मानिसको रगत राखिएको ‘शैतानी जुत्ता’को बिक्री रोकियो


बीबीसी । चर्चित कम्पनी नाइकीले ब्रुकलिनको कला सङ्ग्रहालय एमएससीएचएफलाई मानिसको रगतको थोपा भएको विवादित ‘शैतानी जुत्ता’विरुद्ध दायर मुद्दा जितेको छ।

उल्टो क्रस, पेन्टाग्राम र ल्युक १०ः१८ लेखिएको उक्त जुत्ता नाइकीको एअर म्याक्स नाइन्टीसेभेन एस जुत्ताको स्वरूप परिवर्तन गरेर तयार पारिएको हो। त्यसको मूल्य १,०१८ डलर राखिएको छ।

एमएससीएचएफले र्‍यापर लिल नास एक्ससँग सहकार्य गरेर ६६६ जोर जुत्ता सोमवार सार्वजनिक गरेको थियो। नाइकीले आफ्नो ट्रेडमार्कको दुरुपयोग भएको दाबी गर्दै त्यसको बिक्री रोक्न मुद्दा दायर गरेको थियो।

ती सबै जुत्ताहरू एक मिनेटभन्दा कम अवधिमा बिक्री भएको र एउटा बाहेक सबै हुलाकमार्फत् पठाइसकिएको बताइएको छ। कालो र रातो रङ्गका जुत्ता लील नास एक्सको नयाँ गीत सार्वजनिक भएको अवसरमा सार्वजनिक गरिएको थियो।

यूट्युबमा अघिल्लो साता सार्वजनिक भएको गीतको म्युजिक भिडिओमा ती र्‍यापरले नाइकी ट्रेनर्स लगाउँदै स्वर्गदेखि नर्क पुग्ने एउटा बाटोमा चिप्लिरहेको देखाइएको छ। उक्त तस्बिर र जुत्ताले बाइबलको श्लोक ल्युक १०ः१८ लाई जनाउँछ।

प्रत्येक जुत्ताको सोल नाइकीको प्रख्यात सोल हो जसमा एक थोपा मानिसको रगत सहित थोरै रातो मसी राखिएको छ। ती रगतका थोपाहरू एमएससीएचएफका सदस्यहरूले दान गरेका हुन्।

‘एमएससीएचएफ र उसले अनुमति नलिएको शैतानी जुत्ताहरूले अन्योल बनाउने एवम् एमएससीएचएफका उत्पादन र नाइकीबीच त्रुटिपूर्ण सम्बन्ध रहेको देखाउने अवस्था छ,’ उक्त कम्पनीले आरोपपत्रमा भनेको थियो। नयाँ जुत्ताका कारण कम्पनीले आफ्नो उत्पादनलाई त्यसरी प्रयोग गर्न अनुमति दिएको भन्ने गलत सन्देश दिएको उक्त कम्पनीको भनाइ थियो।

साउथ डाकोटाकी गभर्नर क्रिस्टी नोइमसहित कतिपय पुरातनवादी र केही धार्मिक व्यक्तिहरूले जुत्ताको विवादास्पद स्वरूपप्रति आपत्ति जनाउँदै नील नास एक्स र एमएससीएचफलाई ट्विटरमा आलोचना गरेका थिए।


Loading comments...