दुर्गाप्रसाद श्रेष्ठलाई नइ अन्तर्राष्ट्रिय पुरस्कार


नइ प्रकाशनले भारत काशीका दुर्गाप्रसाद श्रेष्ठलाई दुई लाख रूपियाँ राशि सहित ‘नइ देरूनीख अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण गर्ने भएको छ ।

सात दशकदेखि नेपाली साहित्यमा समर्पित रही कथा, कविता, उपन्यास, समालोचना, निबन्ध लेखनका साथै अनुवादकका रूपमा समेत प्रतिष्ठित ८२ वर्षीय श्रेष्ठलाई सो पुरस्कार समर्पण गरिने भएको हो । यो पुरस्कार नेपाली गोर्खाली मूलका विदेशी नागरिकलाई प्रदान गरिन्छ ।

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।

१९९३ सालदेखि काशीबहादुर श्रेष्ठको प्रकाशन र सम्पादनमा भारतको बनारसबाट ‘उदय’ मासिकको प्रकाशन आरम्भ भएको थियो । सोही पत्रिकामा प्रा.डा.ईश्वर बरालले २००४ सालमा लक्ष्मीप्रसाद देवकोटालाई सर्वप्रथम महाकवि लेखेका थिए । काशीबहादुर श्रेष्ठका जेठा छोरा दुर्गाप्रसाद श्रेष्ठबाट नै चार दशकअघिदेखि उदय पत्रिकाको समेत निरन्तर सम्पादन र प्रकाशन हुँदै आएको छ ।

दुर्गाप्रसाद श्रेष्ठले २०२० सालमा प्रदर्शित प्रथम नेपाली कथानक चलचित्र ‘आमा’को पटकथा र सम्वाद लेख्नु भएको थियो । हिरासिंह खत्रीद्वारा निर्देशित आमाको उहाँ सहायक निर्देशक पनि हुनुहुन्थ्यो ।

शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १०१ औं शुभजन्मोत्सवका अवसरमा उहाँबाटै आगामी व‌ैशाख २९ गते काठमाडौंमा ९ जना बालबालिका समेत २६ जना महानुभावलाई १४ लाख रूपयाँ र ताम्रपत्र सहित नइ पुरस्कारहरु समर्पण गरिने भएका छन् ।

(नरेन्द्रराज प्रसाई)
सदस्यसचिव
नइ प्रकाशन


Loading comments...