अख्तियारद्वारा प्रहरी पेट्रोलपम्प नक्सालका प्रसनी कार्की उपर एक करोड चार लाख बराबरको भ्रष्टाचारको आरोप


प्रहरी कल्याण कोषद्वारा संचालित पेट्रोल पम्प, नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलिप कार्की उपर बिगो रु. १,०३,९७,९३७।५४ कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको सम्बन्धी आरोप-पत्र दायर भएको छ ।

प्रहरी सहायक निरीक्षक दिलिप कार्कीले प्रहरी कल्याण कोषद्वारा संचालित पेट्रोलपम्प, नक्सालमा ग्राहक नं. M019 नम्बरसमेतको खातामा अन्य व्यक्तिले भुक्तानी गरेको रकमलाई गलत प्रविष्ट गरी हुँदै नभएको कारोवारको आधारमा असूली देखाएर रकम हिनामिना गरेको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा प्र.स.नि. दिलिप कार्की प्रहरी पेट्रोलपम्पमा पदीय हिसाबले कार्यरत रहँदा निजले बिक्री भएको तेलको वास्तविक रकम दाखिला नगरी रु.१,०३,९७,९३७।५४ हिनामिना एवं हानिनोक्सानी गरेको स-प्रमाण पुष्टि भएको र निज दिलिप कार्कीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरजन्य कार्य भएकोले निज दिलिप कार्कीलाई सोही दफाको प्रावधानबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफाको उपदफा (१) को खण्ड (झ) बमोजिमको सजाय हुन तथा हानिनोक्सानी गरेको उक्त बिगो रु.१,०३,९७,९३७।५४ (एक करोड तीन लाख सन्तानब्बे हजार नौ सय सैतीस रुपैयाँ चौवन्न पैसा) भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम असुलउपर हुन मागदाबी लिई अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको बेहोरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

 


Loading comments...