कुकुरले बेइमानी गर्दैन


त्यस गाउँमा
मेरो पनि एउटा सानो झुपडी छ
सानै भए पनि
मेरो बाउबाजेको
यो आफ्नै पौरखी झुपडी हो
झोपडी थोत्रै सही
त्यसभित्र मेरा पूर्वजका सपना छन्
आस्था र विश्वासका सुन्दर
र अमूल्य चित्र छन् ।

कविः इन्दिरा प्रसाई

अलिकति मेरो पुस्तैनी जमिन
सानो मेरो झोपडीले चर्चेको छ
अलिकति मेरै पुर्खाको नासोमा
मेरो सेपिलो कोठेबारी छ
किनभने
उत्तर र दक्षिणमा
विशाल विशाल मेरा छिमेकी छन् ।

म जति कङ्गाल छु
मेरा छिमेकी त्यति नै धनी छन्
दुवैतिर उनका विशाल अट्टालिका छन् ।

केही नभएको मेरो झोपडीमा नै
मेरो त सर्वश्व छ
जसरी पनि जोगाउँछु भन्ने
मसँग अजस्र चाहना पनि छ ।

पहरेदारी त गर्दै आएको छु
मेरो झोपडी नै सही तर कसैको मोहियानी छैन
तन्नमै हुँदा पनि म कसैको हली भइन
आजसम्म मैले कतै
मेरो घर बन्धकी पनि त राखेको छैन ।

कति मलाई फकाउन पनि आए
कति मलाई तर्साउनै पनि आए
किन्न बेच्न जेजे गर्न पनि आए
तर अहँ म चटपटाएको छैन
भोक प्यासले तडपिँदा पनि
नाङ्गो आङमा तिथ्राले बेर्दा पनि
मैले मेरो घर लिलामीमा राखेको छैन
मैले पूर्खाको नासोको एक बित्ता पनि बेचेको छैन
बरू आफू एक्लैले मात्र
जोगाउन नसकुँला कि भनेर
प्राणीमा बफादार मानिने
मैले एउटा कुकुर पालेको छु ।

मेरो कुकुर इमान्दार त छ नै
दिनभरि र रातैभरि पनि
भुकिरहन्छ, भुकिरहन्छ
मैलेभन्दा बढी नै
उसले मेरो झोपडीलाई माया गरिरहन्छ
बैरीलाई पटक्कै सहँदैन
मेरो कुकुर !

तर कुकुर भनेको त
विचरो कुक्कुरै हुँदोरहेछ
हड्डीको सौखिन ऊ हुने नै रहेछ
उसलाई हड्डी नै पो चाहिने रहेछ ।

कुकुर पालनमा
अनुभवी रहेछन् मेरा छिमेकी
मैले थाहै नपाई
मेरै कुक्कुर पनि
छिमेकीको हड्डीमा पल्किसकेको रहेछ ।

हड्डी फालिदिने छिमेकीसँग
कुकुरको बफादारी हुने नै भयो
कुक्कुर र हड्डीको गहिरो नाता
बनिरह्यो, बनिरह्यो
छिमेकीले हड्डी फालिरहे
मेरो कुक्कुरले हड्डी चुसिरह्यो ।

मैले नै पनि छिमेकीसँग
मेरो कुकुरलाई हड्डी नफाल
कहिल्यै भनिन
भन्नै सकिन
डराएँ कि लजाएँ
केही थाहा छैन
विशाल महलवालासँग लजाएँ पनि होला
ठूलै तामझाम देखेर डराएँ पनि होला !

अरू जेसुकै भए पनि
तर म
मेरो कुकुरसँग ढुक्क भने थिएँ
कुकुर बफादार हुन्छ
मैले त्यही नै बुझेको थिएँ ।

युगौँदेखि जोगिएको मेरो घरमा
अचानक चोरी हुन थाल्यो
क्रमश: चोर पल्किन थाल्यो
हुनै नसक्ने कुरा भयो
पत्याउनै नसकिने घटना घट्यो
कुकुर पालेको घरमा पनि चोरी भयो
किन भयो ? कसरी भयो ?

दिउँसो झिँगा पनि भित्रिन नदिने कुकुरले
राति चोर पसेको कसरी चाल पाएन ?
अरूलाई के लाग्छ कुन्नि?
तर मलाई त पत्यारै लागेको छैन!

तर यति कुरा भने थाहा छ
कुकुरले बेइमानी गर्दैन
छिमेकीले हड्डी अझै फाल्दैछन्
कुकुर उतै फर्केर पुच्छर हल्लाउँदै छ ।

© इन्दिरा प्रसाई


Loading comments...