‘पोलिटिकल हेट’ र ‘नेशनलीस्ट लभ’ बिच पृथ्वीनारायण शाह


पाकिस्तानमा ओसामालाई पत्ता लगाएर अमेरिकी फौजले मारिदियो । दशकौंसम्मको अथक खोजपछि ओसामा फेला परे अनि यिनको मृत शरीरलाई कसैले पत्ता नलगाउने गरि कुनै समुन्द्र किनारमा गाडियो । डर थियो, कतै यिनको समाधि कुनै तिर्थस्थल नहोस् भन्ने, आखिर यिनलाई रुचाउने जमात पनि त एकातर्फ थियो हैन र ? त्यस्तै कोलम्बियामा पाव्लो स्कोवारको समाधि अनि भारतमा गान्धी जी कै समाधि किन नहोस्, आजपनि सर्मथन र असमर्थनको साझेदारीमा नै रहेको छ ।

मृत्यू पर्यन्त पनि कुराहरु बिवादमा हुन्छन्, समर्थन र बिरोधको जन्जालमा रहिरहेका नेतृत्वहरुको एउटा सूची छ जस्मा हाम्रा पृथ्वीनारायण शाह पनि एक हुन् । लोकतन्त्र आएपछि नेपालमा एउटा नयाँ बिचारको शुरुवात भएको छ, सामन्तविरोधी एउटा संवादको श्रीगणेश भएको छ र पौष २७ गते यस कुराको चरम छलफल हुन्छ ।

प्रस्तुतीः सुयोग ढकाल

राष्ट्रिय एकता दिवस, पृथ्वीनारायण शाहको जन्मदिन, राष्ट्रिय बिदा दिन बन्द भयो । राजपरिवारका शालिकहरु ढाल्ने प्रकरण त छँदैथियो, अब मृत राजाहरुलाई पनि बिवादमा उछालिन थालियो । म न त पृथ्वी नारायणको समर्थक, न त यिनको बिरोधी तर मलाई यति थाहा छ कि बिस १८३१ मा मरेका यिनी अब बौरेर चुनाव लड्न आउनेछैनन, यिनलाई गाली गरेर र अपहेलना गरेर लोकतन्त्र सुदृढ हुने पनि हुन्न ।

एकाथरिले भन्छन्ः 
पृथ्वीनारायण शाहको सालिक पछिल्तीर सिंहदरबार काठमाण्डौ हेरेर मुस्काइरहेको हुन्छ । पृथ्वी नारायण एउटा औंलो ठड्याएर राष्ट्रिय एकता र नेपालीपनाको अभ्यासका लागि सबैलाई झकझक्याइरहेका हुन्छन् ।

अर्काथरिले भन्छन्ः पृथ्वीनारायण शाह सामन्ती हुन्, तिनको शालिकले लोकतन्त्रलाई गिज्याइरहेको छ । तिनलाई संझन हुन्न किनकि तिनले सामन्ती सत्ताको अवशेषको झल्को दिइरहेका छन् ।

पृथ्वी नारायणलाई संझनका लागि त हामीसंग प्रशस्त कारणहरु छन् । आजको यो लेख पृथ्वीलाई संझन हुन्न भन्नेहरुका लागि समर्पण छ ।
आखिर किन यति घृणा ?

हुन त त्यस शालिकको अनुहार पृथ्वी नारायणको बास्तविक अनुहार हैन, त्यस अनुहार शालिक बनाउने कलाकारले आफ्नो आफन्तको अनुहारलाई पृथ्वीनारायण शाहको अमुक अनुहारको प्रतिक बनाइदिए । तिनलाई पनि के थाहा थियो र ? त्यहि शालिक अनि तिनै मालिक अहिले आएर संझनु र नसंझनुको यत्रो ठूलो बिवादमा पर्लान भनेंर ? यहिँ ६ किमी वर काठमाण्डौमा पृथ्वीनारायण शाहको पूर्णकदको शालिकमा फुल माला चढाँइदा, त्यहि ६ किमी पर किर्तिपुरमा चाँही त्यस दिन बिरोधसभा हुन्छ । तिनै पृथ्वीनारायण शाह यताका एकीकरणकर्ता अनि उताका शोषक र पीडक । त्यसैले त भन्छन नि, “इतिहास ब्रुटल छ भनेर” । रावण समुन्द्रपारिका देवता अनि वारीका दुश्मन, राम पारीका दुश्मन र वारीका देवता, ‘हिष्ट्रि ईज ब्रुटल, सो इट इज व्यूटिफुल” ।

पृथ्वी नारायणले एकीकरणका क्रममा किर्तिपुरवासीहरु माथि ज्याजती गरेकै हुन् । उनीहरुलाई रिस उठ्नु स्वभाविक पनि हो र उनीहरुले पृथ्वीनारायण शाहलाई अरुले झै मान्नै पर्दछ भन्ने पनि हैन ।

१३ हजारको मृत्यू भएको माओवादी द्वन्दका मुख्य नेतृत्वलाई चुनावमा भोट दिएर जिताएका किर्तिपुरवासीहरुले माफीको एउटा अद्भूत नमुना त देखाए तर शदियौं अगाडि किर्तिपुरलाई नेपाल राज्यमा गाभेका र त्यसक्रममा भएका ज्यादती गरेका पृथ्वीनारायण शाहलाई किन अझै माफी दिन सकेका छैनन, यो प्रश्न पनि एकातिर छ ।

सन् १७६६ मा बेलायती शासकहरुबाट हतियार सहयोग पाएका पृथ्वीनारायण शाहका गोर्खाली सेनाले आक्रमण गरे । उनीहरुले पटक पटकको विपलm प्रयासपछि यो आक्रमण गरेका थिए । गोर्खाली फौजको आधूनिक हतियारको सामना गर्न अफ्ठेरो पर्यो, एक तिहाई किर्तिपुरका सेनाहरु मारिए अनि अन्तत गोर्खाली फौजले जिते । पटकपटका पराजयका कारण रिसले चुर भएका पृथ्वी नारायण ले किर्तिपुरवासीहरुको नाक कान काट्न आदेश दिए, यसरी क्रुरतापूर्वक निमुखा किर्तिवासीहरुको नाक कान काटियो । हुनसक्छ यूद्ध रणनितिमा उपत्यकाका अन्य मल्ल राजाहरुलाई गोर्खालीको त्रास फैलाउन यसो गरियो तर त्यस वर्ष किर्तिपुरले जे भोग्यो त्यो विर्सनलायक छैन र थिएन पनि ।

तर फेरि तिनै पृथ्वी नारायणले स्थापना गरिदिएका नेपाल राज्य मुनीको पहिचानमा सबै राज्यहरु बस्न सक्यो । पृथ्वी नारायण असुर नै थिए होला तर यिनकै पहलमा राष्ट्रियता स्थापना भएको त हो, यस्मा कुनै प्रश्न छैन ।

किर्तिपुरवासीहरुको हेटलाई म हेरिडिटरी हेट मान्छु, यो हेटको डिएनए पुस्तौं पुस्ता चलिआयो । तर जब म राज्यको नै हेट र उदासिनता देख्छु तब मलाई उदेक लाग्छ, आखिर किन ?

के पृथ्वी नारायणलाई हेप्नु र गाली गर्नु नयाँ नेपालको राष्ट्र प्रेम हो ?
मुर्तिकारले बनाएको मुर्तिलाई पूजा गर्नु सभ्यता अनि मुर्तिकारले छोएको खानु चाँही असभ्यता मानेको हाम्रो समाजको दृष्टि पृथ्वीनारायण शाहको कुरामा पनि त्यस्तै देखिन्छ । नेपाल एकिकरण गर्ने व्यक्ति त यिनै हुन् । राजाका रुपमा नमानौं तर एउटा नेपाल देशको खाका कोर्ने व्यक्तिका रुपमा त मानौं, एउटा नेतृत्वका रुपमा मान्न सकिन्छ । यदि सकिँदैन भनें पनि केहि छैन तर घृणा त नगरिदिऔं । भिमसेन थापाकी श्रीमती सतीले सरापेको देश भनेंर नेपाल त्यसै चर्चित छ, अब पृथ्वी नारायणलाई पनि अराष्ट्रिय तत्व मान्दिने भए त भोली नेपालमा रहेर नेपाललाई नै माया गर्न मान्छेहरु डराउलान । पृथ्वी नारायणले अभियान चलाए, गोर्खाबाट काठमाण्डौ सम्म आए, अघि बढे अनि नेपालको सिमा कोरे । अपराध पनि गरे होला, तर एउटा देश बनाउन यस्ता कैयन अपराधहरु हुन्छन्, सिमा गाँस्न बल लाग्छ र बलले थिचोमिचो पनि गर्छ , यो सत्य हो । तर अहिले आएर यिनै राजाले श्रृजना गरेको देशमा संसदमा बसेर तिनै राजाको योगदानलाई अपराध करार दिइनु कतिको उचित होला ?

मलाई त कहिलेकाँही इतिहास माथि नै बिश्वास लाग्न छोडेको छ । राणाहरु नराम्रा भनेंर पढाइए, बुझाइए अनि मैले पनि राणाहरु नराम्रै भनेंर बुझेँ । बुवाको साथी एकजना राणा अकंलको मा जाँदा इतिहास शिक्षकले जंगबहादुर नराम्रा भनेंर पढाएको, जहानिँया भनेंर पढाएको संझिए अनि राणा अकंललाई पनि र्मैले त्यस्तै राणाको सन्तान भनेंर सकेसम्म नराम्रो मान्ने प्रयास गरेँ ।

हुनसक्छ राणाहरु त्यति खराब थिएनन जति हामीलाई बुझाइयो र पढाइयो । हुनसक्छ राणाहरु शासनबाट निस्केपछि इतिहासले गलत वयान गर्यो, पृथ्वीनारायणलाई जस्तो । राजपरिवार शासनमा रहुन्जेल पौष २७ मा माला गाँस्नेहरु आज सामन्तवादको वर्णन गर्दै चियागफ दिएजस्तो राणाहरु पनि सत्ताबाट निस्केपछि इतिहासका पानाहरुले उनीहरुको साथ छोड्यो होला ?

राजा निस्केको १० वर्ष पुग्दा नपुग्दा यहाँ पृथ्वी नारायण नै अपराधी भइसके, आखिर पृथ्वी नारायणले देशलाई एकिकरण नगरेको भए के हुन्थ्यो त्यो पनि सोच्न पर्छ कि ?

नेपालको एकिकरण कुनै संविधान लेखेर र संसदमा बसेर भएको हैन ? मेलम्चीको आश देखाएर काठमाण्डौमा भोट मागे झैं पृथ्वी नारायणले राजनिति गरेका हैनन । यिनले देश देखे, मुलुक देखे अनि नेपाल देखे, यिनले देखेको परिधीमा बसेर यिनैलाई दुत्कार्दा हामी इतिहास प्रति कतिको न्याय गर्दैछौं भन्ने पनि सोच्न पर्ला ।

लोकतन्त्र वलियो हुन्छ भनें पौष २७ मा बिदा नदेउ, यिनको शालिक ढाल अनि मिल्छ भनें मरेका पृथ्वीनारायणलाई बौरिन लगाएर बसन्तपुर डबलीमा सार्वजनिक सुनुवाई गर । अब स्कुलका पाठ्यक्रममा पृथ्वी नारायणलाई हटाएकै छौं, अब आउने पुस्तालाई पढाइदिम कि नेपाल स्टालिन र माओ ले घोडा चढेर आएर बनाएका हुन भनेंर ?

लेखौं बरु नेपालको इतिहास नै ६२ या ६३ साल पछि मात्र शुरु भएको भनेर, हुन्न ?
पृथ्वीनारायण शाहलाई व्यक्तिको रुपमा नहेरेर देशप्रेम र राष्ट्रवादको एउटा धारका रुपमा हेरिन जरुरी छ । आज देशलाई राजनिति र दल विशेष चाखको ओभरडोज भइसक्यो, पृथ्वीनारायण शाह जस्तो नेतृत्वको आजको स्थिति जति नेपाललाई कहिल्यै खाँचो थिएन । पृथ्वीनारायण शाहको यो गौरबमय इतिहासलाई यदि कुल्चिने हो भने नेपालको इतिहास बरु बिक्रम सम्बत् २०६२/०६३ साल पछि मात्र शुरु भएको भनेर लेखिदिए हुन्छ ।

राष्ट्रनिर्माता तथा राष्ट्रिय एकताका प्रतिक बडामहाराजधिराज पृथ्वीनारायण शाहले बाइसे र चौबिसे राज्यलाई एकिकरण गरी तयार भएको नेपाललाई अहिले दलको दलदल र भ्रष्टाचारका विशाल पर्खालहरुलाई पार गरेर नेपाली मुटुमा बस्नमात्र सक्ने नेतृत्वको खाँचो छ ।

नढाँटी भनौ? यो देशलाई अर्को एउटा पृथ्वीनारायण शाहको खाँचो छ ।


Loading comments...