रिक्सावाल र माग्ने


हाल म कार्यालय कामको सिलसिलामा बंगलादेशको राजधानी ढाकाको गुलशन- २ मा सपरिवार बस्छु । आज घरभित्र बसेको दुई महिना चार दिन भएको छ । बाहिर जान नपाए पनि सानो बार्दलीमा बसेर घाम ताप्दै थिएँ । एउटा रिक्सावाल र माग्ने सामुन्ने देखा परे । विश्वमा ढाकालाई रिक्साको सहर पनि भनिन्छ । अनि ढाकामा माग्ने कति छन् कुरै नगरौं । यस्तो दृश्यावलोकनले म कविता पढ्न मन पराउने तर लेख्‍न अनकनाउने मान्छेलाई समेत एउटा कविता लेख्‍न झक्झक्यायो ।

हुन त लकडाउनले धेरै कवि जन्माएको पनि छ । नेपालमा अस्ति जेठ १५ गते बिहीवारका दिन बजेट आएको छ । यसमा विदेशी सहायता र आत्मनिर्भरताका कुरा पनि धेरै छन् । वैश्ययुगमा विश्वव्यापीकरणका कारण पूर्ण आत्मनिर्भरता सम्भव छैन र अन्तरनिर्भर हुनुपर्छ भनिन्छ । अन्तरनिर्भर हुन केही हदसम्म आत्मनिर्भर हुनु आवश्यक छ । यसै सन्दर्भलाई समेत जोडेर एउटा सानो कविता लेख्ने प्रयास गरेको छु । यो कविता खासगरी नेपालका बालबालिकामा समर्पित गरेको छु ।

रिक्सावाल र माग्ने

कठोर परिश्रमी छन् रिक्सावाल दाइ
मीठो मानी खान्छन् श्रमको कमाइ
जता लान्छु भन्यो उनी जान तयार
सित्तैँमा लिन्नन् अति राम्रो विचार ।

नजिकै छन् अर्का मागी खाने भाइ
बसेका छन् सबसँग हात फैलाइ
सग्लो छ हातखुट्टा बलियो शरीर
मस्तिष्कमा भने छ घटिया विचार ।

रिक्सावाल सधै श्रमको सूचक
निर्माण र स्वावलम्बनको प्रतीक
तर माग्ने भाइ परजीवी सोच
मागी खाने काम अरूमाथि बोझ ।

सम्मानका पात्र छन् सधै रिक्सावाल
माग्नेका सन्ततिको हुन्छ बेहाल
रोपी पसिना, श्रम र आत्मनिर्भरताको
गरे शुरू अहिले बन्छ आधार भविष्यको ।

छिमेकीले समेत हेप्छ सधै मागी खाए
किन हेप्न सक्थ्यो हामी आत्मनिर्भर भए
मौका छ अति राम्रो शुरू गर्न अहिले
जानौं यस्तो मौका आउँदैन जहिले ।

खेती, जलस्रोत र पर्यटन अपार
बनाउन स्वदेश देखाउनु छ जाँगर
गरौं प्रयोग सीप विदेशमा सिकेको
लियौं शिक्षा श्रमबाट विदेशमा बिकेको ।

बुझेर कुरा छोडौं माग्न आज
मागेर बाँच्न मान्नुपर्छ लाज
सधै रोजौं हामी रिक्सावाल दाइ
विश्वास गरौं आफ्नै श्रमको कमाइ ।

डमरु बल्लव पौडेल


Loading comments...