Lifestyle Portal
  •   १ कार्तिक २०७८, सोमबार

मीठो भाषणले नागरिकको रित्तो भाँडोमा रासन भरीन्छ र नेतागण ?

१६ जेष्ठ २०७८, आईतवार १५:५९

चौध वर्ष भयो देशमा गणतन्त्र आएको । छ वर्ष हुन लाग्यो संविधानसभाबाट संविधान घोषणा भएको । सरकार बन्ने–भत्कनेको त कुरै नगरौं । यसबीचमा प्राय:तपाईंहरू सबैको राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री बन्ने धोको पूरा भएको हुनुपर्छ । किनकि, सरकार बनाउन र भत्काउन सायद संसारकै च्याम्पियन हुनुहुन्छ तपाईहरू ।
तर, नेतागण, देशले के पायो ? हामी नागरिकले के पायौं ?

नेतागण ! तपाईहरूको भर्यांग अब कति वर्ष बन्नुपर्छ हामीले ? अनि तपाईहरूको दासत्वबाट कहिले अमलेख हुन्छौं हामी ?

तपाईंहरूको कुन आदेश मानेनौं हामीले ? राणा विरूद्ध लड्न बोलाउनुभयो । राणाशाही अन्त्य नहुन्जेल लड्यौं । पञ्चायतविरूद्ध लड्न बोलाउनु भयो । पञ्चायत नढलुन्जेल लड्यौं । जनयुद्ध लड्ने आदेश दिनुभयो । जनयुद्ध पनि लड्यौं । कृपया भनिदिनुस् नेतागण, हामीले तपाईंहरूको कुन आदेश मानेनौं ? हामीले तपाईहरूमाथि के अन्याय गर्यौं ? के अपराध गर्यौं ? के पाप गर्यौं ? जसको सजायँ हामी जनतालाई यति निर्ममतापूर्वक दिइरहनु भएको छ ?

यी सबै युद्ध र आन्दोलनहरूमा गरेर हजारौं हजार मानिसहरूको ज्यान गएको छ । लाखौं लाखको अंगभंग भएको छ । नानीहरू टुहुरा भएका छन्,आमाहरूको काख रित्तिएको छ, चेलीहरूको सिन्दुर पुछिएको छ । घरबार बिहीन भई बिस्थापित हुनेहरूको त कुरै नगरौं । तर पनि समयसँगै सबैले आफूलाई सम्हाल्दै आएका छन् । किनकि, यी सबै देशको लागि थियो; परिबर्तनका लागि थियो ।

कर्णालीको नागरिकले सुन मागेको छैन नेतागण ! अहिले पनि केवल नुन माँगिरहेको छ । मधेसका मुसहर,चमारहरूले दरबार मागेका छैनन् सरकार ! अहिले पनि केवल घरबार मागिरहेका छन् ।

दलितहरूले मान्छे हुनुको अधिकार मागिरहेका छन् । युवाहरूले आफ्नै देशमा स्वरोजगार/रोजगार मागिरहेका छन् । महिलाले सुरक्षा खोजिरहेका छन् । हो नेतागण ! हो सरकार !! हामी नागरिकले न्याय, सुरक्षा, शान्ति र समृद्धि खोजिरहेका छौं । के यो हाम्रो अपराध हो ?

बुद्धभन्दा चर्को स्वरमा शान्ति शान्ति शान्ति भन्नुहुन्छ। तर हिंसा, आगजनी गर्न कार्यकर्ताहरूलाई प्रतिस्पर्धा गर्न लगाउनु हुन्छ । खोई कसरी विश्वास गर्ने तपाईंहरूलाई हामीले ?

बिडम्बना, ५० लाख युवाहरू आज पनि विदेशमा रगत-पसिना बगाइरहेका छन् । प्रत्येक दिन ५-७ वटा शव कफिन बक्समा पोको पारेर नेपाल भित्रिरहेको छ । कहिले रोकिन्छ नेतागण, नेपाली नारीको सिउँदो पखालिने यो क्रम ? अनि कहिले तोडिन्छ बिदेशमा युवाहरू बेचेर प्राप्त विप्रेषणबाट धनी भएको भ्रम ?

समृद्धिजति आफ्नो भागमा पस्केर हामी जनतालाई गरिबी बाँड्नु भो ! कसरी बाँच्ने हामी गरिब जनता ? बोरामा पैसा बोकेर जाँदा झोला भरी सामान नआउने भइसक्यो । बजारमा श्रम बिक्नै छाडिसक्यो । के गर्नु नेतागण, हजुरहरूको मीठो भाषणले हामी नागरिकको रित्तो भाँडोमा रासन नभरिँदो रहेछ ।

नेतागण !

हामी नागरिकले न्याय, सुरक्षा, शान्ति र समृद्धि खोजिरहेका छौं । के यो हाम्रो अपराध हो ?

 

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलको सामाजिक संजालबाट

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

राष्ट्रिय आयलाई अति निर्धनहरूसम्म पुर्र्याउने अनेक प्रभावकारी तरिकहरू मध्ये एक साना व्यापार वा सडक व्यापार हो। सडक वा साना व्यापारको

शिक्षा र स्वास्थ्य कुनै पनि राष्ट्रको आर्थिक विकासका लागि दुई महत्वपूर्ण संरचनाहरू हुन्। यी दुई संरचनाहरूले मजबुत खम्बाको काम गरेका

नेपाली युवा युवतीहरू रोजगारीका लागि बिदेश किन जान्छन भनी प्रश्न गर्ने हो भने सबैले दिने उत्तर एउटै हुन्छ र त्यो

के त्यस्ता तत्वहरू छन् जसले हामीलाई गरिब तुल्याइ रहेका छन्? गरिबीबाट मुक्ति पाउन के गर्नु पर्छ? यी प्रश्नहरू कम्युनिष्ट नेतालाई