नवरात्रि प्रारम्भः घटस्थापना विधि तथा सामग्रीहरुको बारेमा स-विस्तार जान्नुहोस्


आज नवरात्रिको प्रथम दिन अर्थात् आज घटस्थापना । आज शैलपुत्रीको पूजा अर्चना गरी नवरात्रीलाई स्वागत गरिन्छ । हाम्रो घर दैलोमा २०७८ सालको बडा दशैंले आजैबाट आधिकारीक प्रवेश पनि गरेको छ । नवरात्रिको शुभ अवसरमा सुख शान्ति तथा समृद्धिका लागि यदि तपाईं यस दिन कलश स्थापना गर्ने योजनामा हुनुहुन्छ भने यस प्रक्रियाका लागि तपाईंलाई कुन-कुन सामाग्रीहरुको आवश्यक्ता पर्छ, र कलश स्थापनार्थ मन्त्र तथा विधि के हो? अबको सामाग्री यसै विषयमा विस्तृतमा हुनेछ ।

पण्डित पुरुषोत्तम अधिकारी

माता दुर्गाका नौ स्वरूपको बारेमा बराहपुराणले के लेखेको छ?
नवदुर्गा भन्नाले शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिधात्रीलाई बुझिन्छ । यसको साथै ती मातृशक्तिहरूमा ब्राहृमी, माहेश्वरी, कौमारी, इन्द्रायणी, चामुण्डा, वैष्णवी, नारसिंही, ईश्वरी, माता लक्ष्मी रहेका छन् । नवरात्रिका विशेष दिन महासप्तमी, महाअष्टमी तथा महानवमीका दिनहरुमा क्रमशः महासरस्वती, महाकाली र महालक्ष्मीको विशेष पूजा-आराधना गर्ने गरिन्छ ।

घटस्थापनाका लागि आवश्यक सामग्रीहरुः
कलश स्थापना गर्नका लागि नदिको बालुवा, पित्तल अथवा ताम्बाको एउटा घडा । जयन्ती तथा पूजाका लागि जौ (यव), तिल, सप्तमृतिका, सर्वोषधी, मह, रातो वस्त्र, रातो अबिर, पानीयुक्त नारिवल, कातेको बत्ती, रोली, सुपारी, गंगाजल, केही मात्रामा आँपको पात, सिक्का तथा पानको पात ।

घटस्थापना मन्त्र
नवरात्रिको पहिलो दिन विधीविधानका साथ कलश स्थापना गर्नु अघि नित्य पूजामा बसेर सबैभन्दा पहिले आफूलाई तथा पूजा सामग्रीलाई मन्त्रद्वारा पवित्र गर्नुहोस् । पवित्र हुने मन्त्र यस्तो छः

“ओम अपवित्रः पवित्रोवा सर्वावस्थां गतोऽपिवा। यः स्मरेत्पुण्डरीकाक्षं स बाह्याभ्यन्तरः शुचिः॥”

हातमा पवित्र कुश तथा शुद्ध जल लिएर माथिको मन्त्रोच्चारण गरी आफू तथा पूजा सामाग्रीहरुमा छर्कनु होस् । यसपछि दाहिने हातमा अक्षता, फूल, जल, पानको पात, सिक्का तथा सुपारी लिएर शारदीय नवदूर्गा भवानीको पूजाका लागि विशेष नवरात्रि संकल्प लिनुहोस् ।

नवरात्रि संकल्प मन्त्रः
ॐ विष्णुर्विष्णुर्विष्णु:, ॐ अद्य ब्रह्मणोऽह्नि द्वितीय परार्धे श्री श्वेतवाराहकल्पे वैवस्वतमन्वन्तरे, अष्टाविंशतितमे कलियुगे, कलिप्रथम चरणे जम्बूद्वीपे भरतखण्डे नेपालवर्षे पुण्य (आफ्नो जन्मस्थान/शहर-गाँउको नाम उच्चारण गर्नुहोस्) क्षेत्रे बौद्धावतारे वीर विक्रमादित्यनृपते: २०७८, तमेऽब्दे प्रमादी नाम संवत्सरे सूर्य उत्तरायणे शरद ऋतो महामंगल्यप्रदे मासानां मासोत्तमे आश्विन मासे शुक्ल पक्षे प्रतिपदायां तिथौ शनि वासरे (आफ्नो गोत्र उच्चारण गर्नुहोस्) गोत्रोत्पन्नोऽहं अमुकनामा (आफ्नो नाम लिनुहोस्) सकलपापक्षयपूर्वकं सर्वारिष्ट शांतिनिमित्तं सर्वमंगलकामनया- श्रुतिस्मृत्योक्तफलप्राप्त्यर्थं मनेप्सित कार्य सिद्धयर्थं श्री दुर्गा पूजनं च महं करिष्ये। तत्पूर्वागंत्वेन निर्विघ्नतापूर्वक कार्य सिद्धयर्थं यथामिलितोपचारे गणपति पूजनं करिष्ये।

यदि माथि उल्लेखित मन्त्रोच्चारणमा कठिनाई हुन्छ र संक्षेपमा संकल्प लिन चाहनुहुन्छ भने यो मन्त्रच्चारण गर्नुहोस्ः ‘यथोपलब्धपूजनसामग्रीभिः कार्य सिद्धयर्थं कलशाधिष्ठित देवतासहित, शरदीय नवरात्र श्री दुर्गा पूजनं महं करिष्ये ।‘

घटस्थापना पूजा विधि
दुर्गा माताको मूर्ति या तस्वीर अगाडी राख्नुहोस् । तस्वीरको अगाडी बालुवाको माथी कलश राखेर हातमा अक्षता, फूल तथा गंगाजल लिएर वरुण देवतालाई आह्वान गर्नुहोस् । कलशमा सर्वऔषधी तथा पञ्चरत्न राख्नुहोस् । कलशको तल राखिएको बालुवामाथी सप्तधान्य अर्थात सात अन्न (जौ (यव), तिल, धान, मकै, चना, गँहू, केराउ तथा सप्तमृतिका) मिलाएर राख्नुहोस् । सप्तधान्यमा समावेश यि अन्नहरु पौषणका हिसाबले पनि उत्कृष्ट छन् । मानवहरुका लागि मात्र होइन, चराचर तथा जीवजन्तुहरुका लागि पनि यो उत्तिकै परिचित छ । (यसरी छरिएर केही दिन भित्र अंकुरित हुने हरियो मुनाहरु नै जमरा हुन्)

आँपको पत्ताको टुप्पो भाग कलशको बाहिर देखिने गरी कलशमा राख्नुहोस् । कलशको माथी एउटा ताम्बा अथवा पित्तलको पात्रमा धान भरेर त्यसको माथी कातेको बत्ती बाल्नुहोस् । कलशमा पन्च पल्लव अर्थात पाँच थरीको पातहरु राख्नुहोस् । यदि पन्च पल्लव उपलब्ध छैन भने आँपको पातलाई पनि प्रयोग गर्न सकिनेछ । त्यसको माथी रातो कपडा बेरेर एउटा पानीयुक्त नरिवल राखिदिनुहोस् ।

र श्री गणेशलाई सम्झिएर पुजा अघि अब ध्यानका लागि तयार बस्नुहोस् ।

कलशको तल अघि छरिएका सात अन्नहरुलाई फैलाउनुहोस् । अब माता दुर्गा भगवतीको ध्यान गर्नुहोस्:
खड्ग चक्र गदेषु चाप परिघांछूलं भुशुण्डीं शिर:,
शंखं सन्दधतीं करैस्त्रि नयनां सर्वांग भूषावृताम ।
नीलाश्मद्युतिमास्य पाद दशकां सेवे महाकालिकाम,
यामस्तीत स्वपिते हरो कमलजो हन्तुं मधुं कैटभम ।।”

यस पश्चात् बाँकी सबै देवी-देवताहरुको पूजा गर्नुहोस् । अन्त्यमा भगवान शिव तथा ब्रह्माजीको पूजा गर्नुहोस् । यस पछि माता भगवतीको पुनः पूजा गरेर दुर्गा सप्तशतीको पाठ गर्नुहोस् । पाठ गर्नुअघि एउटा कुरा ध्यानमा राख्नुहोस् है! दुर्गा सप्तशतीलाई ३ चरित्रमा राखिएको छ, यसदिन कुनै एक चरित्रको मात्र पाठ गर्नुहोस् ।

तपाईंको नवरात्रि शुभ रहोस्, बडा दशैंको शुभकामना!!

यो पनि पढ्नुहोस्ः वैदिक सनातन हिन्दुहरुको महान चाड “बडा दशैं”को शुभ साइत देश र देशबाहिर कति बजे?


Loading comments...