डा.केसीका अभियन्तालाई दुर्गा प्रसाइँको धम्की: ‘तँलाई भेटें भने तेरो नि तीन इन्ची सर्नेगरी हान्दिन्छु’


काठमाडौं । बिएण्डसी मेडिकल कलेज, झापाका सञ्चालक दुर्गा प्रसाइँले डा.गोविन्द केसी अभियानका मिडिया संयोजक प्रितम सुवेदीलाई भौतिक आक्रमणको धम्की दिएका छन्।

उनले सुवेदीलाई, ‘तँलाई भेटें भने तेरो नि तीन इन्ची सर्नेगरी हान्दिन्छु’, भन्दै धम्की दिएको साथै बाबु, आमा र बहिनीको नाम लिंदै सुवेदीलाई ‘डाँका’ लगायतका अपशब्द बोलेको सोलिडारिटी फर डा.केसी अलायन्सका संयोजक डा.जीवन क्षेत्रीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रस्तावित बीएण्डसी मेडिकल कलेजका सञ्चालक प्रसाइँ हाल प्रधानमन्त्री केपी ओलीका निकट मानिन्छन् । संयोजक सुवेदीका अनुसार केही दिन अगाडि काठमाडौं विश्वविद्यालयले चोर बाटोबाट अवैध रुपमा उनको मेडिकल कलेजलाई सम्बन्धन दिने प्रयास गरेको भन्दै डा केसीको अभियानका तर्फबाट प्रेस विज्ञप्ति जारी भए लगत्तै फोन गरेर धम्क्याएका हुन् ।

उक्त कुराकानीमा प्रसाइँले आफ्नो अस्पतालमा कोभिडका बिरामीलाई दुई लाख रुपैयाँ धरौटी राखेर मात्रै उपचार गर्ने गरेको पनि स्वीकारेको संयोजक सुवेदीले हाम्राकुरालाई जानकारी दिए । ‘धम्कीका क्रममा भएको कुराकानीको मैंले अडियो रेकर्ड गरेको छु, यो घट्ना चार दिन अघिको हो, सुवेदीले भने ।

बीएण्डसी मेडिकल कलेजलाई अनुकुल हुने गरी तत्कालीन नेकपा सरकारले २०७५ सालमा चिकित्सा शिक्षा ऐन जारी गरेको थियो । त्यसैका आधारमा आफूले सम्बन्धन पाउनुपर्ने दाबी प्रसाइँले गर्दै आएका छन् ।

तर २०७३ साल यता आशयपत्र नवीकरण नगरेकाले शिक्षण संस्थाका रुपमा उक्त कलेजको कानुनी हैसियत शुन्य भएको र सम्बन्धन लिने हो भने चिकित्सा शिक्षा ऐन र नियमावली अनुसार प्रक्रिया पुर्‍याएर आउनुपर्ने अडान चिकित्सा शिक्षा आयोगले लिंदै आएको छ ।

तर प्रसाइँले प्रक्रिया नपुर्याइ आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरीले सम्बन्धनका लागि घुस मागेको भनेर फर्जी आरोप लगाएको र डा गिरीले उनीविरुद्ध गाली बेइज्जती मुद्दा हालेपछि उनी आरोप पुष्टि गर्न नसकेर केही समय भुमिगत समेत भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

एउटा पत्रकार सम्मेलनमा उनले भनेका थिएः ‘बंगलादेशमा एमबिबिएस पढ्न गएका नेपाली चेलीलाई प्रोफेसरहरूले करणी गरेर राखेका छन्। बंगलादेश पढ्न गएका केटाहरू पाँच वर्षमा एमबीबीएस पास गरेर आउँछन्, हाम्रा चेलीबेटीहरू किन नौं वर्षसम्म आउँदैनन् ?’ त्यस अगाडि प्रसाइँले नेकपा नेता योगेश भट्टराईसँग मिलेर डा.केसी सत्याग्रहका विरुद्ध एक जना अपराधीलाई ‘काउन्टर’ अनशनकारीका रुपमा खडा गरेका थिए ।

उही अपराधीले पछि गएर सत्तारुढ नेता तथा दलीय भागवण्डामा नियुक्त भएका त्रिवि पदाधिकारीको स्वार्थ अनुसार अनियमितता हुन नदिने आइओएमका तत्कालीन डिनलाई कालोमोसो लगाएको थियो । आयोगका उपाध्यक्ष गिरीको घर अगाडि राखिएको बमसँगैका पर्चामा पनि प्रसाइँ र भट्टराइद्वारा परिचालित उही अपराधीको नाम थियो, विज्ञप्तिमा भनिएको छ ।

सोलिडारिटी फर डा.केसी अलायन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो अभियानका अभियन्ता सुवेदीमाथि यसबीच कुनै भौतिक आक्रमण भएमा त्यसको जिम्मेवारी दुर्गा प्रसाइँको हुने जानकारी पनि गराउन चाहन्छौं ।’ कोभिड संक्रमणका कारण आइसोलेनमा भएकाले अहिलेसम्म प्रहरीमा जाहेरी नदिएको तर छिट्टै प्रसाइँविरुद्ध किटानी जाहेरी दर्ता गर्नेपनि सुवेदीले जानकारी दिए ।

त्यस्तै चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरुको अडान विपरीत अयोगको बैठक बोलाएर जबर्जस्ती सम्बन्धन अघि बढाइयो भने त्यसको कडा प्रतिवाद गरी मेडिकल शिक्षालाई अपराधी र गुण्डाहरुको नियन्त्रणमा जानबाट रोक्न पनि अपिल गरिएको छ ।


Loading comments...