लोकप्रिय सांगीतिक समूह ‘कन्दरा ब्यान्ड’ र ‘नेपग्याज्म लाइभ इभेन्ट’ संगसंगै


लोकप्रिय पोखरेली सांगीतिक ब्यान्ड ‘कन्दरा’ र ‘नेपग्याज्म लाइभ इभेन्ट’ (एनएलई) कम्पनीबीच व्यवयसायिक सम्झौता भएको छ । २०७९ असार ७ गते दुई पक्षबीच सम्झौता भएको विज्ञप्ति मार्फत जनाइएको हो ।

सम्झौतापछि कन्दराका गीत संगीत निर्माणदेखि कन्सर्ट व्यवस्थापनका सम्पूर्ण जिम्मेवारी नेपग्याज्म लाइभ इभेन्ट (एनएलई) ले गर्ने ब्यान्डका गायक विवेक श्रेष्ठले बताए ।

‘सन् २०१६ देखि हामी ब्यान्डलाई पुनः सक्रिय बनाउन प्रयासरत थियौं । संगीत पूर्णरुपमा व्यवसायिक बनिसकेको अहिलेको समयमा हाम्रा सबै गतिविधि र कामलाई व्यवस्थापन गरिदिने कोही भइदिए हुन्थ्यो भन्ने महसुस गरेका थियौं,’ गायक श्रेष्ठले भने, ‘ नेपग्याज्म लाइभ इभेन्टले हाम्रो आवश्यकता पूरा गर्ने कुरा मिलेपछि हामीबीच सहकार्य भएको हो ।’

विवेकका अनुसार एनएलईलाई व्यवस्थापनका सम्पूर्ण जिम्मेवारी सुम्पेपछि आफू र ब्यान्डका अन्य सदस्य खुलेर गीत संगीतमा लाग्न पाउने छन् । उनले भने, ‘अब हामी ढुक्कले नयाँ समय र नयाँ पुस्तासँग जोडिने गरी सक्रिय हुनेछौं ।’

उनका अनुसार यही वर्ष ब्याण्डले नयाँ गीतसँगै आफ्ना तीन चर्चित गीतहरुको रिप्राइज्ड भर्सन सार्वजनिक गर्दैछ । यसबाहेक नयाँ गीतको तयारी पनि सुरु भइसकेको छ ।

यी सबै कामको व्यवस्थापकीय जिम्मेवारी ‘एनएलई – NLE’ले हेर्ने उनले बताए ।

कन्दराले पहिलो एल्बमको टाइटल ट्र्याक चञ्चले कान्छी, दोस्रो एल्बमको टाइटल ट्र्याक डाँडापारि र तेस्रो एल्बमको चर्चित गीत विदेशिएर गइन् उनीको रिप्राइज्ड भर्सन निकाल्ने तयारी भइरहेको हो।

यी गीतहरुको म्युजिक भिडिओ निर्माणदेखि सोसल मिडिया प्रोमोसनसम्मका पक्ष एनएलईले हेर्ने छ । यसमा बजार प्रवर्द्धन र व्यवस्थापनदेखि ब्रान्डिङसम्मका काम अटाउने छ ।

आजै कन्दरा ब्याण्डले आधिकारीक लोगो पनि सार्वनजिक गरेको छ । लोगो बारे जानकारी दिंदै विवेक भन्छन्, “संगीतको सूचकको रुपमा गिटारको हेडसंग ट्यूनर्स राखिएको छ जुन नेपाली हस्तलिखित अक्षर ‘क’संग जोडिएको छ । हाम्रो आधिकारीक अंग्रेजी अक्षर सहितको लोगोलाई जस्ताको तेस्तै नयाँ लोगोमा समावेश गरेका छौं ।”

एनएलई सन् २०१८ देखि स्ट्यान्ड अप कमेडी निर्माणमा अग्रणी संस्था नेपग्याज्मका संस्थापकहरुकै नेतृत्वमा सुरु भएको हो ।

कन्दराका संस्थापक तथा कर्णप्रिय गायक विवेक श्रेष्ठका साथ नेपग्याजम परिवार

नेपग्याजम लाइभ इभेन्टका संस्थापकमध्ये एक शरद श्रेष्ठले एनएलईको पहिलो काम नै ‘कन्दरा ब्याण्ड’बाट सुरु गर्न पाउनु ठूलो अवसर भएको बताए ।

उनले भने, ‘नेपग्याज्म कमेडी मिडिया तथा अडियो भिडियो प्रोडक्सन कम्पनी हो । त्यहाँबाट प्रोडक्सनको काम बढी गर्छौं । इभेन्ट म्यानेजमेन्टको काम प्राथमिकतामा राखेर गर्न नयाँ कम्पनीका रुपमा एनएलई – NLE खोलेका हौं ।’

सन् २०२१ मा हिमालयन टिभीमा ‘हल अफ फेम’ नामक भर्चुअल सिंगिङ रियालिटी शो प्रसारण भएको थियो । हल अफ फेम प्रोडक्सनको केही श्रृंखलाको काम नेपग्याज्मले सम्हालेको थियो भने निर्णायकमध्येका एक थिए विवेक । यही सम्बन्धको पृष्ठभूमिको जगमा कन्दरा ब्याण्ड र एनएलई – NLE को यात्रा अघि बढेको अर्का संस्थापक ज्ञानेन्द्र मिश्रले जानकारी दिए । ज्ञानेन्द्रले प्रज्ञा प्रतिष्ठानमा हुने गाईजात्रा, काठमाडौंको त्रिपुरेश्वरमा आयोजना भएको ब्रायन आडम्स शो लगायतमा इभेन्ट व्यवस्थापनको अनुभव सँगालेका छन् ।

सन् नब्बेको दशकमा उदाएको कन्दराका लेककी हे माया, चन्चले कान्छी, तिमी पारी, हङकङ पोखरा, तगारोमा रुमाल राखी जस्ता गीत चर्चित छन् ।
लोकलयमा आधारित मेलोडियस गीतहरु रच्नु कन्दराको विशेषता हो । गीतहरु चर्चित भएर पनि अडियोको समयको ब्याण्ड भएकोले डिजिटल प्लाटफर्ममा कन्दराको उपस्थिति अझै बलियो बनाउनु पर्ने खाँचो टड्कारो थियो ।

गीत सुन्ने जमानाको कन्दरालाई अब गीत हेर्ने जमानामा पनि रुचाइने गरी प्रस्तुत गरिने एनएलई – NLE का संस्थापकहरुको दाबी छ ।
रमाइलो कुरा, कन्दरा व्यवस्थापनको जिम्मा लिएको एनएलईका संस्थापक सदस्यहरु आफैं युवा छन् । उनीहरु कोही चिनेर त कोही नचिनी कन्दराको गीतसँग ठोक्किएका थिए ।

एनएलईका अर्का संस्थापक आशिष शाहीले भने, ‘कलेज पढ्दा साथीहरुले हङकङ पोखरा गीत खुब गाउँथे । पछि हल अफ फेममा त्यो गीत गाउने गायक विवेक श्रेष्ठ भन्ने थाहा भयो । उहाँ त मेरो ममी डैडीको मनपर्ने ब्यान्डका गायक हुँनुहुँदो रहेछ ।’

उनले थपे, ‘अहिले ममी डैडी, वाह ! मेरो छोरा कन्दराको व्यवस्थापनको काम सम्हाल्दैछ भनेर खुसी हुनुभएको छ ।’

‘कन्दराका गीत चर्चित भए पनि ती गीतको म्युजिक भिडियो युट्युबमा भेटिँदैन । त्यसैले कन्दराका गीतबारे थाहा भए पनि धेरैले ब्याण्डका अन्य सदस्यको परिचय तेतिसारो मेडियामा भेट्दैनन । यस्तो सन्दर्भमा एकै पटक पुराना र नयाँ स्रोता दर्शकमा पुर्र्याउने जिम्मेवारी पाउँदा हामी उत्साहित छौं,’ कन्दराकै गीत सुनेर हुर्केको बताउने ज्ञानेन्द्रले भने ।

सन् १९९४ देखि सक्रिय कन्दरा ब्याण्डले हालसम्म पाँच वटा एल्बम सार्वजनिक गरिसकेको छ । छैटौं एल्बममा आइपुगेपछि भए पनि ब्याण्ड व्यवस्थापन के कसरी गर्ने भन्ने कुराको टुंगो लाग्नुलाई कन्दराका गायक विवेक श्रेष्ठ ठूलै उपलब्धी मान्छन् ।

‘समय र परिस्थितिअनुसार कन्दराले नयाँ प्रयोग गर्दै आएको छ । कन्दरा र एनएलई – NLE को सहकार्य पनि यस्तै प्रयोग हो । हामी सिक्दै अघि बढ्ने छौं । आगामी दिनमा पनि हाम्रो प्राथमिकता स्तरीय र मिठा गीत संगीत प्रस्तुत गर्नु नै हुने छ।’


Loading comments...