पुस्तकले खामेका महादेव र सतीदेवीका अनन्य प्रेमगाथा, गोमाको अविचलित सङ्घर्षपछिको प्रेरक सफलता, वृन्दाको एकपतिभक्तिको तपस्याले देवतालाई समेत दण्ड दिन सक्ने सामर्थ्य, नवराजको मातृपितृभक्तिजस्ता अनेकौँ सकारात्मक पक्षलाई आजका पुस्ताका लागि समेत अनुकरणीय मान्नु पर्ने मैले देखेँ ।

अर्को कुरा साहित्यिक मापदण्डमा पनि पद्य साहित्यमा भानुभक्तीय रामायणले नेपाली भाषालाई राष्ट्रियकरण गर्ने महारथ प्राप्त गरे झैँ रामायणभन्दा प्राचीनरूपले नेवारी भाषा र नेपाली भाषामा आख्यान परम्परालाई स्थापित र अग्रगामी गराउने श्रेय पनि ‘श्रीस्वस्थानी व्रतकथा’लाई रहेछ । स्कन्धपुराणको अंश समेतबाट अघिबढेको यस कथाभित्र पौराणिक र धार्मिक कथा मात्र नभएर चमत्कारी विज्ञान कथा पनि समाविष्ट छ ।

यात्रा साहित्यको रसास्वधान गराउने प्रथम पुस्तकको महारथ पनि यसै पुस्तकलाई दिइनु पर्ने हुनसक्छ । अर्कातिर अनुवाद साहित्य त यो हुँदै हो ।

त्यस्तै हिन्दू धर्मावलम्वीहरूलाई गणेश परम्पराबाट आज पर्यन्त बाँधेर एक जुट राख्ने क्षमतावान कथा पनि ‘श्रीस्वस्थानी व्रतकथा’भित्रै समाविष्ट छ । यी विविध कारणहरु जोडिनाले ‘स्वस्थानी व्रतकथा’ नेपालीहरुको राष्ट्रिय सम्पदा हो भन्ने ठहर मैले गरेकी छु । ‘श्रीस्वस्थानी व्रतकथा’लाई राष्ट्रिय ग्रन्थको मान्यताका साथै उच्च सम्मान गर्दै राष्ट्रले नै यसको जगेर्ना गर्नु पर्छ भन्ने मेरो धारणा रहेको छ । साथै यसको रक्षा गर्न सक्नु हामी सबै नेपाली मात्रको कर्त्तव्य नै हो भन्ने मलाई लागेको छ ।

विश्व सामू नै हाम्रो नेपालको लोभलाग्दो हिन्दूधर्म, संस्कार, संस्कृति र समाजलाई भाँडभैलो र तहसनहस पार्न उद्यत विधर्मीहरूले अहिलेको हाम्रो सङ्क्रमणकाल भोगिरहेका मुलुकमा खेलिरहेको समाचार पटकपटक प्रसारित नै छ । हामी संसारैभरिका विवेकी र राष्ट्रवादी नेपालीका अगाडि हाम्रो राष्ट्रघात हुँदै धर्म संस्कृतिको दैनानुदिन क्षयीकरण हुँदै गएको कुरा पनि छर्लङ्गै छ । तर पनि जरा गाडेको हाम्रो धर्म, संस्कृतिको सनातनी मूल्य र मान्यताले हामीलाई गौरवी गराइरहेकै छ ।

दैवकै संयोग भनौ हाम्रा छोरा डा.कञ्चनजङ्घा प्रसाई र बुहारी विदुषी प्रसाईको कुशल सम्पादनमा आजसम्मकै सबैभन्दा शुद्ध र परिमार्जित ‘श्रीस्वस्थानी व्रतकथा’ नइ प्रकाशनबाट प्रकाशित भएको छ । अनि यसै कृतिलाई नै आजसम्मको मानक ‘श्रीस्वस्थानी व्रतकथा’ भनेर सम्बन्धित विद्वान् र विज्ञले प्रकाश समेत पारिसकेका छन् ।

© इन्दिरा प्रसाई