सुन जस्तो देखिने पहेलो पदार्थ सहित पक्राउ


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट करिब २ हजार १ सय ७० ग्राम तौलको सुन जस्तो देखिने पहेलो रंगको अर्धठोस पदार्थ सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिरहा मिर्चैया नगरपालिका-१२ ठेगाना भएका २६ वर्षीय सरोज सहनी र दाङ दंगिशरण गाउँपालिका-६ ठेगाना भएका ३० वर्षीय सिताराम चौधरी रहेका छन् । नेपाल एयरलाइन्सको उडानद्वारा दुवईबाट काठमाडौं आएका उनीहरूलाई जाँच गर्दा भित्रीबस्त्रको अगाडिको भागमा फल्स बटम बनाई भन्सार छली गरी लुकाई लैजान लागेको अवस्थामा फेला पारी दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो । सरोजको साथबाट करिब १ हजार ८५ ग्राम र सितारामको साथबाट करिब १ हजार ८५ ग्राम पदार्थ फेला परेको हो । उनीहरुलाई बरामद अर्धठोस सुन सहित आवश्यक अनुसन्धान एवं कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट अबैध रुपमा संकलन गरी लैजान लागेको १ सय ५० ग्राम सुन जस्तो देखिने पहेलो रंगको धातुको बाला ३ थान सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कञ्चनपुर बेलौरी नगरपालिका-३ ठेगाना भएका ३७ वर्षीय धर्म बहादुर सुनार र खोटाङ रुपकोट मझुवागढी नगरपालिका-१० ठेगाना भएका ४१ वर्षीय हरि प्रसाद गिरी रहेका छन् । उनीहरूमध्ये धर्मको साथबाट १ सय ग्रामको २ थाना बाला र हरिप्रसादको साथबाट ५० ग्रामको १ थान बाला बरामद भएको हो । मलेसियाबाट काठमाडौं आएका यात्रुहरूलाई भन्सार छली गर्न लगाई उनीहरूले उक्त धातुको बालाहरु संकलन गरी लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई बरामद बाला सहित आवश्यक अनुसन्धान एवं कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।


Loading comments...