लालध्वज मोटरमार्ग भ्रष्टाचार प्रकरण : ठेकेदारसहित उपभोक्ता समितिका ५ जनाविरुद्ध मुद्दा


तनहुँ । लालध्वज मोटरमार्ग निर्माणको क्रममा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जना विरुद्ध आरोपपत्र दायर गरेको छ । आर्थिक बर्ष २०७४/७५ मा नगरस्तरीय आयोजना अन्तर्गत शुक्लागण्डकी नगरपालिका–१ थप्रेक जोड्ने लालध्वज मार्ग स्तरोन्नतिमा सरकारी रकम हिनामिना गरेको भन्दै अख्तियारले विहीबार विशेष अदालत काठामाडौँमा आरोपत्र दायर गरेको हो ।

सहिद लालध्वज मोटर मार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष डिल्लीराम अधिकारी, कोषाध्यक्ष ममिता गुरुङ, भिमबहादुर गुरुङ, तत्कालिन सदस्य गणेशकुमार गुरुङ र निर्माण कम्पनी चार्टर कन्सट्रक्सन प्राली पोखराका प्रोपाइटर विनोद श्रेष्ठविरुद्ध आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले बताए । उनीहरुबाट ११ लाख ३४ हजार ५ सय रुपैयाँ बिगो असुलको माग गरिएको छ ।

अध्यक्षसहित तीन जनालाई सात लाख ६६ हजार ७ सय रुपैयाँ, तत्कालीन सदस्य गणेशकुमार गुरुङबाट एक लाख १९ हजार ४ सय रुपैयाँ र चार्टर कन्सट्रक्सनका प्रोपाइटर विनोद श्रेष्ठबाट दुई लाख ४८ हजार ४ सय रुपैयाँ बिगो माग गरेको रिसालले जानकारी दिए ।

कोत्रे र थप्रेक जोड्ने सडक ग्राभेल गर्दा बाटोबाट निस्केको पैसा नपर्ने सामग्री प्रयोग गरी ग्राभेल गरेको तर बिल भरपाई मिलान गरेर नगरपालिकाबाट सात लाख ६६ हजार ७ सय रुपैयाँ भुक्तान लिएको प्रमाणित भएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


Loading comments...