बेरी र बादलबीच भेट, बाइडेनको नेपाल नीतिबारे छलफल


काठमाडौं। गृहमन्त्री रामबहादुर थापा बादल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्‍यान्डी बेरीबीच बिहीबार शिष्टाचार भेटवार्ता भएको छ ।

गृहमन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिका सम्बन्ध, आपसी सहयोग र सहकार्यका क्षेत्रमा छलफल भएको बताइएको छ।

भेटमा गृहमन्त्री थापाले अमेरिकाको राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएकोमा राजदुत बेरीमार्फत बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

उनले बाइडेनको कार्यकालमा नेपाल–अमेरिका सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे। थापाले अमेरिकाबाटसमेत नेपालले खोप सहयोग पाउने अपेक्षा राखेको बताए ।

अमेरिकाले नेपाललाई गर्दै आएको सहयोगप्रति पनि थापाले धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने आशा व्यक्त गरे । भेटमा राजदूत बेरीले नेपाल र अमेरिकाको सम्बन्धको चर्चा गर्दै अमेरिकाका राष्ट्रपति बाइडेनको कार्यकालमा यो सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरे ।

उनले राष्ट्रपति बाइडेनको प्राथमिकताबारे चर्चा गर्दै नेपालको लोकतन्त्र, मानवअधिकार, जलवायु परिवर्तनलगायतको क्षेत्रमा अमेरिकाको सहयोग जारी रहने बताए । अमेरिकाले उत्पादन गरेको कोरोना भ्याक्सिन वितरणमा नेपाललाई प्राथमिकतामा राख्ने राजदुत बेरीले विश्वास दिलाए ।


Loading comments...