‘विश्व हिन्दी दिवस’ सम्पन्न


भारतीय राजदूतावास, काठमाडौंले मिति २०७८ पौष २६ गतेका दिन होटल र्‍याडिसनमा विश्व हिन्दी दिवसको आयोजना गर्यो । सन् १९७५ जनवरी १० मा भारतको नागपुरमा पहिलो विश्व हिन्दी सम्मेलन मनाइएपश्चात प्रत्येक वर्ष जनवरी १० तारिखका दिन भारत र विश्वका विभिन्न मुलुकहरुमा अवस्थित भारतीय राजदूतावास एवम् उच्च आयोगहरुमा विश्व हिन्दी दिवस मनाउने गरिन्छ । दूतावासस्थित प्रेस, सूचना एवम् संस्कृति प्रभागका प्रमुख नवीन कुमारले कार्यक्रमको अध्यक्षता गर्नुभयो । वहाँले भारतका सम्माननीय प्रधानमन्त्रीले यस अवसरमा दिनुभएको सन्देश पढेर सुनाउनुभयो ।

भारतका विदेश राज्यमन्त्री श्रीमती मीनाक्षी लेखीले विश्व हिन्दी दिवसको अवसरमा दिनुभएको सन्देश तथा शुभकामना भिडियोमार्फत प्रस्तुत गरियो । नेपालका वरिष्ठ हिन्दी साहित्यकार राम दयाल राकेश कार्यक्रमको मुख्य अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो भने नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ परिषदका सदस्य प्रा. डा. उषा ठाकुर विशिष्ट अतिथि हुनुहुन्थ्यो । विश्व हिन्दी दिवसको अवसरमा विशेष गरी हास्य कवि सम्मेलनको आयोजना गरिएको थियो । सो सम्मेलनमा भारतबाट आउनुभएका तीन प्रख्यात कवि श्री सुदिप भोला, विनित पाण्डे र अभिषेक त्रिपाठीले कविता वाचन गर्नुभयो ।

सो कार्यक्रममा काठमाडौंका विभिन्न विद्यालयका १२ जना विद्यार्थीले हिन्दी कविता वाचन गरे जसका लागि उनीहरुलाई पुरस्कृत गरिएको थियो । हिन्दी मासिक पत्रिका ‘द पब्लिक’ का सम्पादक वीणा सिन्हाद्वारा लिखित लघुकथा संग्रह ‘सुनसान गल्लीहरु’, ‘द पब्लिक’ पत्रिका र नेपालका हिन्दी साहित्यकार श्रीमती करुणा झाको कविता संग्रहको विमोचन मुख्य अतिथिले गर्नुभयो । हिन्दी पत्रिका ‘हिमालिनी’ को नयाँ अंक अतिथिहरुलाई वितरण गरिएको थियो ।

कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौंका विद्यार्थीहरुले सुमधुर समूह गीत प्रस्तुत गरेका थिए । आफ्नो मन्तव्यका क्रममा मुख्य अतिथि राकेशले भारत र नेपालको मैत्री सम्बन्धमा हिन्दी भाषाको सदियौंदेखि अहम् भूमिका रहेको बताउनुभयो ।


Loading comments...