अबको बिकल्प युवा आन्दोलन


मानव जीवनमा उर्जा सम्भावना वर्तमान शक्ती आदिले भरिपूर्ण उमेरनै युवा अवस्था हो । सामान्यतया किशोर अवस्था पार गरिसकेपछि १६ वर्ष देखि ४० ननाघेका ब्याक्तिलाई युवा मानिन्छ । विश्वका सबै क्रान्तिहरु सम्पन्न गर्नको निम्ति होस् या राष्ट्रलाई बिकसित बनाउनको निमित्त युवाशक्तीको अग्रणी भूमिका रहेको हुन्छ । तसर्थ समाज या राष्ट्रलाई एकतृत गरि समृद्ध बनाउनको निम्ती युवा जनशक्तीबाटै मात्रै सम्भव छ भन्ने कुरालाई आधार मानेर स्तम्भकार यसै आलेख मार्फत चर्चा गर्न चाहन्छ ।

लेखकः सुरेश मिश्रा

देशको वर्तमानको रुपमा रहेको युवाशक्ती नेपालमा वार्षिक रुपमा करिव ५ लाखको हाराहारीमा श्रमका लागि योग्य भएर नेपाली श्रम बजारमा आउछन भन्ने तथ्य युवा तथा खेलकुद मन्त्रालयले प्रस्तुत गरेको छ । पुर्ती भन्दा माग एकदमै कम मात्रामा रहेकाले बेरोजगारीको संख्या दिन दुई गुणा रात चौगुणा बढिरहेको तथ्यलाई नकार्न सकिन्न । नेपाली श्रम बजारमा कामका लागि योग्य हुने युवायुवती मध्ये करिव २६% युवायुवतीहरु उच्च शैक्षिक बेरोजगार रहेको तथ्यांक छ । जुन युवायुवतीको अन्तिम गंतव्यनै विदेश बनेको छ । जस्ले गर्दा नेपालमा शैक्षिक जनशक्तीको समेत अभाव हुने खतरा रहेको छ । एक तथ्यांक अनुसार दैनिक १५०० युवायुवतीहरु त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको बाटो हुदै अन्तराष्ट्रिय श्रम बजारमा बेचिन जानुपरेको दुखद तथ्य रहेको छ । राज्यले लगानीको वातावरण सिर्जना गर्न नसक्नुका साथै लगानीको ग्यारेन्टी नहुदा कयौ युवायुवती नेपालमा लगानी गर्न डराउनु परेको तिथो यथार्थ हाम्रा सामु घाम जसरीनै छर्लङ्ग रहेको छ । स्वदेशमा ब्यबसाय गर्न ऋण नपाउनु तर विदेश जान सहजै ऋण पाउनुले माथिको तथ्यलाई पुष्टी गर्दछ ।

सम्वृद्ध नेपाल सुखी नेपालीको अवधारणालाई अघि बढाएको नेपाल सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत आर्थिक वर्ष ०७५/०७६ मा ३ अर्व १० करोड बजेट बिनियोजन गरेको थियो । नेतृत्व तहको दुरदर्शीताको अभावका साथै पार्टी र कार्यकर्ता मुखी हुनाले प्रभावकारी हुन सकेन । १० वर्ष अगाडी तत्कालिन अर्थमन्त्री डा बाबुराम भट्टराइले सोहि किसिमको योजना अघि सारेका थिए तर नेतृत्व तहको इमान्दारिताको अभावले उक्त कार्यक्रम समेत सफल हुन सकेको थिएन । तसर्थ राष्ट्रलाई समृद्ध नेपाल सुखी नेपालीको अवाधरनालाई सफल बनाउनको निम्ति बिस्वो मानचित्रमा विकसित नेपालको पहिचानको बिल्ला भिराउनका निम्ति युवा आन्दोलनको जरुरत रहेको छ ।

के हो युवा आन्दोलन ?
आन्दोलन भन्ने बितिकै नारा, जुलुस, सडक जाम, बन्द सरकारविरोधी प्रदर्शन, सरकार गिराउने र बनाउने कुरा हो भन्ने बुझाइ छ । आन्दोलनको परिभाषा ठ्याक्कै एई नभएता पनि सामान्यतया बर्तमानमा भएका कुराहरु प्रति असहमती जनाउदै त्यसको परिवर्तनको निम्ति खुलेर बिरोध गर्नुनै आन्दोलन हो ।

हिजोको इतिहासमा बन्द, हड्ताल, सभा, जुलुसको समयमा युवा विद्यार्थीहरुलाई सडकमा उतार्ने काम मात्रै भयो । तर, युवालाई केन्द्रीय राजनीतिमा भूमिका कहिल्यै दिइएन । के अब पनि राजनीतिमा युवाको भूमिका त्यही हो ? वास्तवमा युवा आन्दोलन के हो ? यसका कार्यभारहरू के–के हुन् ? किन अहिले आर्थिक, सामाजिक दृस्टीकोणबाट चमत्कारपूर्ण युवा मस्तिष्कमा ठूलो प्रभाव पारेको छ ।

युवा आन्दोलनको कुरा गर्दा परिवर्तित परिस्थितिप्रति अनविज्ञ भएर परम्परागत बाटो हिडिरहने वा नया नेपाल भनेर राज्यलाई अहित पर्ने व्यबस्थालाई युवा पुस्ताले पछ्याउने ? समृद्ध राष्ट्र निर्माणमा युवाहरूको भूमिका कस्तो हुनुपर्छ ? नेपालको राजनीति के भइरहेको छ ?

युवा आन्दोलन यावत विषयमा गहिरो छलफल गरेर अगाडि नबढ्दा सबै आन्दोलनहरू कुइरोको कागजस्तै भइरहेका छन् । आन्दोलन जहिल्यै पनि न्याय, स्वतन्त्रता र समानताका लागि हुन्छ । राजनीतिक आन्दोलनको परिदृश्य हेर्ने हो भने युवाको सक्रिय सहभागिताले नै राजनीतिक सङ्घर्षका कार्यक्रमहरु निर्णायक भएका छन् । २००७ सालको क्रान्तिदेखि २०३६ सालको विद्यार्थी आन्दोलन हुँदै ०४६ सालको जनआन्दोलन, माओवादी जनयुद्धदेखि ०६३ सालको जनविद्रोहलगायत मधेश–थरुहट–जनजाति आन्दोलन सबैमा युवाले निर्णायक भूमिका निर्वाह गरेका छन् ।

जब राजनीतिक सङ्घर्षमार्फत मुलुकमा रुपान्तरणको प्रक्रिया सुरु हुन्छ र नयाँ संरचना निर्माणको प्रश्न आउँछ, त्यहाँनेर भने युवाहरुको अर्थपूर्ण सहभागितालाई अस्वीकार गरिन्छ । अनि युवा आन्दोलनको बुइ चडेर डाडु पुनिउ आफ्नो हालमा लिन्छन् । जहिल्यै पनि युवा लाई भर्र्याङ्को रूपमा प्रयोग गरिन्छ । युवाहरुले काम गर्ने उचित प्लेटफर्म पाउँदैनन् । राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा युवाहरुले काम गर्ने अवसर पाइरहेका छैनन् । उनीहरुले आफ्नो क्षमता प्रदर्शन गर्ने स्थान पाएका छैनन् । परिणामतः मुलुकको अर्थराजनीतिक रुपान्तरणको सन्दर्भमा युवा सहभागिता केवल औपचारिक भाषणबाजी र वक्तव्यवाजीमै सीमित देखिन्छ ।

युवाले देशको राजनीतिक रुपान्तरणमा जसरी महत्वपूर्ण योगदान गरेको थियो, अब देशको विकास र समृद्धिमा त्यस्तै योगदान गर्न रचनात्मक रुपले आफूलाई नयाँ विकल्पको रुपमा एक्स्पोज गर्न आवश्यक देखिन्छ । यदि साँच्चिकै हामीले सोचेजस्तो नयाँ र समृद्ध नेपालको परिकल्पना गर्ने हो भने युवा सक्रियता र परिचालनको सन्दर्भमा विद्यमान विरोधाभासको अन्त्य अनिवार्य छ । तसर्थ युवाहरुको एउटा आन्दोलनको जरुरत राज्यले मागेको छ त्यो आन्दोलन राजनैतिक सामाजिक र आर्थिक केन्द्रित हुनुपर्छ भन्ने स्तम्भकार आफ्नो धारणा राख्दछ | त्यसकालागि राज्यमा बिद्यमान रहेको भ्रस्टचारलाई निरुत्साहित गर्दै उद्यमशीलता तर्फ अगाडी बढ्दै राजनैतिक कार्यकर्ता भन्दा माथि उठेर सामाजिक रुपान्तरणको निम्ती ब्यबस्था परिवर्तनको पक्षमा समेत युवाहरु उभ्भिनुपर्ने अवस्था आजको युवा आन्दोलनको प्रमुख आवस्यकता हो त्यसले मात्र युवाको समुचित विकास र समग्र राज्य र समाजको हितमा काम हुनेछ ।


Loading comments...