Lifestyle Portal
  •   ७ चैत्र २०७९, मंगलवार

वीरगञ्जमा दोश्रो TEDx हुँदै

४ पुष २०७५, बुधबार ११:२९

लोकप्रिय

अमेरिकाको सेनडियागोबाट सुरु भएको टेडको यात्रा विभिन्न देश हुँदै नेपालसम्म आइपुगेको छ । केही वर्षदेखि काठमाडौँमा बढी केन्द्रित यो कार्यक्रम वीरगञ्जमा सन् २०१६ मा पहिलो पटक भएको थियो । पहिलो संस्करणको सफलतापछि टेडएक्स् वीरगञ्ज २.० को आयोजना हुँदैछ । विगत ५ वर्षदेखि कला क्षेत्रमा काम गर्दै आएका वीरगञ्जका केही सृजनशील युवाहरूको समूह संस्कृतिको आयोजनामा हुन लागेको टेड २.० मा विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गरेका व्यक्तिहरूलाई वक्ताका रुपमा निम्त्याइएको छ । यही डिसेम्बर २२ तारिख अर्थात पुष ७ गते वीरगञ्जको नगर सभागृहमा हुन लागेको टेड २.० को तयारी जोडतोडले भइरहेको छ । टेड र टेडएक्स् अझै पनि धेरैका लागि जिज्ञाशाको विषय हो । वीरगञ्जमा टेडएक्स् आयोजनको उद्देश्य, आवश्यकता र महत्वलगायतका विषयमा केन्द्रित भएर हाम्रो पात्रोका लागि विवेक कर्णले आयोजक संस्था सस्कृतिका अध्यक्ष शैली चौधरी र उपाध्यक्ष आँशु सर्राफसँग गरेको कुराकानीको सम्पादित अंश:

टेड के हो ?
आँशु भन्नुहुन्छ: टीईडी (टेड) को शाब्दिक अर्थ टेक्नोलोजी, इन्टरटेन्मेन्ट र डिजाईन हो । इतिहास हेर्ने हो भने सन् १९८४ मा अमेरिकामा पहिलोपल्ट नाफा कमाउने उद्दश्यले सुरु भएको थियो । यो एउटा छलफल कार्यक्रम हो । जहाँ विभिन्न क्षेत्रमा जानकारी र दख्खल राख्ने व्यक्तिहरूले आफूले जानेको विषयगत अनुभव, विचार, आफ्नो जीवनको यात्रा र सफलताको कथा प्रस्तुत गर्ने गर्दछन्, जस्ले विश्वभरि करोडौं मान्छेलाई प्रोत्साहन गर्ने गर्दछ । टेक्नोलोजी इन्टरटेन्मेन्ट र डिजाइनलाई मात्र केन्द्रमा राखेर आजभन्दा झन्डै ३ दशकअगाडि सुरु गरिएको कार्यक्रम आज विश्वको हरेक देशमा वर्षेनि आयोजना हुने गरेको छ । यसले आफ्नो दायरा फराकिलो पार्दै सम्भवतः विश्वका हरेक विषयमा दख्खल राख्दै आएको छ । टेडको मञ्चबाट सार्वजनिक गरिएका विषयहरूलाई सामाजिक सञ्जालको भिडियो जायन्ट युट्युबमा राखिन्थ्यो । अमेरिकाको सैन डियागो भन्ने सहरमा भएका टेड टक भिडियो टेडको अफिसियल युट्युब च्यानलबाट राख्न्थ्यिो र संसार सामु पुग्थ्यो । अहिले टेड एउटा त्यस्तो मञ्च बन्न पुग्यो जस्को भिडियोमात्र हेरेर कैयौं जानकारी प्राप्त गर्न सकिन्छ । आज स्याप्लिंग फाउन्डेसन नामक संस्थाद्वारा सञ्चालित टेड एक गैरनाफामूलक संस्था हो । जसले युट्युबमार्फत निःशुल्क ज्ञान बाड्ने काम गर्दै आएको छ ।

टेडएक्स् के होे ?
शैली भन्नुहुन्छ: टेड सुरु भएपछि त्यहाका छलफलका सामग्रीहरूलाई टेडको अफिसियल युट्युब च्यानलमा हालिन्थ्यो । जहाँबाट ती भिडियोलाई संसारभरिका दर्शकले निःशुल्क हेर्थे । टेड अमेरिकामा मात्र हुने गरेकोले युट्युबमा त्यहाँका भिडियोमात्र पाइन्थ्यो । बिस्तारै टेड विश्वभरि रुचाइन थाल्यो । टेड मञ्चबाट विश्वमा नाम चलेका सफल व्यक्तिहरूले आफ्नो आइडिया र सफलताका कथाहरू भन्न थाले । टेड कार्यक्रम विभिन्न सहरमा गर्नुपर्ने आवाज उठ्न थाल्यो । त्यही आवाजको उपज हो टेडएक्स् । विभिन्न देशका सहरहरूमा टेड आयोजना गर्नुपर्ने आवाज उठ्न थालेपछि त्यसैको परिणाम स्वरुप टेड हेडक्वार्टरले अब विश्वको कुनै ठाउँमा टेडबाट मान्यता लिएर टेडएक्स् आयोजना गर्न सकिने समाधान निकाल्यो । एक्स् अर्थात, टेडबाट मान्यता प्राप्त स्वतन्त्रतापुर्वक आयोजना हुने टेड कार्यक्रम । टेडएक्स् आएपछि विभिन्न देशका विभिन्न सहरमा त्यहाँका सफल व्यक्तिहरुको उपस्थितिमा टेडएक्स् हुन थालेका छन् । टेक्नोलोजी, डिजाइन र ईन्टरटेन्मेन्टबाट सुरु भएको टेड अहिले यत्तिमै सिमित छैन । टेडले विज्ञान, उद्यमशिलता, प्रकृति, वातावरणलगायतका विभिन्न विधालाई समेटेको छ । समग्रमा टेड हेड्क्वार्टरबाट मान्यता लिई आफ्नै ठाउँमा आयोजना गरिने टेड कार्यक्रम टेडएक्स् हो ।

टेडएक्स्मा किन जाने ?
आँशु भन्नुहुन्छ: जमाना आधुनिकताको छ । सम्पूर्ण विश्व अब मानिसको हत्केलामा छ । सामाजिक सञ्जालले विश्वलाई एकै ठाउँमा उभ्याइदिएको छ भन्न सकिन्छ । फेसबुक, ट्विटर, युट्युब अब सामान्यजस्ता भएका छन् । यस्ता प्लेटफर्महरूमा कुनै सूचना, जानकारी अथवा भिडियो सेयर गर्दा धेरै मानिसले एकैचोटि हेर्न सक्छन् । त्यही अभिप्राय टेडको पनि हो । सन् १९८४ देखि अहिलेसम्म विश्वको कुनै पनि कुनामा भएका टेड इभेन्ट टेडको युट्युब च्यानलमा उपलब्ध छन् । र, टेडको नियमबमोजिम मान्यता लिएर गरिएका टेड इभेन्टलार्ई युट्युबमा हाल्नै पर्छ । टेडको च्यानललाई डेढ करोडभन्दा बढीले सब्स्क्राइब गरेका छन् । यस कारण यदि यो च्यानलमा कुनै भिडियो हालियो भने डेढ करोडभन्दा बढी मानिसले एकैचोटि हेर्न सक्छन् । अब आफंै सोचौं न, यत्रो ठुलो जनसङ्ख्याले एकैचोटि हेर्ने कार्यक्रममा आफू पनि संलग्न हुँदा कति गौरवानुभूति हुन्छ होला त ? एक त युट्युबमा भएको भिडियो रेकर्ड गरिएको कार्यक्रममा आफू पनि जाने भइयो । दोस्रो, त्यहाँ सेयर गरिएका व्यक्तित्वको कथा र अइडिया पनि सुन्न पाइने भयो । तेस्रो, यदि तपाईं उर्जाशील हुनुहुन्छ र केही गर्न आतुर हुनुहुन्छ, तर सफल आइडियाको पर्खाइमा हुनुहुन्छ भने तपाईले टेड ईभेन्ट छुटाउनै हुँदैन ।

टेडएक्स् वीरगञ्ज २.० का अन्य आकर्षण पनि छन् कि ?
आँशु भन्नुहुन्छ: यसमा आकर्षण हो हाम्रो स्पिकर लाइनअप । टेड २०१६ भन्दा निकै भिन्न र विविध क्षेत्रमा काम गरिरहेका व्यक्तित्वहरूलाई हामीले टेडएक्स् वीरगञ्ज २.० मा वक्ताका रुपमा बोलाएका छौं । हामी १० कक्षामा पढ्दा महावीर पुनको कथा पक्कै पढेको हुनु पर्दछ । उहाँले नेपालको ग्रामिण क्षेत्रमा वायरलेस टेक्नालोजी पु¥याएको हामीलाई अहिले पनि स्मरण छ । हाम्रो टेडएक्स् वीरगञ्ज २.० को ५ स्पिकरमध्ये एकजना उहाँ पनि हुनुहुन्छ । अर्का स्पिकर समाजिक चिन्तक सिके लाल हुनुहुन्छ । सामाजिक विषयमा रुची राख्ने व्यक्तिले विभिन्न पत्रपत्रिकामा आउने उहाँको लेख पक्कै पढेको हुनु पर्दछ । हाम्रो आफ्नै जिल्लाकी महिला नेतृ सल्मा खातुन, एउटा मुस्लिम परिवारबाट पत्रकारिता क्षेत्रमा १० वर्ष काम गरेर अहिले पर्साकै पोखरिया नगरपालिकामा उपप्रमुखको पदमा निर्वाचित हुनुभएको छ । उहाँलाई वक्तको रुपमा ल्याउने छौं । उहाँ महिला सशक्तिकरणको ज्वलन्त उदाहरणको रुपमा हुनुहुन्छ । अर्का वक्ता वीरगञ्जमै हुर्केबढेका वैज्ञानिक विक्रम उपाध्याय रहनुभएको छ । उहाँ बम्हाण्डको सृजना कसरी भयो भन्ने विषयमा ‘एटलस प्रोजेक्ट’ नामक सोधमार्फत अध्ययन गरिरहेको वैज्ञानिक संस्था सर्नमा ४ वर्ष वैज्ञानिकका रुपमा काम गरिसकेका व्यक्ति हुनुहुन्छ । त्यस्तै रुकसाना कपाली, कपाली एक ट्रान्सगेंडर केटी हो । उहाँ तेश्रो लिङ्गी भएर कसरी जीवन बिताइरनुभएको छ । पुरुषबाट ट्रान्सगेंडर केटी बन्ने यात्राको उहाँको कथा सुन्न सकिन्छ । उहाँको कुरामार्फत तेश्रो लिंगी व्यक्तिहरूप्रतिको भ्रमलाई तोड्ने हाम्रो प्रयास रहने छ ।

टेडएक्स् वीरगञ्जमा किन हुँदैछ ?
शैली भन्नुहुन्छ: टेडएक्स्ले विश्वको कुनैै पनि कुनामा टेडएक्स् गर्न मान्यता दिनुपछाडि एकमात्र कारण छ । त्यो त्यहाँको लोकल आइडियाकोे प्रोत्साहन हो । वीरगञ्ज प्रतिभाको महासागर हो । यहाँका हरेक युवामा केही न केही विशेष क्षमता छ । टेडएक्स् वीरगञ्जले यहाँ भएका युवालाई सही पथमा हिँड्न मद्दत पुगोस् भन्ने अठोट गरेको छ । साथै, विगतमा भएको आन्दोलन, नाकाबन्दी र अन्य कैयौं कारणले नेपालभरि वीरगञ्जलाई गलत दृष्टिकोणले हेरिन्छ । कहिले काहिँं त बन्द र हड्तालको मात्र सहर हो वीरगञ्जसमेत भनेको सुनेका छौं । त्यसैले हामी सबैले मिलेर टेडजस्तो कार्यक्रम आयोजना गर्नु पर्छ र वीरगञ्जमा पनि अन्तराष्ट्रियस्तरका कार्यक्रम आयोजना हुन्छन्, यहाँका युवा पनि सृजनशील छन्, काम गर्न इच्छुक छन् भन्ने सन्देश सबैमा पु¥याउन टेडएक्स् वीरगञ्ज आयोजना गरेका हौं । त्यसमाथि यो वीरगञ्जमा हुने अन्य कार्यक्रमभन्दा एकदमै भिन्न हुन्छ ।

टेडएक्स् वीरगञ्जमा हुने अन्य कार्यक्रमभन्दा भिन्न कसरी छ ?
आँशु भन्नुहुन्छ: भिन्नता धेरै प्रकारले छ, सर्वप्रथम त यो एउटा विश्वस्तरमै धेरै ख्यातिप्राप्त कार्यक्रममध्ये एक हो । यस्ता कार्यक्रम वीरगञ्जमा विरलै हुने गर्दछन् । दोश्रो, यो कुनै मोटिभेसनल कार्यक्रम हैन, जहाँ वक्ताले आएर शब्दमार्फत उपस्थितलाई मोटिभेट गर्ने प्रयास गर्दछ । यो आइडिया सेयरिङको प्लेटफर्म हो । यहाँ आउने वक्ताले आइडिया आदानप्रदान गर्ने गर्दछन । टेडको त मुख्य ट्यागलाईन नै ‘आइडियाज वर्थ स्प्रेडिंग’ हो अर्थात बाड्न सकिने अइडियाहरू । तसर्थ, यहाँ आउने व्यक्तिले केही न केही आइडिया लिएर अथवा सिकेर नै जान्छ । हाम्रो संस्थाको पनि एउटा मान्यता के हो भने शब्दभन्दा पनि कार्यले धेरै मोटिभेशन दिन सक्छ । त्यसैले टेड मञ्चबाट पनि हामीले कार्य गरेका व्यक्तिलाई नै बोलाएका छौं ।

टेडएक्स् कार्यक्रम त धेरै ठूलो छ । खर्च पनि निकै लाग्ने होला, त्यसको व्यवस्थापन कसरी गरिरहनुभएको छ ?
शैली भन्नुहुन्छ:  सर्वप्रथम त टेड धेरै ठूलो खर्च लाग्ने कार्यक्रम होइन । यसका नियमको अधिनमा रहेरमात्र हामीले कार्यक्रम आयोजना गर्न मिल्दछ । धेरै अनावश्यक खर्च गरे टेडले आयोजकहरूमाथि कारवाहीसमेत गर्ने अधिकार राख्दछ । त्यसैले टेडएक्स् वीरगञ्ज एकदम थोरै खर्चमा आयोजना हुने कार्यक्रम हो । मुख्यतः हामीले कार्यक्रमको टीकट बेचेर केही पैसा सङ्कलन गरेका छौं । त्यसपश्चात विभिन्न सङ्घसंस्था, उद्यमी र व्यवसायीसंग सहयोग लिएका छौं । कार्यक्रम समापनपश्चात हामीले खर्चको विवरणसमेत प्रस्तुत गर्ने योजना बनाएका छौं ।

आगामी योजनाहरू केके छन ?
शैली भन्नुहुन्छ: यो कलाका क्षेत्रमा काम गर्ने एक गैरनाफामूलक संस्था हो । जसलाई कुनै दातृ निकायको सहयोग प्राप्त छैन । हामीले गर्ने कार्यक्रमहरू यस्तै विभिन्न व्यक्ति र सङ्घसंस्थाबाट सहयोग उठाएर गर्दछौं । सन् २०१९ मा पनि टेडएक्स् वीरगञ्ज आयोजना गर्ने योजना छ । हरेक वर्षजस्तै आउने दिनहरूमा हामीले विभिन्न तालिमको आयोजना गर्ने योजना बनाएका छौं । जस्तै फोटोग्राफी, आर्ट, नृत्य र सङ्गीतका कार्यशालाहरू आयोजना गर्ने योजना छ । यसैवर्ष वीरगञ्जका विभिन्न स्थानमा जनचेतनामूलक आर्ट बनाउने योजना छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा