manish khanal

फर्केर हेर्दा हिजो र आज


जानेर भन्दा नजानेर, डर भन्दा धेरै निडर भएर आर्थिक अभावमा पनि प्रशस्त साथीहरूको साथले भरिपूर्ण समय नै बाल्यकाल थियो । अब चाहेर पनि फिर्ता नपाउने त्यो अनमोल बाल्यकालको स्मृति मेरो मानसपटलमा अझै ताजा नाचिरहेको छ । त्यो बर्खामा उर्लेर आउने खोला, चैतमा पातहरु सबै खसेर नाङ्गोहुने सालको जङ्गल , धुलाम्मे बाटो, सम्म खेतबारी अनि सानो सानो कुरामा रमाउने अनि रुन साथ दिने साथीहरूलाई म कसरी बिर्सनु ।

म, उत्तम, दिब्य , दीपेन्द्र , सङ्गिता, अनिता, आरती , दिपक लगायत अन्य धेरै साथीहरू हामी एउटै उमेरका थियौं । हामी संगै हिड्दै , गफिदै , रमाउदै बिद्यालय जाने आउने गर्थेउ । सानै उमेरका भएतापनी हामी देश विदेशका ठुला ठुला गफहरु गर्थेउ र विभिन्न योजनाहरु समेत बनाउने गर्थेउ । हाजिरजवाफ र वक्तित्वकलामा समेत हाम्रो सक्रिय देखिन्थ्यो । बिद्यालयबाट फर्किएपछि हामीलाई खेल्नकै हतार हुन्थ्यो । हामीलाई खेल्न फुटबल , कृकेट बल , ब्याटको अभाव भैराख्थ्यो जस्कोलागि हामीले समूह बनाएर साप्ताहिक बचत समेत गर्थेउ । बिदाका दिन हामी एउटा देखि अर्को गाउँ खेल खेल्ने बन जङ्गल , खोला नाला डुल्नेमै ब्यस्त रहन्थेउ ।

अहिले समयसंगै कोही पढाइका लागि त कोहि रोजगारीका लागि विविध कारणले हामी सबै टाढा टाढा भएको लगभग ४-५ बर्ष भयो । तर यती थोरै समयमा पनि गाउँमा धेरै परिवर्तन भएको छ । हाम्रो उमेर समूह जस्तै अहिले नयाँ उमेर समूह उहीँ खोलानाला, चौर, वन जङ्गलको काखमा हुर्किरहेका छन् । हामीले भोगेकै ठाउँ र उमेर भोगिरहेका छन् तर उहीँ समय भोगेका छैनन् ।

अहिलेका बालबालिकाको दिनचर्या हाम्रो भन्दा कयौं गुणा फरक देखिन्छ । बिहान उठेदेखि बिद्यालय जाने तरखरमा देखिन्छन् । घर अगाडिनै बिद्यालयको गाडी हर्न बजाउदै आउछ , सोही बसमा बिद्यालय जाने गर्छन् । उनिहरु दिनभर बिद्यालय समयका अतिरिक्त थप टिउसन कक्षा सकेर अबेर घर फर्किन्छ्न् । उनिहरुलाई आफ्नो कक्षाकोठा , बिद्यालय र घरका अतिरिक्त अरु कुराको खासै जानकारी हुदैन । विदाका दिन टि भि, मोबाइल र ईन्टरनेट बाहेक बाहिरी खेलकुदका गतिविधिमा उनिहरुको रुचि घट्दो छ । प्रत्येकका साथमा फुटबल सेट छ तर उनीहरु खेल्न बाहिर निस्किदैनन् । साथीहरू बिच बिद्यालय समय बाहेक खेलकुद , भेटघाट र छलफल न्यून छ ।

म प्रत्येक चोटि घर आउँदा सोच्ने गर्छु र थोरै समयको अन्तरालमा नै समाज धेरै परिवर्तन भएको पाउछु । जस्को उदाहरण हिजो र आजका दिनका बालबालिका छन् । हिजो हामी दिनभर घर भित्र नबसेर गाली खानुपर्ने थियो भने आजका बालबालिका दिनभर घर भित्र बसेर गाली खाइरहेका छन् ।

प्राकृतिक दुनियाँ भन्दा कृत्रिम दुनियाँमा ब्यस्त आजको नयाँ पिढीलाई बाहिर ल्याउन नसके भोलिका दिनमा ब्यवहारिक ज्ञान भएका कुशल नेतृत्वका साथै जिम्मेवार नागरिकको समेत अभाव हुनसक्ने देखिन्छ । बालबालिका लाई देशका कणधारका रूपमा हेरेर उनिहरुको प्रतिभा प्रस्फुटन तथा क्षमता बिकासमा विशेष ध्यान दिनु जरुरी देखिन्छ । घोकन्ते शाब्दिक ज्ञान भन्दा ब्यवहारिक ज्ञानमा सरकारको ध्यान जाओस् । आजका बालबालिकालाई नेपालको कला र संस्कृति अनुरुप घुलमिल हुँदै आधुनिकता तर्फ अग्रसर हुने गरि वातावरण सृजना होस् ।
मनिष खनाल
मध्यविन्दु-0६, नवलपुर
सेन्ट जेभियर्स कलेज

लेखकका अन्य लेख


Loading comments...