मलाला युसुफजाइको विरोध गर्नेहरुलाई पाकिस्तानी बरिष्ठ पत्रकारको दमदार जवाफ


काठमाडौं। पछिल्लो समय पाकिस्तानी अधिकारकर्मी मलाला युसुफजाइ चर्चामा छिन् । उनले बेलायती म्यागजिन भोगलाई दिएको अन्तरवार्तामा विवाहका प्रचलित प्रक्रिया र रितिरिवाजबारे प्रश्न उठाएपछि पाकिस्तानमा यसको विरोध भइरहेको छ । मलालाका विचारले अहिले पाकिस्तान तरंगित छ । सामाजिक संजालमा अहिले उनको विरोधका स्वरहरु सुनिन थालेका छन् । यही बीचमा पाकिस्तानी बरिष्ठ पत्रकार तथा लेखक हनीफ मोहम्मदले मलालाका आलोचकहरुलाई दमदार जवाफ दिएका छन् –

केटाहरु, मलालाको बिहेको चिन्ता छोड, उनले तालिबानको सुनिनन् तिमीहरुको के सुन्छिन् ?
हाम्रा घरमा छोराहरुको समस्या जेसुकै होस् हामीसँग समाधान एउटै हुन्छ । छोरो परीक्षामा फेल भयो, त्यसो भए बिहे गरिदेऊ । यदि छोराले जागिर पाइरहेको छैन, त्यसो भए बिहे गरिदेऊ । यदि छोराले सानोतिनो नशा गर्न थाल्यो, दिनभर बाथरुमबाट बाहिर निस्किन्न भने बस उसको बिहे गरिदेऊ सब ठिक हुनेछ ।

थाहा छैन कुन वैद्यले हामीलाई बतायो कि संसारका सबै रोगको उपचार बिहे हो । तपाइँका मातापिताले पनि यस्तै गर्नुभयो होला । कहिल्यै उहाँहरुलाई एक्लै छुट्टै बसालेर सोध्नु कि उहाँहरुले के कमाउनुभयो र के पाउनुभयो ।

यस्तै गरी हाम्रो छोरी मलाला जसलाई पहिचान दिइराख्नुपर्ने जरुरी छैन उनले पनि बिहेको बारेमा कुरा गरिन् । जब उनी सानी थिइन् तालिबान चरमपन्थी उनको सहरमा आए । उनीहरुले भने छोरीहरुको लागि स्कुल बन्द छ, केटीहरुले पढ्न पाउँदैनन् । मलालाले भनिन् ‘म पढ्छु र स्कुल पनि जान्छु ।’

चरमपन्थीहरुले स्कुलको भ्यानलाई रोके र उनको नाम सोध्दै उनको टाउको र अनुहारमा गोली हानिदिए । बचाउनेवाला मार्ने भन्दा ठूलो हुन्छ । उनी बचिन् र पढिरहिन् । साथमा उनले विश्वभर गरिब, बेसहारा बालिकाहरुको शिक्षाको लागि यति पैसा जुटाइदिइन् कि त्यति पैसा हाम्रा महान सेठहरुले आफ्नो पूरै जीवनमा दिएका छैनन् ।

अब मलालाले एक फेशन म्यागजिनलाई अन्तरवार्ता दिएकी छिन् र अन्तरवार्ता लिने पनि हाम्रै भाइ बहिनी होलान् । उनीहरुले पनि मलालासँग बिहेको बारेमा बताउन भने । मलालाले जवाफ दिइन् ‘म बुझ्दिन कि यो बिहे यति महत्वपूर्ण किन छ ? यदि कोइ मन पर्छ भने उसको साथमा बस्नुस् ।’

अब हाम्रो पूरै समुदाय गर्मीको ताप र कोरोना महामारी बिर्सिएर मलालाको पछि परेको छ कि हेर यो केटीले के भनिरहेकी छ ? हाम्रो धर्म, हाम्रो समाज, हाम्रो पारिवारिक अवस्था, पति पत्नीको पवित्र सम्बन्ध सब जलाएर खरानी बनाइ ।

एउटा विवाद खडा भयो । विरोध गर्नेहरुमध्ये धेरैजसो मजस्तै विवाहित अंकल थिए । जो मानिसहरु कहिल्यै एकसाथ बसे भने उनीहरुसँग आफ्नी श्रीमतीको कुरा काट्ने बाहेक अरु कुनै कुरा हुँदैन । तर, साथमा हाम्रा ती युवाको रगतले पनि जोर मार्यो जसको जिन्दगीको सबैभन्दा ठूलो उपलब्धी यही हुन्छ कि उनीहरुले एक पटक आफ्ना पितालाई स्मार्टफोन किनिदिन राजी गराएका थिए ।

यी केटाहरु १३ वर्षको उमेरदेखि आफ्नी फुपुकी छोरीमा नजर राखेर बसेका हुन्छन् र उनीहरुको जीवनको ठूलो मिशन हुन्छ कि केटी कहिले ठूली होली र उसँग बिहे गरौंला । भलै मेरी फुपुकी छोरी ठूलो भएर अमेरिका जान चाहोस् तर हामी उसलाई डोलीमा बसाएरै छाड्नेछौं ।

बिहेको प्रतिक्षामा बेकार बसिरहेका यिनीहरु सेल्फी लिइरहन्छन् । सामाजिक संजालमा जहाँ केटी देख्यो उसलाई लाइक गर्छन् र फ्रेण्ड रिक्वेस्ट पठाउँछन् तर प्रायः कुनै जवाफ आउँदैन । जब जवाफ आउँदैन त्यसपछि उसलाई कुनै नास्तिककी सन्तान भन्छन् ।

यी केटाहरुलाई विश्वास हुन्छ कि यदि कुनै केटीले उसँग बिहे गरिन भने ऊ सनी लियोनी हो वा मिया खलिफा हो । अब मातापिता बिचरा त यो पनि सोध्न सक्दैनन् कि यी दुई (सनी र मिया) तिमीहरुकी फुपुकी छोरी त होइनन् । त्यसो भए तिमीहरुले यी दुईलाई कहाँ भेटिरहन्छौ ?

केटाहरु, तिमीहरुको पीडा म बुझ्छु तर तिमीहरु पनि अलिकति बुद्धि त लगाउ । यदि तपाइँ सेल्फी लिन बन्द गरेर केही खोजी गर्ने हो भने तपाइँलाई थाहा हुन्छ कि मलाला वास्तवमा के चाहन्छिन् । उनले धेरैजसो काम छोरीहरुको तालिमको लागि गरेकी छिन् तर उनको सन्देश केटाहरुको लागि पनि सिधा छ । धेरै व्यक्तिगत रुपमा नलेउ तर उनले कुरा स्पष्ट गरेकी छिन् र मैले पनि यो कुरा एक स्कुलबाहिर लेखिएको पढेको थिएँ ।

कुरा यो हो ‘जीना होगा, मरना होगा, पप्पु तुमको पढना होगा ।’

मलालाको बिहेको चिन्ता छोड । यदि तिम्रो भाग्यमा फुपुकी छोरी छिन् भने तिमी उनलाई पाउँछौ । अब परीक्षा आइसकेका छन् । केटीहरुलाई सेल्फी पठाउन बन्द गर । किताब खोल, तयारी गर, अल्लाहले सब ठिक राख्नुहुनेछ । बाँकी रहिन् मलाला, यदि उनले तालिबानको सुनिनन् भने उनी तपाइँको कुरा किन सुन्छिन् ?

रब राखा !


Loading comments...