kaski

शाह वंश र कास्कीको सम्बन्ध


दिपक आचार्य
दिपक आचार्य

नेपाल विभिन्न धर्म संस्कृती र इतिहासले निकै सम्पन्न राष्ट्र हो । नेपालमा गोपाल वंश, महिशपाल वंश, मल्ल वंश अनि शाह वंशले लामो समय सम्म राज्य गरेको इतिहासका पान्नाहरुमा प्राप्त गर्न सकिन्छ । आउनुहोस राणा बंशको प्राचीन थलो अनि राणाहरु र शाह राजाहरु अनि पौराणिक धार्मिक स्थलको पेरीफेरीमा केहि लुकेका इतिहासहरुको चर्चा गरौँ । शाह वंशीय पहिलो राजा कुलमण्डन शाहका नाती राज शाहले वि.स. १५८४ देखी १६३४ सम्म कास्कीमा शासन गरेको इतिहास छ । कही कतै राज शाहका पिता जलाल शाह राजा नभएको र राज शाह नै दोश्रो राजा रहेको उल्लेख भएपनी जलाल शाहले करीव १ वर्ष शासन गरेको पनि भन्ने गरीन्छ । राज शाहले पोखराको महतगौंडास्थित सदा शिवजी सिद्घेस्वर हरीहर मन्दिरको पुन निर्माण गरेको र पुरानो मुर्तीमा समस्या आएको कारण उक्त मुर्ती सेतिमा विधीवत विसर्जन गरी नयाँ मुर्ती राखेको र हाल रहेको मुर्ती त्यही वेलाको मुर्ती रहेको विस्वास गरीएको छ ।

पौराणिक सदाशिवजी हरिहरि मन्दिर
पौराणिक सदाशिवजी हरिहरि मन्दिर

राज शाहले मन्दिर निर्माण गरेको कुरा प्रा. डा. राजाराम सुवेदीद्वारा लिखित कास्की राज्यको इतिहास नामक पुस्तकको पेज नम्वर ३२ र ३३ मा उल्लेख गरिएको छ । सोही पुस्तकको पेज नम्वर ९७ र ९८ अध्ययन गर्दा वि.स. १६७५ देखी कास्कीमा राज गरेका राजा नर शाहीले हालको सेति नदी माथी ढुङ्गा ताछेर पुल वनाएको कुरा लेखिएको छ । साथै यहाँको परम्परालाइ प्रोत्साहन दिन यस मन्दिर वरपर राजा नर शाहीले एउटा धर्मशाला र एउटा दरवार पनी बनाएका थिए सोही पुस्तकको पेज नम्वर १०२ अनुसार वि.स. १७५३ देखी कास्कीको राजगद्दी सम्हालेका राजा प्रताप शाहीले यहाँ एउटा विशाल महल बनाएको र लामो समयसम्म यही ध्यान गरी बस्ने गरेको कुरा उल्लेख छ । माथीका यी इतिहासका कुराले यो मन्दिरमा राज परीवारले कति सम्म चासो देखाएको रहेछ भन्ने प्रस्ट हुन्छ ।

नेपालका एकिकरणपछि ढुंगेसाँघु शिव मन्दिरको महत्वलाई बुझेर वि.सं. १८६४ मा एउटा लालमोहर गरियको थियो । भने बि.स.१८९३ र बि.स. १९०३ को पत्र मार्फत पुन गुठी जग्गस थप भएको हुन सक्छ हालसम्म समितिले त्यो पत्रमा के थियो भन्ने कुरा पत्ता लगाउन सकेको छैन । उक्त लालमोहरमा उक्त मन्दिरमा नित्यपुजा चलाउनका निम्ति ६० मुरीखेत गुठी राखिएको कुरा उल्लेख गरीएको छ । बराल थर भएका पुजारी रहेका यो ढुंगेसाँघुको मन्दिरमा परापुर्वबाटै बिहान साँझ पूजा, धूपबत्ती गर्दै आएको बुझिन्छ । अर्को कुरा नेपालमा राणा शासन स्थापना गर्ने जङ्गबहादुर राणाका पूर्खाहरु पनि यही शिव मन्दिरका वरपर बसोवास गरेका थिए ।

ढुंगेसाँघुको मेला
ढुंगेसाँघुको मेलाको दृष्य

ढुंगेसाँघु स्थित यस मन्दिरमा दैनिक पूजा हुनुका साथै माघे संक्रान्ति, शिवरात्रि, प्रदोषव्रत, अक्षय तृतिया, चतुर्माषव्रत, साउन संक्रान्तिमा विशेष विधानले पूजा हुन्छ । यो मन्दिरमा कस्केली राजाको गाईगोठबाट प्रतिदिन गाईको दुध ल्याइ पञ्चगव्य र पञ्चामृत निर्माण गरिन्थ्यो भने यहाँ चढाएको गोरु बहर ब्याडे छोडिन्थ्यो । ढुंगेसाँघुका मन्दिर वरपर बगैंचा लगाईएको थियो । टाढा-टाढाका साधुसन्त, फकीरफकेडा, जोगी अघोरी, आर्य सदाव्रत लिई मुक्तिनाथको तीर्थाटनमा जान्थे । त्यहाँबाट अर्को रात कास्की नागडाँडाको पौवा ( हाल प्रहरीचौकी छ ) सिंपालीका मोडी ( माडी, माडौं अछाम प्रभाली माडीमा) गएर सदाव्रतको सिदा र रानीवनको दाउराले धुनी लगाउने परम्परा थियो, यसबाट कास्की राज्यमा परापुर्वबाटै सनातन धर्मको संरक्षण गर्न महत्वपूर्ण भुमिका खेल्दै आएको बुझिन्छ । ढुंगेसाँघु शिवालयको वगैंचाबाट मात्रै १६००० आय हुने गरेको तथ्य र गुठी सम्बन्धी लालमोहरहरु पनि प्रकाशमा आएका छन् । कास्की विद्याको केन्द्र हुनुका साथै सनातन धर्मको केन्द्र पनि रहेको कुरालाई यस शिवालयको उपस्थितिले प्रमाणित गर्दछ ।

पूर्वकालमा निर्मित लमजुङ कर्पुटार स्थित ईशानेश्वर शिवमन्दिर र पोखरा ढुंगेसाँघुको यो मन्दिर सनातन धर्मको धरोहरको प्रतिकको रुपमा रही आएको छ । यस्ता धार्मिक महत्वका क्षेत्रहरुलाई पुनःउद्दार गर्नुपर्ने देखिन्छ । यस क्षेत्रमा माघे संक्रान्तीको दिनमा विशेष मेला लाग्ने परम्परा रहि आएको छ । पहिल्यै देखि यहाँको मेला निकै प्रख्यात मानिन्थ्यो कास्कीका अन्तिम राजा सिद्दिनरसिंहको पालामा चौबिसे राज्य एक जुट हुने भनी कास्कीका राजालाई पत्र लिएर आएका पर्शुराम थापाका भाइलाइ पृथ्वीनारायण शाहले पठाएका झांगल गुरुङले यहि ठांउमा भेटेका र उनको हत्या गरि पत्र लिएर गोर्खा गएको कुरा बुझिन्छ तसर्थ यो मेला निकै महत्वको मेला रहेको थाहा हुन्छ । धार्मिक हिसाबले हेर्ने हो भने भगवान राम सीता यस ठांउमा आएर सेतिमा नुहाइ हरिहर को दर्शन गरेको उल्लेख छ ।


Loading comments...