माया सधै नयाँ नै हुन्छ : एउटा शास्त्रार्थ


मायालाई पहिचान र धर्मसंग जोडेर विश्वभरि राजनिति भइरहेका छन्, दगां अनि फसाद लगायत बिभेदकारी क्रियाकलापहरु भइरहेको यस अवस्थामा आज म मायाका नयाँ आयामहरु प्रस्तुत गर्न चाहन्छु । भर्खरै प्रेम दिवस पनि त गयो, प्रेम दिवसको अकिंचनमा कहिलेकाँही प्रेम शव्द नै साँघुरिएको त हैन भन्ने पनि लाग्दछ । विपरित लिगं, देखेको अनि भेटेको मान्छे, समुदायको मान्छे, छिमेकी, देशवासी, समान पहिचान भएको या समानताका आधारमा गरिने माया भन्दा विश्वव्यापी माया र वन्धुत्वको मायाका विषयमा चर्चा गर्न चाहन्छु । ईज्रेलले प्यालीस्टाइनी अनि प्यालीस्टीनीले ईज्रेललाई गर्न नसकेको माया, दिल्लीमा मुसलमानले हिन्दु अनि हिन्दुले मुसलमानलाई गर्न नसकेको माया, सिरियालीले पाउन नसकेको माया, अफगानीस्तानीले चाख्न नपाएको माया अनि भावनाको चिरफार गर्न चाहन्छु ।

बिशुद्ध माया कहिले पुरानो हुँदैन, मेरो कुराकानी आज यसैमा केन्द्रीत गर्न चाहेँ । यस धर्ती र समयभन्दा पर, कहिल्यै नमर्ने अजर अमर कुरा चाँही माया हो । माया अन्तरिक्षमा घुमिरहन्छ शायद यहाँ चाहे मायालुहरु या माया गर्ने व्यक्तिहरु मरेर किन नजाउन । एकफेर जन्म भएको हरेक कुरा समयावधी पश्चात नष्ट भएर जान्छ भनिन्छ तर त्यो लगत हो, नष्ट यहाँ केही हुँदैन केवल स्वरुप परिवर्तन हुन्छ । मेरो अगाडी एउटा टेवल छ, काठको अनि यस्लाई म यसो सोच्दछु, कुनै समयमा यो टेबल एउटा रुख थियो र आज त्यस रुख काटेर टेबल बनाइयो । मेरो मायाको परिधीले टेबल अनि रुख दुबै स्वरुप छुन सक्नु पर्यो नि, हैन र ?

मेरो गाँउको घर जुन अहिले छैन, हामीले बेच्यौं अनि बसाई सर्यौं तर त्यहाँको भर्याङ जस्मा मैले पहिलोपटक गुरुत्ववल सिके, उकालो ओरालो गर्न सिके त्यो अहिले कता गयो मलाई थाहा छैन तर त्यसको माया चाँही अनि संझना चाँही आज पनि ताजा छ अनि सदैव मेरो लागि मायालु भइनै रहन्छ । यस हिसाबमा मेरो माया त मर्नेछैन, हैन र ?

माया शान्तिको चाह हो, माया समाधी हो अनि योग पनि हो । म नेपालको एउटा कुनामा बसेर सिरियामा भएका मान्छेहरुको दर्दमा दुखी हुन सक्दिन भने म भित्र माया छैन । माया चिनजान या देखादेख भन्दा पर हुनसक्नुपर्दछ, शायद परमेश्वरको माया पनि यसै धारणाले प्रेरित भएको होला । नदेखेको अनि नजानेको, फोटो हेरेर र पुस्तक पढेर धर्ममा विश्वास गर्नेहरु नदेखेको भगवानका लागि ज्यूँदा मान्छेहरुको ज्यान लिन र दिन तयार छन् तर यसै पृथ्वीमा बस्ने मानिसहरुको दर्दमा समवेदना मात्र दिन पनि कन्जुस्याँई गर्दछन्, माया यस्तो हुँदैन ।

सनातन सस्कारमा भनिन्छ नि, सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निराभया, सर्वे भद्राणी पश्यन्ती, माँ कश्चिद दुख भाग्जन । सबै जनाको सुख र कुशलताका लागि विश्वभरिका लागि प्रार्थना गरिन्छ, यो एउटा दर्शन न हो जस्को मायामा सबै संसार अटाएको छ ।

यस ग्रहमा जो जहाँ बसेपनि धर्ती एउटै, आकाश एउटै अनि हाम्रो उत्पति र शरीरको अवयवहरु एउटै छ, धर्तीको एउटा कुनामा भएको सानो घटनाले मात्रै पनि धर्तीभरि दिर्घकालिन प्रभाव पार्दछ, तसर्थ हामीले आफ्नो लागि पनि अरुलाई माया गर्न सिक्नैपर्दछ ।

माया सदैव नयाँ नै हुन्छ, यो मैले भनेंको कुरा मात्र पनि हैन । पावलो कोहेलोले भनेंका छन् कि माया चाहे एकफेर गर्नुहोस् या दर्जनौ पटक गर्नुहोस् तर माया सदैव नयाँ हुन्छ, एउटा विल्कुलै नयाँ अनुभव । माया गतिशील छ, यस्ले हामीलाई स्वर्ग र नर्क जहाँ पनि लग्नसक्छ तर यथास्थानमा राख्दैन, मायालाई स्वीकार गरौं, आफूभित्रको माया गर्न सक्ने क्षमतालाई स्वीकार गरौं किनकि यस्ले नै हाम्रो उपस्थितिलाई मजवुत बनाँउदछ ।

माया गर्न सिकौं, स्वीकार गर्न सिकौं अनि आत्मसाथ गरौं न हामीमा भएको माया गर्न सक्ने क्षमतालाई । आरोप प्रत्यारोप र गाली भन्दा शान्त भएर एकअर्काको असमानतालाई स्वीकार गरिदिऔं, हामी सबैमा मायाको मुहान छ तर हामीले त्यो भूल्न आँटिसक्यौ । वास्तवमा भन्दा हामीले माया गर्न भूलिसक्यौं, केहि फूलका गुच्छाहरु ल्याएर अनि चकलेटको उपहार दिएर माया दर्शाउनु दिर्घकालिन नहुन सक्छ । माया त स्वीकारोक्ति हो, एकअर्काको स्वीकारोक्ति अनि समानताको पथको श्रृजना । एउटा छिमेकीले अर्को छिमेकीको बानी व्यहोरोको स्वीकार गर्न सक्नु जरुरी छ, एउटा देशले अर्को देशको स्वतन्त्रताको स्वीकार गर्न सक्नु जरुरी छ । गण्डकी र त्रिशुली मिसिएको ठाँउमा केहि बेर अघिसम्म पानी फरक फरक देखिन्छ, गण्डकको कालो अनि त्रिशुलीको धमिलो पानी तर जब मुग्लीन नजिक हुँदै जान्छ तब पानीहरु एउटै रंगमा रंगिन्छन् अनि नारायणी श्रृजना हुन्छ । माया यस्तै हो, साथमा चल्न र स्वीकार गर्न हामी समान्य मानिस देखि नेतृत्व तहहरुले पनि जरुरी छ, हामी सबै मायालु हौं अनि संसार हाम्रो माया । यहाँका सबथोकलाई माया गर्न सिकौं, दर्शाउन सकौं, माया हरेक पटक नौलो नै हुन्छ ।

सुयोग ढकाल

Love is always new: a scripture


Loading comments...