नेकपासँग ओलीको कुनै सम्बन्ध छैन, ‘ओली बा’ समूह बनाए हुन्छ: माधव नेपाल


काठमाडौं- नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले नेकपासँग केपी ओलीको कुनै पनि सम्बन्ध नरहेको बताएका छन् । सोमबार एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकमा बोल्दै नेपालले नेकपासँग ओली गुटको कुनै पनि सम्बन्ध नरहेको बताएका हुन् ।

अध्यक्ष नेपालले ओलीका साइबर सेनाले ओलीबा समूह बनाए सबैभन्दा राम्रो हुने बताए । उनले ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच अब कुनै सम्बन्ध नभएको दाबी गरे । ‘केपी ओलीलाई पार्टीको साधारण सदस्यबाट पनि निकाली सकेका छौं । अब उनको नेकपासँग कुनै सम्बन्ध छैन । तैपनि उनलाई नेकपा मन परेको छ भने नेकपा ओली गुट भनेर खोले हुन्छ । नेकपा मन परेको छैन समाजवादी, जनवादी, ओलीवादी समूह खोले पनि हुन्छ । ओली बा समूह समूह बनाए सबैभन्दा राम्रो,’ उनले भने ।

उनले अहिलेको लडाइँ केपी ओली र आफूहरूबीचको निजी लडाइँ नभएको दाबी गरे । ‘केपी ओलीको प्रतिगामी कदमविरुद्ध संघर्षमा छौं, उनले संवैधानिक शासनलाई चुनौती दिएका छन् । आजसम्म प्राप्त उपलब्धि जोगाउन हामी जुधिरहेका छौं । यो लडाइँ केवल केपी ओली र हामीबीचको निजी लडाइँ होइन,’ उनले भने, संघीयता, लोकतन्त्रलाई कमजोर बनाउने र बलियो बनाउन चाहनेबीचको लडाइँ हो । यो संघर्षमा जित्न सकेनौं भने नेपाली जनता हार्नेछन् । नेपाल राष्ट्र हार्नेछ ।’

नेपालले ओली नेकपाबाट चोइटिएर गएको भन्दै उनीसँग साइबर सेना मात्रै रहेको दाबी गरे । ‘चोइटिएर गएका केपी ओलीसँग आसेपासे मात्रै छन् । भक्तहरू मात्रै छन् । त्यहाँ क्रान्तिकारी योद्धाहरू होइनन् । साइबर सेना मात्रै छ । परिवर्तनको चाहना राख्नेहरू हामीसँग छन्,’ नेपालले भने ।

संविधान, कानुनबमोजिम सर्वोच्च र निर्वाचन आयोगबाट फैसला हुने विश्वासमा आफूहरू रहेको उनले बताए । ‘४३३ जनाको केन्द्रीय कमिटीमा झण्डै ३ सयको हाराहारीमा सदस्यहरू हाम्रो साथमा छन् । केपीको पक्षमा १०० जति पनि छैनन् । हामीलाई विश्वास छ, अदालत, निर्वाचन आयोगबाट संविधान र कानुनअनुसार फैसला हुनेछ,’ नेपालले भने, ‘जहाँ हामी छौं, सूर्य चिन्ह त्यहीँ आउँछ ।’


Loading comments...